अहो अफ्रिका !
अफ्रिका भन्नेबित्तिकै अभाव, गरिबी, भोकमरी र टाउको ठूलो भएका ख्याउटे अनुहारले ग्रस्त क्षेत्र भनी कल्पेको मेरो मानसपटल क्षणभरमै युटर्न भयो ।
कतार एयरवेजबाट दक्षिण अफ्रिकाको पुरानो सहर जोहानेसवर्गस्थित टम्बो एयरपोर्ट उत्रने बित्तिकै मेरो अनुमान फेल खायो । अफ्रिका भन्नेबित्तिकै अभाव, गरिबी, भोकमरी र टाउको ठूलो भएका ख्याउटे अनुहारले ग्रस्त क्षेत्र भनी कल्पेको मेरो मानसपटल क्षणभरमै युटर्न भयो ।
एक घन्टाको उडानपछि अर्को सहर डर्बानस्थित किङ साका अन्तर्राष्ट्रिय विमानस्थल उत्रँदा झन् अफ्रिकाबारे मेरो सोच सोह्रै आना गलत साबित भयो । सफा, स्वच्छ, फराकिला चिल्ला सडक, जताततै फ्लाई ओभर बाटाहरू र व्यवस्थित ट्राफिक व्यवस्थापनले मलाई २००९ मा घुमेको युरोपका जर्मनी, डेनमार्क, नेदरल्यान्ड र स्वीडेनको याद दिलायो । सडकका दुवैतिर हराभरा रूख/बिरुवा, चट्ट परेका सुन्दर घर/होटल, व्यवस्थित बजार र बदलिँदो भौतिक संरचना हेर्दै डर्बान पुग्न ४५ मिनेट खर्चिएको पत्तै भएन । डर्बान पुग्दा झमक्कै भएकाले सहर देखिएन ।
भोलिपल्ट २२ भदौ बिहान होटलको झ्यालबाट चिहाउँदा थाहा भयो, डर्बानको भौतिक विकासले आकाश चुमिसकेछ । सबै घर एकैनासका । गगनचुम्बी महल र होटलहरूको सहर डर्बान । डर्बानले गर्नुपर्ने जति भौतिक विकास गरिसकेछ । समुद्री किनारमा अवस्थित डर्बान होटलहरूको सहर भन्दा पनि हुने रहेछ । अधिकांश होटल समुद्रको तीरमा । अफ्रिकाले पहिलोपटक हरेक पाँच वर्षमा हुने विश्व वन सम्मेलन (वल्र्ड फरेस्ट्री कंग्रेस) आयोजना गर्ने आँट गरेको थियो ।
त्यही कार्यक्रममा सहभागी बन्न वन मन्त्रालय र वन क्षेत्रमा काम गर्ने विभिन्न संस्थाका पदाधिकारीको टोलीसहित सहभागी थिएँ म । ‘फरेस्ट एन्ड पिपुल : इन्भेस्टिङ इन अ सस्टेनेबल डेभलप्मेन्ट’ विषय दिइएको सम्मेलनमा नेपालसहित करिब एक सय देशका वन क्षेत्रमा काम गर्ने विशेषज्ञदेखि सरकारी अधिकारी सहभागी थिए । सम्मेलनमा वन, किसान, कृषि, जीविकोपार्जन, वनजन्य उद्यम, वन्यजन्तुलगायतका विषयमा ८ सय ५० वटा कार्यपत्र प्रस्तुत भएका थिए ।
सम्मेलनको उद्घाटन २१ भदौमै भइसकेको थियो । डर्बानस्थित इन्टरनेसनल कन्भेन्सन सेन्टर (आईसीसी)मा दोस्रो दिनको कार्यक्रममा सहभागी भएँ, जहाँ वन क्षेत्रका विविध विषय र भावी रणनीतिबारे छलफल र बहस भइरहेको थियो । मञ्चमा रहेका होनहार वनविज्ञहरूले दिगो विकासमा वनको महत्त्व र भावी कार्ययोजनाबारे प्रवचन दिइरहेका थिए । साँझ नेपालका तर्फबाट वन मन्त्रालयले ‘भूकम्पले वन क्षेत्र र निकुञ्जमा पुर्याएको क्षति’बारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न ‘साइड इभेन्ट’ गरेको थियो । टोलीको नेतृत्व गरेका वन मन्त्रालयका सहसचिव विश्वनाथ ओली, वन विभागका उपमहानिर्देशक शिव वाग्लेलगायतको टोलीले प्रस्तुति दिँदै नेपालको प्राकृतिक सौन्दर्य हेर्न अन्तर्राष्ट्रिय समुदायलाई स्वागत गरे ।
