दसैँ बिदाका नयाँ गन्तव्य
आन्तरिक पर्यटनका लागि पोखरा, चितवन, मुस्ताङ, मनाङ, लुम्बिनी प्रख्यात छन् । तर अचेल नयाँ गन्तव्यमा घुम्न निस्कनेको संख्या पनि त्यत्तिकै बढेको नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीको भनाइ छ ।
बर्सेनि करिब ५० लाख आन्तरिक पर्यटक घुमफिरमा निस्कन्छन् । आन्तरिक पर्यटनका लागि पोखरा, चितवन, मुस्ताङ, मनाङ, लुम्बिनी प्रख्यात छन् । तर अचेल नयाँ गन्तव्यमा घुम्न निस्कनेको संख्या पनि त्यत्तिकै बढेको नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीको भनाइ छ । पछिल्ला दिनमा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेका नयाँ गन्तव्य, जो दसैँ बिदामा रमाउने बहाना हुन सक्छन् ।
रारा
कहिले हिराको रंग, कहिले फिका नीलो, कहिले घामको झुल्कासँगै सुनौलो रंग अनि मध्याह्नमा चाँदीजस्तो । रारा तालले छिनछिनमा फेर्ने रंगसँगै पर्यटकलाई आनन्दित तुल्याउँछ । दसैँका झन्डै १० दिनजति बिदा मनाउनेहरू घुम्न निस्कने हो भने रारा ताल रोजाइमा राख्दा हुन्छ । ताल मात्र होइन, वरिपरिको जंगल । सल्लाको सुसाइसँगै चराचुरुंगीको चिरबिर । गुच्ची च्याउ, पाँचऔँले, कटुकीको सुगन्धले आनन्दित तुल्याउँछ ।
अझ दसैँको मौसम हिउँ पर्न लागेको समयले हुनुपर्छ, निकै रोमाञ्चक देखिन्छ । रारा नेपालकै ठूलो ताल हो । र, यो तालमा विश्वमा अन्यत्र नपाइने स्नोट्राउट माछा पनि पाइन्छ । झन्डै ५ किमि लामो यो ताललाई फन्को लगाउने हो भने करिब ५ घन्टा लाग्छ ।
कर्णाली प्रदेशको सानको रूपमा रहेको रारा ताल पुग्नेहरूले न्यानो कपडा भने बोक्नुपर्ने हुन्छ । नेपालगन्ज-मुगु ३५ मिनेटको हवाई यात्रापछि करिब ३ घन्टाको पैदलमा पुगिन्छ, रारा । अर्को बाटो भने सुर्खेतबाट मुगुको गमगढीसम्म गाडीमा जान सकिन्छ । र, गमगढीमा करिब ३ घन्टा पैदल यात्रा गर्नुपर्छ । सुर्खेतबाट जीप रिजर्भमा पनि जान सकिन्छ । रारा यात्रा केही खर्चिलो भने छ ।
कालिन्चोक
काठमाडौँबाट सहजै पुग्न सकिने आकर्षक गन्तव्य हो, कालिन्चोक । धार्मिक आस्था मात्र होइन, प्राकृतिक सुन्दरतामा रमाउन चाहनेहरूको रोजाइमा पर्छ, कालिन्चोक । धार्मिक आस्थाले पुग्नेहरू कालिन्चोक भगवतीको दर्शन गरी पूजाअर्चना गरेर फर्किन सक्छन् ।
जनविश्वासअनुसार काभ्रेको पलाञ्चोक भगवती, काठमाडौँको शोभाभगवती र अन्य भगवतीसमेत गरेर ७ भगवती दिदीबहिनीमध्ये एक हुन्, कालिन्चोक भगवती । दोलखामा कालिन्चोक निस्कनुअघि दोलखा भीमसेनको पनि दर्शन गर्न सकिन्छ । ३ हजार ८ मिटर उचाइमा रहेको यो कालिन्चोकबाट रोल्वालिङ हिमशृंखला र मनोरम प्राकृतिक दृश्यावलोकन गर्न सकिन्छ । दसैँको मौसम कालिन्चोक क्षेत्रको घुमाइका लागि रौनक थप्ने नै हुन्छ । हिउँ पनि पर्न थालिनसकेको यो मौसम फोटोग्राफीका लागि पनि आकर्षक हो । पर्यटन व्यवसायीको भनाइमा कालिन्चोक क्षेत्रमा दुई दिनसम्म रमाउन सकिन्छ ।
