अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय दिने मुख्य पूर्वाधार हो, सडक ।

सडक सन्जाललाई सर्वव्यापी विकासको मेरुदण्ड मानिएको छ । देशलाई सुन्दर अनि सहज बनाउने पहिलो पूर्वाधार सडक नै हो ।
कुनै पनि देश प्रगतिको चरणमा प्रवेश गर्न सबभन्दा पहिले सडक निर्माणको बिन्दुबाट सुरु गर्नुपर्छ भन्ने मान्यता समातेर विश्वका धेरै राष्ट्रहरू विकसित भइसकेका छन् । अविकसित र विकासशील देशहरूले पनि विकासको अभियान सडकबाटै सुरु गरिसकेका छन् । अमेरिकामा भने सडक सन्जाल आकर्षणको केद्रबिन्दु हो ।
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय दिने मुख्य पूर्वाधार हो, सडक । संसारकै सबभन्दा लामो र ठूलो यो सन्जाल अमेरिका आउँदा जोकोही नवप्रवेशीलाई सुरुमै लोभ लाग्छ । यदि उसको जीवनमा यो पहिलो अनुभव हो भने त सपनाजस्तो लाग्छ । उसले धक नमानी भनिहाल्छ– आहा, यो पो हो त विकास भनेको !
सिकागो सहरमा पहिलोचोटि ओर्लिंदा विकासको काल्पनिक ठाउँमा आएको महसुस भयो । लोभ लाग्यो । यो सबै कसले, कहिले, कसरी बनाएको होला भनेर जान्नलाई सकसकी भयो । गर्न सक्दा यस्तोसम्म हुँदो रहेछ भनेर छर्लंग भयो ।
रोड ट्राफिक टेक्नोलोजीको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा ४० लाख ८८ हजार ६ सय २२ माइल (६५ लाख ८० हजार किलोमिटर सडक सन्जाल) छ, जसमध्ये ९५ हजार ९ सय ३२ किलोमिटर अत्याधुनिक हाइवे छ । २ करोड ७२ लाख किलोमिटर सडक सन्जालबीचका लेनहरू छन् भने १ करोड ३९ लाख किलोमिटर अन्य लेनहरू । अमेरिकाको जम्मा क्षेत्रफलको लगभग १ प्रतिशत (१० लाख वर्गकिलोमिटर क्षेत्र) यो सडक सन्जालले ओगटेको आकलन छ ।
हिमाल, पहाड, समथर भूभाग छिचोलेर, कुँदेर अनि भीरपहरा, जंगल, मरुभूमि नदीनाला, समुद्रमाथि हुँदै समुद्रमुनि पनि सुकिला र चिल्ला सडकहरू बनाइएको छ । कति राज्यहरूमा त फरक प्रकृतिका हुन सक्नेसम्म राम्रा र आकर्षक डिजाइन दिएर बनाइएको अमेरिकी सडक सन्जालमा २७ करोड ९१ लाख (२०१८ को रजिस्ट्रेसन तथ्यांकअनुसार) सवारी साधनहरू चल्छन् । आफू बसेको वरिपरिदेखिबाहेक अन्य यात्रा गर्दा सबैले जीपीएस (ग्लोबल पोजिसनिङ सिस्टम) को सहयोगबिना हिँड्नै सकिँदैन ।
दक्षिणी राज्य फ्लोरिडाको मायामीदेखि पश्चिमी टापु कि वेस्टसम्मको १ सय ७६ किलोमिटर समुद्रमाथिको सडकको रोमाञ्चक सयर गर्न चासो राख्ने जोकोही पनि इच्छा गर्छन् । क्यालिफोर्नियाको सानडियगोदेखि माथिल्लो क्षेत्रमा अवस्थित रेडवुड राष्ट्रिय निकुञ्जसम्मको प्रशान्त महासागर तटीय ८ सय किलोमिटर लामो द प्यासिफिक हाइवे त संसारमै चर्चित छ । यात्रा गरेर मजा लिन मानिसहरूको पहिलो रोजाइमा पर्छ । धेरै अंग्रेजी फिल्महरूमा पनि देख्न सकिन्छ ।