पर्सिपल्ट लन्च समयसम्म विभिन्न ‘साइड इभेन्ट’मा सहभागी भयौँ नेपाली टोलीसहित । जहाँ फेकोफनका पूर्वअध्यक्ष तथा अन्तर्राष्ट्रिय सामुदायिक वन सञ्जालका संयोजक घनश्याम पाण्डेले समेत नेपालको वनको वर्तमान अवस्था र समुदायको अधिकारबारे प्रस्तुति दिएका थिए ।
दिउँसो ३ बजे सम्मेलनमा सहभागी पत्रकार र भीआईपीहरूलाई अफ्रिकाको नेसनल पार्क घुमाउने कार्यक्रम थियो । त्यो टोलीमा सहभागी हुने निधो गरेर आईसीसीसँगै रहेको पाँचतारे होटल हिल्टनको लबीमा गएँ । सबैलाई जम्मा हुन त्यही ठाउँ तोकिएको थियो । बडेमान ज्यान भएका एक जनाले सहभागीको नाम रुजु गरिरहेका थिए । अभिवादनसहित परिचय दिएपछि सिट देखाए ।
डर्बानबाट झन्डै दुई घन्टाको यात्रापछि इन्ड् ल्भु डीसीस्थित ‘ताला पार्क’ पुगियो । यो प्राइभेट पार्क रहेछ । पार्क व्यवस्थापकले टोलीलाई उच्चस्तरको सत्कार गरे । जुस, सफ्ट ड्रिंक्सदेखि कैयौँथरी हार्ड ड्रिंक्ससम्म । सितनमा काजु, पिस्ता, किसमिसदेखि मृगको सुकुटीसम्म । आफूलाई मन पर्ने सफ्ट ड्रिंक्स कोक लिएर लागियो जंगल सफारीतिर । गज्जबका गाडी रहेछन् जंगल सफारी गराउन । १० देखि १५ जनासम्म अट्ने । पार्क हेर्दा बारीका पाटाजस्ता देखिए पनि दुईसिंगे गैँडादेखि हात्ती, मृग, जेब्रा, अस्ट्रिच कति हो कति !
झन्डै दुई घन्टाको सफारीपछि हामी सबैलाई लगियो एउटा हलमा । जहाँ वन्यजन्तु संरक्षणमा काम गरेका होनहार विशेषज्ञहरू सहभागी थिए । यहाँ दुईसिंगे गैंडाको चोरी सिकार मुख्य चुनौती रहेछ । त्यसबारे साउथ अफ्रिकन नेसनल पार्कका प्रमुख कार्यकारी अधिकृत फन्डिसिले मेकेतेनीले प्रस्तुति दिए । त्यसलगत्तै डिनर स्थल लगियो । डिनर सुरु हुनुअघि हामीलाई स्वागत गर्न परम्परागत स्थानीय जुनु नाच देखाइयो । जुन निकै आकर्षक थियो । नाच हेर्दाहेर्दै समय बितेको पत्तै भएन । मेरा लागि सहभागी सबै नयाँ अनुहार थिए । डिनरकै क्रममा कतिपय देशका मन्त्री, वन विशेषज्ञदेखि अनुसन्धानकर्तासँग चिनजान गरियो । नेपाल भ्रमण गरेका वन्यजन्तु र वनविज्ञ भेट हुँदा मात्र पनि खुसी लाग्ने ।