दोलखाको चरीकोटबाट ६ घन्टाको पैदल दूरीमा पर्छ, कालिन्चोक । यद्यपि चरीकोटदेखि १७ किमि टाढाको कुरीबजारसम्म कच्ची मोटरबाटो छ, जहाँ जीप, मोटरसाइकल चलाउन सकिन्छ । कुरीबजारबाट करिब १ घन्टा पैदल यात्रापछि कालिन्चोक पुगिन्छ ।
पाथीभरा
धार्मिक आस्था र प्राकृतिक सुन्दरताको संगम गन्तव्य हो, पाथीभरादेवी मन्दिर । पूर्वी नेपालको आकर्षक गन्तव्यको रूपमा पहिचान बनाएको पाथीभरा मन्दिर परिसरबाट कञ्चनजंघा, मकालु, सगरमाथा हिमशृंखलासहित ८ हजार मिटर अग्ला ५ वटा हिमाल लहरै देखिन्छन् । ७ हजार मिटर अग्ला दर्जन हिमाल पनि आपmनै अगाडि सर्लक्क उभिएझैँ लाग्छ ।
पहाडको टुप्पोदेखि झन्डै आफूजत्रै देखिने हिमशृंखलाको मनोरम दृश्य साँच्चिकै लोभलाग्दो हुन्छ । अझ दसैँको खुला मौसममा झनै मनमोहक लाग्छ । करिब ३ हजार ७ सय ९४ मिटर उचाइको पाथीभरा कुम्भकर्ण हिमालको काखमा पर्छ । पहाडको टुप्पोमा पाथीमा अन्न भरेझैँ लाग्ने सुन्दर दृश्यले पर्यटकलाई अर्को आकर्षण थप्छ । हिन्दु र किराँत धर्मावलम्बीको संगम पाथीभरासँग आफूले राखेको आकांक्षा पूरा हुने जनविश्वास छ । लिम्बू भाषामा पाथीभरालाई मुक्तुवुङ भनिन्छ, जसको अर्थ हुन्छ- शक्तिको स्रोत ।
तस्बिर : भरतबन्धु थापा
पाथीभरासम्म सहज मोटरबाटो भने छैन । सदरमुकामदेखि सुकेटार विमानस्थलसम्म ८ किमि मोटरबाटो कालोपत्रे गरिएको छ । सुकेटारदेखि काफ्लेपाटीसम्म ९ किमि कच्ची बाटो छ । त्यहाँबाट साढे ४ किमि बाटो करिब ४ घन्टाको पैदल यात्रामा छिचोलिन्छ र पुगिन्छ, पाथीभरा मन्दिर । वर्षमा ५ महिना हिउँ पर्ने भएकाले हिउँ खेल्न रुचाउनेका लागि पनि मोहक गन्तव्य हो ।
खप्तड
खप्तड धार्मिक आस्थासँगै साहसिक यात्राको आकर्षक गन्तव्य हो । २२ वटा विशाल आकर्षक फाँट छन्, खप्तडमा । ती फाँटमा फुल्ने फूलले झनै आकर्षण थपेको हुन्छ । खप्तड बाबाको कुटी । त्रिवेणी नदी । खप्पर दह । शिव मन्दिर । सहस्रलिंग । गणेशस्थान । नागढुंगा । केदारढुंगाजस्ता धार्मिक स्थलले खप्तड क्षेत्र धार्मिक आस्थाको केन्द्र पनि बनाइदिएको छ । दसैँको मौसम धेरै चिसोको समय होइन । त्यसले गर्दा ती फाँटहरूमा घुम्न निकै मज्जा हुन्छ ।
एनटीभी
