नरसंहारपछिको अग्रगामी रुवान्डा
लाखौँ जनता सडकमा उत्रिएर राष्ट्रपति कगामेले निरन्तरता दिनुपर्ने र थाक्न नपाउने भन्दै सहरसमेत बन्द गराए ।
कि गाली अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निस्कनासाथ एउटा बोर्डमा आँखा परिहाल्छ, ‘हजार थुम्काहरूको देशमा तपाईंलाई स्वागत छ ।’
मनमा अनेक खालका आशंका बोकेर म रुवान्डाको एयरपोर्टमा उत्रिएको थिएंँ, गएको १ नोभेम्बरमा । रुवान्डा एउटा कौतुहल र संशयको विषय छ दुनियाँमा आज पनि । सन् १९९४ मा भएको नरसंहारबाट पीडित मुलुकका कथा पढेर म कैयौँपटक स्तब्ध भएकै हो । होटल रुवान्डा फिल्म हेर्दा या न्युयोर्कमा मान्छेहरूले सुनाउने अनुभूति सुनेर र कौतुुहलवश ती नरसंहारका कथा पढ्दा म धेरैपटक रोएको थिएँ ।
हिटलरपछिको आधुनिक शताब्दीको मानवता मरेको त्यो कालखण्ड । स्वाभाविक रूपमा रुवान्डाको भ्रमण मेरा लागि अपेक्षाकृत बढी नै रहस्यमयी थियो । मलाई इन्टरपोलको ८४औँ महासभामा भाग लिन त्यहाँ जाने एउटा अनपेक्षित अवसर प्राप्त भएको थियो । त्यो भ्रमण एउटा रोमाञ्चकारी चलचित्र हेरेजस्तो भयो मेरा लागि ।
बाटोमा, राम्रा होटलका लबि र समारोहमा भेट्ने प्राय: मानिस परिवारका सदस्य गुमाएका भेटिन्थे । युवावर्ग आफ्ना बाबुआमा नरसंहारमा गुमाएको कुरा भन्न हिचकिचाउँदैनथे । आमरूपमा मानिसहरूले सन् १९९४ को घटनालाई पछाडि छोड्न चाहेका स्पष्ट अनुभूत गर्न सकिन्थ्यो । उनीहरूले हिजोका त्रासदीलाई एउटा कहिल्यै नदोहोरिने इतिहास बनाउन चाहेको देखिन्थ्यो । लाग्छ, उनीहरू ती पीडकहरूलाई भुलेर अगाडि बढ्न अभ्यस्त बनिसकेका छन् ।
निश्चित रूपमा उनीहरू हिजोका कहालीलाग्दा पीडा र चोटलाई पछाडि छाडेर अगाडिको भविष्यप्रति समर्पित थिए । अनि, एकदमै मिहिनेती र जीवन निर्माणमा लागेका जस्ता देखिन्थे । यो एउटा रोमाञ्चकारी अनुभूति थियो मेरा लागि । एउटा मान्छे हिजोको सम्पूर्ण बीभत्स पीडा र अत्याचारबाट माथि उठेजस्तो । हरेक मान्छे आँसु र दु:खको इतिहासलाई चटक्कै छोडेर नयाँ जीवनको निर्माणमा उत्साहपूर्वक लागेका । कसैको अनुहारमा दु:ख र उदासिनताका प्रतिविम्ब नभेटिनु एउटा आमकौतुहलको विषय थियो ।
लाग्छ, परिवर्तन यहाँको अपरिहार्य जीवनशैली बनेको छ । आपसी सद्भाव आमरूपमा सांस्कृतिक आचरण बनेको छ । मिहिनेत र इमानदारी चारित्रिक आवरण बनेको छ । विदेशीहरू र विदेशी पुँजी लगानी गरी काम गर्न आएका तमाम विदेशी विज्ञहरूप्रति सम्मान र सहयोग छ । योग्य व्यक्ति, सुयोग्य परिवार, आर्थिक स्वावलम्बनपूर्ण समाज, सभ्य सहर, सभ्य संस्कृति व्यवहार महिला र पुरुष बराबर योग्यताको कदर र न्यायपूर्ण सरकारजस्ता मूल विचारमा रुवान्डा आधुनिकतातर्फ अगाडि बढिरहेको छ ।
रुवान्डा संसारको १४९औँ ठूलो मुलुक हो । यसको क्षेत्रफल २६ हजार ३ सय ३८ वर्ग किमि छ । र, जनसंख्या १ करोड १२ लाख ६२ हजार ५ सय ६४ । यो पूर्वमध्यअफ्रिकामा पर्छ । यसको पूर्वमा तान्जानिया, पश्चिममा कंगो, उत्तरमा युगान्डा र दक्षिणमा वुरुन्डी छन् । यो भूपरिवेष्टित मुलुकको प्रमुख आयस्रोत पर्यटन हो ।
