कन्सल्टेन्सीले गुमराहमा राख्दा अस्ट्रेलिया पुगेका विद्यार्थी अलपत्र
विद्यार्थीले छलिएको थाहा भएसँगै समस्या समाधान गर्नुपर्ने र आफूहरूलाई न्याय हुनुपर्ने माग गर्दै दूतावास, यहाँका अन्तर्राष्ट्रिय विद्यार्थी संगठन काउन्सिल फर इन्टरनेसनल स्टुडेन्ट अस्ट्रेलिया (सिसा) मा गुहार मागेपछि यो समस्या बाहिर आएको हो ।
काठमाडौँकी प्रतीक्षा श्रेष्ठ डिप्लोमा अफ नर्सिङ अध्ययन गर्न करिब डेढ वर्षअघि सिड्नीमा रहेको अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी) आइन् । जम्मा १८ महिनाको कोर्ष अध्ययन गर्न आएकी उनी अहिले उक्त कलेजमा अध्ययन गरेको प्रमाणपत्रले सम्बन्धित क्षेत्रमा काम गर्न नपाइने थाहा पाएपछि अन्योलमा छिन् । एकातिर भिसा सकिन लागेको छ, अर्कातिर १५ हजार डलर जति खर्च भइसकेको छ । झन् त्यसमा केही दिनअघि यहाँको व्यावसायिक शिक्षाको नियमन निकाय अस्ट्रेलियन स्किल्स क्वालिटी अथोरिटी (आस्क्वा) ले उक्त कलेजको दर्तै खारेज गरिदिएपछि त उनी दोधारमा छिन् ।
मीनाको जस्तै समस्या अहिले उक्त कलेजमा अध्ययनरत सयौँ नेपाली विद्यार्थीको छ । कति नेपाली विद्यार्थी उक्त कलेजमा अध्ययनरत छन् भन्ने तथ्यांक यकिन नभए पनि आठ सयभन्दा बढी रहेको सोही कलेजमा अध्ययनरत विद्यार्थी दाबी गर्छन् । विद्यार्थीले छलिएको थाहा भएसँगै समस्या समाधान गर्नुपर्ने र आफूहरूलाई न्याय हुनुपर्ने माग गर्दै दूतावास, यहाँका अन्तर्राष्ट्रिय विद्यार्थी संगठन काउन्सिल फर इन्टरनेसनल स्टुडेन्ट अस्ट्रेलिया (सिसा) मा गुहार मागेपछि यो समस्या बाहिर आएको हो ।
विद्यार्थीहरू नेपाल तथा अस्ट्रेलियामा रहेका दर्जनभन्दा बढी कन्सल्टेन्सीमार्फत उक्त कलेजमा अध्ययन गर्न आएका थिए । बिजनेस, आईटी, हस्पिटालिटीलगायतका विषय अध्यापन गराइने भए पनि उक्त कलेजमा नर्सिङ अध्ययन गर्न धेरै नेपाली विद्यार्थी आएका थिए । कानुन क्षेत्रका विज्ञहरूका अनुसार अस्ट्रेलियामा नर्सिङ अध्ययन गरेर मात्र नर्सको रूपमा काम गर्न पाइँदैन । यसका लागि नर्सिङ अध्ययन गर्न मान्यता दिने नियमन निकाय अस्ट्रेलियन नर्सिङ एन्ड मिडवाइफरी एक्रिडेसन काउन्सिल (एनम्याक) मा दर्ता भएको हुनुपर्छ । साथै, यहाँका अस्पताल तथा नर्सिङहोममा क्लिनिकल प्लेसमेन्ट (अध्ययन पूरा गरेपछि) अनिवार्य निःशुल्क तालिम गर्नुपर्ने हुन्छ । एनम्याकमा दर्ता भएका शिक्षण संस्थाबाट सबै नियम पूरा गरेपछि यहाँको अर्को नियमन निकाय अस्ट्रेलियन हेल्थ प्राक्टिसनर रेगुलेसन एजेन्सी (आप्रा) ले उनीहरूको अध्ययनलाई रजिस्ट्रेसन गरेर काम गर्न मान्यता प्रदान गर्छ । तर कलेज यहाँको उक्त नियमन निकाय एनम्याकमा दर्ता नै नभएकाले अहिले समस्या देखिएको हो । केही विद्यार्थीले आफूहरूलाई क्लिनिकल प्लेसमेन्टसमेत उपलब्ध नगराएको गुनासो गरेका छन् ।
