बिरानो देशमा थापा दाइ
उनी सञ्जय दत्तका निकै ठूला फ्यान रहेछन् । ‘घरको सिडी प्लेयर बिग्रेको छ, भाइलाई आउँछ भने यसो हेर्देऊ न’ भनी अनुरोध गरे । रेस्टुराँ ३ देखि ५ बजेसम्म बन्द हुन्थ्यो ।
फेसबुकमा नयाँ फ्रेन्ड रिक्वेस्टको रातो नोटिफिकेसन आयो । प्रोफाइल खोलेर हेरेको चिने–चिनेजस्तो लाग्यो, दुई–चार फोटा हेर्दै जाँदा एउटा धेरै पुरानो फोटो देखेँ, क्याप्सनमा लेखिएको थियो– ‘बिते हुए पल, भाइसँग लन्च खाँदै ।’ चार लाइक्स र एउटा कमेन्ट थियो त्यो फोटोमा । मलाई अब ढुक्क भयो, यो प्रोफाइल थापा दाइकै रहेछ । विक्रम थापा दाइले पनि फेसबुक खोलेछन् भनी अचम्म लाग्यो र खुसी पनि । उनको प्रोफाइल हेर्दै थाहा हुन्थ्यो, त्यो पक्का अरू कसैले उनका लागि खोलिदिएको थियो ।
थापा दाइ, मभन्दा धेरै जेठा, जिन्दगीको कुन मोडमा भेटिएका एउटा असल साथी थिए । थोरै समय सँगै बितायौँ तर दिल खोलेर बस्यौँ । उनी पूर्वी नेपालका, म पश्चिमको । उमेरले मभन्दा २० वर्ष जेठा । उनी ८ कक्षा फेल कुक, म विद्यार्थी । हामीमा केही समानता थिएन, सिवाय विदेशिएका नेपाली ।
उनीसँग छुट्टिएपछि केही महिना नियमित नै कुराकानी हुन्थ्यो फोनमा । तर, समय पनि अलि फरक । यता दिन हुँदा उता रात, मसँग समय हुँदा दाइ काममा, दाइसँग समय हुँदा म काममा । हामीबीच यस्तै लुकामारी खेलेजस्तो हुँदाहुँदै सम्पर्क नै हुन छाडेको वर्षौं भइसकेको थियो ।
क्यानडाको राजधानी ओटावा सहरको मध्यभागको व्यस्त ठाउँमा विक्रम दाइ एउटा भारतीय रेस्टुराँमा कुक थिए । १५ वर्षको उमेरमा गाउँ छाडेर कोलकाता छिरेका । समय र परिस्थितिको खेलसँगै जालन्धर, अहमदाबाद हुँदै अहिले क्यानडा छिरेको पनि दशक हुन लागेको थियो । ‘देश खाएर शेष भइयो भाइ’ लन्चका बेलामा आफ्नो कथा सुनाउँथे ।
मेरो कथा पनि त्यस्तै थियो । नेपालबाट विदेश छिर्ने चक्करमा भएजतिको तन, मन र धन लगाएर फिनल्यान्ड छिरेको थिएँ । नयाँ देशमा भाषा र जागिरको समस्याले निकै रन्थनिएको थिएँ म । अति व्यवस्थित र विकसित समाज भए पनि त्यहाँको जिन्दगीमा खासै केही रस थिएन । प्राकृतिक रूपले धनी देशको घना जंगल बीच तालछेउमा झोक्र्याएर ढुंगा हान्दै बस्नुबाहेक रमाइलो र चहलपहल खासै थिएन । सबै चिज भएर पनि केही नभएजस्तो । दु:ख र सुख दुवै थिएन– एक किसिमले खल्लो थियो जिन्दगी । त्यसैले सकेसम्म विश्वविद्यालयबाट एक वर्षसम्म अर्को देशमा गएर पढ्न पाउने ‘एक्सचेन्ज स्टडिज’को फाइदा उठाउन म अंग्रेजी बोल्ने देशमा जाने प्रयास गर्दै थिएँ । सिकागोमा रहेको नर्थ पार्क युनिभर्सिटीमा जान ठिक्क परेको म अमेरिकी भिसा नलागेपछि क्यानडाको ‘कार्लटन युनिभर्सिटी’तिर हानिएको थिएँ, अर्को सपना बोकेर ।
ओटावा संसद् भवननजिकै ३ सय ५० डलरमा एउटा कोठा लिएको थिएँ । यो देशकै राजधानी भए पनि खासै ठूलो सहर होइन । ओन्टारियो राज्य र क्युबेक राज्य जोड्ने ओटावा नदीको नामबाट राखिएको यो सहर देशको राजनीतिक केन्द्र थियो ।
