नोटबुक
जायज/नाजायज माग राखेर अनशन बस्ने विकृत मानसिकताले ज्यानै जोखिममा पार्दो रहेछ भन्ने साहको हर्कतबाट सिक्ने कि ?
तर्साउने बाटो
नेपाल–चीन जोड्ने तातोपानी नाका कहिले खुल्छ ? काठमाडौँबाट त्यतातिर प्रस्थान गर्दा कुहिरोको अनुमानको विषय मात्रै थियो । उत्तरी छिमेकी देशलाई सडकमार्गले जोड्ने पहिलो नाकाको भविष्यबारे रिपोर्टिङका लागि वैशाखको पहिलो साता सहकर्मी रवि मानन्धरसहित त्यता प्रस्थान गर्यौँ ।
बासको बन्दोवस्त काठमाडौँबाट गरिएकाले अलमलिँदै गयौँ । तर, दोलालघाट पुग्दा–नपुग्दै साँझ ढलिहाल्यो । एक मनले त त्यतै बाटोमा बसौँ कि भन्ने सोच्यौँ तर तातोपानीमै बास बुक गरिसकेकाले अगाडि बढ्यौँ । ठाउँठाउँमा पहिरो खसेर सडक बिग्रिएको रहेछ । पहिरोका सेताम्मे धर्सा वारिपारि अलिअलि देखिएका थिए, त्यही पनि अब देखिन छाडे ।
अचम्म के भने, लगभग साँझको ७ बजेपछि एउटै गाडी ओहोरदोहोर गरेको भेटिएन । यत्तिकैमा पहाडै पल्टिएर ओइरिएको जुरे पहिरो आयो । धुलाम्मे रहेछ बाटो । जता हेर्यो, उतै धूलो मात्रै देखिन्थ्यो । अगाडि जाने बाटो खुट्याउनै मुस्किल पर्यो । त्यसमाथि मोटरसाइकलले दुई जनालाई तान्नै सकेन ।
बाह्रबिसे पुग्दा ८ बजिसकेको थियो । बजार सुनसान थियो । यहाँदेखि माथि लागेपछि सामान्य अवस्थामै बाटो खतरनाक थियो । अलि अगाडि बढेपछि होटलमा फोन गर्यौँ । फोन मरिगए लागेन । ठाउँठाउँमा बाटो डाइभर्सन गरिएको रहेछ । घरी खोलामा ठोक्किन खोज्थ्यौँ त घरी भीरतिर पुग्थ्यौँ । भोकसमेत लाग्न थालिसकेको थियो ।
बल्लबल्ल लागेको एउटा फोन उठेन, अर्को लाग्दै लागेन । “खानाचाहिँ पाइयो भने कतै घुस्रेर रात काट्नुपर्ला,” सहकर्मी मानन्धर मलाई घरीघरी ढुक्क पारिरहेका थिए । त्रासकै बीच हामी तातोपानीनजिकैको लार्चा पुग्यौँ । त्यहाँ पुग्दा रातीको साढे ९ बजिसकेको थियो । यति राती निर्जन बाटोमा दुई जना मात्रै आएकामा मानिसले आश्चर्य माने । बेलुका भएपछि बाह्रबिसेमाथि ढुंगा खस्ने उच्च खतरा हुँदोरहेछ । यो कुरा सुन्दा मुटु बेजोडले ढुकढुक गरिरहेको थियो ।
चेत नै खुइलिएपछि
बागबजारको एउटा चिया पसलमा थिएँ । उनलाई पनि चिया पिउने अफर गरेँ । तर, उनी बटारिए । कारण थियो, उपभोक्ताको हक हितका पक्षमा खुलेका संस्थाका क्रियाकलाप बेलगाम बन्दा कसरी ती बदनामीको बाटोमा छन् भन्ने मैले लेखेको समाचार । उनले भने, “तपाईंले मलाई खुइलाइदिनुभयो ।”
कसैलाई खुइलाउने र कसैलाई हिरो बनाउने आशयले होइन, तथ्यगत घटनाक्रमले उपभोक्ताकर्मीको प्रवृत्तिलाई उजागर मात्र गरेको भनेर मैले उनलाई आश्वस्त पार्न खोजेँ । साथै, निराधार कुरा छापेको भए सम्बन्धित निकायमा उजुरबाजुर गर्न आग्रह गरेँ । (हुन त उनी आफैँ ख्यातिप्राप्त वकिल हुन्) । ‘बदनाम उपभोक्तावादी’ भन्ने शीर्षकले आफूहरूको हुर्मत लिएको उनको जिकिर थियो । केही समय वादविवाद गरेपछि उनले पछि छलफल गरौँला भन्दै बिदा लिए ।
