विस्थापितको देपूजा
०७२ सालको भूकम्पले यहाँका भवनमा क्षति पुगेपछि देवस्थल पनि अस्तव्यस्त हुन पुग्यो । त्यसमाथि धरहरा पुनर्निर्माण भन्दै यो क्षेत्रमा व्यापारिक टावर बनाउने क्रममा देवस्थल थप उपेक्षित हुन पुगेछ ।
कुलदेवताको पूजा अर्थात् देपूजा हाम्रा लागि दसैँजत्तिकै महत्त्व राख्छ । हाम्रो कुलदेवस्थान रहेको ठाउँ राष्ट्र बैंक टक्सार विभागको कार्यालय छ । सानो छँदादेखि नै यहाँ पूजा सकाएर लस्करै बसेर प्रसादको रुपमा समेबजी भोज खाँदाको रमाइलो अरुमा कहाँ ? पानी परेका बेला कार्यालय भवनभित्रै पनि हामीलाई बस्न छूट दिइन्थ्यो ।
०७२ सालको भूकम्पले यहाँका भवनमा क्षति पुगेपछि देवस्थल पनि अस्तव्यस्त हुन पुग्यो । त्यसमाथि धरहरा पुनर्निर्माण भन्दै यो क्षेत्रमा व्यापारिक टावर बनाउने क्रममा देवस्थल थप उपेक्षित हुन पुगेछ । यसपालिको देपूजामा देवस्थल छिर्दा असुरक्षित रुपले निर्माण सामग्री र काँडेतार बेपरवाह छरिएका थिए । झरी परिरहेको थियो, जेनतेन पूजा सकियो । बसेर भोज खानु थियो तर सुविस्ताले बस्न मिल्ने ठाउँ एक इन्च पनि थिएन । हामीले त्यहाँका एक अधिकारीलाई गुहार्यौँ तर उनले नसुनेझैँ गरे । आखिरमा काठमाडौँ मलसित जोडिएको एक रेस्टुराँका साहूजीसामु समस्या राख्यौँ । उनले आफ्नो ठाउँ मात्र होइन, टेबुल-कुर्सीसमेत प्रयोग गर्न दिए ।
भौतिक विकासको जग खन्ने क्रममा हाम्रो सम्पदा र संस्कृति खोस्रेर मिल्काउने क्रम बढ्दो छ । तर हाम्रा सच्चा पहिचान यिनै संस्कृति, सम्पदा हुन् भन्नेमा किन बुझ पचाएको ? हाम्रो सम्मानलाई नकुल्चिदिएको भए कति जाती हुन्थ्यो !
एक रुपैयाँ लुट्न नपाउँदा
पेट्रोल पम्पका कर्मचारीको व्यवहार देख्दा लाग्छ, एक र दुई रुपैयाँको कुनै मोलै छैन । प्रायः त्यहाँ यस्ता खुद्रा रकम फिर्ता दिने चलनै छैन । केही साताअघि दुई लिटर पेट्रोल भरेर २ सय २० रुपैयाँ दिएँ, फिर्ता दुई रुपैयाँ माग्दा कर्मचारीले झोलामा खुद्रा खोजेजस्तो गरे । एकैछिनपछि झर्को मान्दै भने, "मैले त दुई सय २० कै हालिदिएको नि ।"
फिर्ता नहुने यस्ता खुद्रा पैसा मात्र हिसाब लगाउने हो भने दिनभरिमा कति होला ? यति मात्र होइन, तेल वितरण पनि पारदर्शी हुन्न । हरेक पटक मिटरको अंकलाई जिरोमा ल्याएर तेल भरिदिने हो भने उपभोक्ता ठग्न पाइँदैन । त्यसैले उनीहरु बोतलमा तेल भरिदिन आनाकानी गर्छन् । भर्नैपरे आफ्नो बदमासी थाहा पाऊलान् भनेर पूरै तेल दिन्छन् ।
अर्को पटक पनि त्यहीँ तेल भर्न गएँ । मिटरलाई जिरो नपार्दै पाइपको नोजल मेरो बाइकको ट्यांकीमा राखे । मैले सयका दुइटा र २० को एउटा नोट दिएँ र 'दुई लिटर' भन्न नभ्याउँदै कर्मचारीले भरियो भन्ने संकेत गर्दै पाइप निकाले । ओहो, निमेषभरमै दुई लिटर तेल भरिएछ । जबकि त्यही बेला मिनरल वाटरको बोतलमा पेट्रोल भर्न आएका ग्राहकलाई एक लिटर तेल भरिदिन धेरै बेर लागेको देखेको थिएँ ।
खुलेआम लुटिन बाध्य भएपछि अर्को पटक खल्तीमा ठ्याक्कै १ सय ९ रुपैयाँ लिएर गएँ । मिटरलाई जिरोमा सेट गर्न लगाएँ र एक लिटर हालिदिनूस् भनेँ । मैले मिटरबाट आँखा नहटाएपछि कर्मचारीले अलि असहज महसुस गरे । मैले दुई रुपैयाँका दुई सिक्कासहित सय तथा पाँच रुपैयाँको नोट उनको हातमा थमाएँ । उनले दिक्क मान्दै भने, "ह्या, कस्तो खुद्राखुद्रा दिनुभएको यार ।" एक रुपैयाँ लुट्न नपाएकामा उनको मुख जसरी खुम्चियो, त्यो हेर्न लायकको थियो ।
पप्पु फेल हो गया
काठमाडौँको जाम हटाउन कम्मर कसेका चौडा सडकमा साँघुरा पुलहरु रोडा बनेपछि सरकारले पुल थप्यो । तर अधिकांश पुलको अष्टावक्र डिजाइन देखेपछि जोकोहीको मुखबाट निस्कन्छ, यो पनि पप्पुले बनाएको पुल हो ? नभनून् पनि किन ! पुल साविकभन्दा पाँच-छ फिट अग्ला छन् । जसमाथि चढाइ बनाउन सँगैको सडकका धेरै अंश खर्च हुन्छ । डल्लुमा बनेको पुलमाथि चढाइले मूल सडकको आधा पीच खाएको छ ।
नयाँ पुल प्रयोग गर्न असजिलो भएकै कारण यो प्रायः प्रयोगमा छैन । बाफलमा बनेको पुलको हालत उस्तै । चाहिनेभन्दा बढी हाइटमा बन्नाले यहाँको बस्ती पनि खाल्डोमा पर्न गयो, जसले यहाँ डुबानको समस्या झन् बढाइदियो । टेकुको पुल त नबन्दै मापदण्डविपरीत भनेर रोक्का भएको थियो । आखिर 'सेटिङ' मिल्यो, पुल बनिछाड्यो । अर्थात्, पप्पुहरु सरकारका तर्फबाट पास भए । तर पछि जोखिमपूर्ण भन्दै यसको प्रयोगमा रोक लागेको छ । अहिले यो पार्किङ र निर्माण सामग्री थुपार्ने स्थलका रुपमा प्रयोग हुँदै आएको छ । अब यसलाई भत्काउने कुरा अघि सारिएको छ । आखिर नभत्काई र नयाँ नबनाई नयाँ-नयाँ सेटिङ कसरी हुन्छ ?
सरकारले ग्रेस नम्बर थपेर पास गरिदिए पनि खासमा त पप्पुहरु फेल भएका न हुन् । नेताजीहरुले हेर्न-सुन्न नखोजेका मात्र हुन् ।
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...