खुनको बदला खुन
भीमाद-५, तनहुँकी ३२ वर्षीय शोभा परियारलाई साउदी अरब सरकारले १९ साउनका दिन शिर छेदन गरी मृत्युदण्ड दियो।

भीमाद-५, तनहुँकी ३२ वर्षीय शोभा परियारलाई साउदी अरब सरकारले १९ साउनका दिन शिर छेदन गरी मृत्युदण्ड दियो। साउदीको आन्तरकि मन्त्रालयका अनुसार आफ्नो 'स्पोन्सर' मोइद बिन कसोमका दुई वर्षीय छोरा ओशामा अल इनेजीको हत्यामा दोषी ठहर गरेकाले मृत्युदण्डको सजाय दिइएको हो। मन्त्रालयका अनुसार परियारले १३ साउन ०६९ मा बालकको हत्या गरेकी थिइन्। 'शोभा परियारले बच्चालाई समातिन्। बाथरुमभित्र लिएर गइन्। चुकुल लगाइन्। हातले चक्कु समातिन् र बच्चाको घाँटी काटिदिइन्। झ्यालबाट भाग्ने प्रयास गरिन्। तर, असफल भइन्,' मृत्युदण्डको कारण जनाउँदै मन्त्रालयले भनेको छ, 'निर्दोष जनताको ज्यान लिनेलाई सजाय दिने सरिया कानुनलाई कार्यान्वयन गरिएको हो।'
श्रीमान्सँग सम्बन्ध बिग्रिएपछि दुई सन्तानलाई छाडेर ०६८ वैशाखमा भारत हुँदै दलालमार्फत परियार साउदीको उत्तरी क्षेत्र अरर भन्ने ठाउँमा पुगेकी थिइन्। यो ठाउँ राजधानी रियादबाट झन्डै १ हजार ३ सय किलोमिटर टाढा पर्छ। घरभित्र छिरेदेखि नै यातना खेप्न थालिन्। 'छिटोछिटो काम नगरेको भनेर घर मालिक्नीले ढोका लगाएर कुट्ने, पिट्ने र खान नदिने काम हुन थाल्यो,' परियारले दूतावासलाई दिएको बयानमा भनेकी छन्, '६ महिनापछि भागेर प्रहरी स्टेसन पुगेँ, पीडा बताएँ। पाँच सय मात्रै दिन्छ भनेपछि ६ सय रियाल दिने सर्तमा प्रहरीले फेरि त्यही घरमा काम गर्न पठायो।'
प्रहरीबाट फर्केपछि पनि घर मालिक्नीबाट यातना दिने क्रम जारी रह्यो। १३ साउन ०६९ को बिहान साढे ६ बजेतिर आफू सुतिरहेका बेला मालिक्नीले घाँटीमा चक्कु हानेको परियारको भनाइ छ। 'सुतिरहेको अवस्थामा मेरो घाँटीमा चक्कुले हानिन्। म धेरै दुःखी भएँ, मलाई मर्न रहेछ भन्ने सोचेँ,' उनले बयानमा भनेकी छन्, 'बच्चालाई नुहाउन लिएर गएकी थिएँ। मेरो सोचाइ साँघुरो भयो र हत्या हुन पुग्यो।'
एउटा बालकसँग जोडिएको यो घटनालाई स्थानीय मिडियाले प्रमुखता दिएपछि अनुसन्धान तीव्र गतिमा बढ्यो। घटना भएको दुई महिनापछि साउदी सरकारले रियादस्थित नेपाली दूतावासलाई औपचारकि जानकारी दिएको थियो। घटना निकै गम्भीर भएको भन्दै नेपाली दूतावासका कर्मचारी परियारलाई भेट्न ३ मंसिर ०६९ मा अरर जेलमा पुगे र बयान लिए। परियारले लिखित बयानमा हत्याको अभियोग स्वीकार गरिन्।
परियारलाई तल्लो अदालतले मृत्युदण्डको सजाय सुनायो। त्यसलाई पुनरावेदन र सर्वोच्च अदालतले पनि सदर गर्यो। "किनभने, तीनै तहको सुनुवाइमा परियारले हत्या अभियोग स्वीकार गरनि्," राजदूत उदयराज पाण्डे भन्छन्। दूतावासले घटनालाई गम्भीरतापूर्वक लिँदै पीडित परिवारलाई 'ब्लडमनि' स्वीकार गरी माफी दिलाइदिन अररका गभर्नरको सहयोग लिने प्रयास गरेको थियो। गभर्नरले पनि पीडित परिवारलाई आफैंले भेटी माफी दिन अनुरोध गरेका थिए। तर, बच्चाकी आमा 'कि छोरा चाहिन्छ, नत्र मृत्युदण्ड दिनैपर्ने' अडानबाट टसमस भइनन्। न्यायाधीशले पीडित परिवारलाई अदालतमै झिकाई सोधपुछ गरेका थिए। परिवारले जसरी बच्चाको हत्या गरिएको थियो, त्यसै गरी परियारलाई पनि मृत्युदण्ड दिइनुपर्ने जवाफ दिएका थिए। "यो मागमा परविर्तन आउन सक्छ कि भनेर न्यायाधीशले तीन पटकसम्म अदालतमा बोलाएर सोधपुछ गरेका थिए," राजदूत पाण्डे भन्छन्, "तर, उनीहरूले मानेनन्।"
अन्ततः पीडित परिवारको अडान परविर्तन नभएपछि साउदी राजाले पनि परियारको मृत्युदण्डको फाइल सदर गरिदिए। लगत्तै उनलाई अररको सार्वजनिक ठाउँमा पीडितको मागबमोजिम शिर छेदन गरी मृत्युदण्ड दिइयो। खाडीमा मृत्युदण्डको सजाय पाउने परियार पहिलो नेपाली हुन्।