रुकुमदेखि अमेरिकासम्म सल्केका जातीय हिंसाविरोधी ज्वालाहरू
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ
अमेरिकाको मध्य उत्तरी राज्य मिनिसोटाको मुख्य सहर मिनियापोलिसमा गत मे महिनाको २५ तारिखमा एउटा दु:खद् घटना घटेको खबर पुरानो भए पनि यसको असर देखिइरहेको छ । अश्वेत अफ्रिकन मूलका अमेरिकन जर्ज फ्लोएडले नजिकैको पसलमा सामान किनेर २० डलरको नक्कली नोट दिइसकेपछि पसलेले प्रहरीलाई खबर गर्छन् । एक जना श्वेत प्रहरी डेरेक सभिन तुरुन्त आएर उनलाई समात्छन् । त्यसपछि उनलाई सडकमा घोप्टो पारेर घुँडाले घाँटीमा थिच्छन् । जर्जले ‘मलाई सास फेर्न गाह्रो भयो’ भनेर छटपटाउँदै जीवनरक्षाका लागि अपिल गरिरहन्छन् । ८ मिनेट ४६ सेकेन्डसम्म प्रहरीले उनलाई थिचिसकेपछि छटपटाउन छाड्छन् । तिनलाई हस्पिटल लगिन्छ । पछि डाक्टरले मृत घोषणा गर्छन् ।
ती अश्वेत अमेरिकन विभिन्न आपराधिक घटनामा ५ वर्षसम्म जेल बसेर छुटेका व्यक्ति रहेछन् । उनी दक्षिणी राज्य टेक्सासबाट मिनियापोलिस सहरमा सरेका थिए । त्यो सहरमा घटना भएको क्षेत्र १९१० देखि नै अश्वेतहरूका लागि भनेर कानुनी रूपमा राज्यसँग सहमति गरिसकेपछि २ हजार ७ सय काला जातिका अफ्रिकन अमेरिकनहरू बसोबास सुरु गरी अहिलेको तथ्यांकअनुसार ३ लाख ३६ हजार ५ सय ५ को संख्यामा आफ्नो गढ र संरक्षित थलो नै बनाएर बसेका हुन् भन्ने डेलिगार्डले लेखेको छ । उक्त स्थललाई खराब सहरको सर्वेक्षणमा पनि राखिएको छ ।
अमेरिकामा कुनै पनि प्रहरी अधिकृतले अपराधीलाई समात्ने यो तरिका सामान्य मानिन्छ । अपराधी सशस्त्र छ र आत्मसमर्पण नगरे प्रहरीले सीधै गोली हान्न सक्छ । तर यो घटनामा अपराधी नि:शस्त्र छ । जीवनरक्षाको गुहार मागिरहेको भिडियो सार्वजनिक भएको छ । यसरी ज्यानै जाने गरी गरिएको यो धरपकडको शैली भने गलत छ । प्रहरीको क्रुर दमन एवं बर्बरता देखिने यो घटना बाहिर आइसकेपछि त्यो क्षेत्रका अश्वेत जातिका मानिसहरूबाट उनीहरूमाथि जातीय दमन र विभेद भएको भन्दै सुरु गरिएको आन्दोलनले अमेरिकामा अहिले कालो आगो सल्किरहेको छ ।
प्रहरी कार्यालयलगायत वरिपरिको क्षेत्रमा तोडफोड, आगजनी र लुटपाटबाट फैलिएको भड्कावले उग्र रूप लिँदै देशैभरि त्यस्तै घटनाहरू भइरहेका छन् । १५ राज्यहरूमा त कर्फ्यु नै लगाइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले कडाइ गर्ने, आवश्यक परे सेना नै परिचालन गरेर ‘एक्सन’ पनि लिने भनेर नियन्त्रण गर्न खोजेका छन् । तर हिंसाको आगो सल्किँदै युरोपसम्म पुगेको छ । लन्डनमा पनि विरोध जुलुसहरू निस्किएका छन् ।
