[नोटबुक] ‘हरेक दिन विकास गरिरहेको छ चीन’
४० वर्षअगाडि चीनको अवस्था कमजोर थियो । अर्थतन्त्र धराशयी बनेको थियो । अहिले चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनेको छ ।
![[नोटबुक] ‘हरेक दिन विकास गरिरहेको छ चीन’ [नोटबुक] ‘हरेक दिन विकास गरिरहेको छ चीन’](http://nepal-assets-api.ekantipur.com/thumb.php?src=http://nepal-assets-cdn.ekantipur.com/uploads/source/news/2018/miscellaneous/ER1-14062018014416.jpg&w=900&height=601)
“जब चीन कमजोर थियो, गरिबीका कारण चिनियाँहरु भोकभोकै बस्न बाध्य थिए । विदेशी सेनाले चीनभित्रै पसेर मान्छे मारिरहेका थिए । त्यतिखेर मानव अधिकार कहाँ थियो ?” चीन उच्च प्रविधि औद्योगिकीकरण समितिका उपाध्यक्ष कंग जिनचोङले मानव अधिकारको अवस्थाबारे प्रश्न गर्दा विगत कोट्याए । ४० वर्षअगाडि चीनको अवस्था कमजोर थियो । अर्थतन्त्र धराशयी बनेको थियो । अहिले चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनेको छ । “गरिब मुलुकले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो बलियो उपस्थित दर्ज गराउन सक्दैनन्,” उनले भनेका थिए, “थुप्रै गल्ती र कैयौँ अप्ठ्यराका बाबजुद चीन अहिले उदाएको छ, चीन हरेक दिन विकास गरिरहेको छ ।”
सडक, पुल, बुलेट ट्रेन, जलविद्युतलगायतका भौतिक पूर्वाधारमा चमत्कारी विकास गरिरहेको चीन धनी र गरिबबीचको बढ्दो खाडलले ठूलो समस्यामा परेको छ । चीन सरकारले गरिबी उन्मूलनका लागि बर्सेनि अर्बौँ डलर खर्च गर्नुपरेको छ । सहरको द्रुत विकासले गाउँका युवालाई तानेको छ, जसले गर्दा गाउँका खेत बाँझा रहन थालेका छन् । उपाध्यक्ष जिनचोङका अनुसार ग्रामीण भेग र सहरी क्षेत्रको असन्तुलित विकासले सहरमा महँगी चुलिएको छ भने गाउँ अनुत्पादक बन्दै गएको छ । गाउँको जनसंख्यालाई गाउँमै रोक्न नयाँ योजना बनाउन आवश्यक रहेको उनले औँल्याए । चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकोत्सव मनाउने वर्ष सन् २०२१ सम्ममा चिनियाँ समाजलाई समान र मध्यमस्तरमा पुर्याउने चिनियाँ सपना रहेको छ । यसैगरी आधुनिक चीनलाई नयाँ चीन स्थापनाको शतवार्षिकोत्सव सन् २०४९ सम्म पूर्ण विकसित राष्ट्र बनाउने लक्ष्य छ ।
पोथी रुखका सेता भुवा
