व्यवसायमै फलिफाप
ओखलढुंगामा जन्मेहुर्केका हरिहर दाहाल अमेरिकाको आईटी हब क्यालिफोर्नियास्थित मिल्पिटासमा मेक्सिकन रेस्टुराँ चलाउँछन् ।

- भर्जिनियाको मानसास पार्कमा रियलस्टेटको कारोबार गर्दै आएका कवीन्द्र सिटौलाले धेरै नेपालीलाई घर किनाइदिएका छन् । उनको नेपाली समुदायलाई फाइनान्सियल प्लानिङ सिकाउने व्यवसायसमेत छ । अमेरिकामा यस्तो व्यवसाय गरेर राम्रो आम्दानी लिने थोरै नेपालीमध्ये उनी एक हुन् ।
- डाइभर्सिटी भिसा (डीभी) परेर सात वर्षअघि अमेरिका पुगेका सीपी -चेतप्रसाद) पौडेल टेक्सासको बास्ट्रोपमा आफ्नै ग्यास स्टेसन सञ्चालन गर्छन् । यस्ता स्टेसनमा उनले नेपालीलाई मात्र नभएर अमेरिकीलाई समेत रोजगारी दिएका छन् ।
—————————————-
सपनाको देश अमेरिका पुग्नासाथ डलर फल्दैन । अधिकांश नेपाली अमेरिका पुगेपछि ग्यास स्टेसन र रेस्टुराँमा काम गर्छन् । नेपालमा राम्रै पढाइ र काम गरेको किन नहोस्, शून्यबाट काम सुरु गर्नुपर्छ ।
केही समय अरूको काम गरेपछि अनुभव बटुलेका नेपालीले आफूलाई व्यवसायमा स्थापित गर्दै लगेका छन् । रेस्टुराँ, ग्यास स्टेसन, रियल स्टेट, रिटेल, ब्युटी सैलुन, ट्राभल एजेन्सी, सूचनाप्रविधि, ट्याक्स/एकाउन्टिङ र्फम, ल र्फम, गार्मेन्ट/कार्पेट/ज्वेलरी आयातमा उनीहरू स्थापित छन् । दाहालले भने आफ्नो रेस्टुराँमा मेक्सिकन स्वाद अमेरिकीमाझ पस्कँदै आएका छन् ।
त्यहाँ १० वर्षअघि पुगेका उनले कासा अज्टेका नामको रेस्टुराँमा काम गरे । तीन वर्षअघि नेपाली व्यवसायी बलराम पाण्डे र ईश्वर सापकोटासँग मिलेर उनले त्यही रेस्टुराँ आफ्नो बनाए । ग्राहकको भोटिङका आधारमा त्यस क्षेत्रको नम्बर एक रेस्टुराँमा ग्राहकको भीड लाग्छ । "मानिसको व्यवस्थापन गर्न जानेपछि सबै कुरा सम्भव रहेछ," उनले सुनाए, "त्यसैले मलाई फरक व्यवसायमा सफलता हासिल गर्न गाह्रो भएन ।"
उनको रेस्टुराँमा अहिले पाँच लाख डलर -करिब पाँच करोड रुपियाँ) लगानी पुगेको छ । उनले १८ जना मेक्सिकन मूलका अमेरिकीलाई पूरा समय र दुई जना नेपालीलाई आंशिक रोजगार दिएका छन् ।
नेपालीले अहिले गर्दै आएका अधिकांश व्यवसाय केही वर्षअघिसम्म भारतीयले गर्थे । त्यतिखेर यहाँ आउने नेपाली तिनै भारतीयका स्टोर र रेस्टुराँमा काम गर्थे । अमेरिकाले डीभी कार्यक्रम सुरु गरेपछि एक दशकमा नेपालीको संख्या ह्वात्तै बढेको छ । अमेरिकामा भारतीयको पछिल्लो पुस्ता बाबुको व्यवसायबाट छड्किँदै छ । "भारतीय मूलको पछिल्लो पुस्ता धेरै दुःख गर्नु नपर्ने होटल, मोटल, रेन्टल प्रोपर्टी, एकेडेमिक स्टार्टअप, स्टकजस्ता व्यवसायतिर लागेको छ," दाहालले भने, "त्यसैले नेपालीले ती व्यवसाय आफ्नो बनाएका छन् ।" न्युयोर्कको ज्याक्सन हाइट पुग्दा त्यहाँको नेपालीको चहलपहल हेर्न लायकको हुन्छ । "यसअघि यहाँ भारतीय र मेक्सिकनहरू व्यवसायमा जमेका थिए," आईटी व्यवसाय गर्दै आएका जनकपुरका परमेन्द्र भगतले भने, "समय अनुसार व्यवसाय क्रमशः अर्को समुदायको हातमा पुग्दै छ ।"