उक्त घटनामा संलग्न प्रहरी अधिकृतलाई तेस्रो डिग्री कारबाही (२५ वर्ष जेल सजाय) हुन सक्ने अनुमान गरिएको छ । उता, दक्षिणी राज्य फ्लोरिडामा प्रहरीको समूहले आन्दोलनकारीका अगाडि घुँडा टेकेर गल्ती स्वीकार गर्दै माफी नै मागेको छ ।
अमेरिकामा यस्ता जातीय हिंसाका घटना घट्नु नौलो होइन । बेलाबखत व्यक्ति विशेषको घटना अन्त्यमा गएर जातीय मुद्दा बन्छ ।
ह्वाइटहाउस तताउँदै अन्यत्र फैलन्छ । लगभग ४ करोड २० लाख अश्वेत मानिसहरू बस्ने अमेरिकामा अफ्रिकन मूलका अमेरिकीहरू देशैभरिका विभिन्न क्षेत्रमा बसोबास गर्छन् । आफ्नै चालचलन र संस्कृति बोकेका यी मानिसहरू राज्यको कुनै पनि तहमा उत्तिकै सहभागी छन् । तर पनि कालो आगो सधैँका लागि ननिभ्नुका पछाडि केही गहिरा तथ्यहरू लुकेका छन् ।
अश्वेतप्रतिको अन्धविश्वास
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ । गोराहरूले काला वर्गप्रति राख्ने ६ वटा हेय मिथकहरू खुर्किएर पनि नजाने खालका छन् ।
पहिलो– गोराहरू काला जातिहरू पैसा नहुने पिछडिएको वर्ग हो भन्छन् । गोराहरूका लागि पैसा कमाउने दास र माध्यम हो भन्ने कुविश्वास छ । कालाहरू, तिनको मजदुरी र आफ्ना शरीर केवल पैसाका लागि प्रयोग गरिने वस्तु ठान्छन् । पुँजी निर्माणको स्रोत ठान्छन् ।
दोस्रो– गोराहरू कालाहरूलाई इतिहासका क्रान्तिकारी देशभक्त सिपाही ठान्छन् । ती सिपाहीहरू, जसले अमेरिकी स्वतन्त्रता अभियानमा १३ वटा बेग्लै उपनिवेशका लागि माग गर्दै लडेका थिए । ‘देशभक्त’ शब्द ती सीमित क्रान्तिकारीलाई होच्याउने मनसायले व्यंग्यात्मक रूपमा प्रयोग गर्छन् । त्यसमा सबै अश्वेतलाई वर्गीय रूपमै मुछ्ने गर्छन् । उनीहरूलाई आफूजस्तो एकीकरणका पहरेदार योद्धा र शुद्ध अमेरिकी मान्दैनन् ।
तेस्रो– गोराहरू काला जातिलाई टस्केजी (१९३२ देखि १९७२ बीचमा अफ्रिकी मूलका काला अमेरिकी पुरुषमाथि त्यहाँको पब्लिक हेल्थ सर्भिसले गरेको सिफिलिस नामको यौन रोग) परीक्षणको गिनिपिग पात्र ठान्छन् । अलाबामा राज्यको म्याकोनमा ६ सय काला मानिसहरूमाथि गरिएको उक्त परीक्षणमा ३ सय ९९ जना संक्रमित भेटिए भने २८ जनाले ज्यान गुमाएका थिए । ४० जना तिनका पत्नीहरू संक्रमित थिए भने १९ केटाकेटीहरू उक्त गर्भे रोग लिएर आएका थिए । बाँकीमा त्यस्तै लक्षण देखिएको थियो ।
गोराहरू कालाहरूलाई ती सुई लगाइएका मान्छे हुन् भन्ने विश्वास छ । सारा अश्वेत जातिलाई संक्रमित अनि दूषित जाति भनेर मैलो पोतेर हेर्ने गर्छन् ।