काठमाडौँ-धनगढी ६५० किमि गाडीको यात्रा वा काठमाडौँ-धनगढीसम्म हवाई उडानपछि सुरु हुन्छ खप्तडका लागि अर्को यात्रा । धनगढी-डोटीको सिलगढीसम्म बसमा ८ घन्टा यात्रामा पुगिन्छ । बगलेगसम्म जीप रिजर्भ गरेर पनि लान सकिन्छ । पैदल यात्राको पहिलो दिन झिगराना, दोस्रो दिन खप्तड राष्ट्रिय निकुन्ज प्रवेशसँगै त्रिवेणी मन्दिर पुगिन्छ । खप्तड यात्रा काठमाडौँबाट टाढा र साहसिक भएकाले खर्च र समय बढी लाग्छ ।
बर्दिया/स्वर्गद्वारी
जंगल सफारी । वन्यजन्तु अवलोकन । नदीजन्य पर्यटकीय गतिविधि । हात्ती सफारी । जीप सफारी । थारु संस्कृतिको रमझम । बर्दिया राष्ट्रिय निकुञ्जका आकर्षण हुन् । अलिक पर बबई नदीमा पाइने घडियाल, कर्णाली नदीमा पाइने गोही । यो निकुञ्जमा अर्ना मात्र होइन, बाघ पनि हेर्न सकिन्छ । कैलाली जोड्ने चिसापानी क्षेत्रको कर्णालीको आकर्षक पुल । अनि चिसापानीको माछाको स्वाद झनै मोहनी लगाउने हुन्छ ।
अहिलेको मौसम गर्मी पनि धेरै नहुने र चिसो पनि भई नसकेकाले बर्दिया क्षेत्र घुमघामका लागि आकर्षक गन्तव्य हो । यसबाहेक, धार्मिक आस्थासहित घुम्न निस्कने हो भने स्वर्गद्वारी अर्को आकर्षक गन्तव्य हो । काठमाडौँबाट बर्दियाको भुरी गाउँसम्म गाडीमा जान सकिन्छ । त्यहाँबाट सफारी जीपमा बर्दिया राष्ट्रिय निकुञ्ज पुग्न सकिन्छ । साथै, स्वर्गद्वारीका लागि पनि बस सुविधा छ ।
पञ्चासे
पञ्चासे कास्की, स्याङ्जा र पर्वतको रमणीय संगमस्थल मात्र होइन, जैविक विविधता, ऐतिहासिक, धार्मिक र प्राकृतिक दृश्यावलोकनको संगम पनि हो । यो क्षेत्रको पोखरा, मुस्ताङ, मनाङपछि अर्को आकर्षक गन्तव्य हो, पञ्चासे । पोखरीछेउ बाराही मन्दिर छ । धौलागिरी, माछापुच्छ्रे, लमजुङ र गणेश हिमाल लहरै देखिन्छन् मोहित पार्ने गरी । दृश्यावलोकनका लागि भ्युटावर पनि निर्माण गरिएको छ । साथै विभिन्न चैत्य, मन्दिरहरू पनि निर्माण गरिएको छ । सुन्दर पञ्चकोसी र पञ्चासे पोखरी झनै आकर्षक लाग्छ । अनि, गुरुङ संस्कृतिले पर्यटकलाई खुबै लोभ्याउँछ । रोदी मात्र होइन, स्थानीय गुरुङ पहिरन र आतिथ्यले पर्यटकलाई मोहित पार्छ ।
तस्बिर : प्रेम शर्मा
जैविक विविधतामा रमाउनेहरूका लागि पनि पञ्चासे आकर्षक गन्तव्य हो । संसारमा कहीँ नपाइने तीन प्रकारका सुनगाभासहित १ सय १३ प्रकारका सुनगाभा पाइन्छ, पञ्चासेमा । ५ सय ८९ जातका फूल फुल्छन् । एक दर्जनभन्दा बढी खर्क रहेको पञ्चासेमा दुर्लभ कालो भालुसहित विभिन्न चराचुरुंगी हेर्न पाइन्छ ।
धार्मिक विश्वासअनुसार अयोध्याका राजा दशरथका भान्जा श्रवणकुमार मातापितालाई धार्मिकस्थल घुमाउने क्रममा पञ्चासेमा एक दिन बास बसेका थिए । आश्चर्यचाहिँ पञ्चासे पोखरीमा रुखको पात भेटिँदैन, वरिपरि जंगल भए पनि । जनविश्वासअनुसार पातलाई चराले टिपेर फाल्छन् । पञ्चासे नजिकैको अन्धाअन्धी पोखरीबाट आँधीखोला सुरु भएको मानिन्छ ।
