धन्य स्वयंसेविका
रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको वडा–१, २ र ३ मा केही स्वास्थ्य स्वयंसेविका अलग देखिए ।
रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको वडा–१, २ र ३ मा केही स्वास्थ्य स्वयंसेविका अलग देखिए । जिल्लाको सबभन्दा दुर्गम मानिएको साविकको स्यालाखदी गाविसअन्तर्गतका यी तीन वडा हाल मदिरामुक्त छन् । आफ्नो क्षेत्रलाई मदिरामुक्त बनाउने अभियानका महत्वपूर्ण अभियन्ता हुन्, स्वास्थ्य स्वयंसेविका ।
१४ फागुन ०७५ मा ३, फागुन १६ मा १ र फागुन १८ मा २ नम्बर वडालाई मदिरामुक्त घोषणा गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका स्वयंसेविकालाई एकै थलोमा भेट्ने मौका मिल्यो । २ नम्बरको स्यालास्थित स्वास्थ्य चौकीमा मासिक रिपोर्ट बुझाउन आएका रहेछन् । “मदिरामुक्त क्षेत्रको अवस्था कस्तो छ ?’ प्रश्न भुइँ झर्न नपाउँदै उनीहरुले एकै स्वरमा जवाफ दिए, “शान्त छ । कसैका श्रीमतीले कुटाइ खाएका छैनन् । श्रीमती कुटेको भनेर गाउँबाट कसैलाई प्रहरीले पक्रेको छैन । आमालाई कुटेकै कारण कसैका छोराछोरी बिचल्लीमा परेका छैनन्, पढाइ छुटेको छैन । हामी पनि छलफल मिलाउन गाउँ निस्कनुपरेको छैन । योभन्दा अरु के चाहियो ?”
“अब के रक्सी पनि सधैँका लागि बन्द होला त ?’ अर्को प्रश्न सोध्न नपाउँदै पहाडाकी वसन्ती यरीले भनिन्, “कुनै पनि हालतमा बन्द हुन्छ । कसैले सुरु गर्ने प्रयास गर्यो भने मात्रै पनि हामी छाड्नेवाला छैनौँ । एकाधबाहेक सबै जनता मदिरा बन्दको पक्षमा छन् ।” त्यसपछि मदिरा बन्द निरन्तर रहोस् भनेर शुभकामना दिएर हिँड्नुको विकल्प मात्रै थियो मसित ।
रक्सी नबनाउने ठाउँ
आठबीसकोट वडा–१ का अधिकांश बस्तीमा मदिरामुक्त घोषणापूर्व पनि रक्सी बनाउँदैनथे । हालको वडा–१ र २ को सीमामा अवस्थित देउतीखोलाभन्दा माथिका गाउँमा घरेलु रक्सी बनाउन छाडेको झन्डै ३० वर्ष पुगिसकेछ । विशेषगरी रोकाजा, डाँडागाउँ, खेत, फिलिंगी, ओख्ले, लुस, गैरीगाउँ, चैतीखारा, बारङे, रागिल र सविट्टेमा घरेलु रक्सी बन्दैनथे ।
यसरी रक्सी नबन्नु/नबनाउनुको कारण थियो, देवता । देउतीखोलामै रहेका साईकुमारी मन्दिरका देवताले नसहेको भन्दै गाउँलेले घरेलु रक्सी बनाउन छाडेका थिए । गाउँमा ठूलो समस्या परेपछि ०४७ देखि रक्सी बनाउन छाडिएको रहेछ । यद्यपि गाउँमा रक्सी भने प्रशस्त पाइन्थ्यो । अन्यत्रै गाउँमा बनाइएको घरेलु रक्सी ती बस्तीमा लिएर बिक्री–वितरण हुन्थ्यो । स्थानीय सरकार, प्रहरी, स्वास्थ्य स्वयंसेविका र महिला सक्रियतामा वडालाई मदिरामुक्त घोषणा गरेपछि हाइसुक्ख भएको महसुस स्थानीयले गरेका रहेछन् ।
देवता सर्न नमान्दा मन्दिर
यात्राका क्रममा वडा–१ का आधा दर्जन बस्तीमा घरेलु मदिरा बनाउन नदिने देवताले मन्दिर सर्न नमानेको अर्को रोचक प्रसंग पनि स्थानीयले सुनाए । आठबीसकोटको वडा–१ र २ को सीमा देउतीखोलामा साईकुमारीको मन्दिर छ । यहाँ हरेक कात्तिक पूर्णिमामा ठूलो मेला लाग्छ । हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म टाढाटाढाका दशनार्थी उक्त मन्दिर दर्शनका लागि आउने गर्छन् ।
यसैलाई लक्षित गरी नगरपालिकाले ५० लाखको लागतमा मन्दिर बनाउँदै छ । थप पर्यटन विकास गर्न भन्दै नगरपालिकाले बनाइरहेको मन्दिरमा देवता सर्न नमानेपछि स्थानीयले केही समय हैरानी बेहोरे । मन्दिर निर्माणको चरणमा छ । तर देवताले त्योभन्दा पहिल्यै मन्दिरमा नसर्ने भनेपछि स्थानीय तथा मन्दिर निर्माण उपभोक्ता समिति समस्यामा परे । दुई/दुई पटकको मानमनितोपछि देवताले सर्ने भनेछन् । मन्दिर अवलोकन गरेर फर्कंदै गर्दा निर्माण हेर्न जाने भन्दै बाटोमै भेटिएका प्राविधिक पवन यादवले मन्दिर निर्माण सकिएसँगै देवता सर्ने भएका छन् भनेर सुनाएपछि म पनि ढुक्क भएर आफ्नो बाटो लागेँ ।
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...