बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ । घृणाको अन्त्य घृणाले होइन, प्रेमले गर्नुपर्छ ।
प्रिय नवराज विक,
हार्दिक नमन !
तिम्रो मृत्युको खबरले आज विश्वभर छरिएर रहेका नेपालीहरू मात्र नभई सम्पूर्ण मानव जातिको मन विह्वल भइरहेको छ । प्रेममा उँचनीचको कुनै बारबन्देज हुँदैन । त्यसैले त प्रेमको कुनै पनि परिधि र सीमारेखा कोरिएको हुँदैन ।
प्रेमलाई न उमेर, न जात, न धनसम्पत्ति, न त कुनै कुराले नै प्रभाव पार्न सक्छ ।
त्यसैले त प्रेमका कथा, कविता, गीत/संगीत र साहित्यहरूले हरेक मानव जातिको हृदयलाई मीठो स्पर्श गरिदिन्छ । प्रेमले मनमा लागेका चोटहरू मात्र हैन, तिनका घाउहरूलाई पनि बिसेक पारिदिन्छ ।
प्रेमका खातिर प्राण त्याग गर्नेहरू कहिल्यै मर्दैनन् । उनीहरू आफू मर्छन् तर अनगन्ती स्मरणहरू छाडेका गएका हुन्छन् । त्यसको प्रमाण, आज सारा नेपालीहरू हुन्, जो तिम्रो पक्षमा बोलिरहेका छन् । लेखिरहेका छन्, न्यायको आवाज बुलन्द गरिरहेका छन् ।
आहा ! तिमी कति भाग्यमानी । यो कुराले आज मेरो आँखामा आँसु होइन, हर्ष छचल्किरहेको छ ।
म पनि त कति शौभाग्यशाली ! तिमी यो संसारमा जीवितै हुन्थ्यौ भने मैले तिमीलाई चिन्न पाउँदैनथेँ । जब १० जेठ ०७७ का दिन तिमीलाई यो संसार छाड्न बाध्य पारियो, तब सारा नेपालले मात्र नभएर विश्वले तिमीलाई चिन्यो । तिमी आज अन्तर्राष्ट्रिय रूपमा परिचित व्यक्ति भएका छौ ।
कोभिड– १९ ले लाखौँ मानिसहरू कुकुर र कमिला मरेझैँ मरिरहेका बेला तिमीले पनि प्रेमका खातिर मरेर मुटु भएका हरेक मानिसहरूको ढुकढुकीमा धड्किएका छौ ।
नवराज, तिमी मायाको मात्र होइन, मानवताका उदाहरण हौ । तिमी विख्यात साहित्यकार लक्ष्मीप्रसाद देवकोटाको मदन हौ । तिमी शेक्सपियरको रोमियो हौ । तिमी बाइबलको येसु ख्रीष्ट हौ । रामायणका राम हौ । तिमी भ्यालेन्टाइन हौ । तिमी शाह जहान हौ । तिमी मार्टिन लुथर किङ हौ । तिमी नेल्सन मण्डेला हौ । तिमी अम्बेडकर हौ आदि/इत्यादि ।
जातीय विभेद अन्त्य गर्ने आन्दोलनमा अनगन्ती कथित सानो जात भन्नेहरू मर्नु पर्दैन अब । किनभने ३ करोड नेपालीहरूले बुझिसकेका छन्, यो जातपात भन्ने निर्दयी शब्द मिथ्या रहेछ, ज्यानमारा रहेछ ।
अबदेखि कसैले जातीय विभेद गर्ने छैनन् । सदियौँदेखि विद्यमान कथित ठूलो र सानो जाति प्रथाको अन्त्य गरेका छौ । तिमीले कुरीति, कुधर्म र कुकर्मको किरिया गरेर समाजमा प्रेम, क्षमा, समानता र मानव धर्मको सुरुआत गरेका छौ ।
सुन्छु, तिम्रा बामाआलगायत आफन्तहरू, बेहुली लिन तिम्रै साथ गएका पाँचै जना र अन्य साथीहरूलाई कुटीकुटी भेरी नदीमा हुइँक्याउनेहरूमाथि कडा सजाय माग्दै सडक, समाज तातिरहेको छ । राज्यलाई दबाब दिइरहेका छन् रे ! कसैकसैले फाँसीसम्मै दिनुपर्छ भनेका छन् ।
के तिमीलाई यो स्वीकार्य छ ? मलाई त्यस्तो लाग्दैन । घृणाको अन्त्य त प्रेमले मात्र हुन्छ, जसका लागि तिमीले ज्यानै गुमायौ ।
येसु ख्रीष्टले आफूलाई क्रसमा टाँग्नेहरूलाई देखेर भनेका थिए रे, ‘हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस् किनकि तिनले के गर्दै छन्, आफैँले जान्दैनन् ।’
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ । घृणाको अन्त्य घृणाले होइन, प्रेमले गर्नुपर्छ ।
आज हाम्रो देश नेपाल मात्र हैन, विशाल अमेरिका पनि विभेदको चपेटामा पिल्सिएको छ । अश्वेत नागरिक जर्ज फ्लोएडको घाँटी थिचेर हत्या गरियो । नेपालको जातिभेदजस्तै अमेरिकाको रंगभेद हो भन्ने अधिकांशको ठम्याइ छ । चारैतिरबाट समानताको पक्षमा आवाज बुलन्द भएको छ । यसको अर्थ, अब कसैलाई पनि मानव–मानवबीचको विभेद स्वीकार्य छैन ।
नवराज, तिम्रो अन्त्येष्टिमा मलगायत विश्वभरका प्रियहरूलाई शारीरिक रूपमा उपस्थित भएर पुष्प अर्पण गर्न असम्भव भए पनि यो सम्झ, कि भेरीका हरेक चट्टानहरू तिम्रा प्रिय मलामीहरू हुन् र नदीमा बगेका पानी तिम्रा प्रियहरूले श्रद्धासाथ चढाएका जल हुन् ।
अन्तमा, तिमीलगायत प्रेमका निम्ति जीवन दिने सहयात्रीहरूमा हार्दिक श्रद्धान्जली !
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...