‘अमेरिकामा छु, तर हिमालमै हराउन मन छ’
यत्तिका उपलब्धि र सीप प्रदर्शन गरेकी एक महिलालाई किन कसैले स्पोन्सर गरेको छैन ? उनले अति नै प्रेम गर्ने हिमाल चढ्नका लागि किन उनले सबैथोक दाउमा राख्नुपर्ने ?

फ्ल्याटमा मधुरो बत्ती बलिरहेको छ । बैठकमा केही कुर्चीहरू छन् । भित्तामा पदकहरू झुन्डिएका छन् । आकाश धुम्म छ । ल्हाक्पा शेर्पा मलाई स्वागत गर्न अमेरिकाको कनेक्टिकट राज्यस्थित वेस्ट हार्टफोर्डमा रहेको आफ्नो अपार्टमेन्टको ढोकासम्म आएकी थिइन् ।
ल्हाक्पा सगरमाथा आरोहण गरेर जीवितै फर्किने पहिलो नेपाली महिला हुन् । उनले सन् २००० मा सगरमाथा चढेकी थिइन् । ९ पटकसम्म सगरमाथा चढेकी ल्हाक्पाले सबैभन्दा धेरै पटक सगरमाथा शिखर चुम्ने महिलाको विश्व कीर्तिमान पनि बनाएकी छन् । र, सन् २०२० मा पुन: विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा आरोहण गर्ने योजनामा उनी छन् ।
तर कसैको आर्थिक सहयोगबिना तीन सन्तानकी आमा ल्हाक्पालाई हिमाल आरोहणको तालिम तथा त्यहाँसम्म यात्रा तय गर्न सजिलो छैन । उनले काम गरेर पाउने पारिश्रमिक सन्तान र आफ्नो जीवन धान्न ठिक्क मात्रै हुन्छ । निजी कारका लागि रकम खर्चिने उनीसँग क्षमता छैन । हिँडेरै काममा पुग्छिन् र कहिलेकाहीँ तालिमका लागि कतै जानुपरे सार्वजनिक सवारी चढ्छिन् ।
बैठक कोठामा बसेर उनका उपलब्धि र वर्तमानमा भोग्नुपरेको अभाव दुवैदेखि म उद्विग्न थिएँ । यत्तिका उपलब्धि र सीप प्रदर्शन गरेकी एक महिलालाई किन कसैले स्पोन्सर गरेको छैन ? उनले अति नै प्रेम गर्ने हिमाल चढ्नका लागि किन उनले सबैथोक दाउमा राख्नुपर्ने ?
ल्हाक्पाकी १३ वर्षीया छोरी साइनी प्रविधि र भाषामा अलि तगडा छन् । उनी आमालाई व्यवस्थापनमा साथ दिन्छिन् । र, कहिलेकाहीँ अनुवादकका रुपमा सहयोग गर्छिन् । ‘आमा पर्वतारोहणका लागि टाढा जादा तिमीलाई कस्तो लाग्छ ?’ फोनबाट आँखा हटाउँदै उनी भन्छिन्, “गाह्रो हुन्छ नि । म आमाप्रति निकै गर्व गर्छु तर चिन्ता लाग्छ ।” हरेक सिजनमा ६ देखि १० जना आरोहीले हिमालमा ज्यान गुमाउँछन् ।
सगरमाथा आरोहणको सिजन सामान्यतया मे महिनामा सुरु हुन्छ । त्यहाँ स्याटेलाइट फोन वा स्काइपबाट कुरा गर्ने मौका विरलै मिल्छ । सन् २०१५ मा सगरमाथा आधार शिविरमा हिमपहिरो खस्यो । हप्तौँसम्म आरोहीहरू सम्पर्कविहीन भए ।
“म हिमालमा खुब रमाउँछु”, मलाई तातो चिया दिँदै उनी मुस्कुराउँछिन् । कपालको लामो चुल्ठो मिलाउँदा उनका आँखा चम्किन्छन् । “म जान्छु, मलाई थाहा छ, म फर्किन्छु । किनभने म फर्किनै पर्छ ।” छोरीलाई उनी आश्वस्त पार्न खोज्छिन् ।