सन् २०१४ मा रुवान्डाले पर्यटनबाट मात्रै ३३ करोड अमेरिकी डलर अर्थात् करिब ३३ अर्ब रुपियाँ कमायो । कुल गार्हस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान मात्रै करिब ४६ प्रतिशत छ । सरकारले विदेशी लगानी भित्र्याउन उदार नीतिहरू लागू गरेको छ । त्यसैले यहाँ वैदेशिक लगानीका असंख्य प्रोजेक्ट सञ्चालित छन् । ७४ प्रतिशत नागरिकको पहँुच सुरक्षित खानेपानीमा छ । स्थानीय किन्यरवान्डा, फ्रेन्च र अंग्रेजी तीनवटा नै आधिकारिक भाषा मानिएका छन् यहाँ । १२ कक्षासम्मको शिक्षा अनिवार्य र नि:शुल्क छ । र, सरदर औषत आयु ६४ वर्ष छ ।
नरसंहार र त्यसपछि
१९९४ मा रुवान्डाको जनसंख्या ७० लाखजति थियो । त्यसमा हुतु ८५ प्रतिशत, तुत्सी १४ प्रतिशत र तावा १ प्रतिशत । १९९० मा हुतु अतिवादीले तुत्सीमाथि राज्यको अधिक सम्पत्ति र सुविधा ग्रहण गरेको र रुवान्डा पेट्रियोटिड फ्रन्ट (आरपीएफ) सशस्त्र समूहलाई सहयोग गरेको आरोप लगाई अत्याचार गर्न थालेपछि दुई समूहबीचको वैमनस्यता चरमोत्कर्षमा पुग्यो । जातिहरूबीचमा यो वैमनस्यताको बीऊ रोप्ने कामचाहिँ वेल्जियमको अधिनमा रहँदा तिनै शासकहरूले सुरु गरेका थिए ।
६ अप्रिल १९९४ मा हुतु समूहका राष्ट्रपति हावातीमानालाई लिएर आएको हवाईजहाज विमानस्थलमा अवतरण गर्न लाग्दा गोली हानी खसालियो र यो तुत्सीहरूले गरेका भनेर रेडियोमा प्रसार गरियो । तत्कालै हुतुहरूले तुत्सी जनसंख्यामाथि आक्रमण सुरु गरे । सय दिनको अवधिमा १० लाख मानिस मारिए । त्यसमा अधिकांश तुत्सी र केही उदारवादी हुतु पनि थिए । तुत्सीसँग विवाह गरेका हुतु महिलाको बलात्कार र हत्या भयो । यी हत्यामा हुतु अतिवादी र राष्ट्रिय सेना आमरूपमा संलग्न थिए ।
त्यो भयानक त्रासदीपूर्ण नरसंहारपछि तुत्सी समर्थित आरपीएफको सशस्त्र आक्रमण प्रभावशाली रूपमा अगाडि बढ्यो । पछि, हुतुहरूको नरसंहार अभियान रोकियो र उनीहरू छिमेकी मुलुकतिर भागे । आरपीएफका कमान्डर पाउल कागामेले शासन सत्ता आफ्नो हातमा लिए । नयाँ संविधान बनाइयो । चुनावमा कगामेले बहुमतका साथ कार्यकारी राष्ट्रपतिमा विजय प्राप्त गरे ।
कगामेले हिजोका पीडा भूल र जीवन निर्माणमा लाग भनेर नयाँ जीवन दर्शनको थालनी गरे । ‘हिजोबाट सिक्ने हो र त्यो इतिहासलाई सफलताको साक्षी बनाउँदै अघि बढ्ने हो’ भन्ने उनको उद्घोषले जादुमय काम गर्यो । उनले आफ्नो इमानदारीमा भरोसा गर्न देशवासीमा अनुरोध गरे । उनले बदलाको राजनीतिलाई समाप्त पार्ने घोषणा गरे र यतिसम्म कि अधिकांश हुतुको पनि भरोसा पाए ।
त्यसपछि रुवान्डा आधुनिकताको यात्रामा सरिक भयो । कगामेले कसैले पनि आफ्नो जात लेख्न नपाउने र जातका बारेमा सरोकार राख्न नपाउने कानुन बनाए । अब मानिस लगभग हुतु र तुत्सीमा विभक्त नहुने गरी सामाजिकीकरण भइसकेको छ । भ्रष्टाचार नियन्त्रण कडाइका साथ लागू भएकाले त्यो ज्यादै न्यून छ ।
वास्तवमा पाउल किगामे एउटा आदर्श नेताका रूपमा उदाए । त्यसैले त राजधानी किगालीले अफ्रिकाको सफा सहरको नयाँ विशेषण पायो । यहाँ अन्तर्राष्ट्रिय सभा/सम्मेलनहरूको मेला लागिरहने रै’छ र होटलहरू विदेशी पाहुनाले खचाखच भरिएका हुने रहेछन् । सारमा, रुवान्डाको अन्तर्राष्ट्रिय प्रतिष्ठा अकासिएको छ ।
