एक गिद्धको लकडाउन मनोवाद
आज कराइरहेका 'गिद्ध' र महाकाली किनारमा अड्केका नेपाली मध्येका केही भोलि देश चलाउने ठाउँमा नपुग्लान् भन्ने के छ ?

जतिबेला म यो लेख्ने तयारी गर्दै थिएँ, त्यतिबेला यसको शीर्षक थियो 'सहर छोड्नेहरू सबै 'रजौटा' होइनन् ।' त्यतिबेला त्यसको सन्दर्भ अर्कै थियो । आज लागेको छ रजौटा हुन् वा भिख माग्ने मान्छे, देशमाथि सबैको बराबर हक हुन्छ । लेख्न सुरु गरेको दोस्रो हप्तासम्म पटकपटक पढ्दा मलाई यो ब्लग आफ्नो 'प्रिभिलेज' को वर्णन हो जस्तो पनि लागेको छ ।
म आफैँ समाजको एउटा सुविधा प्राप्त वर्गको मान्छे हुँ । यतिबेला कोरोनाभाइरसको संक्रमण भोगिरहेका, उपचार नपाएका, नाकामा अड्किएका नागरिक र बिना सुरक्षा फ्रन्टलाइनमा खटिएका र संक्रमणको सीधा जोखिममा भएका स्वास्थ्यकर्मी, अलपत्र परेर खान नपाएका, उपभोग्य सामग्रीका लागि घरबाहिर निस्कँदा प्रहरीले थला पर्ने गरी कुटेका नागरिक आदिको अगाडि मेरो वर्णन प्रिभिलेजको वर्णन नै हो । म आफू घरभित्र बस्न, र अझै केही दिन तरकारीबिनै दालभात भएपनि खान पुग्ने अवस्थामा छु । तर लेख्ने मान्छेहरू जतिसुकै प्रिभिलेज्ड भएपनि उनीहरूले आफूलाई अभिव्यक्त गर्ने त लेखेरै हो आखिर ।
लकडाउन उता
लेख्ने निर्णय गर्ने एक-दुई दिन अगाडि सतहमा रहेका दृश्यहरू यस्ता थिए :
पाँच गतेभित्र स्कुलका परीक्षा सकिसक्नुपर्ने सरकारी निर्देशन आइसकेको थियो । ७ कक्षामा पढ्ने छोरीको जाँच अगाडि सरेको थियो । ऊ जाँच सकिने बेलातिर थिई । ५ गते जाँच सकेर आएपछि ऊ बाहिर निस्केकी छैन । छोरा काठमाडौँमा होस्टेल बसेर पढ्छ । उसको कलेजले पाँच गतेबाट मात्र प्रि-बोर्ड जाँच सुरु गरेर १० गते सक्नेवाला थियो । एक त ५ गतेसम्म काठमाडौँको भीडभाडमा निस्कनै नमिल्ने स्थिति आइसकेको थियो । दोस्रो, जाँच नसकिँदै सबैतिर झ्यापझुप बन्द भएको भए ऊ त्यहीँ ४० जनाको बीचमा भोकै बस्नुपर्ने पनि हुनसक्थ्यो । चैतको ७ गतेतिर मलाई मन्द ज्वरो देखिएको थियो । चैतको ६ गतेपछि नै घरबाहिर निस्कन पूर्णतः बन्द गरिसकेको थिएँ । कलेज क्वार्टरमा बस्ने भएकोले असम्भव प्रायः छ तर पनि त्यतिबेलादेखि आजसम्म म सकेसम्म दूरी कायम गर्न प्रयासरत छु ।
नेकपाका सह-अध्यक्ष प्रचण्डले यो भाइरस "चीनलाई सक्ने खेलको रुपमा अमेरिकाले पठाएको हो भन्न सकिने" भन्ने आसयको भाषण गरेका थिए । अमेरिकाको षडयन्त्र भएको 'ठहर' गर्न सकिने उनको प्रमाणविहीन भाषणमा माओलाई इष्ट देवता ठान्नु बाहेकको अरु कुनै कारण मैले चाहिँ फेला पार्न सकिनँ ।
हाम्रा धेरैजसो नेता आजसम्म पनि हुलका हुल मान्छे अगाडि बिना प्रमाणका उत्तेजक भाषण गर्ने, त्यो सुनेर मान्छेको अनुहारमा कस्तो प्रतिक्रिया देखिएको छ यसो विचार गर्ने र ताली वा हाँसो पाएपछि फेरि मच्चिने गर्छन् । २०४६/४७ वा २०६२/६३ सालताका त यो तरिका सान्दर्भिक पनि थियो होला । आजसम्म पनि यो तरिका उनीहरूलाई थोत्रो नलागेको देखेर अचम्म लाग्छ । उता कोरोना भाइरस आफ्नै दैलोमा उभिइसक्दा पनि अमेरिकी राष्ट्रपति ट्रम्पले यसलाई 'चाइनिज भाइरस' भन्न छोडेका थिएनन् । अझै प्रचण्डको दलबाटै चोइटिएर गएका 'वैज्ञानिक समाजवादी' नाम जुरेको तर आजसम्म अस्तित्वमा नआएको दलका हर्ताकर्ताले 'पूँजीवादीले औषधि बेच्नलाई महामारी फैलाएको' भनेर लेखेको लेख त अघिल्लो आइतबारको मात्रै कुरा हो । यो तर्क कति वैज्ञानिक भनेर सोध्ने पनि कसले ? मिडियामा कि त खुल्लमखुल्ला सरकारका भजन छापिइरहेका छन् या फरक विचारको नाममा एकैथरिका प्रमाणहीन कुतर्क । कथित पूँजीवादी र कथित समाजवादीहरूको यो चटक हेर्नु बाहेक सामान्य नागरिकले अरु के नै गर्नसक्नु ?