फिनल्यान्डकै मेरो विश्वविद्यालयसँग सहकार्य भएकाले मैले ट्युसन फि तिर्नु पर्दैनथ्यो । तर, विद्यार्थी भिसा भएकाले क्याम्पसबाहिर काम गर्ने अनुमति थिएन भने क्याम्पसभित्र पनि भन्नेबित्तिकै काम पाउन सजिलो थिएन । ३ डलर बचाउन दिनको ३ किलोमिटर हिँडेर कलेज जान्थेँ । नेपाल छँदा स्वर्गकै एक टुक्राझैँ कल्पना गरिने क्यानडाका गल्ली चहार्दै हिँड्दा काठमाडौँमा डिल्लीबजार बसेर बानेश्वरको मीनभवन क्याम्पसमा मर्निङ क्लास लिन गएजस्तै भान हुन्थ्यो । फरक यत्ति थियो, काठमाडौँमा भोक लाग्यो भने एकाबिहानै मगमग बासना आइरहेको दोनोट र चिया खाइन्थ्यो । तर, यहाँ हैसियत थिएन । १ महिनापछि नै गाह्रो हुने स्थिति आइसकेको थियो । मुस्किलले सातामा एक दिन भए पनि क्याम्पसको लाइब्रेरीमा काम पाएँ । बाँकी समय काम खोज्दै जाँदा यो भारतीय रेस्टुराँ फेला पारेको थिएँ । यहाँ साताको ३ दिन काम गर्थें लुकेर ।
पञ्जाब जालन्धरको ठूलै होटलमा सेफ भएर काम गरिरहेका बेला, क्यानडाबाट गाउँ गएको समय यही साहूले आफन्तमार्फत चिनेको रे थापा दाइलाई । अनि, जसोतसो मिलाएर क्यानडा छिराएको रहेछ । “सुरुमा त पेल्नु पेल्यो नि भाइ,” आफ्नो दु:ख सुनाउँदै भने, “हप्ताको सातै दिन काम गराउँथ्यो ।”
दुई जनाको सम्बन्ध पनि अजीबको थियो, एउटाले पेल्नुपर्ने अर्कोले घुर्की देखाउने । अति नै पेलेपछि ३० जना पाहुना आएको बर्थ डे पार्टीको खानामा भएभरको नुन खन्याइदिएर, ‘भयो मलाई तेरो जागिर चाहिँदैन म जालन्धर नै फर्किन्छु’ भनी झिटी–झाम्टा कस्न लागेको घटनापछि दुई जनाको शीतयुद्धमा केही सुधार आएको रहेछ । त्यसपछि धेरै काम लगाउँदैन रे, पैसा पनि समयमै दिन्छ भन्थे ।
उनको जिन्दगी पनि अनौठो थियो, क्यानडा स्वर्ग नै होला भनेर आएको एउटा कोठा र होटलको उनको जिन्दगी बित्न लागिसकेछ । बाहिर निस्कँदा चिने–जानेको कोही छैन । न भाषा जानेका छन्, न त कोही सहयोगी नै छन् । एकपटक निकै न्यास्रो लागेर नेपालीको दसैँ पार्टीमा गएछन् । दुई–चार जनासँग हाइ–हेल्लो गरेछन् तर कसैले वास्ता गरेनन् रे उनलाई । बेवास्ता गर्नेलाई म पनि केही दिन्नँ भन्दै झोक्किँदै फर्केछन् । नेपालीको फुर्ति देखेर अबदेखि कोही नेपाली खोज्दिनँ भन्दै बसेका रहेछन् ।
वर्षौं भइसकेछ उनी क्यानडा छिरेको । ‘खोइ भाइ के भन्नु, चल्दैछ जिन्दगी’ आफ्ना गुनासो पोख्थे । म त्यो रेस्टुराँको बाहिर हेर्थें । कहिलेकाहीँ किचनमा पनि भाँडा माझ्न अनि तरकारी काट्न सहयोग गर्थें । म किचनमा भएका बेला उनी हमेसा सँगै आएर कुरा गर्थे– साहूको, अरू वेटरको अनि नेपालतिरको कुरा । कहिलेकाहीँ लाग्थ्यो, उनी केवल एक्लो जीवन जिइरहेका छन् । सातामा एक दिन छुट्टी हुन्थ्यो उनको, कहिले सोमबार, कहिले मंगलबार त कहिले बुधबार । जुन दिन मिल्छ त्यही दिन बिदा लिन्थे उनले ।