४५ वर्षीया ल्हाक्पा संखुवासभाको मकालु क्षेत्रमा हुर्किएकी हुन् । त्यहाँ उनका बाबु चियापसल चलाउँथे । उनकी आमा अझै पनि त्यहीँ छन् । उनलाई आमाको उमेर ठ्याक्कै थाहा छैन । उनको जन्मदर्ता थिएन । त्यही घरमा आमाले ल्हाक्पासहित ११ सन्तानलाई जन्म दिएकी थिइन् । ल्हाक्पाले घरमा बिजुली देखिनन् । स्कुल जाने अवसर पनि उनले कहिल्यै पाइनन् ।
“मेरो परिवारलाई तपाईंले टीभीमा देख्नुभएको होला”, उनी भन्छिन्, “शेर्पाहरू जो हिमाल चढ्छन् ।” उनका दाजु मिङ्मा गेलु शेर्पा काठमाडौँमा हिमाल आरोहणसँग सम्बन्धित व्यवसायमा छन् । उनका ठूला दाजुले ‘१० वा ११’ पटक हिमाल चढिसकेका छन् । अर्का दाजुले ८ पटक हिमाल चढेका छन् । उनका भाइले पाँच पटक र बहिनीले एक पटक । “यदि शेर्पाहरू हुँदैनथे भने कसैले पनि हिमाल चढ्न सक्दैनथे,” उनले भनिन् ।
पैसा भए जसले पनि सगरमाथा चढ्न सक्छ भनेको सुन्दा ल्हाक्पालाई दु:ख लाग्छ । एउटा गोडापछि अर्को गोडा चाले हुन्छ, बाँकी सबै काम शेर्पाहरूले गर्छन्, मान्छेहरूले यसो भनेको उनले खुब सुनेकी छन् । हिमाल आरोहणका लागि औसत ३० देखि ५० हजार अमेरिकी डलर खर्च हुन्छ ।
सगरमाथामा मानिसले कसरी ज्यान गुमाउँछ, उनले आफ्नै आँखाले देखेकी छन् । आरोहीहरूले धेरै ठाउँमा शवहरू पार गर्दै जानुपर्छ । एउटा शव तल झार्न कम्तीमा ५ जना शेर्पा चाहिन्छ । शव लिएर हिँड्नु झन् खतरनाक हुने भएकाले त्यहीँ छोडिन्छ । पर्यटकहरूसँग आवश्यक सामग्री र डोरी छ कि छैन भनेर हेर्न मात्र शेर्पाहरू हिमपात भइरहने खुम्बु क्षेत्र ४० औँ पटक वारपार गरिरहन्छन् । हिमपात भएको ठाउँमा धेरै समय बस्यो भने तपाईंको ज्यान जाने पक्का हुन्छ ।
कसैले सगरमाथा चढ्न सजिलो छ भन्छ भने ल्हाक्पाका लागि त्यो अपमान हो ।
सेरेना विलियम्सले २३ हप्ताकी गर्भवती हुँदा अस्ट्रेलियन ओपन जितेकी थिइन्, ल्हाक्पा शेर्पाले आफ्नो पहिलो सन्तान जन्मेको ८ महिनापछि सगरमाथा चढेकी थिइन् । र, अर्कोपटक सगरमाथा चढ्दा उनी दुई महिनाकी गर्भवती थिइन् । साइनी पेटमा हुर्किरहेकी थिइन् ।
तर सेरेनालाई जस्तो ल्हाक्पासँग ‘इन्डोर्समेन्ट डिल’ थिएन । न कुनै पोषणविद्, न त प्रशिक्षक नै । उनीसँग पूर्णकालीन प्रशिक्षण लिने क्षमता पनि थिएन । उनका लागि मुख्य कुरा भनेकै भाडा तिर्ने रकम जुटाउन निरन्तर काम गर्नु थियो ।
जब सगरमाथा आरोहणका लागि निस्कन्छिन्, उनी खुब घर सम्झन्छिन् । जब उनी फर्कन्छिन्, जति सक्यो काम गर्छिन् । सफाइ घरदेखि क्यासियरसम्मका काम भ्याउँछिन् । “म उनीहरूलाई सगरमाथाबारे केही पनि भन्दिनँ”, उनी भन्छिन् । रोजगारदाताले आफ्नो भुइँ पुछ्दै गरेकी महिला विश्वप्रसिद्ध आरोही हो भन्ने पत्तो पाउला भन्ने उनलाई चिन्ता हुन्छ ।