चौथो– गोराहरू कालालाई ‘जिम क्रो’ अमेरिकाका पराजित पात्र मान्छन् । अमेरिकाको पुनर्निर्माण समय सकिएपछिको सन् १८७० देखि १९६० को अवधिलाई जिम क्रो अमेरिका भनिन्छ, जुन समय गोरा र उक्त जातिका प्रहरीहरूले कालामाथि धार्मिक रूपमै हेला गरेर वितन्डा मच्चाएका थिए । उनीहरूलाई हेप्ने, सताउने, गाली गर्ने, पिट्ने, दन्ड दिने, मार्ने गर्थे । कालाहरूले तिनको सुरक्षा, हक र अधिकारका लागि निर्धो भएर कानुनी हिसाबले अपिल गर्थे । तर गोराहरूले उनीहरूको आवाज र अनुनय त्यसै दबाउँथे । बर्बरता खन्याउँथे । त्यसैले कालाहरू हरुवा र कमजोर मानिसहरू हुन् भन्ने हेपाहा मिथक अहिले पनि हट्न सकेको छैन ।
पाँचौँ– गोराहरू काला जातिलाई क्र्याक कोकिन खाने दुव्र्यसनी मान्छे ठान्छन् । १९८० को दशकलाई लागूपदार्थको ठूलो संकटको दशक भनेर काला जातिसँग जोडेर हेरिन्छ । अमेरिकाका सहरी क्षेत्रका फोहोर बस्तीमा बस्ने र लागूऔषध दुव्र्यसन गर्ने मानिसहरूको रूपमा तिनलाई लिइन्छ । विकसित हुन नसकेका पछौटे जाति भनिन्छ । आफूहरूजस्तो संस्कारी, सभ्य, विलासी र सुग्घर वर्ग ठान्दैनन् ।
छैटौँ– सबभन्दा ठूलो मिथकचाहिँ गोराहरू सबै काला जातिलाई १९६५ को जु १९ (जुन्टिन्थ डे) मा दासप्रथाको अन्त्य नहुन्जेलसम्मका दास नै हुन् भन्छन् ।
यसरी हुर्कंदै आएको रंगभेदको जरो गोराहरूको मनोविज्ञानमा अझै पनि गडेर बसेको छ । त्यसको असर यसरी बाहिर नै देखिने गरेको छ ।
श्वेत नेतृत्व र पूर्वाग्रह
राष्ट्रपति ट्रम्पको सुरुआती रणनीति नै पूर्वाग्रही देखिन्छ । ‘मेक अमेरिका ग्रेट अगेन’ को नीतिले ले उग्र राष्ट्रवादलाई बढावा दिएर कट्टर श्वेत र श्वेत अमेरिकीको पक्षपोषण गरेको स्पष्ट भइसकेपछि अश्वेतले आफूहरूप्रति राष्ट्रपति विभेदको मनसाय बोकेर ह्वाइटहाउस छिरेको र आफूहरू राष्ट्रपतीय अभिभावकत्व कम पाउने महसुस गरे । विश्व संस्कृतिले सज्जित देशमा उनको उग्र अमेरिकन चिन्तनले जातीय विभेदको बिउ सुरुमै रोपे । संसारबाट आएका सामान्यदेखि दक्ष मानिसहरूबाट बनेको अमेरिकामा सबैको संरक्षण समान रूपले नगरे सांस्कृतिक विविधताको जगमा बनेको देशले साम्प्रदायिक क्षति बेहोर्नुपर्छ भन्नेमा कम हेक्का राखे । अर्थ र शक्तिको भरमा सबै कुरा हाँक्न सक्छु भने राष्ट्रपति ट्रम्पको गलत सोच नै आगोको झिल्का सल्काउने ‘फ्युल’ बन्यो ।