जनजनका मनमा बसेका नेता
रुवान्डामा राष्ट्रपतिको पदावधि सात वर्षको छ । पाउल कगामेको दोस्रो कार्यअवधि चल्दैछ । उनले १३ वर्ष पूरा गरिसकेका छन् । केही समयअगाडि उनले राष्ट्रका नाममा सन्देश दिँदै मुलुक आधुनिकता र प्रगतिको पथमा अघि बढिसकेको र प्रणालीहरू चुस्त बनाइएकाले अब आउने राष्ट्रपतिलाई खासै गाह्रो नहुने बताएका थिए । उनले आफू थाकेकाले अब विश्राम गर्न चाहेको पनि भनेका थिए । त्यहाँको संविधानले पनि दुई अवधिभन्दा बढी समय राष्ट्रपति पदमा बस्न वर्जित गरेको छ ।
कगामेले सशस्त्र युद्धको अगुवाइसमेत गरेका थिए र उनी थाकेको सहजै अनुमान गर्न सकिन्थ्यो । उनको त्यो टेलिभिजन सन्देशको भोलिपल्ट लाखौँ जनता सडकमा उत्रिए र राष्ट्रपतिले निरन्तरता दिनुपर्ने, थाक्न नपाउने भन्दै सहरसमेत बन्द गराए । कगामेको निरन्तरता दिने प्रतिबद्धता नआएसम्म घर नफर्किने भन्दै त्यो रात उनीहरूले सडकमै बिताए । यति मात्र होइन, ३८ लाख नागरिकले त उनको निरन्तरता माग गर्दै हस्ताक्षर नै बुझाए पनि । राष्ट्रपति कगामेले आफूले संविधान संशोधन गर्न पहल गर्ने वचन दिएपछि मात्र जनता घर फर्किएका थिए । अब संविधान संशोधनका लागि रुवान्डामा जनमतसंग्रह हुँदैछ । कगामे तुत्सी भएर पनि लाखौँ हुतुको मनमा बसेका छन् । एक नेताले परिवर्तनको बाटो कोर्न सक्छ भन्ने ताजा उदाहरण हो, यो प्रसंग ।
राष्ट्रपति कगामेको विनम्रता मैले अनुभूत गर्ने अवसर पनि पाएँ । महासभा उद्घाटन गर्न आएका राष्ट्रपतिलाई चियापान सत्रमा मैले सोधेको थिएँ, “महामहिम † तपाईंको नेतृत्वमा के चामत्कारिकता छ, जसले रुवान्डाको प्रगतिको नक्सा कोर्न सक्यो ?” उनले फिस्स हाँसेर जवाफ दिए, “मैले त केही गरेको होइन । हामी सबैले गरेका हौँ । म त अनुहार मात्रै न हुँ ।” उनले ठीकै भने । उनी एउटा अनुहार हुन् तर त्यसमा करोडौँ रुवान्डालीको भविष्यप्रतिको आशा र भविष्य स्पष्ट कोरिएको छ ।
रुवान्डाको १९९४ को नरसंहार रोक्न नसकेको र कुनै ठोस कदम नचालेको भनेर अमेरिका, फ्रान्स र बेल्जियम तथा संयुक्त राष्ट्रसंघको ठूलो आलोचना भएको छ । विश्व इतिहासमा उनीहरूको त्यो सन्देहात्मक भूमिकामाथि ठूला–ठूला आशंका संग्रहित नै रहने छन् ।
सम्बन्धित
एक त घुम्न पाउने, त्यो पनि आफूले रोजेको ठाउँमा । पैसा पनि अरुले हालिदिने । योभन्दा काइदाको...
स्वयंको खोजी : एकल यात्रा
खप्तड पुग्ने धेरै बाटा छन् । विशेषत: खप्तड जान डोटी, सिलगढीको बाटो बढी प्रयोग गरिन्छ ।...
खप्तड जानुअघि...
हामी गाडी या बाइकमा सिन्धुली यात्रा गर्छौं । तर साइकलमा कहिले सिन्धुलीगढीको यात्रा सोच्नुभ...
सिन्धुलीगढी घुमेर हेर्दा
आन्तरिक पर्यटनका लागि पोखरा, चितवन, मुस्ताङ, मनाङ, लुम्बिनी प्रख्यात छन् । तर अचेल नयाँ गन...
दसैँ बिदाका नयाँ गन्तव्य
पहाडको खोल्सामा निलो रङ्गले सल्बलाई रहेको फोक्सोन्डो तालले सबै बाटाभरका थकानमा मलमपट्टिको ...
[यात्रा] से–फोक्सुन्डो सौन्दर्य
बुर्किना फासोले मात्र करिब ४५ टन सुन उत्पादन गर्छ । त्यसको सरदर नेपाली मूल्य हुन आउँछ, करि...