अन्तर्वार्ताकै क्रममा मैले उनलाई हाइकिङ जान आग्रह गरेँ । उनले च्यातिएका जुत्ता सिलाइन् र तयार भइन् । मैले कम उपलब्धि हासिल गरेका कैयौँ आरोही देखेको छु, जसलाई इन्स्टाग्राममा पछ्याउनेको ठूलो संख्या छ । उनीहरू आरोहणका लागि आवश्यक सामग्री नि:शुल्क पाउँछन् । तर ल्हाक्पाले च्यातिएको पहेँलो ब्याकप्याक लिएर दुई पटक सगरमाथा चढिन् ।
यत्रो उपलब्धि हासिल गरेकी एक आरोहीले सहयोग नपाउनु उदेकलाग्दो छ । उनी जहाँ उनी चढ्दैछिन्, त्यो ठाउँको आधिकारिकता उनीसँग छ । इन्स्टाग्राममा उनको उपस्थिति छैन । उनी अधबैँसे महिला हुन् । मुस्किलले टुटेफुटेको अंग्रेजी बोल्छिन् । तीन सन्तानकी आमा हुनु र अमेरिकामा आप्रवासीका रुपमा जीवनयापन गर्नुका आफ्ना बाध्यता छँदै छन् । लाग्छ, यस्तो अवस्थामा उनलाई बजारमा स्थापित गर्न सजिलो छैन ।
भन्छिन्, “मेरो उपहार भनेकै यही हो ।” अर्को जन्ममा उनलाई डाक्टर वा पाइलट बन्न मन नभएको होइन । उनलाई थाहा छ– यसपटक उनलाई आफू र अरुलाई पनि संसारका सबैभन्दा अग्ला शिखरहरूमा पुर्याउनु छ । उनका हरेक वाक्यमा हिमाल चुम्ने तीव्र आकांक्षा प्रस्ट देखिन्छ । तर उनलाई सहयोग चाहिएको छ ।
सन् २०२० मे मा सगरमाथा आरोहण गर्ने उनको सपना छ । त्यसपछि उनी ‘माउन्ट के टु’ जानेछिन्, जहाँबाट पहिलोपटक खराब मौसमका कारण उनी फर्किनु परेको थियो । उनलाई थाहा छ यो महत्त्वाकांक्षी योजना हो । “सबै आरोहीहरू पागल नै हुन्छन्”, उनी भन्छिन्, “तर म सक्छु भनेर संसारलाई देखाउनु छ । मजस्तै महिलाहरूलाई देखाउन चाहन्छु कि उनीहरू पनि सक्छन् ।”
०००
ल्हाक्पाले पनि आफ्ना दाजुभाइहरू जस्तै हिमाल चढ्न थालेकी थिइन् । १५ वर्षको उमेरमै उनले मकालुसम्म पर्यटकका सामान पुर्याउन काकालाई सघाउँथिन् । खाद्यान्न बोक्ने भरियाको काम पनि गरिन् । सानैदेखि उनको स्वभाव पुरुषको जस्तो थियो । उनकी आमा छोरीको कहिल्यै विवाह हुँदैन कि भनेर चिन्तित रहन्थिन् ।
उनले पहिलो श्रीमान्लाई हिमालमै भेटिन् । र, सन् २००२ मा उनीहरू अमेरिका आइपुगे । उनीहरू कैयौँपटक सँगै हिमाल चढेका छन् । तर त्यो सम्बन्ध लामो जान सकेन ।
२००४ मा सगरमाथा आरोहणकै क्रममा उनका श्रीमान् हिंस्रक बने । उनीमाथि कैयौँपटक जाइलागे । उनीमाथि दुव्र्यवहार भयो । र, पहिलो सन्तान जन्मिँदासम्म त्यो जारी रह्यो । उनी कैयौँपटक अस्पताल भर्ना भइन्, सेल्टरमा बसिन् ।
शारीरिक र मानसिक यातनाका कारण उनको पेशागत जीवन बिथोलियो । आफ्ना बारेमा चलेका अनेक हल्लालाई चिर्न सक्ने अवस्था थिएन । र, एक दिन उनीहरू छुटिए ।