काठमाडौँमा डा. सुन्दरमणि दीक्षितले हामीकहाँ कोरोनाभाइरसका संक्रमित बिरामी नभएका होइनन्, टेस्ट नगरिएर नदेखिएको मात्रै हो, अस्पतालहरूले टेस्ट गरिनुपर्ने बिरामीलाई पनि यत्तिकै घर पठाइदिएका छन् भन्दिएपछि खैलाबैला भएको थियो । डा. दीक्षितलाई त्रास फैलाएको भनेर जेल लानेसम्मको हल्ला पनि चलिरहेको थियो । डाक्टर दीक्षित भन्दा अगाडि नै विषद दाहाल नामका डाक्टरले हामीकहाँ संक्रमित छैन भनेर म पत्याउँदिन, हाम्रो भाग्य मात्र हो कि यतिबेला सतहमा आएको छैन, टेस्ट गरिहाल्न जरुरी छ भनेर ट्विट गरेको मैले देखिसकेको थिएँ । युवा डाक्टरहरू यो बारेमा लगातार बोलिरहेकै थिए । सायद डा. दीक्षित अलि प्रभावशाली र पत्रकार सम्मेलनमै यो कुरा भन्दिएकोले हो कि यो कुरा छिटो फैलियो । एसईई पनि भइछाड्छ भनेका शिक्षामन्त्रीको अडान पनि एक घन्टापछि नै रद्द भयो ।
सरकारद्वारा लकडाउन घोषणापछि पनि त्रिभुवन विश्वविद्यालयका उपकुलपतिले त्रिवि स्वायत्त संस्था हो र निर्धारित परीक्षाहरू सञ्चालित हुनेछन् भनेका थिए । त्यो भनाइपछि मैले २० वर्षअगाडि आफू बीए पढ्दादेखि आजसम्म त्रिविका आंगिक क्याम्पसहरूमा नियमित शौचालयमा ताला लगाएर चौरमा बनाइने टिन वा बाँसको चोयाले बारेर बनाइने शौचालय सम्झेको थिएँ । २० वर्षपछि पुरै देश खुला दिशापिसाब मुक्त क्षेत्र बनिसकेको बेला पनि चौरमा यस्ता अस्थायी शौचालय बनाइन्छन् जसमा न पानी हुन्छ न ढोका । स्नातकोत्तर तहका विद्यार्थीलाई 'चिट चोर' करार गर्दै त्यहाँ पठाइन्छ । पोहोरसाल पनि पृथ्वीनारायण क्याम्पसको शिक्षा भवनको पछाडिको भित्तैमा जोडेर यस्ता शौचालय बनाइएका थिए, जुन चौबाटोमा थिए । अझ पुरुषहरूका लागि आधा ज्यानमात्र छोप्ने खालका थिए । जसले पुरुषहरूलाई तिमीहरूलाई लाज मान्ने अधिकार छैन भनेर जबर्जस्ती भनिएको जस्तो लाग्थ्यो ।
पोहोर साल पीएनका क्याम्पस प्रमुखलाई व्यक्तिगत अनुरोध गरेपछि उक्त शौचालय प्रयोग बन्द भएको थियो । लकडाउन नभएको भए, अत्यधिक सरसफाइ अपनाइनुपर्ने, बारम्बार हात धोइरहनु पर्ने यस्तो बेला 'स्वायत्त' त्रिविका यस्ता आंगिक क्याम्पसमा सञ्चालन हुने परीक्षाको कारण कति संक्रमण फैलँदो हो ?