अमेरिका छिर्नासाथ व्यवसाय सुरु गर्नु निकै गाह्रो हुन्छ । "बैंकले विश्वास गर्दैनन्, सीप नसिकी व्यवसाय सुरु गर्न गाह्रो हुन्छ," सिटौला भन्छन्, "बस्दै गर्दा केही रकम बचत हुन्छ । क्रेडिट राम्रो बनाएपछि बैंकहरू लगानीकर्ता खोज्दै आउँछन् । आफूसँग सीप भए व्यवसाय गर्न सजिलो छ ।"
सिटौला अमेरिका आएर दुई वर्ष काम गरिसकेपछि हरेक नेपालीलाई आफूले घर किनाइदिनसक्नेे दाबी गर्छन् । "त्यसबीचमा कसरी रकम बचाउने, कसरी क्रेडिट बढाउने, कमाइ नपुगे अर्को काम खोज्नेलगायतका सल्लाह दिन्छौँ," उनले भने, "त्यसपछि बैंक, सरकारसँग समन्वय गराएर घर किनाइदिन्छौँ ।"
अमेरिकाको सबै राज्यमा व्यवसाय गर्न सजिलो छैन । क्यालिफोर्नियाको प्यासिफिक वे एरियामा व्यवसाय गर्न ठूलो लगानी चाहिन्छ । आईटीको हब भएको यस ठाउँका बासिन्दाको प्रतिव्यक्ति आय उच्च छ । अर्बपतिहरू धेरै भएकाले हरेक कुरा महँगो छ । "मैले चलाएको रेस्टुराँमा गरेको लगानीले टेक्सासमा भए प्रोपर्टी -जग्गा, भवन)सहित आउँथ्यो," दाहालले भने, "यहाँ मासिक १४ हजार डलर भाडा मात्रै तिर्नुपर्छ ।" भाडा तिरे अनुसार रेस्टुराँको कमाइ मासिक एक लाख डलर हुन्छ । क्यालिफोर्नियामा नेपाली समुदायले रेस्टुराँ, लिकर स्टोर, स्मोक सप, रिटेल स्टोर चलाएको छ ।
आफ्नै देशको जस्तो हावापानी भएको टेक्सासमा नेपाली व्यवसायमा जमेका छन् । यहाँका अधिकांश नेपालीले सञ्चालन गर्ने व्यवसाय ग्यास स्टेसन हो । "यहाँका हरेक ग्यास स्टोरमा नेपाली भेटिएकै हुन्छन्," पौडेल भन्छन्, "यहाँ पाँच सयभन्दा बढी नेपालीले आफ्नै व्यवसाय गरेका छन् ।"
सुरुमा यस्तै ग्यास स्टोरमा काम गरेका पौडेलले एक वर्षअघि आफँैले व्यवसाय थालेका हुन् । यहाँ तुलनात्मक रूपमा थोरै लगानीमा व्यवसाय सञ्चालन गर्न सकिन्छ । न्युयोर्कतिर रेस्टुराँ व्यवसाय गर्ने र आफ्नै क्याब -ट्याक्सी) चलाउने प्रशस्त छन् । ट्याक्सी चलाउनेहरूको कमाइ निकै राम्रो रहेको अलोक राउत बताउँछन् । क्यालिफोर्नियाको पिनोल सहरमा भर्खरै तन्दुर रेस्टुराँ सुरु गरेका पवन पौडेल एक घन्टामै कानुनी प्रक्रिया पूरा गरेको बताउँछन् । "प्यान आईडी लिनेलगायत व्यवसाय दर्ता गर्ने काम अनलाइनबाटै हुन्छ," उनले भने, "नेपालमा जस्तो व्यवसाय सञ्चालन गर्न चाहनेहरूलाई सरकारी निकायले झुलाउँदैनन् ।"
पवनले साथीहरू दिनेश फुयाल र सुरज श्रेष्ठसँग मिलेर रेस्टुराँ सुरु गरेका हुन् । यसअघि तीनै जना भारतीयको रेस्टुराँमा काम गर्थे । "यस्तै अवस्था रहे आगामी १० वर्षमा अधिकांश नेपालीको आफ्नै व्यवसाय हुन्छ," सिटौलाको दाबी छ, "त्यसले नेपालीलाई छुट्टै पहिचान दिलाउनेछ ।"