... अनि किन जाने यस्तो स्कुल ?
शिक्षकहरू हाम्रा नानीहरूलाई मायाको आँखाबाट कहिले हेर्छन् ? आखिर कहिले उनीहरू ‘वास्तविक शिक्षक’ बन्लान् ?
केही दिनअघि रुपन्देही सम्मरीमाई गाउँपालिका ६ मार्चवारस्थित ज्ञानदीप बोर्डिङ स्कुलमा कक्षा ५ मा पढ्ने बालक मोहम्मद देवानलाई कापी नल्याएको झोकमा एकजना शिक्षकले लठ्ठीले हानेर आँखामा घाउ बनाइदिए । देवानको गल्ती यत्ति थियो कि उनले गृहकार्य गरेको कापी घरमै बिर्सेका थिए । तर आफ्नो सानो गल्तीका लागि उनले शिक्षकको क्रूरताको हद देख्नुपर्यो । त्यो घटनापछि उनी स्कुल जान मानेका छैनन् ।
कन्चनपुर भीमदत्त नगरपालिका १७ स्थित महाकाली बाल विद्यालयमा कक्षा ९ मा पढिरहेका माधव कलौनीको शिक्षकले कुटेका कारणले मृत्यु भयो । १३ असार ०७६ मा शिक्षकको कुटाइबाट कलौनी घाइते भएका थिए । उपचारका क्रममा केही दिनअघि मात्र भारतको भोजीपुरा अस्पतालमा उसको मृत्यु भएको थियो ।
यी उदाहरणले के भन्छन् भने हाम्रा शिक्षकहरूले स्कुलका नानीहरूलाई डर र मृत्युका (कु)पाठ पढाइरहेका छन् । त्रास र निरङ्कुशताका (अ)शिक्षा दिइरहेका छन् ।
हाम्रा नानीबाबुहरू डराईडराई विद्यालय गइरहेका छन् । उनीहरू डराईडराई आफ्ना कक्षा कोठातिर पसिरहेका छन् । उनीहरूलाई विद्यालयमा उन्मुक्त हाँसो हाँस्न डर लागिरहेको छ । उनीहरू स्वतन्त्रपूर्वक बोल्न सक्दैनन्, मुस्कुराउन सक्दैनन् । हाम्रा नानीहरू विद्यालयमा बस्नै चाहँदैनन् । शिक्षकहरूसँग नजिक हुनै चाहँदैनन् । न विद्यालयमा पढ्न चाहन्छन्, न त सिक्नै चाहन्छन् । बालबालिकाहरू प्रेम, स्नेह, अपनत्व, साथ, स्वतन्त्र वातावरण, निरङ्कुशताविहीन शिक्षक र विद्यालयको खोजीमा छन् । उनीहरू साथीजस्तै सरमिसको खोजीमा छन् । उनीहरू घरजस्तै विद्यालयको खोजीमा छन् जहाँ उनीहरूलाई डर र त्रास महसुस नहोस् ।
हाम्रा शिक्षकहरू प्रेम र मुस्कान बोकेर कक्षा कोठामा पस्दैनन् । हातमा लठ्ठी नचाउँदै निरङ्कुश शासक झैँ डरलाग्दो अनुहार बनाएर उनीहरू कक्षाकोठामा पस्छन् । कक्षामा पस्नेबित्तिकै उनीहरू विद्यार्थीहरूलाई हेरेर मुस्कुराउँदैनन् । बरू जङ्गलको बाघझैँ गर्जिन्छन्, ‘गृहकार्य नगर्नेहरू, नपढ्नेहरू सबैजना उठ् !’ त्यसपछि डरको वातावरण उत्पन्न भइहाल्छ कक्षा कोठाभरि । त्यसपछि कयौँ अबोध बालबालिकाका गालामा थप्पड बर्सिन्छन्, कयौँ नानीहरूका हात, खुट्टा रातै हुन्छन् । यस्तो क्रूर वातावरणमा हाम्रा नानीहरू कसरी पढ्नसक्छन् ? तिनीहरू कसरी विना डिप्रेसन रहन सक्छन् ? कसरी मुस्कुराउन र सिक्न/बुझ्न सक्छन् ? बरू जेलका कैदीहरूले केही नयाँ कुरा सिक्न र बुझ्न सकछन् तर विद्यालयको जेलमा बसेर कलिला मस्तिष्कहरूले कुनै कुरा पनि किमार्थ सिक्न सक्दैनन् । बुझ्न सक्दैनन् ।
