बाईबाई नेपाल
०५६ सालको कुरो हो । 'संवाददाता आवश्यकता'सम्बन्धी विज्ञापनलाई पछ्याउँदै म कान्तिपुर पब्लिकेसन्सको कार्यालय पुगेकी थिएँ, निवेदन दिन ।
पत्रकार विजयकुमार पाण्डेको नेतृत्वमा पत्रकारिता गर्न सम्भव छैन भन्नेहरू एकातिर थिए भने अर्कातिर यस्तो अवसर कमैलाई मिल्छ पनि भन्थे । नियुक्तिपत्र लिएको सात महिनापछि नेपाल पाक्षिक बजारमा आएको थियो । भारतको राजधानी नयाँदिल्लीमा चिल्लो कागजमा छापिएर आएको पत्रिका सम्पादकको कायर् कक्षमा बसेर धेरै बेर सुमसुम्याएका थियौँ ।
ठूलो 'टिम' थिएन । तर, काम गर्न सजिलो पनि थिएन । हामीलाई कम्प्युटरमा टाइप गर्नसमेत आउँदैनथ्यो । केही महिनापछि नेपालमा संवाददाताका रूपमा जोडिए, दिनेश वाग्ले । उनले हामीलाई कम्प्युटरमा साक्षर बनाइदिए । र, आ-आफ्ना नामका 'हटमेल एकाउन्ट' खोलिदिए । ०५८ सालमा जर्मनी पुगेर पहिलो इमेल सम्पादक विजयकुमारलाई लेखेकी थिएँ ।
त्यसपछिका दिन फर्केर हेर्दा भन्नैपर्ने हुन्छ, मिडियामा ठूलो क्रान्ति भएको छ । सूचनाप्रविधिका क्षेत्रले मारेको फड्को उल्लेख गर्नै परेन । राजनीतिक रूपमा पनि धेरै उतार-चढाव भएका छन् । बाहिरको कुरो के गरौँ, नेपालमै ६ जना सम्पादक फेरिए । अरू पनि धेरै साथी यसबीचमा आए, गए ।
पछिल्लो समय अझ जुझारु, पढेलेखेका र पत्रकारिताको विकासक्रमसँग अद्यावधिक साथीहरू नेपालमा प्रवेश गरिरहेका छन् । नेपालमा काम गर्छु भन्नुको गौरवबोध हुन्छ । यति वर्ष काम गरेपछि एउटा परिवारकै रूपमा लिएकी छु नेपाललाई । कतिसम्म भने सर्वाधिक काला दिनमा र खुसीका अवसर साट्ने दोस्रो परिवार नै नेपाल हो । नेपालमै काम गरिरहँदा म नेपाल पत्रकार महासंघको नेतृत्वमा पुगेकी हुँ ।
१५ वर्ष भएछ, मेरा जीवनका ऊर्जाशील दिनहरू नेपालमा बितेको । यसबीचमा मैले नेपालबाट धेरै कुरा प्राप्त गरेकी छु । प्राय: सबै जिल्लाको भ्रमण गरेकी छु । विविध रंगका संस्कृति र संस्कारसँग साक्षात्कार गरेकी छु । विदेशका राम्रा इन्स्टिच्युटबाट तालिम लिन पाएकी छु । करिब दुई दर्जन देशको भ्रमण गरेकी छु । देश दुनियाँ हेर्ने यो अवसर प्राप्तिमा धेरै भूमिका नेपालको छ ।
१५ वर्षमा जम्मा दुईपटक मैले नेपाल छोड्न चाहेँ । एक दैनिक अखबार निस्कन लागेको थियो । त्यसमा काम गर्न 'अफर' आयो । सबै कुरा मिलिसकेको थियो । नियुक्तिपत्रमा हस्ताक्षर गर्ने बेलामा सोचेँ, एकपटक कैलाश सिरोहिया (त्यस बेला प्रबन्ध निर्देशक) सरलाई नभेटी कसरी छोड्नु ? जानपहिचानका पत्रकारले मलाई नियुक्तिपत्रमा हस्ताक्षर गराउनै लागेका थिए । सँगै उभिएका दुई पत्रकारले मेरै अगाडि नियुक्तिपत्र लिए । मचाहिँ भोलि बिहान आउँछु भनेर निस्किएँ । फर्किएर कैलाश सरलाई बेलीविस्तार लगाएँ । मेरा कुरा सुनेपछि नजानेझैँ गरेर सोध्नुभो, "के नेपाली अखबारमा काम गर्न जान लागेको ?" "हो," मेरो जवाफ थियो । "त्यो दैनिक हो ?" "हो ।" "उसो भए यहाँ दैनिक त्यो पनि नेपाली/अंग्रेजी दुवै छ । म्यागेजिन, साप्ताहिक, मासिक, रेडियो सबै छ । जेमा काम गरे पनि हुन्छ । अनि, किन जाने ?" त्यसपछि मसँग जवाफ थिएन । म केही नबोली निस्किएँ ।
त्यसको केही वर्षपछि ०६३ सालमा कान्तिपुरकै फोटो पत्रकार नरेन्द्र श्रेष्ठको बिहेमा भेट भयो सुधीर शर्मा (हाल कान्तिपुरका प्रधान सम्पादक)सँग । सामान्य भलाकुसारीपछि शर्मालाई भनेँ, "अब नेपाल छोड्छु होला ।" ठोस योजना केही थिएन । उहाँले 'उत्तम विकल्प नभई नछोड्न' सल्लाह दिनुभो । यो कुरा रामबाणजस्तै लाग्यो । उहाँ भर्खर नेपालको सम्पादकबाट बाहिरिएको अवस्था थियो त्यो । अनुभवले त्यो भनेको हुनुपर्छ भन्ने लाग्यो । त्यसपछि कुनै दिन नेपाल छोड्ने सोच आएन ।
२७ पुस आइतबार नेपालको सम्पादकीय समूहको नियमित बैठक भयो । मेरो भूमिका अरू बैठकमा जे हुन्थ्यो, त्यस्तै रह्यो । म नेपाल छोड्दै छु भन्ने कुरा पनि मेरो दिमागले मान्न तयार भएन । सूचना आयोगको आयुक्तमा नियुक्त भएपछि नेपालबाट राजीनामा गर्नु नैतिक एवं कानुनी कुरो थियो । २९ पुस मंगलबार दिउँसो सहकर्मी ईश्वरी ज्ञवालीको सहयोगमा राजीनामा पत्र तयार गरेँ । प्रधान सम्पादक प्रशान्त अर्यालले राजीनामा स्वीकृत गर्दै गरेको दृश्य हेर्न नसकेर बाहिरिएँ ।
त्यसपछि कैलाश सरलाई भेट्न गएँ । कैलाश सर छैटौँ तलामा बस्नुहुन्छ । त्यहाँ आक्कलझुक्कलबाहेक पत्रकारहरू पुग्छन् जस्तो लाग्दैन । किनभने, उहाँसँग पत्रकारको खासै काम पर्दैन । भेट्नासाथ उहाँले 'यति ठूलो जिम्मेवारीमा पुगेकामा कान्तिपुर मिडिया ग्रुप गौरवान्वित छ' भन्नुभयो । निस्कने बेलामा भन्नुभो, "छोरी बिहे गरेर पठाउन लागेको हो, माइती आउन केहीले छेक्दैन ।" यसपटक पनि मसँग उहाँलाई भन्ने कुरा केही थिएन । र, जवाफ नदिएरै बिदा भएँ । बाईबाई नेपाल !
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...