टेक्सास, क्यालिफोर्निया, युटा, एरिजोनाजस्ता राज्यमा लाखौँ वर्गकिलोमिटरका मरुभूमिमा बनाइएका राजमार्गहरू कति ठाउँमा कयौँ किलोमिटर धागो तानेजस्तै सीधा छन् ।
७८ सय वर्गकिलोमिटर क्षेत्र ओगटेको द डेथ भ्याली भनेर चिनिने क्यालिफोर्नियाको मध्य उत्तरी मरुभूमिमा भएका हाइवेहरू विश्वकै राम्रामध्येमा गनिन्छन् । नर्थ क्यारोलिनादेखि भर्जिनियासम्मको ७ सय ५५ किलोमिटर लामो द ब्लु रिज पार्कवे अमेरिकाकै सबभन्दा आकर्षक र यात्रा गर्न आनन्ददायक राजमार्गमध्येमा पर्छ । त्यस्तै, सुदूर उत्तर पश्चिमी राज्य अलास्काका सडकहरू हिमाली बेल्टमा हिउँ छिचोलेर कञ्चन पानी बग्ने खोलानालाका किनारैकिनार नागबेली कुदाइएको छ ।
अमेरिकी सडक सन्जालमा यात्रा गरेर सकेसम्म सबै राज्यहरू घुम्नु हरेक अमेरिकीको एउटा ठूलो इच्छा हुन्छ ।
हुन त सबै सडकहरू उत्कृष्ट छन् । यात्रा गर्दा रमाइलो हुन्छ नै । सबै उत्तिकै चौडा, सफा र राम्रा छन् । तर तीमध्ये पनि नमुना सडकहरू यसरी बनाइएका छन् कि मानौँ तिनीहरू संसारले हेरून् । सिकून् । कुनै चित्रकारले पेन्टिङ गरेजस्तै देखिन्छन् ।
सानादेखि कति सहरी क्षेत्रमा २६ लेनसम्मका अत्याधुनिक सडकहरू अग्ला पुल, फ्लाइ ओभर, हेरिरहूँ लाग्ने इन्टरसेक्सन, एक्जिट, पार्क, किनारमा रूख, घाँसे मैदान र फूलबारीले सुसज्जित गरी ५० वटै राज्यमा जोडिएको छ ।
भित्री र गाउँगाउँका सडकहरू आवश्यक्ताअनुसार कति लेन र कस्ता चाहिने हो, त्यहीअनुसार चिटिक्क पारिएको छ । गुगलमा राखिएका नमुना सडकहरूमा यहाँका प्रशस्त फोटाहरू भेट्न सकिन्छ ।
अमेरिकी सडक सन्जालको विकास मोडलले कुनै पनि देशमा व्यापार व्यवसाय, यातायात, ढुवानी, सहज पहुँच, उत्पादन, रोजगारी र समग्र देश विकासमा क्रान्ति नै आउने देखेर संसारभर यो मोडलबाट प्रभावित भई धमाधम राजमार्गहरू बनाइँदै छ
अमेरिकाको यो उदेकलाग्दो सडक सन्जालको अवधारणा १९१६ मा फेडरल एड रोड एक्टअन्तर्गत संघीय सरकारले १ सय १४ अर्ब डलर (२०१८ को हिसाबअनुसार ५ सय २१ अर्ब डलर बराबर) बजेट छुट्याएपछि तयार भएको हो । तर फेडरल एक्ट हाइवे १९२१ मा दुवै खाले सडक योजना मिसाइयो । हाइवेसँगै अरू सडक सन्जाल बनाउने ग्रीड तयार भएपछि १९२० को दशकमै राज्यभित्रका हाइवे निर्माणको काम थालिएको हो ।
न्युयोर्कको हाइवे निर्माणले त्यतिबेरै तीव्रता पाएको थियो । यद्यपि १९३८ मा ३२ औँ राष्ट्रपति फ्रेंकलिन रुजवेल्टले प्रस्ताव गरेका ८ वटा सुयर हाइवेको नक्साको व्यापक सर्भे भएपछि ५० वटा राज्यलाई जोड्ने क्षेत्रीय हाइवे निर्माणको काम अघि बढेको हो । त्यो गुरुयोजनालाई अझ व्यापक, विकसित एवं आधुनिकीकरण गरेर अहिलेको स्वरूप दिने योजना र काम भने १९५६ मा ३४ औँ राष्ट्रपति ड्वाइट डी आइजेनहावरले गरे । अमेरिकाको सडक सन्जाल निर्माणको काम सकिएको वर्ष १९९२ लाई मानिन्छ । २००० देखिदेखि हरेक वर्ष अमेरिकामा ४८ हजार ६ सय ८३ किलोमिटर लेन थपिँदै आएको छ भने यो नेटवर्कले २० लाखभन्दा धेरै रोजगारी दिइरहेको सिनेटमा दाबी गरिन्छ ।