करिब ९ बजेपछि पार्कबाट डर्बानतिर लागियो । करिब साढे ११ बजे हिल्टन होटलको पार्किङमा पुगियो । डर्बानको भौतिक विकास पूर्ण भए पनि आपराधिक गतिविधिले सीमा नाघेको यहाँ पुगेको एक दिनमै थाहा पाएको थिएँ । रातको त कुरै छाडौँ, दिउँसै लुटिने ९० प्रतिशत सम्भावना । हिल्टन होटलबाट बसेको प्याभिलियोन होटल पुग्न कस्सिएर हिँडे १५ मिनेट । त्यो मध्यरातमा कसरी आँट गर्नू ? ट्याक्सीको सहारा लिन बाध्य भएँ । भारतीय मूलका जस्ता देखिने एक चालक ५० र्यानमा होटल पुर्याउन तयार भए । ट्याक्सीमा पनि डराई डराई चढियो । पाँच मिनेटमा सकुशलै पुगियो । केही सेकेन्डमै पहिलो तल्लाको १३२ नम्बर कोठा पुगेर नक गरेँ । दक्षिण अफ्रिकाको सहरमा मध्यरातमा सकुशल फर्किएको देखेर रुम पार्टनर जोगराज गिरी तीनछक खाए ।
२४ गते बिहीबार बिहानै कार्यक्रमस्थल पुगेर विभिन्न कार्यक्रममा सहभागी भइयो । दिउँसो नेपाली टोलीले डर्बान साइट सिन हेर्ने कार्यक्रम तय गरेको थियो । त्यस क्रममा २०१० मा फुटबल विश्वकप सम्पन्न भएको ‘मोसेस माभिडा स्टेडियम’देखि डर्बान हाइस्कुल, डर्बान कलेज, पोर्ट, डर्बान वनस्पति उद्यानलगायत अवलोकन गरियो ।
त्यसै दिन होटलबाट सम्मेलनस्थल आईसीसी जाने क्रममा दिउँसै सामुदायिक वन उपभोक्ता महासंघकी महासचिव भारती पाठकको सिक्री तानेर एउटा लुटेरा दौडिएछ । सँगै रहेका ग्रिन फाउन्डेसन नेपालका घनश्याम पाण्डे, पारिवारिक वन संघका जोगराज गिरी हेरेको हेरै । सँगै रहेकी आईयूसीएनकी सोनी बरालले आँट गरिछन् । सिक्री तान्नेको पछि पछि दौडिँदै गएर अंग्रेजीमा केके गाली गरिछन् । लुटेराले सिक्री फालेर कुलेलम ठोकेछ ।
सिक्री फर्काएर ल्याएको देखेर भारती त खुसी हुने नै भइन्, सोनीको आँट देखेर पाण्डे र गिरी झन् चकित । सिक्री लुट्नेको नजिकै पुगेपछि भने सोनीलाई डर लागेछ, हतियार पो बोकेको छ कि भनेर । साँझ कार्यक्रमस्थलमा दिउँसोको घटना सुनाएपछि नेपाली टोलीका सबैले जिब्रो टोके । किनभने, त्यही डर्बानमा २०११ मा जलवायु सम्मेलनमा सहभागी हाम्रा सभासद् लुटिएका थिए भने वातावरण मन्त्रालयका कर्मचारी कुटिएका थिए । लुटिने डरले तत्कालीन वनमन्त्री मुहम्मद वकिल मुसलमान कार्यक्रमस्थल नजिकैको होटलमा बसेछन् त्यतिबेला । यसपल्ट पनि पानी किन्न होटलबाहिर निस्कँदा स्थानीयहरूले वन विभागका उपमहानिर्देशक कृष्णप्रसाद पोखरेललगायतलाई कम्ता दु:ख दिएनन् । पाँचतारे होटलमा बसेका वनकर्मी निर्मल बिकको त राती २ बजे ढोकै ढकढक्याएछन् । धन्न ढोका खोलेनछन् र क्षति भएन ।
२४ भदौको बेलुकी नै भोलिपल्ट शुक्रबार सबेरै अफ्रिकाको नेसनल पार्क घुम्ने योजना तय भएको थियो । २५ भदौ बिहानै रिजर्ब गरिएका दुईवटा गाडीमा हाम्रो टोली लाग्यो डर्बानबाट नर्थ उथुङगुलुतिर, जहाँ हुलहुले उम्फोलोजी नेसनल पार्क थियो । फराकिला सडक, हरियाली वातावरण, उखुले ढाकेका सम्म परेका डाँडा, आदिवासी जुनु जातिको सुन्दर ग्रामीण बस्ती, काठ बोक्न जंगलसम्मै चलाइएका रेल हेर्दै र हाम्रो गाडीका गोरे चालक मिल्टनका चाखलाग्दा कुरा सुन्दै करिब तीन घन्टामा पार्क पुगियो ।