लकडाउन ताका
कोरोनाभाइरसको खतराबाट नेपाल पनि मुक्त छैन भन्ने कुरा एक महिनाअघि मात्र नेपाललाई 'कोरोना फ्रि जोन' घोषणा गर्न तम्सेका मन्त्रीलाई थाहा नभए पनि नागरिकलाई थाहा थियो । छोरी दिनदिनै सार्वजनिक बस चढेर स्कुल जाँदा सिरिंग हुन्थ्यो, ऊ फर्केर आएपछि भोलिपल्टसम्म रुघाखोकी वा अरु लक्षण नदेखिएपछि ढुक्क भइन्थ्यो । एउटा मात्र राहतको कुरा उसको बारम्बार हात धुने बानी छ, हामीलाई पनि कहिलेकाहिँ हात नधोएको बेला मलाइ नछुनुस भन्थी । पहिला हामी उसको यो बानीसँग झर्को मान्थ्यौँ, एक महिना यता मान्दैनौँ । दुई महिनादेखि ऊ स्यानिटाइजर बोकेर स्कुल जान थालेकी थिई । स्कुलमा साथीहरू र जुनियर बहिनीहरू घरबाट प्लास्टिकमा पोको पारेर साबुन ल्याउन थालेका छन् भन्थी । हामी भाइरसको बारेमा कुराकानी गर्दा ऊ हामीलाई गाली गर्थी, "सावधान हुने हो र धेरै आत्तिने पनि होइन" भन्दै । उता मेरो ७५ वर्षीय बुबा नारायणगढबाट दिन बिराएर जस्तो फोन गर्नुहुन्थ्यो र "हामी त ठीकै छौँ तिमीहरू सावधान हुनु" भनिरहनु हुन्थ्यो । मेरो छोरा पोखरा कहिले आउँछ भनेर सोध्नुहुन्थ्यो । घरका सबैभन्दा कान्छा र सबैभन्दा पाका सदस्य नै हामीलाई ढाडस दिइरहेका थिए । कजिन भाइ चिकित्सक छ र काकाहरू सँगै जोडिएका घरमा बस्नुहुन्छ । यो हिसाबले म बुबा-आमाको मामलामा तुलनात्मक रुपमा अलि ढुक्क थिएँ ।
छोरीलाई चित्र बनाउनमा रुचि छ । अबदेखि घरबाट बाहिर निस्कन पाइँदैन भन्ने भएपछि स्केच बुक र रंगहरू मगाएकी थिई । अरु केही घरायसी सामग्री पहिल्यैदेखि सकिएका थिए । म किराना सामान किन्न घरछैउकै पसलमा जान्छु । धेरैवटा पसलमा जाँदा संक्रमणको बढी खतरा हुनेहोला, एकैठाउँ किनौँ भन्ने सोचेर ५ गते भाटभटेनी गयौँ । धेरैजसो समय भाटभटेनी पोखराको महिला शौचालयका ढोका चुकुल नभएका, बेसिनमा पानी टमाटम भरिएका, भरिएको बेसिनमा कपालका रौँ उत्रिरहेका र साबुन कहिल्यै नहुने अवस्थामा देख्ने भएकोले म त्यो स्टोर सकेसम्म कम जाने गर्थेँ । चैत ५ गतेसम्म आइपुग्दा स्टोरले न ढोकामा स्यानिटाइजर राखेको थियो, न भित्र दूरी कायम गरेको थियो । बिल काट्ने ठाउँबाट सुरु भएको कोचाकोच लाइन तरकारी वा फल राखिएको ठाउँसम्म पुगेको थियो । नगरपालिकाबाट निकै कम दूरीमा रहेको भाटभटेनीमा त्यो हदको लापरबाही देखिनु निरासाजनक थियो । प्रशासन यी सबैबाट बेखबर थियो भन्ने नै प्रमाणित हुन्थ्यो ।
त्यो दृश्यले हामी आतंकित भयौँ । लिस्टमा भएका आधा सामान पनि नकिनी एउटै फ्लोरबाट फर्कियौँ । भोलिपल्ट पोखरा बगरको 'पानी पँधेरो' डिपार्टमेन्टल स्टोरमा गयौँ । ढोकामा सानो बोतलमा आधा स्यानिटाइजर लिएर उभिएकी बहिनीले "अरु सामान बाहिरै राख्नुस्" भनिन् । स्यानिटाइजर दल्दै गर्दा उनलाई धन्यवाद भनेको , 'आज मात्र हो , सकिइसक्यो' भनिन् । नभन्दै भित्र एक थोपा पनि स्यानिटाइजर थिएन । त्यहाँका स्टाफले पन्जा र मास्क लगाएका थिए तर दूरी भने त्यहाँपनि कायम गरिएको थिएन । हामीले बढीमा तीन दिनलाई पुग्ने घरायसी सामग्री किनेर ल्यायौँ । नाकाबन्दीताका पनि हामीले 'बाँकी नेपाली जनता जसरी बाँच्छन् हामी पनि त्यसैगरी बाँचौँला' भनेका थियौँ । घरायसी सामग्री र ग्यासका सिलिन्डर थुपारेका थिएनौँ । यो पटकपनि त्यही भनाइ दोहोर्यायौँ । मान्छेलाई हामी दम्पत्तिको यो 'आदर्शवाद' पत्यार नलाग्न पाउँछ तर हामी यसै गर्छौँ ।