आज हरेकजसो बालबालिकाको अवस्था मोहम्मद देवानसरह नै छ । उनीहरू विद्यालयभन्दा कतै टाढा भाग्न चाहन्छन् । कतै टाँढा गएर स्वतन्त्रताको सास फेर्न चाहन्छन् । उनीहरू माया, साथ, स्नेह र अपनत्वका प्रेमिल मनहरूसँग सधैँको निम्ति खेल्न चाहन्छन् । हाम्रा नानीहरू मुस्कान र हाँसोका बेलुनहरूसँग मस्तसाथ रमाउँँन चाहन्छन् । उनीहरू माया भरिएका पाठहरू मायालु मान्छेहरूसँग बसेर सिक्न र बुझ्न चाहन्छन् । उनीहरूलाई साँघुरो विद्यालय जहाँ प्रेम, स्नेह, ज्ञान, आफ्नोपन, साथ, मुस्कान, हाँसो, मनोरञ्जन, सिकाइ, बुझाइ, खेलाइ आदि आदि इत्यादि सबै कुरा सङ्कुचित छन्, त्यहाँ बस्न, सिक्न, बुझ्न, खेल्न, रमाउँन, हाँस्न किमार्थ मञ्जुर छैन, स्वीकार छैन ।
अब विद्यालयहरूबाट विद्यार्थीहरूलाई डराउने शस्त्रहरू कतै पर फ्याक्नुपर्छ । शिक्षकहरू कक्षा कोठामा पस्दा मुस्कान र स्नेहका फूलहरू बोकेर पस्नुपर्छ । विधार्थीहरूप्रति माया बोकेर पस्नुपर्छ र उनीहरूलाई मायाको अँगालोमा बेरेर शिक्षकहरू पनि उनीहरूका मिल्ने साथी हुन् भनेर आभास गराउनुपर्छ । अनि मात्र बालिबालिकाहरू रुचि साथ कक्षा कोठामा बसेर शिक्षकहरूसँगै जिज्ञासा, विचार साट्दै पढ्नेछन् अनि उनीहरू विद्यालय र शिक्षाप्रति बिस्तारैबिस्तारै आफैँ गम्भीर हुँदै जानेछन् । उनीहरू मज्जाले सिक्न थाल्नेछन् । मज्जाले बुझ्न थाल्नेछन् ।
अहिले निजी विद्यालयहरूमा अङ्ग्रेजी भाषाको ठूलो पर्खाल लगाएको देखिन्छ । अङ्ग्रेजी भाषालाई विद्यालयमा बन्देज लगाउनुपर्छ भन्ने होइन । यत्ति हो कि विद्यालयमा कुनै निश्चित् भाषाको जेल नबनाइयोस् । कसैलाई नेपाली बोल्न मन लाग्यो, नेपाली भाषामै केही कुरा शिक्षकलाई सोध्न मन लाग्यो भने उसले निसङ्कोच आफ्नो प्रश्न शिक्षकलाई सोध्न पाओस् । उसलाई बुझ्न सजिलो हुने भाषामै बुझाइयोस् । कमसेकम विद्यालय जसलाई सिक्ने र बुझ्ने पवित्र स्थलको रूपमा बुझिन्छ, त्यहाँ विद्यार्थीहरूलाई आफूलाई निकै गाह्रो हुने भाषामा बोल्न, बुझ्न विवश नबनाइयोस् । निश्चित भाषाको जेलमा बसेर नानीहरू केही सिक्न र बुझ्न सक्दैनन् । त्यो सङ्कुचित पर्यावरणमा नानीहरू आफूलाई असुरक्षित महसुस गर्छन् र डराउन थाल्छन् जुन अवस्थामा सिकाइ, बुझाइ किमार्थ हुनै सक्दैन । यसको निम्ति सम्पूर्ण बालबालिका एकै स्तरका छन् भनेर कदापि बुझ्नुहुँदैन । सबै बालबालिकाको स्तर फरकफरक हुन्छ र तिनीहरूको बुझाइको गति पनि फरकफरक हुन्छ । यो कुरालाई शिक्षक र विद्यालयले मनन गर्न सक्नुपर्छ ।
विद्यार्थीहरुलाई विद्यालय जेलजस्तो नलागेर घर अथवा सुन्दर बगैँचाजस्तो लागोस् जहाँ सिकाइ र बुझाइमा कुनै किसिमको पनि अवरोध नहोस् । विद्यालय वास्तविक रूपमा पवित्र स्थल होस् । पछि विद्यालय सकेर बाहिर निस्किए पछि उनीहरूले विद्यालय र शिक्षकहरूका प्रशंसामा करोडौँ शब्द खर्च गरून् । विद्यालयबाट बाहिर निस्कँदा उनीहरूको आँखामा यथार्थ प्रेमिल मान्छेहरूको बिछोडको कारणले आँसुको धारा बगोस् । उनीहरू फेरिफेरि फर्केर आफूले पढेको विद्यालयमा घुम्न जाऊन् । आफ्ना प्रिय शिक्षकहरूका कथा देशविदेशभरि सुनाऊँन् । आफ्ना मनपर्ने शिक्षकहरूलाई सम्ँिझदै कविता र संस्मरण लेखून् । पछि कतै बाटोघाटोतिर आफूलाई पढाएका शिक्षकहरू भेटिँदा विद्यार्थीहरू नचिने झैँ गरेर आफ्ना मुख फर्काएर नभागून् ।