रेस्टुराँको माथिल्लो तलामा त्यही साहूको किचन, बेडरुम, ट्वाइलेट अनि सानो बाल्कोनी भएको एउटा स्टुडियो फ्ल्याट थियो । उनी त्यहीँ बस्थे, जसको भाडा तलबबाटै काटिन्थ्यो । सँगै भएपछि चाहिएका बेला जतिखेर बोलाए पनि भयो । जति काम लगाए पनि भयो । एक किसिमले त्यो एउटा बन्धनजस्तै थियो उनलाई । कहिलेकाहीँ मलाई भन्थे, “ल भाइ, मलाई एउटा राम्रो कोठा खोजिदेऊ, कि दाजुभाइ मिलेर बसौँ’ । न त मैले उनको कुरालाई गम्भीर रूपमा लिएँ, न त उनले त्यो कुरा दोहोर्याएर नै भने ।
उनी सञ्जय दत्तका निकै ठूला फ्यान रहेछन् । ‘घरको सिडी प्लेयर बिग्रेको छ, भाइलाई आउँछ भने यसो हेर्देऊ न’ भनी अनुरोध गरे । रेस्टुराँ ३ देखि ५ बजेसम्म बन्द हुन्थ्यो । त्यही समय एक दिन उनको फ्ल्याटमा गयौँ । सफा र चिटिक्क पारेर राखेका रहेछन् आफू बस्ने घर । “हेर भाइ, जिन्दगीमा जे गरे पनि ८ घन्टा सुत्ने बिस्तरा र आधा जिन्दगी बिताउने घरचाहिँ राम्रो हुनुपर्छ,” उनको कुराले घत पर्यो ।
उनी आफ्नो काम अनि जीवनप्रति निकै अनुशासित थिए । त्यो रात कामपछि घर फर्किने बेलामा बाटोमा थापा दाइका बारेमा सोचिरहेँ– उनको जिन्दगी, उनको त्यो धैर्य, अनुशासन अनि कामप्रतिको लगन । ८ कक्षा पढेर के भो त ! जिन्दगीमा आखिर चाहिने त्यही कुरा न हो जुन कुनै पनि विश्वविद्यालयमा सिकाइँदैन ।
मलाई पनि काममा जान रमाइलो लाग्न थालेको थियो । साहूको आँखा छलेर दाइले मीठो ल्याम्ब चप्स बनाएर दिन्थे । यो सबैभन्दा महँगो मासु हो । त्यसैले छिट्टो खाइहाल फेरि साहूले देख्ला भन्थे । अनि, फेरि थप्थे, ‘यो साहू मनको एकदम राम्रो छ, त्यही पनि देख्यो भने नराम्रो मान्छ ।’ रेस्टुराँमा काम गरेको एउटा फाइदा भनेको आफूले खान पकाउन पर्दैनथ्यो । थापा दाइले आफ्ना लागि सेफ स्पेशल खाना बनाउँथे अनि जहिले पनि मेरा लागि छुट्याएर राखिदिन्थे ।
उनलाई बैंक, अरू अफिसमा, यस्तो काम पर्यो भने साह्रै गाह्रो हुन्थ्यो । अंग्रेजी भाषा नआउने अनि चिनेजानेको पनि कोही छैन । २–३ साताअघिदेखि नै भनेका थिए, ‘भाइको छुट्टी कहिले मिल्छ मलाई भन्नु है, मैले पनि मिलाएर त्यही दिन छुट्टी लिन्छु ।’ मंगलबार मेरो एउटा मात्र क्लास थियो । त्यो सकेपछि दाइलाई फोन गरेर ‘मेरो छुट्टी छ’ भनेँ । उनले घरमा बोलाए । ११ बजेतिर म कलेजबाट सीधै रेस्टुराँ पुगेँ । त्यहाँ खाना खाएर दाइको फ्ल्याटमा पसेर हामी दुई जना लागियो– ओटावा सहर घुम्न । सबैभन्दा पहिला उनको एउटा काम रहेछ पोस्ट अफिसमा । त्यहाँ गइयो, त्यसपछि थापा भाउजूको भिसा आवेदनका लागि केही कुरा बुझ्नु थियो । त्यो पनि सकियो अनि महिनौँदेखि बाँकी रहेका कागजातका काम सबै सकेपछि एक ठाउँ कफी खान बसियो ।