पर्यटकीय नगरी पोखराबाट लुम्ले, काँढे, भदौरे, देउरालीसम्म गाडीमा जान सकिन्छ । त्यहाँबाट करिब ४ घन्टाको पैदलपछि पञ्चासे पुगिन्छ । पोखरा-लिवाडे-नागडाँडा-ढिकुरपोखरी-र्याले पाउँदुर-भदौरे-देउरालीबाट पनि पञ्चासे पुग्न सकिन्छ । लेकसाइड-फेवाताल-पामे-घाँटीछिना- सिदानेबाट पनि पञ्चासे पुगिन्छ ।
जनकपुरधाम पर्सा वन्यजन्तु आरक्ष
जनकपुरधाम विवाह पञ्चमीका लागि प्रख्यात छ । त्यति नै चर्चामा रहन्छ, छठको मौसम । त्यति मात्र होइन, दसैँमा जनकपुरधाममा खुबै रौनक थपिएको हुन्छ । दसैँको नौरथाका बेला रामलीला प्रस्तुत हुन्छ । रामायणको कथासँग जोडिएको यो रामलीला प्रस्तुतिले दसैँमा जनकपुरधाम पुग्नैपर्ने गन्तव्य बनेको छ ।
नेपालका धार्मिक गन्तव्यमा चर्चित जनकपुरधाम छुटाउनै नमिल्ने गन्तव्य हो । राजा जनकको शासन भूमि जनकपुरधाम सीता (जानकी) को जन्मथलो र रामको ससुराली सहर हो । काठमाडौँबाट नजिक र कम खर्चिलो जनकपुरधाम नौरथाको बेलामा रामलीला हेर्ने आकर्षक गन्तव्य भएको नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशी बताउँछन् ।
जनकपुरधामको नौरथामा रमाएर फर्किंदा पर्सा वन्यजन्तु आरक्षमा घुम्न सकिन्छ । हात्ती वासस्थानको रूपमा परिचित यो आरक्ष क्षेत्रमा दुर्लभ मानिने गौरीगाई पाइन्छ । वन्यजन्तु हेर्न रुचाउनेका लागि बाघ, भालु मात्र होइन, ३ सयभन्दा बढी चराचुरुंगी देख्न सकिन्छ ।
भित्री मधेसको केही क्षेत्रसमेत छोएको यो आरक्षले प्राकृतिक स्रोतको जानकारी लिन इच्छुकका लागि पनि आकषिर्त गर्न सक्छ । आन्तरिक पर्यटकले भर्खरै यी गन्तव्यमा रुचि देखाउन थालेका छन् । काठमाडौँबाट नजिक र खर्च पनि कम लाग्ने भएकाले चितवन, पोखरा घुमेर वाक्क भइसकेकाका लागि यी गन्तव्य नयाँ मात्र होइन, स्मरणीय रहन सक्छन् ।
सम्बन्धित
एक त घुम्न पाउने, त्यो पनि आफूले रोजेको ठाउँमा । पैसा पनि अरुले हालिदिने । योभन्दा काइदाको...
स्वयंको खोजी : एकल यात्रा
खप्तड पुग्ने धेरै बाटा छन् । विशेषत: खप्तड जान डोटी, सिलगढीको बाटो बढी प्रयोग गरिन्छ ।...
खप्तड जानुअघि...
हामी गाडी या बाइकमा सिन्धुली यात्रा गर्छौं । तर साइकलमा कहिले सिन्धुलीगढीको यात्रा सोच्नुभ...
सिन्धुलीगढी घुमेर हेर्दा
आन्तरिक पर्यटनका लागि पोखरा, चितवन, मुस्ताङ, मनाङ, लुम्बिनी प्रख्यात छन् । तर अचेल नयाँ गन...
दसैँ बिदाका नयाँ गन्तव्य
पहाडको खोल्सामा निलो रङ्गले सल्बलाई रहेको फोक्सोन्डो तालले सबै बाटाभरका थकानमा मलमपट्टिको ...
[यात्रा] से–फोक्सुन्डो सौन्दर्य
बुर्किना फासोले मात्र करिब ४५ टन सुन उत्पादन गर्छ । त्यसको सरदर नेपाली मूल्य हुन आउँछ, करि...