नोटबुक
बोलक्कड र हक्की स्वभावका उनी भन्थे, ‘जीवनको अन्त्यनजिक पुगियो, किन ढाँट कुरा गर्ने ?’
जसले आफ्नै स्मरण पढ्न पाएनन्
पूर्वप्रशासक एवं राजनीतिज्ञ तेजबहादुर प्रसाईंलाई १० हप्तासम्म निरन्तर भेटिरहेँ । उनीसँग इतिहासका अनुद्घाटित पाटाबारे छलफल गरेर फर्किएको क्षण निकै रोमाञ्चक लाग्थ्यो आफूलाई । १८ मंसिर ०७२ शुक्रबारको राती कार्यालयको काम सकेर घर फर्किंदै थिएँ । प्रसाईंका कान्छा छोरा मोहनको एसएमएस आइपुग्यो, ‘बुबाको निधन भयो ।’ स्तब्ध भएँ ।
अन्तिम पटक १५ मंसिरमा ललितपुरस्थित सुमेरु अस्पतालमै पुगेर कुराकानी गरेको थिएँ । बोलक्कड र हक्की स्वभावका उनी भन्थे, ‘जीवनको अन्त्यनजिक पुगियो, किन ढाँट कुरा गर्ने ?’ कोही मानिस रिसाउलान् कि भन्ने डर उनमा रत्तिभर थिएन ।
ग्रीष्मबहादुर देवकोटाको नेपालको राजनीतिक दर्पण पढेपछि बडाहाकिम एवं अञ्चलाधीश भएर उनले गरेका कामबारे जानकारी पाएको थिएँ । विभिन्न व्यक्तिसँग उनीबारे सोधपुछ पनि गरेँ । तर, धेरैजसो बेखबर रहेछन् । कतिले त उनको भौतिक उपस्थितिमै शंका गरे । पुराना राजनीतिज्ञ एवं अधिकारकर्मी नूतन थपलियाले भने प्रसाईं कुपन्डोलतिर बस्ने गरेको जानकारी दिएका थिए ।
नेपाल वायुसेवा निगमका पूर्वप्रबन्ध निर्देशक मोहन खनालले प्रसाईंको कार्यकालमा सम्झनलायक काम भएका बताएका थिए । मैले प्रसाईंलाई धुइँपत्ताल खोजिरहेको कुरा गरेपछि उनैले खोजखबर गरिदिएर छोरा मोहनको टेलिफोन नम्बर पनि दिएका थिए ।
कुपण्डोलस्थित प्रसाईंको निवासमा पहिलोपल्ट पुग्दा उनी ओछ्यानमा थिए । घुँडाको शल्यक्रियाका क्रममा डाक्टरको लापरबाहीका कारण उनको त्यस्तो हालत भएको रहेछ । ओछ्यानबाटै उनले भनेका थिए, “पुराना राजनीतिज्ञ शंकरबहादुर केसीदेखि रञ्जनराज खनालसम्मका नेपालमा छापिएका स्मरण पढेको छु ।” तत्कालीन राजदरबारका प्रमुख सचिव खनालको ‘भलाद्मी राजा र रफ रानी’ पढेपछिको अनुभूति उनी सुनाउँदै गए, “कि अब धेरै अप्रकाशित कुरा प्रकट हुन्छन् कि उप्रान्त उनको स्मरण पढ्न पाइँदैन भन्ने लागेको थियो । नभन्दै दोस्रो कुरा सत्य साबित भयो ।”
१९ मंसिर बिहान आर्यघाट पुगेर प्रसाईंको जलिरहेको चिता हेर्दा मेरो मनमा दु:ख त छँदै थियो, अर्को कुरा पनि मथिंगलमा घुमिरह्यो । त्यो थियो, उनले अस्पतालमै बोलाएर कोदारी राजमार्ग बनेपछिको अवस्थाबारे गरेको कुराकानी उनले पढ्न नपाउने भए ।
नासो फिर्ता गर्न नपाउँदा
‘स्मरण’ स्तम्भकै सिलसिलामा नुवाकोटका १ सय ३ वर्षीय वेददेव पाण्डेलाई भेट्न उनको घर पुग्दा अनौठो अनुभव भयो । एक जना सहयोगीका साथ गाउँमा रहेका पाण्डे १ सय ३ वर्षका जस्ता लाग्दैनथे । आफैँ खाना पकाउने र आफ्नो काम आफैँ गर्ने उनी हामी पुगेपछि असाध्यै खुसी भए । आफैँंले दाल–भात र साग पकाएर दिए । सहयोग गर्छौं भन्दा पनि हामीलाई भान्सामा ढिम्किनै दिएनन् । छिमेकीले आफूकहाँ लैजाने प्रस्ताव गर्दा ‘मेरो पाहुना तँलाई दिन्छु ?’ भन्दै उल्टै हकारे । रहरको दालमा उनले हालेको घिउको मात्रा देख्दा हाम्रो त सातो नै गएको थियो । “जाडोमा सबै पच्छ,” उनी भन्थे । झन्डै दुई दिन गफियौँ हामी । फर्किने बेला उनले भनेका थिए, “कान्छो र माहिलो छोराले अमेरिका जान हठ गरिरहेका छन् । अमेरिका जान काठमाडौँ आउँदा तपाईंहरुलाई अवश्य भेट्छु ।”