लामो समयको निराशापछि पनि हिमाल चढ्ने उनको सपना कायमै छ । आफ्नै कीर्तिमान भंग गर्ने चाहना जीवितै छ ।
विवाह र सन्तानबारे धेरै कुरा सोध्न मन थिएन तर यो उनको व्यक्तिगत र पेशागत जीवनको अभिन्न अंग बनेको थियो, नकारात्मक हिसाबमै भए पनि । “भाँडा माझेर हिमाल चढ्नु,” उनी सुनाउँछिन्, “छोरीहरूको जीवन राम्रो बनाउने तरिका हो ।”
०००
शेर्पाका रुपमा सगरमाथा चढ्नु र आरोहीका रुपमा सगरमाथा चढ्नुका भिन्नता छन् ? “पहिलो अरुका लागि गरिन्छ तर दोस्रो आफ्ना लागि,” उनी भन्छिन् । शर्पाहरूमा आरोहीप्रति निकै समर्पण रहेको उनी सुनाइरहन्छिन् । “तपाईं वाचा खानुहुन्छ र त्यसलाई पूरा गर्नुहुन्छ,” उनी भन्छिन् ।
उनी आफैंलाई विश्वास गर्छिन्, आफूजस्तै आरोही र हिमाललाई पनि उति नै विश्वास गर्छिन् । “विश्वास गर्नुभएन भने तपाईंको ज्यान गयो,” उनी भन्छिन्, “म ठूलो हिमाल चढिरहेको एउटा सानो मुसा हुँ ।” हिमालसँग उनको सम्बन्ध विछट्टको छ । लाग्छ, उनी हरबखत हिमालसँग संवाद गरिरहेकी छन् । “यदि तपाईं डराउनुभयो भने तपाईंको डरले हिमाल पनि डराउँछ,” उनी भन्छिन् ।
बाबुको निधनका कारण सन् २०१९ मा तय गरेको आरोहण कार्यक्रम रद्द गर्नुपर्यो । “मलाई दु:ख बोकेर जान मन लागेन”, उनी भन्छिन्, “त्यसो गर्नु असुरक्षित हुन्थ्यो ।”
उनी ५० वर्ष पुरानो अक्सिजन मास्क बोक्छिन् । उनलाई नयाँ भन्दा यसैको भर लाग्छ । कसैले पुरानो मोडेलमा अझ राम्रो मास्क डिजाइन गरिदिए हुन्थ्यो भन्ने उनलाई लाग्छ । ल्हाक्पाका अरु पनि चाहना छन् । जस्तो : कसैले उनको दसौँ आरोहणलाई ‘स्पोन्सर’ गरिदेओस् । आफ्नो ‘गाइडिङ’ व्यवसाय अगाडि बढाउन उनलाई समय चाहिएको छ । हिमालमा जीवन बितोस्, न कि भाँडा माझ्दै र फोहोर सफा गर्दै । उनी आफ्नो जीवनबारे किताब तथा डकुमेन्ट्रीको कल्पना गर्छिन् । र, छोरीहरूलाई कलेज पठाउनका लागि पैसा ।
“यी तत्काल पूरा भइहाल्नुपर्ने सपना होइनन्”, उनी थप्छिन्, “बिस्तारै पूरा हुने सपना हुन् ।”
साइनीलाई आफ्नी आमाको सबैभन्दा प्रिय पाटो के हो ? “धेरै छन्”, केही बेरको मौनतापछि उनी थप्छिन्, “तर मलाई उहाँको आत्मविश्वास सबैभन्दा मन पर्छ ।”
ल्हाक्पा आफ्ना हातहरूबारे सचेत छन् । ती भाँडा माझेर भर्खरै ओभाएका छन् । र, यो काम उनले परिवारका लागि पनि गर्नैपर्छ । तर महिला र एकल आमाहरूलाई प्रेरित गर्ने सपना पनि उनी मार्न सक्दिनन् ।
“मलाई हिमालमै हराउन मन छ”, अन्तिममा उनी भन्छिन्, “तर यहाँ (अमेरिका) मा त मैले मेरो अनुहार देखाउनै पर्यो ।”
गार्डियनमा प्रकाशित सामग्रीबाट अनुवाद : रविराज बराल