अरू दिनभन्दा छुट्टै देखिन्थे थापा दाइ । वर्षौँ पहिले किनेको छालाको जुत्ता चम्काएका थिए । भन्थे– ‘किनेको तीन वर्ष भयो । नढाँटी भन्दैछु, यो दोस्रो चोटि लगाएको हो । के गर्नु जाने ठाउँ कहीँ छैन ।’ लाग्थ्यो, आज उनी जेलबाट छुटकारा भएका छन् । फेरि भन्थे, ‘ल भाइ जे खाने हो खाऊ है, आजको सबै जिम्मा मलाई छाडिदेऊ ।’
अंग्रेजी बोल्नुपर्ने ठाउँका सबै काम थाँती राखेका रहेछन् । ती सबै काम आज फत्ते हुँदा पनि उनी खुसी थिए, ‘भाइले गर्दा धेरै सजिलो भयो ।’ उनी प्रत्येक पटक खुसी हुन्थे, जुन उनको रेस्टुराँमा देखिनेभन्दा अर्कै रूप थियो ।
त्यसपछि हामीहरू वेस्टगेट सपिङ मल गयौँ । सँगै पढ्ने स्वीडिस केटी भेट भई बाटोमा । एकैछिन हाइ–हेल्लो भयो । ‘यो मेरो दाइ’ भनेर उसलाई चिनाएँ, निकै मस्केझैँ गरेर ‘हेल्लो’ भनी । दाइ पनि मख्खै परे ! त्यो दिनभरि ओ हो ! भाइ गोरी मोरी निकै मस्किन्छे भन्दै कुरा गरिरहे । अनि, आत्मग्लानि भएझैँ भन्थे, ‘पढेको भनेको पढेको नै हुन्छ भाइ । हाम्रा लागि त कालो अक्षर भैंसी बराबर ।’
त्यत्रो वर्ष क्यानडा बस्दा पनि कतै घुम्न गएको छैन भन्थे । छुट्टीको एक दिन कलिङ कार्ड किनेर नेपालमा आफ्नो परिवार अनि भारतका पुराना साथीसँग घन्टौँ गफिन्थे । एउटा अचम्मको सम्बन्ध बनिसकेको थियो थापा दाइसँग । सायद बिरानो ठाउँमा भेटिएको भएर होला । उहाँसँग काठमाडौँ या नेपालको कुनै ठाउँमा भेटेको भए अवश्य पनि हाइ–हेल्लोमै सम्बन्ध सकिन्थ्यो होला । समय, परिस्थिति र ठाउँले पनि धेरै मानिसलाई नजिकिक्याउँदो रहेछ । त्यही भएको थियो, थापा दाइ र मेरो सम्बन्धमा पनि ।
हेर्दा फुच्चे भए पनि आत्मसम्मान थियो उनमा । धेरै पटक मैले नेपाली समारोह, कार्यक्रममा जाऔँ भनी कर गरेँ । तर, उनी भन्थे, ‘केही हुँदैन भाइ ती कार्यक्रममा । हामीजस्ता नपढेकालाई सबैले हेप्छन् । कसले घर किन्यो अनि कसले कस्तो जागिर पायो भन्नेबाहेक केही कुरै हुँदैन । यता घर किन्नेले यतैको धाक दिन्छन्, नहुनेले काठमाडौँको घरको धाक दिन्छन् ।’ यस्ता धेरै किस्सा छन्, थापा दाइसँग बिताएका । मनका निकै सफा र सहयोगी भावना भएका स्वच्छ थिए थापा दाइ ।
त्यो दिन म कलेज जाऊँ कि नजाऊँ भन्दै दोधारे मन लगाएर बसेको थिएँ । कहिल्यै फोन नगर्ने दाइले फोन गरे, ‘भाइ कता हो ?’ ‘म कोठामै छु कलेज जान लागेको’ भनेँ । ल त भनी फोन राख्न लागेका थिए । ‘कहिल्यै फोन नगर्ने मान्छे तपाईं केही काम थियो कि’ भनी मैले सोधेँ । ‘होइन–होइन, मेरो आज छुट्टी, यत्तिकै तिम्रो एरियातिर आएको थिएँ त्यसैले फोन गरेको’ भने ।
मलाई थाहा भइसक्यो, उनी मेरै लागि आएका छन्, होइन भने कहिल्यै कोठाबाट ननिस्कने किन यहाँसम्म आउँथे । मैले तपाईं कहाँ हो म लिन आउँछु भनेँ । सायद उनले मलाई अप्ठेरो नहोस् भनी त्यसो भनेको हुनुपर्छ । म उनलाई लिन गएँ अनि हाम्रोमा जाऔँ भनेँ । पहिला त जानै मानेनन्, पछि आए । मेरो कोठा लथालिंग थियो, एउटा १४ इन्चको टिभी, ल्यापटप र सानो बेड । अपार्टमेन्टमा तीन जनाले सेयर गर्ने किचन पनि कहिल्यै प्रयोग गर्दैनथेँ । त्यही रेस्टुराँबाट ल्याएको खाना खान्थेँ भने अरू बेला ब्रेड र अन्डा खाएर काम चलाउँथे ।
