ट्राभिस कुटाइममा मुर्दाघर आयो
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो आफ्नै कथाजस्तो लाग्यो । रातमा काम गर्नेहरूको कथा । निशाचरहरूको कथा ।
घरबाट बाहिर निस्किनेबित्तिकै देखेँ– बाटो छेउमै एउटा पहेँलो रङको ट्याक्सी उभिइरहेको थियो । ट्याक्सीको ड्राइभर सिटमा ‘ट्राभिस विकल’ एक थान भावविहीन सपाट अनुहार लिएर मतिर हेरिरहेको थियो ।
मैले हिजो भर्खर मार्टिन स्कोर्सेसीको कालजयी तथा मेरो सर्वप्रिय फिल्म ट्याक्सी ड्राइभर १२२ औँ पटक हेरेको थिएँ । आज त्यही फिल्मको प्रमुख पात्र मेरो अगाडि उभिएको थियो, उही पहेँलो ट्याक्सी लिएर ।
ट्याक्सी ड्राइभर र मेरो उमेर लगभग उस्तै छ– २६ वर्ष । उसको र मेरो समस्या पनि लगभग उस्तै नै छ– राती निद्रा नलाग्ने । ट्राभिस पहिला आर्मीमा थियो । उसले भियतनामको युद्ध लड्यो । जित्यो ? पदक पायो । सम्मान पायो । तर उसले आफूलाई चाहिँ गुमायो ।
उसले लडेको युद्ध कसका लागि थियो ? त्यो जित कसका लागि थियो ? ट्राभिस फर्केर आएपछि उसलाई निद्रा लाग्न छाड्यो । समाजमा घुलमिल हुन उसले सकेन । जान्दै जानेन । समाज उसले छाडेको ठाउँभन्दा धेरै अगाडि पुगिसकेको थियो । तथाकथित महान् युद्धको वाछिटा परेको ऊ अनिद्राको पीडित भयो, मजस्तै । भलै, म कुनै युद्धमा सहभागी भएको छैन तर पनि राम्रोसँग नसुतेको लगभग ६ वर्षजति भयो होला ।
मलाई राती निद्रा लाग्दैन । त्यसैले रातीमै काम गर्छु । भनौँ, म राती काम गर्छु, त्यसैले मलाई राती निद्रा लाग्दैन ।
मैले दाहिने हातमा बाँधेको घडी हेरेँ । रातको १०:३० बजेको थियो । मेरो काम रातको ठीक ११:३० बाट सुरु हुन्छ । म सहरको सबैभन्दा प्रख्यात मुर्दाघरमा मुर्दा कुर्ने काम गर्छु । यदि यो एउटा आम रात हुँदो हो त म देशमा भर्खरभर्खर आएको ऐतिहासिक रेल चढेर आफ्नो काममा गइरहेको हुन्थेँ । तर आज त मलाई लिन ट्याक्सी ड्राइभर नै आएको छ, पहेँलो ट्याक्सी लिएर ।
***
ट्याक्सी ड्राइभर र मेरो यो भेट पहिलो पटक भएको थिएन । यो हाम्रो १२२ औँ भेट थियो । मैले ट्याक्सी ड्राइभर फिल्म हेरेपछि त्यसको भोलिपल्ट ट्राभिस मलाई भेट्न आइपुग्छ । हाम्रो भेट जहिल्यै म बस्ने घरको बाटोको छेवैमा हुन्छ– ठीक १०:३० बजे । अनि, म उसको ट्याक्सी चढेर मुर्दाघर जाने गर्दथेँ । यो क्रम मैले पहिलो पटक ट्याक्सी ड्राइभर हेर्न थालेदेखि नै सुरु भएको थियो, जुन आजसम्म चलिरहेछ ।
‘यो सहरमा धेरै प्रदूषण छ, यार । मलाई प्रदूषण देखेर धेरै दिक्क लाग्छ ।’ ट्राभिसले एक दिन मलाई सुनायो । यो कुरा उसले फिल्ममा पनि भनेको छ । फिल्मभरि ऊ सहरको प्रदूषण र त्यसलाई सफा गर्नुपर्ने कुरा मात्रै गर्छ । गरिरहन्छ ।
‘मलाई पनि ।’ मैले ट्याक्सीको बाहिर हेर्दै भनेँ । बाहिर सहरमा केही थान मान्छेहरू हिँडिरहेका थिए । ट्याक्सी ड्राइभरको भाषामा भन्नुपर्दा प्रदूषणहरू अघि बढिरहेका थिए ।