हरेक राष्ट्रपतीय कालमा सडक व्यवस्थापन र विस्तारमा अर्बौं डलर छुट्याएर अझै विलासी बनाउँदै लगिएको छ । यो वर्ष पनि सडक सुधार र अत्याधुनिकीकरणलगायत पूर्वाधार निर्माणमा ट्रम्प प्रशासनले भर्खरै १ हजार अर्ब डलर छुट्याएको छ । अहिले अमेरिकामा भएको सडक सन्जाल नै अचम्म लाग्दो छ भने अब अझै कस्तो बन्ने हो, त्यो हाम्रा लागि काल्पनिक हुन सक्छ ।
अमेरिकी सडक सन्जालको विकासको मोडलले कुनै पनि देशमा व्यापार व्यवसाय, यातायात, ढुवानी, सहज पहुँच, उत्पादन, रोजगारी र समग्र देश विकासमा क्रान्ति नै आउने देखेर संसारभर यो मोडलबाट प्रभावित भई धमाधम राजमार्गहरू बनाइँदै छ । कति बनिसके । अहिले आएर त विकसित देशहरूमा अत्याधुनिक एवं विलासी राजमार्ग बनाउने लहर नै चलिरहेको छ ।
जस्तो, १९९० को सुरुदेखि नै थालिएको चीन नवीकरण अभियानमा सडक निर्माण पहिलो प्राथमिकतामा पर्यो । चीनले बनाएको सडक सन्जालले अहिले विश्वलाई नै छक्क पारेको छ । भारतले भर्खरैको दशकमा बनाएका राजमार्गहरूले देशको मुहारै फेरिदिएको छ । निर्माणको काम भइरहेको दिल्ली–मुम्बई १२ सय ५० किलोमिटरको एक्सप्रेस वेमा १५ अर्ब डलर खर्च भइरहेको छ । मुम्बईको पश्चिमतिर अरेबियन तटमा १.७ अर्ब डलरमा अर्को विलासी सडक बन्दै छ ।
उता, विकासमा पछि परेको भनिएको अफ्रिका महादेशका कयौँ राष्ट्रहरूमा पनि आन्तरिक हाइवे बनिसकेका छन् भने सम्पूर्ण अफ्रिका महादेशलाई नै शृंगार्ने ट्रान्स अफ्रिकन हाइवे योजना (५६ हजार ६ सय ८३ किलोमिटर) अन्तर्गत ९ वटा आधुनिक सडक बनिरहेका छन् ।
दक्षिण अमेरिकाका प्राय: देशहरूमा सुविधासम्पन्न राजमार्गहरू बनिसकेका छन् । युरोपमा त सडकका आकर्षक नमुना छन् नै । नर्वेको पश्चिमतिर आन्ध्र महासागरको तटमा दक्षिणदेखि उत्तरसम्म बनाइँदै गरेको ४७ अर्ब डलरको विलासी सडक कोस्टल हाइवेमा धेरैको चासो छ ।
स्थानीय, क्षेत्रीय र अन्तरदेशीय राजमार्गहरू त विश्वमा धेरै छन् । त्यतिले मात्र विश्व बजारलाई मनग्गे नभएर अब अन्तरमहादेशीय सडक कनेक्टिभिटीले संसारलाई बाँध्ने योजना तयार गरी काम पनि सुरु भइसकेको छ । चीनको ओबीओआर (वन बेल्ट वन रोड) पछिल्लो प्रत्यक्ष नमुना हो ।
राजमार्ग निर्माणको यो लहरले विश्वभरि विकासमा आर्थिक क्रान्ति नै ल्याइदिएको छ । प्रगतिउन्मुख कुनै पनि देशलाई सडक सन्जालको यो मोडल अत्यन्तै प्रेरणादायी र उपयोगी देखिन्छ ।