शम्भु राईका फ्यान सिक्किमे मन्त्री
चाम्लिङको सत्ताच्युत र नयाँ शक्तिको उदयसँगै जनतामा उब्जिएका अनेकन आशंका, नयाँ सत्ताका चुनौतीप्रति नाटकले घुमाउरो पारामा व्यंग्य कसेको देखिन्थ्यो ।
साउन तेस्रो साता अखिल सिक्किम अनुसूचित जाति कल्याण संघको रजत जयन्ती उत्सव चलिरहेको थियो, गान्तोकको मनन केन्द्रमा । निर्धारित समयभन्दा केही ढिलो कार्यक्रम सुरु भयो । मञ्चको अग्रभागमा औपचारिक पोसाकमा थिए, सहरी विकासमन्त्री अरुण उप्रेती, नेपालका पूर्वराज्यमन्त्री जीतु गौतम र विधानसभाकी विधायक सुनिता गजमेर आदि ।
कार्यक्रम सुरु भएको आधा घन्टापछि प्रहरीले पहरा दिँदै मञ्चमा ल्याए, एक जना होचो कदका व्यक्तिलाई । साधारण सेतो सुतीको सर्ट र पाइन्ट लगाएका ती व्यक्ति त सिक्किम विधानसभाका स्पिकर (अध्यक्ष) पो रहेछन्, एबी दास ।
मेरो दिमागले विधानसभाका स्पिकरको चित्र अर्कै बनाएको रहेछ क्यारे । कोट र पाइन्ट लगाएको, ठूलो र अग्लो ज्यान । तर मैले गरेको कल्पना फेल खायो । एबी दासको सादा जीवनशैली देखेर म दंग परेँ । कार्यक्रममा सहभागी नेपालका जनप्रतिनिधि टीकाराम मंग्रातीले पनि सोचेका रहेछन्, स्पिकर साब दौरा–सुरुवाल र कोटमा चिटिक्क परेर आउलान् । तर उनमा न दौरा–सुरुवालको मोह थियो, न त कोट–पाइन्टकै ।
उनको सादा जीवनशैलीले म निकै प्रभावित भएँ । कार्यक्रम सकिएपछि उनीसँग छोटो कुराकानीका लागि अनुरोध गरेँ । उनले सहजै स्वीकारे । उनलाई गान्तोकका कार्यक्रममा बाक्लै बोलावट हुँदो रहेछ । तर जहिल्यै पनि क्याजुएल पोसाकमै सहभागी बन्दा रहेछन् ।
नेपालीभाषी दलित समुदायबाट सिक्किम विधानसभाको स्पिकर बन्ने पहिलो व्यक्ति रहेछन् । विधानसभाको चार दशक लामो इतिहासमा यो सम्मानित पदमा कोही दलित पुगेका रहेनछन् । ५० वर्षअघि सामान्य दलित परिवारमा जन्मिएका दासको जीवनशैली असली समाजवादीजस्तो लाग्थ्यो । उनलाई देखेपछि मलाई नेपालका समाजवादीप्रति टिठ लागेर आयो ।
भानु र पाला
रानीपुलबाट उकालो लाग्दा मोबाइल घडीले ७ बजाइसकेको थियो । गान्तोक तारामण्डलजस्तो झलमल देखिन्थ्यो । गान्तोकको स्टार होटल माझाङको नजिकै भित्तामा धेरै फ्लेक्स टाँसिएका थिए । त्यसमध्ये मेरो नजर भानु र पाला लेखेको फ्लेक्समा अडियो । गाडीको रफ्तारका बीच मैले पढिहालेँ, दार्जिलिङ र सिक्किम भेगमा लोकप्रिय नाटक ‘भानु र पाला ४’ को प्रदर्शन शुक्रबार, साँझ ५ बजे । स्थान– मनन केन्द्र ।