काठमाडौँ आएपछि फोन गरेरै बोलाए । लैनचौरमा उनीसँग भेट्दा उस्तै फूर्ति थियो । छुट्टिनै लाग्दा उनले भनेका थिए, “माहिलो छोराले घर खर्च गर्न भनेर आठ लाख रूपियाँ बैंकमा जम्मा गरिदिएको थियो । मैले त त्यो पैसा काम विशेषले माग्न आउनेलाई बाँडिदिएँ । उनीहरुले दिएको कागज अमेरिका लिएर जानु भएन । तपाईंले नै सुरक्षित राखिदिनूस् । पछि आएर लिउँला ।”
उनका कुराले मलाई अप्ठ्यारो पार्यो । मैले सजिलै टार्न पनि सक्दिनथेँ । १०–१२ वटा तमसुक र दिवंगत श्रीमतीको नागरिकताको प्रमाणपत्र मलाई थमाएर उनी अमेरिका उडे । अमेरिकाबाट फिर्ता आएपछि ती कागजपत्र लिन्छु भनेका उनको अमेरिकामै निधन भयो, गएको दसैँलगत्तै । उनले छाडेको नासो मसँगै रह्यो । आफ्ना छोराहरुलाई पनि थाहा नदिई गाउँमा बाँडेको पैसाका ती तमसुक अब म कसलाई दिउँm ?
बिन्दास पुरातत्त्ववेत्ता
पुरातत्त्वविद् तारानन्द मिश्र गौतम बुद्धको जन्मस्थल लुम्बिनीका अनुसन्धाता र शोधकर्ताका रुपमा परिचित नाम हो । दुई छोरीका पिता उनी एक्लै ललितपुरस्थित भैँसेपाटीको पल्लो छेउ चोभारनजिकै बस्दा रहेछन् । पुस महिनाको जाडोमा सार्वजनिक यातायात प्रयोग गरेर उनलाई भेट्न सहकर्मी प्रदीप बस्यालसँगै डेरामा पुग्दा उनी चिया पकाइरहेका थिए । सँगै चिया पिएपछि कुराकानी सुरु गर्यौँ ।
हरेक सोमबार–मंगलबार बिहान त्यतै भेट्ने कार्यतालिका पारित गरेर हामी फर्कियौँ । अर्को साता अर्थात् १ माघमा त्यहाँ पुग्दा त भोटेताल्चा लागेको थियो, मोबाइल पनि स्वीचअफ । तीनकोठे सिंगो घर भाडामा लिएर बसेका उनीबारे वरपरकालाई सोध्दा पनि केही जानकारी हात लागेन । अर्को दिन पनि त्यहाँ पुग्दा केही पत्ता लागेन । जेठी छोरीको नम्बर पत्ता लगाएर फोन गरेँ । उनलाई पनि केही थाहा रहेनछ । हरेक साता प्रकाशित हुनुपर्ने स्तम्भका लागि गर्नुपर्ने उनीसँगको कुराकानी त्यत्तिकै ब्रेक भयो । उनीसँग पुरातफ्वसम्बन्धी धेरै कुरा गर्ने धोको त्यत्तिकै रह्यो ।
१६ माघमा उनैले फोन सम्पर्क गरे, “म त महावीर जैनको शिलालेखबारे अध्ययन गर्न भारतको कानपुर जानुपर्ने भयो, तपाईंलाई खबरै नगरी चलदिएँ । भोलि आउनुभयो भने भेट हुन्छ ।” यति कुरा भनेर फोन राखिदिए । यस्ता बिन्दास अनुसन्धाता मिश्रबारे के भन्ने ? हामी अखबारकर्मीको सीमा र बाध्यताभन्दा उनको खोज–अनुसन्धान महफ्वपूर्ण भएरै होला, उनी त्यसरी बेखबर भएको । यही सोचेर चित्त बुझाएँ ।
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...