खप्तड जानुअघि...
खप्तड पुग्ने धेरै बाटा छन् । विशेषत: खप्तड जान डोटी, सिलगढीको बाटो बढी प्रयोग गरिन्छ ।

युवा पुस्ता रोमाञ्चक यात्राको पारखी हुन्छ । यही सोख सुहाउँदो स्थान हो, खप्तड राष्ट्रिय निकुञ्ज । सुदूरपश्चिम प्रदेशको भूस्वर्ग भनिने खप्तड खासमा डोटी, अछाम, बझाङ र बाजुराको संगमस्थल हो ।
यहाँको प्रमुख आकर्षण हो, खप्तड लेक । खप्तड, त्रिवेणीमा खप्तड मन्दिर, खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खापर दह, शिव मन्दिर आदि धार्मिक स्थल छन् । गंगा दसहरा मेलामा हजारौँ तीर्थयात्री भेला हुन्छन् । हुड्के नाच मेलाको विशेषता हो ।
खप्तड पुग्ने धेरै बाटा छन् । विशेषत: खप्तड जान डोटी, सिलगढीको बाटो बढी प्रयोग गरिन्छ । सिलगढी पुग्न पूर्वपश्चिम राजमार्गको अत्तरिया, कैलालीबाट ९ घन्टाको बसयात्रा गर्नुपर्छ । हवाईमार्गमार्फत पनि नेपालगन्जबाट सिलगढी पुग्न सकिन्छ ।
सिलगढीबाट बग्लेक हुँदै झिगराना चेकपोस्टबाट बीचपानीको ३ घन्टे सीधा उकालो बाटो पार गरेपछि खप्तडको गन्तव्य भेटिन्छ । खप्तड यात्रा गर्दा पाल, स्लिपिङ ब्याग, चाउचाउलगायत सामग्री बोक्न नभुल्नु होला ।