गान्तोकको बाइपासमा छ, सिक्किम डेमोक्रेटिक फ्रन्टको भव्य कार्यालय । कार्यालयसँगै जोडिएको छ, एउटा त्यस्तै भव्य बिल्डिङ । त्योचाहिँ भर्खरै मुख्यमन्त्रीबाट बिदा भएका नेता पवन चाम्लिङको घर रहेछ । एसडीएफको कार्यालय र चाम्लिङ घर अघिल्तिरको होटलमा हाम्रो रासोवासो थियो । त्यसको व्यवस्थापन मिलाएका रहेछन्, सिक्किमका पर्यटन व्यवसायी विकास गदाइलीले । गफैगफमा भानु र पाला हेर्ने मन छ भनेको के थिएँ, उनैले आफ्नै पास दिए ।
अघिल्लो पटक तीन वर्षअघि कालिम्पोङमा हेरेको थिएँ, भानु र पाला ३ । खासगरी दार्जिलिङमा लामो समयदेखि बल्दै–निभ्दै गर्ने गोर्खाल्यान्ड आन्दोलन, आन्दोलन हाँक्ने नेता, ती नेताका चरित्र र गोर्खाल्यान्ड चाहने जनचाहनालाई नाटकले जस्ताको तस्तै देखाउँछ ।
दार्जिलिङ र कालिम्पोङ क्षेत्रमा यो नाटक देखाइसकिएको थियो । तर सिक्किममा भने पहिलो पटक । २५ वर्षसम्म पवन चाम्लिङ सत्तामा रहुन्जेल यो नाटक देखाइएको थिएन । भानु र पालाका निर्देशक ललित गोल यस्ता रंगकर्मी हुन्, जसले सधैँ सत्तालाई खबरदारी मात्रै गरिरहे । सन् १९८६ ताका सुवास घिसिङलाई खबरदारी गरे । घिसिङपछि विमल गुरुङलाई र अहिले विनय तामाङ तथा अनित थापाहरुलाई । गोर्खाल्यान्डको नाममा राजनीति गर्ने तिनै नेताहरु भानु र पालाका मूल पात्र हुन् ।
चाम्लिङको सत्ताच्युत र नयाँ शक्तिको उदयसँगै जनतामा उब्जिएका अनेकन आशंका, नयाँ सत्ताका चुनौतीप्रति नाटकले घुमाउरो पारामा व्यंग्य कसेको देखिन्थ्यो । नाटक सुरु हुनुअघि गोले भन्दै थिए, “खासमा यो नाटक गोर्खाल्यान्ड आन्दोलन र त्यसका अनेकन आयामसँग सम्बन्धित छ । तर सिक्किमको राजनीतिसँग पनि मेल आए संयोग मात्रै हुनेछ ।” दर्शकमा हाँसो रोकिएन ।
‘चिट्ठी तिमीलाई’...
मनन केन्द्रमै सारेगमपा लिटल चाम्सका सेकेन्ड रनरअप प्रितम आचार्य र बाबु बोगटीको कन्सर्ट थियो । यी दुई गायकलाई स्थानीय प्रतिभाले पनि सघाएका थिए । ५ जनाजति स्थानीय गायकको गीत र केही नृत्य सकिएपछि मञ्च उक्लिएका थिए, प्रितम । उनले गोपाल योन्जनको गीत देशले रगत मागे...... गाएर पुनः फर्किने वाचाका साथ बाहिरिए ।
सुरुदेखि नै ध्यानपूर्वक कार्यक्रम हेरिरहेका थिए, वन, पर्यावरण तथा वन्यप्राणी प्रवर्द्धनमन्त्री कर्मा लोडे भुटियाले । प्रितमले गाएर फर्किएपछि उनले गीत गाउन आयोजकलाई अनुरोध गरे । त्यसपछि आयोजक छक्क परे, सँगै खुसी पनि ।
यही मेसोमा उद्घोषक राजेश घतानीले मन्त्रीलाई गाउन मञ्चमा डाके । माइक हातमा लिएपछि भने, “मलाई गाउन त खासै आउँदैन तर आज गाउन मन लाग्यो ।” पछाडि अर्केस्टामा धुन बज्यो । गीत थियो, शम्भु राईको ‘चिट्ठी तिमीलाई’... । मन्त्रीको गायकी देखेर दर्शक ट्वाँ । गाइसकेपछि मन्त्रीले भने, “म शम्भु राईको फ्यान हुँ ।”
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...