शाकाहारी सहर
मासु नै नपाउने सहरमा कुकुर के खाएर मोटाओस् त ?
इन वाटरकलर इन्टरनेसनल फेस्टिभलमा सहभागिता जनाउन हामी १७ कलाकारको टोली भारत राजस्थानस्थित कोटा पुगेका थियौँ । कोटा विश्वविद्यालयसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा भाग लिन १७ देशबाट डेढ सयभन्दा बढी कलाकार आएका रहेछन् ।
हामीलाई बस्ने व्यवस्था गरेको होटल शुद्ध शाकाहारी परेछ । हाम्रो टोली थियो, मासु नभई भात नरुच्ने । त्यसैले होटलभन्दा टाढा–टाढा घुम्न निस्कियौँ । उद्देश्य घुम्नु मात्र थिएन, मासुभात पाइने रेस्टुराँ खोज्नु थियो । सहर घुम्दै गर्दा बाटोमा थुप्रै कुकुर देख्यौँ । तर जति कुकुर देख्यौँ, ती सबै अति नै ख्याउटे थिए । कुनै कुनैको त बाहिरबाटै करङ गन्न सकिने ।
लामो घुमाइपछि पो थाहा भयो, पूरा सहरै लगभग शाकाहारी रहेछ । मासु त के, अन्डासम्म पनि नपाइने । हाम्रो केही जोर लागेन । अन्तमा फर्किएर शाकाहारी थालीले नै भोक मेटायौँ । मेरो पेट त भरियो । आँखामा भने बाटोमा देखिएका ख्याउटे कुकुरको विम्ब नाचिरह्यो । किन ख्याउटे छन् त ती कुकुर ? सँगै रहेका साथीलाई प्रश्न राखेँ । उनको जवाफ पाएपछि म झसंगै भएँ । उनको जवाफ थियो, मासु नै नपाउने सहरमा कुकुर के खाएर मोटाओस् त ?
हावा गाइड
कार्यशालाको अर्को चरणमा कोटादेखि डेढ घन्टे दूरीमा पर्ने बुन्दीस्थित तारागढ किल्ला छेउमा कलाकारले आफ्ना कौशल देखाए । त्यहाँको काम समापन गरेर ऐतिहासिक दरबार र किल्ला अवलोकनका लागि गयौँ । किल्लाका एक कर्मचारी गाइड बनेर हाम्रो अवलोकन भ्रमणलाई सहज पारिदिए ।
ती गाइडले सात सय वर्षपहिलेको राजाले प्रयोग गर्ने शौचालय, सुनले सिंगारिएका चित्रले सजिसजाउ महारानीको शयनकक्ष देखाए । तत्कालीन महाराजा रणजीत सिंहको एक मात्र फोटो भनेर श्यामश्वेत तस्बिर देखाए । हामी ‘ओहो !’ भन्दै निस्कियौँ । तर त्यो कुनै हातेचित्र नभई क्यामेराले खिचेको फोटो थियो । क्यामेरा आविष्कारको इतिहास खोतल्दा मनमा शंका लाग्ने भइहाल्यो । गुगल गरी हेर्दा दरबार र किल्ला निर्माण सात सय वर्षपहिले भएको थियो भने उनले देखाएको चित्र महाराजा रघुवीर सिंहको (१८६९–१९२७) । गाइड भइटोपलेका ती कर्मचारीले तथ्यहीन कुरा गरेर उल्लु पो बनाएछन् ।
दारु खाने आइप्याड
हाम्रो टोलीमा एक साथीले आइप्याड साथमै ल्याएका थिए । सोच्दै थिएँ, पत्रिकाका लागि चित्र बनाउनुपर्ने भए यो काम लाग्न सक्छ । कोटा चिसो थियो । घरदेखि टाढा आएको मौकामा मौसमले च्यालेन्ज गर्यो भन्दै एउटा समूहले मदिरा चाख्ने योजना बनायो । तर मदिरा चाख्न कानुन बाधक भइदियो । जसोतसो आइप्याडवाला साथीले एक बोतल व्यवस्था गरे ।
भोलिपल्ट मैले आइप्याड चलाउन मागेँ । निराश मुद्रामा उनले भने, “आइप्याड त दारु खाएर बेहोस छ ।” हिजो ल्याएको बोतल झोलामै चुहिएपछि मदिराले आइप्याडमा क्षति पुगेको रहेछ । “दारु मात्र पिलाउने ? आइप्याडलाई सितन पनि दिएको भए पो बेहोस हुँदैनथ्यो ।” मेरो टिप्पणीपछि वातावरण हाँसोमय भयो ।
सहयोगी पुरन, हेपाहा होटलवाला
कोटाबाट जयपुरसम्मको बस र होटल अनलाइन बुक गरिदिएर पाल्पाका पुरन थापाले हाम्रो टोलीलाई सहयोग गरे र आफू भने अन्तै घुम्न निस्के । तर बुक गरिएको होटल त्रिलोक प्यालेसले विदेशीका लागि होइन भन्दै हामीलाई कोठा दिन मानेन । अनलाइन बुकिङका सर्त राम्ररी हेरिएनछ, सायद । तिरिएको शुल्क फिर्ता पाउने सम्भावना कम थियो । होटलवालाले नेपाली मतदाता परिचयपत्र भए कुरा मिल्न सक्छ भने । त्यसको कारण सोध्दा उनले भने, “यसले तपाईंहरु नेपाली भन्ने प्रमाणित हुन्छ । नेपाल भारतको एक स्वतन्त्र प्रान्तमध्ये एक हो नि त !”
उनका यस्ता हेपाहा शब्दका कारण हाम्रो पारो तातिहाल्यो । साथी केशवराज खनालले तिनलाई भारतमाथि अंग्रेजको शासन अवधि र नेपालको सार्वभौमसत्ता विषयमा लामो पाठ पढाउन भ्याए । होटलवाला रातोनीलो भए र अनौठा सर्त तेर्स्याउँदै हामीलाई बास दिन तयार भए । हामीले अस्वीकार गरेपछि अर्को होटलको व्यवस्था गरिदिन्छु भने । त्यो पैसा तिमी नै खाऊ, तिमीले भनेको होटलमा त जाँदै जान्नौँ भनेर निस्कियौँ ।
दुई रातको जयपुर बसाइपछि अर्को गन्तव्य थियो, दिल्ली । दिल्लीबाट फर्कने क्रममा होटलमा पुरन देखापरे । एक्लै बुन्दी घुम्न निस्केका उनी होटलवालाको दुर्व्यवहार थाहा पाएर दिल्ली आएका थिए । उनले होटल बुक गर्दा माया मारिसकेको पैसा हाम्रो हातमा थमाए र भने, “होटलले शुल्क फिर्ता गर्छ, त्यो मेरो खातामा आउँछ ।” सर्तअनुसार त पैसा फिर्ता नपाइने नै थियो । त्यसैले पुरनले ढाँटेरै हाम्रो पैसा फिर्ता गरेजस्तो लाग्यो ।
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...