सडकमा भेटिने चोर, हत्यारा, फटाहा, लुटेरा, वेश्या, भिखारी, दुर्व्यसनी आदि सबैलाई ऊ फोहोर भन्थ्यो । यो सबै नहटाएसम्म सहर सफा नहुने उसले मलाई सुटुक्क भनेको थियो । उसले युद्धमा मान्छेहरू मारेको थियो । तर पनि उसलाई हत्याराहरू मन पर्दैन थियो । ऊ आफूले मान्छे मारेको विषयमा केही बोल्दैन वा बोल्नै चाहँदैन । ऊ सय वटा मुसा मारेर त्यसको पाप पखाल्न तीर्थयात्रा जाने एउटा बिरालो हो ।
उसलाई वेश्याहरू पनि मन पर्दैन थियो । तर ऊ प्रत्येक साता अश्लील चलचित्र हेर्न जान्थ्यो । उसलाई यौनकर्मी मन पर्दैन तर यौन मन पर्थ्यो ।
ट्याक्सी ड्राइभर तपाईं–हामीजस्तै नै छ, विरोधाभासै विरोधाभासले भरिएको । म बाहिर एक थोक भन्छु तर भित्र अर्को थोक गर्छु । तपाईं पनि एकचोटि आफूले आफैँलाई आदर्शको कसीमा नापेर हेर्नुस् त ? आफूले आफैँलाई कस्तो पाउनु हुन्छ ? तपाईं समाजमा भेदभाव हुनु हुँदैन भन्नुहुन्छ तर नजानिँदो पाराले भेदभाव गर्नुहुन्छ । मलाई त्यसैले त ट्राभिस विकल मन पर्थ्यो । किनभने ऊ ठ्याक्कै मैजस्तो वा तपाईंजस्तै विरोधाभास नै विरोधाभासले भरिएको थियो ।
***
मैले मुर्दाघरमा काम गर्न थालेको ठ्याक्कै ५ वर्ष भइसकेको थियो । मलाई इन्सोम्नियाले छोएको ठीक एक वर्षपछि यो काम पाएको थिएँ । म आफ्नो अनिद्राको सदुपयोग गर्ने काम खोजिरहेको थिएँ । सहरको प्रख्यात मुर्दाघरमा राती काम गर्ने एउटा चौकीदार चाहिएको रहेछ । कामको एउटै सर्त थियो– राती सुत्न पाइँदैन । त्यो सुनेर म मनमनै बहुत मुस्कुराएँ ।
मुर्दाघरमा काम गर्ने म एक्लो थिइनँ । त्यहाँ ‘एड्गार एलान पोए’ को ‘टेल टेल हर्ट’ कथामा भएको गिद्धको जस्तो आँखावाला बूढोचाहिँ मुर्दा कुर्ने काम गर्थ्यो । म चौकीदारी गर्थें, बूढो मुर्दा कुरेर बस्थ्यो ।
बूढोको एउटा खुबी थियो– ऊ आँखा हेरेरै सुत्न सक्थ्यो । त्यसैले कसैलाई पनि बूढो काममा सुतिरहेछ कि उठिरहेछ भन्ने थाहा हुँदैन थियो ।
एक दिन अचानक मुर्दाघरमा बूढो आफैँ मुर्दा भयो । मुर्दाघरमा एउटा ठूलो हल थियो । त्यही हलमा मुर्दाहरू मिलाएर राखिएको हुन्थ्यो । उसको लास पनि मुर्दाघरको त्यही हलमा मिलाएर राखियो । बूढोले आफ्नो लास पनि त्यही मुर्दाघरमा मिलाएर राखिन्छ भन्ने सायदै सोचेको थियो होला ।
यो मुर्दाघरमा कैयन् लासहरू मिलाएर राखिएको छ । यहाँ छोराको हत्यारालाई सजाय माग गर्दागर्दै मृत्युवरण गरेका एक बाबुको लास पनि राखिएको छ । कहिलेकाहीँ तिनको लासमा पनि राजनीति गरिन्थ्यो । यहाँ जातको नाममा प्रेमिकाका आफन्तहरूले घाँटी न्याकेर मारिएको एउटा महान् प्रेमीको लास खाल्डोबाट उत्खनन गरेर ल्याई राखिएको छ ।
जस्तोसुकै भयानक प्रकृतिको लास भए पनि उनीहरूलाई मिलाएर नै राखिन्थ्यो । राजनीतिमा जसले राम्रोसँग लासको व्यवस्थापन गर्यो, उसले चाँडो प्रगति गर्छ भनेर एउटा हल्ला व्याप्त थियो । मुर्दाघरभित्रको कुनामा अझ भयानक–भयानक लासहरू पनि छन् । अहिलेलाई यो विषय छाडौँ, लासहरूबारे म एक दिन बेग्लै भनौँला ।
