खाजाको १४ हजार !
मणिपुरको नेपाली गाउँ काङ्लातोम्बीको फाँट हुँदै पहाड उक्लिएका हामी बिहान ११ बजे मोरे पुग्यौँ । भोकले पेटमा मुसा दौडन थालेका थिए ।
मणिपुरको नेपाली गाउँ काङ्लातोम्बीको फाँट हुँदै पहाड उक्लिएका हामी बिहान ११ बजे मोरे पुग्यौँ । भोकले पेटमा मुसा दौडन थालेका थिए । “कतै राम्रो होटल छ ?” मैले स्थानीय व्यापारी कुमार रेग्मीलाई सोधेँ । उनले बजारको भित्री गल्लीतिर लिएर गए । काठमाडौँको असनभन्दा पनि साँघुरो ।
तीन मिनेट जति गल्ली छिचोलेपछि एक बर्मेली रेस्टुराँमा पुग्यौँ । हेर्दा चिटिक्क, कामदार युनिफर्ममा ठाँटिएका । कुमारले एक वेटर महिलालाई बोलाएर बर्मेली भाषामा कुरा गरे । मैले भनेको थिएँ, अघाउने होस्, बर्मेली स्वादको होस् ।
१० मिनेटपछि ती वेटरले थुक्पा ल्याइन्, एकछिनमा तारेका बर्मेली माछा । आलुदम पनि आयो । अरु केही आइटम आए । साथी सञ्जयले बर्मेली बियर पिउने इच्छा गरे । कुमार पसलतिर हिँडे । यति धेरै परिकार खाइसक्न झन्डै एक घन्टा लाग्यो ।
पैसा तिर्ने बेला कुमारजी आइपुगेनन् । बर्मेलीले नेपाली भाषा बुझ्ने कुरै भएन । अंग्रेजीबाट कुरा गरेको होटलवालाले बुझेनन् । मैले अंग्रेजीमा बिल मागेँ । वेटरले बुझिनन् । होटल साहूले क्यालकुलेटरमा देखाए– १४ हजार रुपैयाँ ।
जम्माजम्मी १५ हजार रुपैयाँ बोकेर यात्रामा हिँडेका हामी खाजाको बिल नै १४ हजार सुनेपछि ट्वाँ पर्यौँ । बियरले हल्का मातेका सञ्जयलाई पनि नशाले छाडेछ । धन्न होटल साहू अलिअलि हिन्दी बुझ्ने रहेछन् । सोधियो, भारतीय रुपैयाँचाहिँ कति ? ७ सय । लामो सास फेर्दै सञ्जयले भने, ”दाइ अर्को बियर थपौँ ।”
व्यापारमा नेपाली
दिल्ली–मणिपुर–म्यानमारको रुट प्रयोग गरेर भइरहेको मानव तस्करीको रिपोर्टिङ सिलसिलाले म्यानमार पुर्याएको थियो । म्यानमार मेरो दोस्रो यात्रा थियो । तीन वर्षअघिको म्यानमार भ्रमण जति रोचक र उत्साहजनक थियो, यस पटक न रोचक, न त उत्साहजनक । बरु फिक्का थियो । विगतमा भेटिएका साथीसंगी कोही देखिएनन् । म्यानमारका धेरैजसो नेपालीभाषी अगुवा अखिल म्यान्मा देशीय गोर्खा हिन्दु धार्मिक संघको महासभामा भाग लिन गएका रहेछन् ।
नयाँ साथी भेटिए, भारतको मोरे भन्ने सानो बजारसँगै रहेको टमुको नाम्फालुममा । यो अन्तर्राष्ट्रिय सीमाको विशेषता रोचक छ, एक पाइला वर भारत, अर्को पाइला टेक्दा म्यानमार । टमुको नाम्फालुमका पसलमा धेरैजसो नेपाली अनुहार देखिन्छन् । बोलीचालीको लबज नेपालतिरकै स्तो । नेपालीभाषी व्यवसायी वासु भट्टराई भन्दै थिए, “यहाँको सिंगो बजारमा हाम्रो प्रभाव छ ।” सानोतिनो व्यापार बर्मेलीको, ठूलो लगानी नेपालीको । त्यही भएर ठूला व्यापारीमा गनिँदा रहेछन् यहाँका नेपाली ।
एकै परिवारको सिंगो गाउँ
विश्वकै ठूलो परिवारबारे पढेको मात्रै थिएँ । यसपल्ट प्रत्यक्ष देखेँ । गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा नामांकित यो परिवार वास्तवमै अनौठो रहेछ । सिंगो गाउँ एउटै परिवारको रहेछ । भारतको पूर्वोत्तर राज्य मिजोरमको आइजोलबाट करिब ५० किलोमिटर यात्रा तय गरेपछि बाक्तोङ जिल्ला पुगिन्छ, जहाँ विश्वकै ठूलो परिवारको गाउँ छ ।
यो परिवारका अगुवा जायोन नाङ्खा हुन् । ७५ वर्षका जायोनका पत्नी ३९ वटी रहेछन् । ९४ छोराछोरी, १४ बुहारी र ३३ नातिनातिनी उनको परिवारका सदस्य । जायोनसँग १ सय ८० जना बस्छन् । तीनतले घरमा यी सबै अटेका छन् । फराकिलो किचनमा दैनिक सय किलोभन्दा बढी चामल पाक्छ ।
“जायोनको घर कता हो ?” मिजोरमका नेपालीभाषी अजय थापाले एक महिलालाई सोधे । ती महिलाले बैजनी रंगको घर देखाउँदै भनिन्, “घर त्यो हो, म उनकी नातिनी हुँ ।” हामीले छिमेकी ठानेकी ती महिला त नातिनी पो रहिछन् । जायोनको घर छिर्नेबित्तिकै आँगनमा महिला ढुंगा, इँटा ओसार्दै थिए । मैले ठानेँ, यी मजदुर होलान् । तर मेरो अनुमान फेल खायो । ती महिला त कति जायोनका पत्नी र कतिचाहिँ छोरी, बुहारी पो रहेछन् । “हाम्रो गाउँमा काम गर्ने मजदुर पनि हामी नै हो, मालिक पनि हामी नै,” जायोनले भने ।
जायोन पेसाले काठ मिस्त्री रहेछन् । करिब ४ सय घरको सिंगो गाउँ जायोनकै हाँगाबिँगाबाट बनेको हो । २ हजार ५ सयजति त जनसंख्या नै रहेछ । वार्षिक २ सयजति शिशु थपिने रहेछन् । “बाहिरको परिवारका मान्छे कोही पनि आउँदैनन्,” जायोनका जेठा छोरा नुन पारलियान भन्दै थिए, “यहाँका स्कुल, खेल मैदान सबै हाम्रा परिवारले बनाएका हुन् ।” यो परिवारको सय वटा त भलिबल टिम नै रहेछ ।
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...