सामान्यतः डिप्लोमा अफ नर्सिङ अध्ययन सकेका विद्यार्थीले अस्ट्रेलियाका विश्वविद्यालयहरूमा ब्याचलर्स अफ नर्सिङ (आरएन) अध्ययन गर्न एक वर्षको विषय क्रेडिट पाउने गर्छन् । तीन वर्षको हुने यो विषय अध्ययनका लागि सहज बाटो मानिने भए पनि एआइबिटीमा अध्ययन सकेका नर्सिङका विद्यार्थीलाई एक वर्षको क्रेडिट विश्वविद्यालयले नदिने भएपछि उनीहरू तनावमा परेका हुन् ।
अन्तरक्रियाका क्रममा पीडित विद्यार्थी, सिड्नी/अस्ट्रेलिया | तस्बिर : नारायण खड्का
गलत मार्केटिङ तरिका अपनाएको भन्दै आस्क्वाले २६ मार्चसम्मका लागि कलेजको दर्ता खारेज गरिदिएको छ । त्यतिबेलासम्म कलेजले उक्त निर्णयविरुद्ध अपिल गर्न पाउने व्यवस्था छ । आस्क्वाको कलेज दर्ता खारेजी निर्णयविरुद्ध अपिल गरिसकेको कलेजले बताइएको छ । २६ मार्चसम्म कलेज पूर्ण रूपमा कक्षा सञ्चालन गर्न योग्य रहेको भन्दै अस्ट्रेलिया सरकारको शिक्षा विभागले विद्यार्थीलाई सूचना जारी गरेको छ ।
कानुन विषयका जानकार शमशेरसिंह थापाका अनुसार अस्ट्रेलियामा अध्ययन गराउन अनुमति दिने र त्यसलाई मान्यता दिने अलग-अलग नियमन निकाय छन् । एआइबिटीको मुद्दामा उक्त कलेजले डिप्लोमा तहको अध्यापनका लागि आस्क्वासँग अनुमति लिए पनि नर्सिङ विषयको नियमन निकाय एनम्याकसँग नलिएकाले यो समस्या देखिएको हो । किनकि, एनम्याकमा कलेज दर्ता नभएसम्म विद्यार्थीले अध्ययन गरेको नर्सिङ विषयको प्रमाणपत्रले नर्सका रूपमा अस्ट्रेलियामा काम गर्न पाइँदैन । आस्क्वाबाट अनुमति लिएर कक्षा सञ्चालन गर्न पाइए पनि नर्सिङका लागि सम्बन्धित निकायबाट दर्ता नभएकाले नै विद्यार्थीहरू अहिले अन्योलमा परेका हुन् ।
"अस्ट्रेलियामा कन्सल्टेन्सीहरू राम्ररी 'रेगुलेट' छैनन्, त्यसैले यहाँ जसले जसलाई जे सल्लाह दिए पनि हुने अवस्था छ," थापा भन्छन् । उनी अहिलेको मुद्दामा कलेजले विद्यार्थी आउनुअघि दिएको अफर लेटर वा सीओईमा कलेज एनम्याकमा दर्ता नभएको उल्लेख गरे पनि यसलाई कन्सल्टेन्सीले नबुझाएको र विद्यार्थीले समेत ध्यान नदिएकाले यो समस्या सिर्जना भएको हो ।
कलेजले जारी गरेको प्रेस विज्ञप्ति
एआइबिटीमा विद्यार्थीहरू ल्याउने अस्ट्रेलियाका नाम चलेका मात्र नभएर अधिकांश नेपालमा रहेका कन्सल्टेन्सी पनि छन् । ती कन्सल्टेन्सी यसबारे खुलेर केही प्रतिक्रिया दिन चाहँदैनन् । उनीहरू विद्यार्थीले पनि आफू आउनुअघि अफर लेटर अध्ययन गर्नुपर्नेमा त्यसो नगरी सबै दोष आफूहरूलाई दिन नमिल्ने बताउँछन् । अस्ट्रेलियामा रहेको शैक्षिक परामर्शदाताको संगठन एकाका अध्यक्ष परशुराम अधिकारी सबै दोष कन्सल्टेन्सीलाई मात्र दिन नहुने दाबी गर्छन् । तैपनि, उनी यो समयमा विद्यार्थीलाई सहयोग गर्न सकिने तरिकाबारे छलफल भइरहेको बताउँछन् ।
अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संगठन सिसाले सिड्नीमा सरोकारवालासँग यसै विषयमा आयोजना गरेको अन्र्तक्रियामा विद्यार्थीले आफूहरू समस्यामा परेको सुनाएका थिए नै, कन्सल्टेन्सीले धम्की दिएकोसम्म बताए । तीन सयभन्दा बढी विद्यार्थी सम्मिलित उक्त अन्र्तक्रियामा तिनीहरूले न्याय दिलाउन माग गरेका थिए । सिसाका अध्यक्ष विजय सापकोटा समस्या समाधान गर्ने प्रयास भइरहेको बताउँछन् ।