बूढो मरेपछि मैले उसको त्यो मुर्दा कुर्ने काम गर्न थालेँ । तर मेरो ठाउँमा नयाँ चौकीदार कोही पनि आएनन् । कतिले बूढोको हत्या मैले नै गरेको हुँसमेत भनेका थिए रे तर मलाई याद छैन । हिजोआज मलाई धेरै कुरा याद हुन छाडेको छ । कुनै बेला ट्याक्सी ड्राइभर हेरेपछि त्यसैबाट प्रभावित भएर जोन हिन्क्ले जेआर नामक मान्छेले अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको हत्या गर्ने प्रयास गरेका थिए । एउटा फिल्मको कस्तो भयानक प्रभाव । सायद त्यसै फिल्मबाट प्रभावित भएर मैले पनि बूढोको हत्या गरेँ कि ? थाहा छैन । हुन पनि सक्छ ।
निद्रा नपर्ने मान्छेको दिमागबाट धेरै कुराहरू हराउन थाल्छन् । उसको स्मरण शक्ति खिइँदै जान्छ र दिमागमा भयानक कुराहरू खेल्न थाल्छन् । मैले आफ्ना कयौँ रात मूर्दाहरूसँग बोलेरै बिताएको छु । मुर्दाघरमा म एक्लै जीवित व्यक्ति हुन्थेँ । तर मलाई मचाहिँ मृत र सारा मुर्दाहरू नै जीवित मान्छेहरू हुन् कि जस्तो लाग्थ्यो । मुर्दाहरू सास नफेर्ने लास हुन्, म सास फेर्ने लास हुँ । संसारमा तपाईं हुनु र नहुनुले कसैलाई पनि कुनै फरक पार्दैन भने तपाईं हुनुको कुनै अर्थ छैन । ट्राभिसलाई यो समाजको हिस्सा हुन मन थियो । उसलाई शान–ओ–शौकत केही पनि चाहिएको थिएन । मात्र समाजले उसलाई स्वीकार गरिदिए पुग्थ्यो ।
***
म ट्याक्सी चढ्नेबित्तिकै ट्राभिसले ट्याक्सी कुदाइहाल्यो । उसको ट्याक्सीमा कालीप्रसाद रिजालको कालजयी ‘दुई कदम साथै हिँड, छुट्टिनु त छँदै छ’ गीत बजिरहेको थियो । त्यो गीतका प्रत्येक शब्दहरू सीधै उडेर मतिर आएजस्तो लाग्छ । यस्तो लाग्छ, शब्दहरू एकअर्कासँग म्याराथन दगुरिरहेका छन् । ट्राभिस र म दुई कदम साथै हिँडिरहेका थियौँ र हामी मुर्दाघरमै पुगेर छुट्टिन्थ्यौँ ।
मैले मुर्दाघरमा जुनीजुनीसम्म नछुट्ने कसम खाएका जोडीहरू पनि छुटेको देखेको छु । त्यसैले पनि मलाई कालीप्रसाद रिजालको उक्त गीत मन पर्थ्यो ।
मैले नै उसलाई सिफारिस गरेको यो गीतबाहेक उसले अरू गीत आफ्नो ट्याक्सीमा बजाएको मलाई याद छैन । हुन त मलाई आजकाल के नै पो याद हुन्छ र ! सबै बिर्सिन्छु । कहिलेकाहीँ त लाग्छ, म एक दिन सास फेर्न बिर्सिएरै मर्छु होला । एक्लोपना र अनिद्रा, तपाईंले सोचेभन्दा भयानक कुरा हुन्छन् । जब तपाईंलाई आफू किन यो संसारमा छु, कसका लागि छु भनेर थाहा हुन छाड्छ, तब तपाईं ठूलो द्वन्द्वमा फस्नुहुन्छ । तपाईं आफू यो संसारमा छु भनेर देखाउनकै लागि जेसुकै पनि गर्न तयार बन्नुहुन्छ ।
***
म प्राय: कालो कफी पिउँछु । सुरुमा मैले कफी रहरले पिउन थालेँ । एकचोटि कुन्नि कसले हो, असली कफी खानुको मजा चिनी नहालेको कालो कफीमा हुन्छ भनेर मलाई सुनायो । मैले असली मजा लिने कोसिस गरेँ । सुरुको २–४ पटक गाह्रो भयो । पछि सहज भयो । बानी पर्यो । लत लाग्यो । कुलत भयो । संसारमा धेरै कुराहरू लहडमा सुरु हुन्छन् र कुलतमा गएर अन्त्य हुन्छन् ।