सधैँ मीठो–मीठो बनाएर खुवाउने दाइ कोठामा आएका बेला मेरो हालत देखाउनुपर्दा कता–कता अप्ठेरो लागेको थियो मलाई । खानेकुरा थिएन । फ्रिजमा पनि मेरो केही थिएन । बोलिभियाको अर्को साथीको फ्रिजको सेक्सनबाट म्याङ्गो जुस निकालेर दाइलाई दिएँ । उनले मेरो कोठा अवलोकन गरे । पुरानो मैलो पर्दा, सफ्ट ड्रिंक क्यानडा ड्राइका क्यान, कफी खाएर कट्कटिएका ३–४ वटा जुठाकप नियाले तर केही भनेनन् ।
‘ल भाइ जाऔँ बाहिर पसलतिर’ भनी मलाई उठाए, म ट्राउजर र घरमै बस्ने टिसर्ट लगाएर निस्केँ दाइसँगै । एउटा मासुपसलनेर टक्क अडिएर भने, ‘आज तिम्लाई खतरा बंगुरको मासु खुवाउँछु ।’ त्यहाँ एक किलो मासु किनेर फेरि नजिकैको इन्डियन पसलमा छिर्यौँ मरमसला किन्न । घरमा आएर दाइले बंगुर फ्राइ गरे । त्यो कोठामा बसेको महिनौँ हुँदा पनि मैले त्यसरी पकाएर कहिल्यै खाएको थिइनँ । मेरो जीवन झन् थापा दाइको भन्दा गए–गुज्रेको भएको अनुभव गरेँ त्यो दिन ।
बिहान उठ्यो, कलेज गयो, त्यही ल्यापटपमा घोत्लियो बिहानदेखि साँझसम्म । कलेज गयो फेरि आयो । एक्लो निरस थियो मेरो जिन्दगी ।
एक वर्षका लागि आए पनि मलाई ६ महिनामै क्यानडा अघाइसकेको थियो । म एक सेमेस्टर सकेर फेरि बाँकी पढाइ सक्न फिनल्यान्ड फर्किन थालेँ । र, सबैभन्दा सस्तो टिकट पाउने दिन रोजेँँ, जुन चार दिनपछि थियो ।
जाने दिन दाइ मलाई छाड्न ट्याक्सी चढेर एयरपोर्ट आए । सधैँ हँसीमजाक गर्ने, नबोली एकछिन बस्न नसक्ने दाइ मेरो कोठाबाट एयरपोर्टसम्मको ३० मिनेटको बाटोमा एक शब्द पनि बोलेनन् । म पनि दाइलाई अप्ठेरो नहोस् भनी सञ्जय दत्तको नयाँ फिल्मका बारेमा सोधेर कुरा मोड्न थालेँ तर दाइ चुपचाप देखिन्थे ।
छुट्टिने बेलामा हात मिलाउँदै भने, ‘ल भाइ, राम्रोसँग पढेर ठूलो मान्छे बन्नू, जति पढे पनि नपढेकालाई नहेप्नू ।’
सम्बन्धित
बुवाले छोरो छोडिदिनु भनेर प्रहरीसामु हात जोरेको देखेपछि मेरो स्वाभिमान डगमगायो ।...
हिरासतमा मैले जे भोगेँ : र्यापर भिटेन
मेरो टोनको गडबडीले लाइनमा बसेका मानिस मुखामुख गर्न थाले, लजाउँदै । ऐना बनाउन जाने भनेको त ...
चिनियाँ भाषा : लजायो कि बितायो
उनी सञ्जय दत्तका निकै ठूला फ्यान रहेछन् । ‘घरको सिडी प्लेयर बिग्रेको छ, भाइलाई आउँछ भने यस...
बिरानो देशमा थापा दाइ
जोशी मिलनसार, सहृदयी र आकर्षक व्यक्तित्वका धनी थिए । उनको बोलीचाली र व्यवहारबाट प्रभावित न...
कुमारको बिदाइमा
मंसिर ०६७ मा मैले एउटा लेख लेखेको थिएँ, ‘मैले रोजेको बाटो’ । जुन लेखमा भनिएको थियो, ‘मैले ...
लेखनको पूर्णकालीन यात्रा
पाँच वर्षअघिदेखि मेरो मनमा एउटा हुन्डरी चल्दै आएको छ । मलाई यस्तो लाग्छ कि मान्छेको आदिम अ...