भोलिपल्ट बिहान फेरि उनले टेलिफोन गरेर व्यंग्य गरे, “बस्नेतजी † अब हामी उपभोक्तावादीहरूले आफ्नो साँचो तपाईंलाई बुझाउने निर्णय गरेका छौँ । बदनामहरूले साँचो बोक्नु ठीक होइन रहेछ । अदालतमा बहस पनि तपाईं नै गर्नूस् ।” “मेरो काम अदालतमा पैरवी गर्ने होइन । त्यो कुराको घोषणा गर्नूस्, म फेरि समाचार लेखौँला नि सर,” मैले यति भनेर सधन्यवाद फोन राखिदिएँ ।
रिसले भुनभुनिएका यी उपभोक्ता अधिकारकर्मी यसबीचमा अन्य केही उपभोक्तावादी संस्थाका प्रतिनिधिलाई समेत पत्रकारलाई यस्ता सूचना किन दिएको भन्दै मुर्मुरिएछन् । तर, उनले उपभोक्तावादी संस्थाभित्र झाँगिरहेको विकृतिबारे भने चुइँक्क बोलेनन् । बरू, विकृति बाहिरिएर आफूहरू खुइलिएको अनुभव मात्रै गरे उनले । यसको दुई महिनापछि अर्का एक जना उपभोक्तावादी संस्थाका केन्द्रीय सदस्य व्यापारीसँग बार्गेनिङ गर्दा रकमसहित प्रहरीको पञ्जामा परे । गलत क्रियाकलापलाई छोप्न खोज्ने ती उपभोक्ताकर्मीमा अहिले पनि आफूहरू खुइलिएको अनुभव नै गरिरहेछन् कि सुधार गर्नुपर्ने चेत फिरिसक्यो ?
जुस पियाउनेको खोजी
वैशाखको मध्यतिर तत्कालीन नेकपा (माओवादी)को नयाँ बानेश्वर थापागाउँस्थित कार्यालयमा टाइसुट लगाएका एक जना व्यक्ति झुल्किए । उनी एउटा नौलो प्रस्ताव लिएर त्यहाँ आएका थिए, जुस पिलाइदिने मानिसको खोजी ।
उनका दाजु निलम्बित सभासद् सञ्जयकुमार साह ‘टकला’ आफूलाई झूटो आरोपमा प्रहरीले फसाएको भन्दै झन्डै एक महिनादेखि आमरण अनशनमा बसेका रहेछन् । जनकपुर बम काण्डका मुख्य योजनाकार ठानिएका साह संलग्न अपराधका घटना एकपछि अर्को खुल्दै गएपछि अनशनमा बसेका थिए, गत वैशाखमा ।
आवेगमा आएर साह अनशन त बसेछन् तर आपत् परेछ उनका भाइलाई । त्यही भएर ती मानिस आफ्नो दाजुको अनशन तोडाइदिने ‘फेस सेभिङ’ व्यक्तिको खोजीमा भौतारिँदै नेताहरूको दैलोमा पुगेका रहेछन् । जसलाई भने पनि कसैले वास्ता नगरेपछि दाजुको ज्यानै जान सक्ने भन्दै उनले त्यहाँ लामो विलौना गरे ।
२१ चैतदेखि प्रहरी हिरासतमै अनशन बसेका थिए, साह । तर, उनको स्वर सरकार, नागरिक अगुवा, मिडिया कसैले सुनेन । के भनेर अनशन तोड्ने भनेर आपत् परेछ । त्यसपछि चिकित्सक समेत रहेका उनका भाइ काठमाडौँमा नेताहरूका घरघर पुगेर खोज्न थाले, जुस पिलाएर अनशन तोडाइदिने मानिसको । उनले तराईका नेता मातृका यादवदेखि प्रभु साह, गृहमन्त्री शक्तिबहादुर बस्नेतसम्मलाई हारगुहार गरे । तर, अपराधमा डामिएका उनलाई जुस खुवाउन कोही राजी भएनन् ।
साहको अनशन यतिबेलासम्म करिब एक महिना भइसकेको थियो । अन्तत: तराईबासी सबै नेताको सल्लाहमा वातावरणमन्त्री विसेन्द्र पासवानले साहको मागबारे केही नबोल्ने सर्तसहित जुस खुवाएर साहको ज्यान बचाइदिएछन् । एक महिनापछि २१ वैशाखमा साह अनशनको जालोबाट फुत्किएछन् । जायज/नाजायज माग राखेर अनशन बस्ने विकृत मानसिकताले ज्यानै जोखिममा पार्दो रहेछ भन्ने साहको हर्कतबाट सिक्ने कि ?
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...