ट्याक्सी ड्राइभरले आफूले आफैँलाई खोज्ने ठूलो प्रयास गर्यो । तर उसले कतै पनि आफूलाई पाएन । आफूलाई खोज्ने लहडमा सिद्धार्थ गौतम घर छाडेर टाढा गए । जंगल बसे । आफूलाई खोज्ने लहडमा म पनि यो संसारमा छु है भनेर जानकारी दिन ट्याक्सी ड्राइभरले हत्या गर्यो । मैले पनि आफूलाई खोज्ने कोसिस गरेँ । तर उसले जस्तो हत्या गर्न सकिनँ । म एक्लो मात्र हैन, डरपोक पनि छु । तपाईं पनि डरपोक हुनुहुन्छ । तपाईं र मैले आफ्ना सपनाहरूको बाहेक अरू केहीको पनि हत्या गर्न सक्दैनौँ ।
लगातार १८ घन्टासम्म काम गर्दा पनि सुत्न नसक्नुको पीडा कि म बुझ्छु, कि ट्राभिस बुझ्छ । थकाइ लाग्छ, निद्रा लाग्दैन । वाँणको शैयामा सुतेका भीष्म पितामह घाउ दुखेर रुन्थे, कराउँथे, मर्न खोज्थे तर मर्न सक्दैनथे । हामी सबै आधुनिक भीष्म पितामह हौ । लाचार ।
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो आफ्नै कथाजस्तो लाग्यो । रातमा काम गर्नेहरूको कथा । निशाचरहरूको कथा ।
त्यो बेला सायद म अनिद्रासम्बन्धी फिल्महरू खोज्दै थिएँ । र, ‘फाइट क्लब’ हेरिसकेपछि लगत्तै मैले ट्याक्सी ड्राइभर हेरेको थिएँ । मैले धेरै पछि मात्रै थाहा पाएँ, अनिद्रा भयानक ठूलो रोग हो ।
***
एक दिन ट्राभिस कुटाइममा मुर्दाघर आयो । मैले हिजो ट्याक्सी ड्राइभर हेरेको थिइनँ तर पनि उसको र मेरो जोगले हुन्छ भेटवाला भेट भयो । हिजोआज उसले आफ्नो ट्याक्सीलाई शव वाहन बनाएको रहेछ । विश्वमा महामारी फैलिएसँगै जिउँदो मान्छेभन्दा मरेका मान्छेहरू धेरै हुन थालिसकेका थिए । लासहरूको पनि इज्जत लुटिएको उसले सुनेको थियो । लासहरूमाथि राजनीति गरेको त झन् उसले आफ्नै आँखाले देखेको थियो । ऊ लासहरूसँग पैसा नलिई तिनको ओसारपसार गर्थ्यो ।
उसले ट्याक्सीबाट एउटा फ्रेस लास निकाल्यो अनि मेरै अगाडि छाडेर गयो । आज पहिलो पटक ट्राभिस मसँग केही नबोली गएको थियो । म ट्वाल्ल परिरहेँ । मैले लासको अनुहार हेरेँ– त्यसको अनुहार मेरो अनुहारसँग मिल्थ्यो । त्यो मेरै लास थियो तर म को हुँ ? मैले बिर्सिएँ । त्यसपछि ट्राभिसले ल्याएका सबै लासहरूको अनुहार मेरो अनुहारसँग मिल्न थाल्यो ।
सहरको प्रख्यात अखबारहरूमा भोलिपल्ट पनि सधैँझैँ समाचार आइरहेका थिए । नयाँ केही थिएन ।
क्वारेन्टाइनमा एक युवकको मृत्यु ।
उच्च जातका व्यक्तिहरूद्वारा प्रेम गरेको आरोपमा दलितको हत्या ।
भोकको कारण घरमै गरिबको मृत्यु ।
परदेशबाट हिँडेर घर आइपुग्नेबित्तिकै एक महिलाको मृत्यु ।
तर यस पटक भने प्रत्येक समाचारमा मेरो फोटो थियो । प्रत्येक पटक म मरिरहेको थिएँ । ए, हैन हैन । म मरेको थिइनँ । मलाई प्रत्येक पटक मारिएको थियो ।
ऐना हेर्नुस् त– म नै तपाईं हुँ ।
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...