पूरै पार्क गाडीमै घुम्न सकिने । अफ्रिकाका पाँच ठूला वन्यजन्तुमध्ये दुईसिंगे गैँडा, हात्ती, जंगली भैँसी मात्र देखिए । चितुवा र सिंह भने देखिएनन् । अरू हाम्रो चितवनमा जताततै एकसिंगे गैँडाका प्रतिरूप (मूर्ति) बनाइएजस्तो यहाँ पनि दुईसिंगे गैँडाका प्रतिरूप बनाइँदो रहेछ । तीसँगै बसेर तस्बिर खिचियो । तीबाहेक जिराफ, कुदु, मृग, घोरललगायतका वन्यजन्तु पनि देखिए । यहाँ हाम्रा निकुञ्जमा जस्तो सुरक्षार्थ सेना खटाइएको हुँदो रहेनछ । गेटभित्र छिर्दा दिइएका नियम नै काफी हुने । झन्डै दिनभरिको सफारी गरी डर्बान फर्कंदा अँध्यारो भइसकेको थियो । पार्क घुम्दा वन विभागका उपमहानिर्देशक कृष्णप्रसद पोखरेलले सम्मेलनमा दिएको सामुदायिक वनको उपलब्धिसम्बन्धी प्रस्तुति मिस गरियो ।
२६ भदौ बिहानै डर्बान छोड्नु थियो । एयरपोर्ट जान ट्याक्सी खोज्दा अफ्रिकी ड्राइभर फेला परे । तीन सय र्यानमा जान तयार भए । जुन अरू ट्याक्सीभन्दा सस्तो थियो । लगेज हालेर जोगराज र म बस्यौँ सिटमा । सस्तोमा एयरपोर्ट जान तयार भएकाले कतै लुट्ने पो हो कि भन्ने त्रासले सतायो । त्यो बिहानीपख बाटो खुला भएकाले स्पिड चलिरहेको थियो । खासै कुरा गर्ने मुड त थिएन । एयरपोर्टनजिक पुगेपछि प्रश्न गरेँ, ‘तपाईंहरूको देशमा यति धेरै विकास भएछ, अपराधचाहिँ किन नघटेको ?’
प्रश्न सुनेर चनाखो बन्दै बोल्यो, ‘अहो कहाँ छ यहाँ अपराध ? यति सुन्दर सहरमा अलि–अलि समस्या हुनु त स्वाभाविकै हो नि, यस्तो त जहाँ पनि हुन्छ !’ ड्राइभरका कुरा सुनेर नाजवाफ हुँदै धन्यवाद दिएर छिर्यौँ हामी किङ साका विमानस्थलको डिपार्चर टर्मिनलतिर ।
सम्बन्धित
एक त घुम्न पाउने, त्यो पनि आफूले रोजेको ठाउँमा । पैसा पनि अरुले हालिदिने । योभन्दा काइदाको...
स्वयंको खोजी : एकल यात्रा
खप्तड पुग्ने धेरै बाटा छन् । विशेषत: खप्तड जान डोटी, सिलगढीको बाटो बढी प्रयोग गरिन्छ ।...
खप्तड जानुअघि...
हामी गाडी या बाइकमा सिन्धुली यात्रा गर्छौं । तर साइकलमा कहिले सिन्धुलीगढीको यात्रा सोच्नुभ...
सिन्धुलीगढी घुमेर हेर्दा
आन्तरिक पर्यटनका लागि पोखरा, चितवन, मुस्ताङ, मनाङ, लुम्बिनी प्रख्यात छन् । तर अचेल नयाँ गन...
दसैँ बिदाका नयाँ गन्तव्य
पहाडको खोल्सामा निलो रङ्गले सल्बलाई रहेको फोक्सोन्डो तालले सबै बाटाभरका थकानमा मलमपट्टिको ...
[यात्रा] से–फोक्सुन्डो सौन्दर्य
बुर्किना फासोले मात्र करिब ४५ टन सुन उत्पादन गर्छ । त्यसको सरदर नेपाली मूल्य हुन आउँछ, करि...