डिमोक्र्याट्सको भद्र र रिपब्लिकनको उग्र आप्रवासी नीतिले जातीय मिलापमा यसरी नै फरक पार्दछ । अघिल्ला राष्ट्रपति बाराक ओबामाको कार्यकाल सफल र सुन्दर मानिनु नै यसको उदाहरण हो । त्यसैले ह्वाइटहाउसको नेतृत्व कसको हातमा जान्छ भन्ने कुराले अमेरिकी समाजमा लुकेर बसेको रंगभेद साम्य हुने कि दन्किने भन्ने निर्णय गर्दछ ।
बानीबेहोरा र आचरण
अमेरिकामा सबै खाले अश्वेत नागरिकहरू पाइन्छन् । शिक्षित, सभ्य, सुशील र अर्काथरी गरिब, अभद्र, अनुशासनहीन । यहाँ बस्ने प्राय: सबैले महसुस गर्न सक्ने एउटा तीतो सत्य हो– एकथरी अश्वेत मानिसहरूको बानीबेहोरा र आचरण । उनीहरू दैनिक जीवनका सानातिना गतिविधिमै फरक खाले व्यवहार गर्छन् । जस्तो, फोहोर बोल्ने, फोहोर गर्ने, झगडा गर्ने, वितन्डा मच्चाउने र गलत क्रियाकलाप गर्ने । तिनको यो शैलीले पनि समग्र अश्वेत जातिमाथि कलंकको हिलो छ्याप्ने गर्दछ । यति विकसित र सभ्य देशमा पनि आफू विकसित हुन नसक्नुले समाजमा गोराहरूको दृष्टिकोण समान नभएको हो ।
एकातिर सुन्दर अमेरिकाको सपना देखाउने मार्टिन लुथर किङ, जातीय विभेदको अन्त्य गर्ने अब्राह्म लिंकन, देशै सम्हालेका बाराक ओबामा, मेडिया सेलिब्रेटी ओफ्रा विन्फ्रेदेखि हलिउडका सदावहार सम्मानित कलाकार मोर्गन फ्रिम्यान, ओसी डेभिसजस्ता अश्वेत व्यक्तिहरूले रंगभेदलाई उहिल्यै उछिनेर जीत र समानताको आदर्श स्थापित गरे पनि एकाध वर्गको आचरणले जातीय विभेदलाई बढावा दिइरहेको अनुभव हुन्छ ।
राष्ट्र निर्माणको इतिहासको गर्भदेखि नै रंगभेदको जरो गाडिएको अमेरिकी समाजमा बेलाबेला यसरी जातीय आगो बल्नु स्वाभाविकै हो । १६ औँ राष्ट्रपति अब्राह्म लिंकनले १७६५ मै कानुनी रूपमा अन्त्य गरेको विभेद बाहिरी समाजमा अझसम्म छरपस्ट भइरहेको छ । यसका झिल्काहरूले विकसित र सभ्य समाजमा त आगो सल्काइरहेको छ भने संसारबाट सधैँका लागि यो निस्तेज हुन कति समय लाग्छ भनेर बलियो तर्क गर्ने आधार छैन ।
नेपालको रुकुमको चौरजहारी जातीय हिंसा र अमेरिकामा भएको अश्वेत हिंसाको प्रकृति उस्तै देखिन्छ । फरक यो छ कि, नेपालमा अशिक्षा, अचेतना र गरिबी यसको कारक मानिन्छ भने यहाँ आचरण र बानीबेहोरा ।
जातीय विभेद चाहे विकसित समाजमा होस् या अविकसित, संविधानबाटै किन हटाइएको नहोस्, दुवै खाले समाजमा यसको उपचार भने एउटै छ ।
आफ्नै सोच, व्यवहार, चालचलन एवं गतिविधिमा सुधार ल्याउने, आफैँ सभ्य, सचेत बन्ने र आफूभित्रैबाट विकार हटाउने हो भने रंगभेदको आगो त्यहीँ निभ्छ ।
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...