विद्यार्थीका गुनासा र समस्या बाहिर आएपछि क्यानबेरास्थित नेपाली दूतावासकी कार्यवाहक राजदूत दु्रपदा सापकोटा समस्याको सहज निकासका लागि अगाडि सरेकी छिन् । उनले यहाँको शिक्षा विभागका उच्चाधिकारीसँग कूटनीतिक छलफल गरेर समस्याको सहज निकासको आग्रह गरेकी छिन् । केही दिनअघि क्यानबेरास्थित विभागको कार्यालयमा दक्षिण एसिया हेर्ने विभाग, नीति तथा कानुन विभागलगायतका उच्चाधिकारीसँग भेटेर समस्यालाई गम्भीर रूपमा लिएर समाधान गर्न आग्रह गरेकी थिइन् । भन्छिन्, "हामीले कूटनीतिक र सामाजिक हर किसिमले पीडित विद्यार्थीको हितमा समाधान खोज्ने प्रयास गरिरहेका छौँ ।" दूतावासले नेपाल सरकारलाई गलत कार्य गरेका कन्सल्टेन्सीको खोजी गरेर कारबाही गर्नसमेत आग्रह गरिसकेको छ । सरकारले तीन सदस्यीय कार्यदल बनाएर अनुसन्धान गरिरहेको छ । तर उक्त समितिले अहिलेसम्म छानबिन प्रतिवेदन भने सार्वजनिक गरेको छैन ।
समस्या देखिएपछि शैक्षिक परामर्शदाताको संस्था एकाले एआइबिटी कलेजका निर्देशक फियोना कीसँग यसबारे छलफल गरेको थियो । उक्त छलफलमा सहभागी एकाका अध्यक्ष परशुराम अधिकारीका अनुसार कीले कलेज विद्यार्थीको समस्याप्रति गम्भीर रहेको जनाउँदै आफूहरू समस्या समाधानका लागि लागिरहेको बताएकी थिइन् ।
अर्कोतिर हालै कलेजले प्रेस वक्तव्य सार्वजनिक गर्दै आफूहरू विद्यार्थीलाई उत्कृष्ट शिक्षा दिन कटिबद्ध रहेको जनाएको छ । वक्तव्यमा धेरैजसो डिप्लोमा अफ नर्सिङका विद्यार्थीलाई आस्क्वाले गरेको निर्णयबाट तत्काल असर नपर्नेसमेत उल्लेख गरेको छ । एकाका एक पूर्वपदाधिकारीको अनुभवमा अहिलेको समस्या भनेकै कन्सल्टेन्सीले विद्यार्थीलाई सबै कुरा खुलस्त नभन्नु र उनीहरूले विश्वासका आधारमा कुनै पनि कागजपत्र अध्ययन नगरी अस्ट्रेलिया आउने निर्णय लिनु देखिएको बताउँछन् ।
सम्बन्धित
पढ्ने–पढाउने पाउनै मुस्किल...
४२ विद्यालयमा चलेको थारु भाषा शिक्षा अहिले जेनतेन एउटामा
शिक्षकहरू हाम्रा नानीहरूलाई मायाको आँखाबाट कहिले हेर्छन् ? आखिर कहिले उनीहरू ‘वास्तविक शिक...
... अनि किन जाने यस्तो स्कुल ?
राजनीति–व्यापार गठजोडका कारण मेडिकल कलेजद्वारा विद्यार्थीबाट असुलेको अतिरिक्त रकम फिर्ता ग...
अटेरी मेडिकल कलेज सञ्चालकसामु निरीह सरकार
विद्यार्थीको सिकाइमा सकारात्मक प्रभाव पारे पनि शिक्षकमै विषयगत ज्ञान कमजोर...
स्थानीय पाठ्यक्रम कति प्रभावकारी ?
अतिरिक्त शुल्क फिर्ता गराउन चिकित्सा शिक्षा संघर्ष समितिको आन्दोलन ६–७ वटामेडिकल कलेजमा ...
मेडिकल कलेजका बेथिति : निर्लज्ज सञ्चालक, मूकदर्शक सरकार
परीक्षाजस्तो संवेदनशील विषयमा त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान परीक्षा शाखाले आकस...