२१ जना नेपाली पत्रकारका लागि आयोजित तीनहप्ते सेमिनारमा सहभागी हुन वैशाख दोस्रो साता चीनको राजधानी बेइजिङ पुग्दा जताततै सेतो भुवा उडिरहेको थियो । त्यसो त चिसो मौसममा बेइजिङमा हिउँ नपर्ने होइन । तर, हामी वसन्तयाममा पुगेका थियौँ । बिहान, दिउँसो र साँझ जहाँ पुगे पनि सेतो भुवाले पछ्याइरहेको हुन्थ्यो । गर्मीयाममा हिउँ कसरी पर्यो भन्ने जिज्ञासा पनि नआएको होइन । बेइजिङमै अध्ययन गरिरहेका पत्रकार तुफान न्यौपानेसँग भेट भएपछि बल्ल सेतो भुवाको रहस्य खुल्यो । चीनले आर्थिक क्रान्तिसँगै वातावरण जोगाउन पनि ठूलो कसरत गरिरहेको छ । राजधानीको हरियाली, सुन्दरता र पर्यावरण संरक्षणका लागि छिटो हुर्किने रुख रोपिएको हो । गर्मीको सुरुआतसँगै जताततै उड्ने सेतो भुवा चिनार (पोपलर) को रुखमा फुल्ने फूलबाट जन्मिने रहेछ । उर्बर माटो नभए पनि हलक्कै बढ्न सक्ने पोपलर रुखको विशेषता हो । वसन्तयाममा रुख र फूलमा परागसेचन प्रक्रिया हुन्छ । भाले रुखको दाँजोमा पोथी रुखको संख्या धेरै भएकाले सेचन प्रक्रियापछि भुवा उडेको हो । चाइना रेडियो इन्टरनेसनलमा कार्यरत पत्रकार अजय अलौकिकका अनुसार यस रुखबाट फाइदैफाइदा हुँदा पनि वसन्तयाममा उड्ने सेतो भुवाले हरेक प्राणीलाई भने अप्ठ्यारोमा पारेको हुन्छ । सेतो भुवा घटाउन पोथी रुखमा रसायन इन्जेक्ट गरी भाले रुखमा परिवर्तन गर्न थालिएको छ, जसले पोथी रुखको लिंग नै परिवर्तन हुने गरेको छ ।
अर्थतन्त्रसँगै संस्कृतिको विस्तार
विश्वको दोस्रो ठूलो अर्थतन्त्र भइसकेको चीनले पछिल्लो समय आफ्नो संस्कृति पनि विस्तार कार्य योजनाका साथ अगाडि बढाइरहेको छ । सेमिनारको पूर्वतालिकामा सियान सहरको भ्रमण उल्लेख नभए पनि नेपाली साथीहरुको तीव्र गतिको ट्रेन (बुलेट ट्रेन) चढ्ने इच्छा भएपछि बेइजिङको रिसर्च एन्ड ट्रेनिङ इन्स्टिच्युटका पदाधिकारीले ११ र १२ मेमा सियान सहरमा आयोजना हुन लागेको सिल्क रोड इन्टरनेसनल समिटमा सहभागी गराउने हिसाबले नयाँ भ्रमण तालिका बनाए । बेइजिङबाट झन्डै १ हजार २ सय किलोमिटरको दूरीमा रहेको सान्सी प्रोभिन्सको सियान सहरमा हामीलाई बुलेट ट्रेनले करिब चार घन्टामा पुर्याएको थियो । समारोहमा सांस्कृतिक उद्योगको नवीन पद्धति र विकासबारे विज्ञहरुले प्रस्तुति दिएका थिए । बेल्ट एन्ड रोड इनिसिएटिभसँगै सांस्कृतिक उद्योगको सम्मिलित विकासमा सम्मेलन केन्द्रित थियो । चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसियटिभ अन्तर्गत सांस्कृतिक आदान–प्रदान गर्ने विषयमा स्याटेलाइट टिभीका पदाधिकारीबीच चर्चा चलेको थियो । स्याटेलाइट टिभी एलायन्ससँग २८ मुलुकका स्याटेलाइट टेलिभिजनको आबद्धता छ ।
सान्सी प्रान्तका प्रचार विभाग प्रमुख एवं सरकारी स्तरमा सीपीसीका सदस्य झुवाङ चाङसिनले सिल्क रोड निर्माणले पुरानो व्यापार रुट मात्र प्रवद्र्धन नभई विश्वको संस्कृतिको समेत आदान–प्रदान र विकास हुनेमा जोड दिएका थिए । “सिल्क रोड सहकार्यको अवसर हो,” उनले भने, “यो मानव जातिको फाइदाका लागि हो ।’