केही महिनाअघि मोरङको सुन्दरहरैँचा नगरपालिकामा अवस्थित महेन्द्र माध्यमिक विद्यालयकी एकजना किशोरी बेहोस भएर भुइँमा ढलेकी तर छेउमै कुर्सीमा बसिरहेका केही शिक्षिकाहरू भने बेवास्तापूर्वक मोबाइल चलाइरेहका तस्बिर भाइरल भएको थियो । उक्त तस्बिरमा हामी हेर्न सक्छौँ, ती बेहोस भएकी बालिकालाई उसका केही साथीहरूले हम्किरहेका छन् । साथीहरू उसकै छेउछाउमा बसेका छन् । तर, शिक्षकशिक्षिकाहरू भने आफ्नै संसारमा निमग्न छन् । यस्तो महसुस हुन्छ कि उनीहरूका निम्ति विद्यार्थीहरू केही पनि होइनन् ।
शिक्षकशिक्षिकाहरू आजको दिनमा झनै निर्दयी र कठोर बनिरहेका छन् । विद्यार्थीप्रति बेपर्वाह भइरहेका छन् । उनीहरूमा कोमलता भन्ने कुरा एकरत्ति छैन । न सहानुभूति भन्ने कुरा छ न त उनीहरूमा अलिकति संवेदनशीलता नै छ । विद्यालय र कक्षा कोठाको महाराजा बन्ने सुरमा शिक्षकहरू ‘अस्तित्वविहीन मान्छे’ बनिरहेका छन् ।
केही महिनाअघि रोल्पाको रुन्टीगढी गाउँपालिकाको भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनले रिसको झोकमा पाँचजना विद्यार्थीहरूका हात भाँचिदिइन्, लठ्ठीले हानेर । यतिमात्र होइन, उनले १४ जना अबोध बालबालिकालाई कुटेर घाइते नै बनाइदिइन् ।
आखिर शिक्षकहरूमा विद्यार्थीहरूप्रति कुनचाहिँ कुराको आक्रोश विद्यमान छ ? किन शिक्षकहरू नै बालबालिकालाई कुट्न र अस्पतालका शैयामा पुर्याउन उद्यत छन् ? आखिर कहिलेसम्म हाम्रा नानीबाबुहरूमाथि विद्यालय र शिक्षकहरूले दमन र उत्पीडन गरिरहन्छन् ? कहिले हाम्रा शिक्षकहरू राक्षस प्रवृत्तिबाट बाहिर निस्कन्छन् अनि हाम्रा नानीहरूलाई मायाको आँखाबाट हेर्छन् र मनका हातहरूबाट अँगाल्छन् ? आखिर कहिले शिक्षकहरू ‘वास्तविक शिक्षक’ बन्लान् ?
जबसम्म शिक्षकहरू रिस, आक्रोश, अहंकार र घृणाका हतियारहरू सधैँको निम्ति विसर्जन गरेर माया, स्नेह, मुस्कान, कोमलता, मृदुपन, सकारात्मकताका फूलहरू बोकेर कक्षा कोठा र विद्यार्थीहरूमाझ आउँदैनन्, तबसम्म हाम्रा नानीहरू मानसिकरूपमा स्वतन्त्र हुनै सक्दैनन् । बालबालिकाहरू कुनै कुरा ग्रहण नै गर्न सक्दैनन् । यस्तो अवस्थामा नानीहरू विद्यालय जानुको औचित्य कसरी पुष्टि हुन्छ ?
सम्बन्धित
पढ्ने–पढाउने पाउनै मुस्किल...
४२ विद्यालयमा चलेको थारु भाषा शिक्षा अहिले जेनतेन एउटामा
शिक्षकहरू हाम्रा नानीहरूलाई मायाको आँखाबाट कहिले हेर्छन् ? आखिर कहिले उनीहरू ‘वास्तविक शिक...
... अनि किन जाने यस्तो स्कुल ?
राजनीति–व्यापार गठजोडका कारण मेडिकल कलेजद्वारा विद्यार्थीबाट असुलेको अतिरिक्त रकम फिर्ता ग...
अटेरी मेडिकल कलेज सञ्चालकसामु निरीह सरकार
विद्यार्थीको सिकाइमा सकारात्मक प्रभाव पारे पनि शिक्षकमै विषयगत ज्ञान कमजोर...
स्थानीय पाठ्यक्रम कति प्रभावकारी ?
अतिरिक्त शुल्क फिर्ता गराउन चिकित्सा शिक्षा संघर्ष समितिको आन्दोलन ६–७ वटामेडिकल कलेजमा ...
मेडिकल कलेजका बेथिति : निर्लज्ज सञ्चालक, मूकदर्शक सरकार
परीक्षाजस्तो संवेदनशील विषयमा त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान परीक्षा शाखाले आकस...