चक्र अर्थात् रूख
भदौको अन्तिम साता नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको खुमलटारस्थित निवास चकमन्न थियो।

बाँस्तोला घरमा रहेको पुस्तकालयमै कुराकानी गर्न मन पराउँथे। वरिपरिको खाली जग्गाले स्वस्थ सास फेर्न मद्दत पुर्याउँछ भन्ने ठानेर घर बडेमाको नबनाएको भन्थे। विधिको विडम्बना ! अहिले न उनलाई पुस्तकालय चाहिएको छ, न स्वस्थ सास दिने ठाउँ। पत्नी कुसुमको स्याहार-सुसार र डाक्टर उपेन्द्र देवकोटाको प्रत्यक्ष निगरानीले केही चमत्कार भएर होस खुल्ला भन्ने आशाचाहिँ बाँकी छ।
'ब्ल्याक’मा राधाको पुस्तक
राधा पौडेलकृत खलंगामा हमलाले यस वर्षको मदन पुरस्कार पाएको जानकारी सोसल मिडियामार्फत आयो, २९ भदौ दिउँसो। पहिले यसबारे नसुनेको हो या बेवास्ता गरिएको हो, पढिएको थिएन। पुरस्कार पाएपछि पढ्नुपर्छ भन्ने लाग्यो। पहिला पनि कतिपय पुस्तक मदन पुरस्कार पाएपछि मात्रै पढेका दृष्टान्त छन् मसँग।
नेपाली भाषामा निस्केका प्रायः पुस्तक म नयाँ सडक जाने भित्तोमा किन्छु। राधाको पुस्तक किन्न पनि त्यहीँ गएँ। अरू पुस्तकमा सधैँ २० प्रतिशतसम्म छुट पाउँथेँ। यसको मूल्य रहेछ १ सय ९५ रुपियाँ। स्वाभाविक रूपमा मैले छुटसहितको पैसा बुझाएँ। पुस्तक विक्रेता भाइले छुट होइन, बरू पाँच रुपियाँ थपेर पैसा दिनु भने। "किन ?" मैले सोधेँ। बजारमा सीमित प्रति मात्रै रहेछ। उसले एकै सासमा जवाफ फर्कायो, "पुरस्कार पाउला भन्ने कसलाई थाहा थियो र ? अब नयाँ संस्करण छापेपछि मात्रै छयापछयाप्ती पाइन्छ। लगे लानूस्, नलगे अर्कोले लान्छ। पाँच प्रति ल्याएको, जम्मा एउटा बाँकी छ।" अन्ततः पाँच रुपियाँ बढी तिरेरै 'ब्ल्याक'मा किन्न बाध्य हुनुपर्यो।
सिटौलाको समय
नेपाली कांग्रेसका भ्रातृ/भगिनी संगठनको वैधानिकता र पुनःगठनबारे सामग्री बनाउनु थियो। उल्लिखित संस्थाको अधिवेशनपूर्व केही समस्या भए समाधानका लागि महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला संयोजक रहेको समिति बनाएको थियो पार्टीले। मैले स्वाभाविक रूपमा सिटौलालाई सम्पर्क गरेँ। धेरैपटकको प्रयासपछि फोनमा कुरा भयो। मैले आफूलाई चिनाउने सक्दो प्रयास गरेँ। चिनेजस्तो गरेनन्।
उनी गृहमन्त्री हुँदा माओवादीलाई मूलधारमा ल्याएर शक्ति बाँडफाँटको कार्य भइरहेको थियो। बिहान ५ बजे झिसमिसेमा मन्त्री निवास पुगेर उनको अन्तर्वार्ता गरेका थियौँ। त्यो पनि सम्झाएँ मैले। यसमा पनि खासै चासो दिएजस्तो लागेन। यति भने, "भोलि बिहान ८ बजे फोन गर्नू, समय मिलाउँला।" तर, ८ बजेदेखि प्रयास गरेको फोन ११ बजेसम्म पनि 'रिसिभ' भएन। यसपछि एसएमएस गरेँ, 'समय नभए छैन भनिदिनुहोला।' २ बजेसम्म कुरेँ। कुनै प्रतिक्रिया आएन। एक मनले सोचेँ, मलाई प्रतिक्रिया दिनुपर्छ भन्ने नै के छ र ? फेरि अर्को मनले भन्यो, समय नभए भ्याउँदिनँ त भन्नुपर्छ नि! लाग्यो, महामन्त्री भएपछि यस्तै हुने रहेछ क्यारे, प्रतिक्रिया नै दिनु नपर्ने !