शेरबहादुरको सुरुवाल
देउवाले फुस्केको सुरुवाल मिलाएर लगाउलान् कि सुरुवाल फुकालेरै दौड्लान् ?

गत वर्ष २७ फागुनको नेपालमा नेपाली कांग्रेसका सभापति (प्रधानमन्त्री भइनसकेका) शेरबहादुर देउवाको कार्टुन चित्र आवरणमै छापिएको थियो, आवरण सामग्री पनि उनकै बारेमा थियो । त्यस आवरण चित्रमा देउवाको सुरुवाल फुस्किएर झरेको छ । त्यो आवरणको अर्थ थियो, पार्टी एवं सत्ता गठबन्धन सञ्चालनमा देउवाको मनपरीका कारण उनी र पार्टीको छवि ध्वस्त भएको छ ।
सुरुमा देउवाको अहम् र स्वार्थ झल्किने खालको सामान्य ‘क्यारिकेचर’मा रंग भरेर देखाउँदा सहकर्मी साथीहरुले स्टोरीका लागि उपयुक्त भन्दै सहमति जनाए । तर, आवरण डिजाइन तयार भइसक्दा पनि सम्पादकलाई चित्त बुझेको रहेनछ । उनले देउवाको सुरुवाल फुस्काएपछि मात्रै आवरण चित्रले सही सन्देश दिन सक्ने भन्दै त्यही गर्न आग्रह गरे । हामीबीच एकछिन छलफल भयो र मैले सुरुवाल खुस्किएका देउवाको चित्र बनाएँ । यद्यपि, यो कार्टुन चित्र परम्परागत प्रयोग नै थियो, नयाँचाहिँ थिएन ।
नेपालको यो आवरण चित्र र सामग्रीले त्यो हप्ता बजार पिट्यो । देउवा समर्थकहरुले आक्रोश पोखे । तर, विपक्षी र कांग्रेसभित्रै पनि देउवाका आलोचकहरुले भने सराहना गरे । पत्रिकामा व्यंग्यचित्र, कथा वा तथ्य छाप्नुको उद्देश्य पाठकलाई मसला पस्किनु होइन, त्यसले सकारात्मक परिवर्तन पनि ल्याओस् भन्ने हो । तर, देउवाको स्वभावमा सकारात्मकताको लक्षण के देखिनू ? प्रहरी महानिरीक्षक र राजदूत नियुक्ति प्रकरणका कारण उनको छवि थप धूमिल भयो । प्रधानमन्त्री भएपछि त झन् उनको मनपरी उदांगो नै हुन थाल्यो । प्रधानन्यायाधीशमाथि महाभियोगको प्रस्ताव ल्याउनु, भीमकाय मन्त्रिमण्डल बनाउनु र सार्वजनिक बहसहरुमा अशिष्ट रुपमा प्रस्तुत हुनुजस्ता अलोकप्रिय काम गर्न थाले । विम्बात्मक रुपमा उनी आफ्नो सुरुवाल खुस्कँदै गरेको भनेर गरिएको खबरदारीप्रति अनभिज्ञ रही नै रहे ।
देउवाको अलोकप्रिय काम–कारबाहीका कारण जनमानसमा कांग्रेसप्रतिको वितृष्णाको परिणाम हालै सम्पन्न प्रतिनिधि/प्रदेशसभाको चुनावमा देखियो ।
वाम गठबन्धनले ल्याएको प्रचण्ड बहुमत त्यसको साक्षी हो । निर्वाचनमा कांग्रेसले नराम्रो हार बेहोर्नुपर्यो, भलै देउवाले जितेका होऊन् । कांग्रेसका निम्ति पार्टी इतिहासमै सर्वाधिक लज्जास्पद पराजय हो यो ।
निर्वाचन परिणामबाट रुष्ट कांग्रेसजनको आक्रोशबाट बच्न अब देउवाले के गर्लान् ? फुस्केको सुरुवाल मिलाएर लगाउलान् कि सुरुवाल फुकालेरै दौड्लान् ? सुरुवाल मिलाएर लगाउन सकेमा उनी र उनको पार्टीका हितमा होला, नभए त जय नेपाल !