विद्यालय अझै टाढा
सिरहाको व्यापारिक केन्द्र लहान बजारदेखि पाँच किलोमिटर दक्षिणको गाढागाउँ, जहाँ डोम समुदायको बाक्लो बस्ती छ ।
सिरहाको व्यापारिक केन्द्र लहान बजारदेखि पाँच किलोमिटर दक्षिणको गाढागाउँ, जहाँ डोम समुदायको बाक्लो बस्ती छ । गाउँको एक पोखरीको डिलमा फुसको छाप्रो भएका १५ घरधुरी छन् । यही बस्तीको करिब दुई सय मिटर पर उत्तरपट्टि सोनमती गाढा उच्च मावि भवन छ । घर–आँगनअगाडि नै विद्यालय भए पनि गाढागाउँकी १३ वर्षीया किशोरी कुमारी मरिकका लागि त्यसले केही अर्थ राख्दैन ।
कुमारी मरिक मात्र होइन, उनको उमेरका धेरै मरिक बालबालिकाका हातमा किताब परेका छैनन् । सुँगुर चराउन व्यस्त कुमारी भन्छिन्, “पढ्न मन त कसलाई हुँदैन र † हामी चार दाजुभाइ र दिदीबिहिनी छौँ । सम्पत्तिका नाममा ऐलानी जमिनमा एउटा छाप्रोबाहेक केही छैन । आमाबुबा लहान बजारमा शौचालय सफा गर्ने काम गर्नुहुन्छ । घरमा खाने अन्न छैन । कापीकलम किन्न पैसा छैन । अनि, पढ्ने कसरी ?”
गाढागाउँको १५ घरधुरी डोम समुदायमा विद्यालय जाने उमेरका ४० बालबालिका छन्, तीमध्ये तीन जनाको मात्र नाम चढेको छ, विद्यालयको रजिस्टरमा । यस्तो किन ? डोम समुदायका एक अभिभावक पशुपति मरिक भन्छन्, “भूमिहीन हामी डोम जाति सहरबजारमा शौचालय र ढलमा काम गर्छौं । बाँसका सामग्री बिक्री गरेर बिहान–बेलुकाको छाक टार्छौं । ज्याला मजदुरीको पैसाले जहान–परिवारको पेट पाल्न पनि पुग्दैन ।” छोराछोरीलाई पढाउने मन हुँदाहुँदै पनि धन नभएकाले पढ्न पठाउन नसकिने
बताउँछन् उनी ।
गरिबी त छँदै छ । अज्ञानता र अशिक्षा पनि उस्तै । त्यसमाथि कथित माथिल्लो जातकाले विभेद गर्ने हुँदा डोम समुदायका बालबालिका शिक्षाबाट वञ्चित भएको अनुभव छ, सोनमती गाढा माविका शिक्षक राजेश्वर यादवको । भन्छन्, “डोम समुदायबाट हलेश्वर मरिकलाई विद्यालयले परिचर राख्यो । तर पनि, डोम समुदायबाट पढ्न कोही आइदिएन ।”
डोम समुदायका अगुवा सिरहा, धनगढीका रामचन्द्र मरिक बालबालिकाहरू शिक्षाबाट वञ्चित हुनुको मुख्य कारण गरिबी नै भएको बताउँछन् । सोध्छन्, “भूमिहीन डोमहरूको सम्पत्ति नभएका कारण काम गर्ने कि त्यो समयमा पढ्न जाने ?” तर, दलित जनकल्याण युवा क्लबका संयोजक विनोद बिसङ्खे जातीय विभेदका कारण डोम समुदाय शिक्षामा पिछडिएको बताउँछन् ।
सरकारले विद्यालय पढ्ने उमेरका ९५ प्रतिशत बालबालिका विद्यालयको पहुँचभित्र रहेको दाबी गर्दै आएको छ । तर, अल्पसंख्यक सीमान्तीकृत डोम समुदायका बालबालिका विद्यालय प्रवेश गर्न सकेका छैनन् । काठमाडौँको दरबार हाई स्कुलपछि उपत्यकाबाहिर खुलेको पहिलो विद्यालय सिरहा सदरमुकामको श्रीचन्द्र मावि हो । राणाकालमै शिक्षाको थालनी भएको सिरहा जिल्लामा डोम समुदायमा एक जना महिलाले पनि एसएलसी उत्तीर्ण गरेका छैनन् । उच्च शिक्षा त धेरै टाढाको कुरा !
सम्बन्धित
पढ्ने–पढाउने पाउनै मुस्किल...
४२ विद्यालयमा चलेको थारु भाषा शिक्षा अहिले जेनतेन एउटामा
शिक्षकहरू हाम्रा नानीहरूलाई मायाको आँखाबाट कहिले हेर्छन् ? आखिर कहिले उनीहरू ‘वास्तविक शिक...
... अनि किन जाने यस्तो स्कुल ?
राजनीति–व्यापार गठजोडका कारण मेडिकल कलेजद्वारा विद्यार्थीबाट असुलेको अतिरिक्त रकम फिर्ता ग...
अटेरी मेडिकल कलेज सञ्चालकसामु निरीह सरकार
विद्यार्थीको सिकाइमा सकारात्मक प्रभाव पारे पनि शिक्षकमै विषयगत ज्ञान कमजोर...
स्थानीय पाठ्यक्रम कति प्रभावकारी ?
अतिरिक्त शुल्क फिर्ता गराउन चिकित्सा शिक्षा संघर्ष समितिको आन्दोलन ६–७ वटामेडिकल कलेजमा ...
मेडिकल कलेजका बेथिति : निर्लज्ज सञ्चालक, मूकदर्शक सरकार
परीक्षाजस्तो संवेदनशील विषयमा त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान परीक्षा शाखाले आकस...