गाउँ फर्किरहेका 'अभियुक्त'
थातथलोबाट पर पसेका हामीलाई लकडाउन अवधि कसरी काट्नुपर्नेछ भन्ने कुराको अन्दाज भइसकेको थियो । २०७२ सालमा नाकाबन्दी ताका नै त्यसको झलक अनुभव गरिसकेका थियौँ । त्यतिबेला त अझ लोड सेडिङ थियो । ७ बजे बिजुली काटिने वाला छ भने पाँचै बजे राइस कुकरमा पहिला दुध, त्यसपछि दाल र त्यसपछि भात पकाएर बसिरहेका थियौँ । दसैँमा चितवन गएका हामी पोखरा फर्केपछि के खाने र के मा पकाएर खाने भन्ने त्रासकै कारण तिहारसम्म फर्केनौँ । तिहारपछि आफन्तको सहयोगमा आधा सिलिन्डर ग्यास बोकेर फर्कियौँ । उसैगरी राइस कुकरमा दुध तताउने, दाल पकाउने र अन्तिममा भात पकाउने काम जारी राख्यौँ । सहरमा व्यवस्थित घर, टहलिने ठाउँ, कौसीको सानो कुना भएपनि तरकारी लगाउने ठाउँ आदि नभएका मान्छेलाई यस्तो समयमा सहरमा बस्न सक्ने स्थिति नै हुँदैन ।
यतिबेला पनि यहाँ 'बेसाएको' (किनेको) खाएर बस्नुपर्ने त्यसमाथि लकडाउनपछि सहज तरीकाले बेसाउन पनि पाइने छैन भनेर हामीलाई निश्चित भइसकेको थियो । तर छोराको कलेजले जाँच स्थगित गर्ने वा अगाडि सार्ने सुरसारै नगरेकोले हामी उ आउला र चितवन जाउँला भनेर बसिरहेका थियौँ । हरेक वर्ष दसैँतिहार र शैक्षिक सत्रको अन्तमा चितवन जानु हाम्रो लागि शरद वा ग्रीस्मको छुट्टी मनाउने, 'रिल्याक्स' गर्ने वा केटाकेटीलाई 'माटो चिनाउने' समय होइन । मेरो श्रीमानका बुढा र एक्लै बस्ने बाबुआमालाई उपचारको लागि लैजाने, घरको टुटफुट मर्मत गर्ने, कागजी कामहरू सुल्झाउने समय हो । धेरैजसो नेपाली घरहरूमा त्यही नै होला । छोराको कलेजले ६ गते बिहान मात्रै बाँकी जाँच नलिने भन्यो । ऊ ७ गते आइपुग्यो । पाँचैगते लकडाउन घोषणा भइसकेको कारण ८ गतेसम्म सार्वजनिक यातायातमा यति भीड भइसकेको थियो कि चितवन जाने कुनै आँट आएन । आफ्नो कार हुँदो हो त हामी औषधि छर्केर बाटोमा नरोकी पुग्दा हौँ र उता पुगेर फेरि छर्दा हौँ । हामीसँग थिएन र हामी यतै थुनियौँ ।
थुनिएकै अवस्थाबाट म हेर्दै थिएँ मिडियाले काठमाडौँका बस अड्डामा जाँदै नाकामा भीडभाड भन्दै रिपोर्ट प्रकासन –प्रसारण गरि रहेका थिए । काठमाडौँबाट मध्य र सुदूरपश्चिमका कैयौँ ठाउँमा पुग्न अझै भारतका कैयौँ सहरबाट चार दिनमै आ-आफ्नो गाउँमा मान्छे पुग्दैनन् , ५ गतेको साँझ घोषणा गरेर १० गते लकडाउन भनिँदिँदा मान्छेले घर फर्कन समय पाउँदैनन्, कि अलिकति पहिला घोषणा गरिनुपर्थ्यो कि अलिकति लम्ब्याइनुपर्छ भन्ने कोणबाट कसैले लेखेको –देखाएको थिएन । 'हुल' 'भीड' आदि नाम दिइएका ती मान्छे सहरमा खानै , बाँच्नै नपाउने भएर गाउँ हिँडेका हुन् भनेर कसैले सोचेकै थिएन ।
तिनै मिडिया आज यो नाकामा यति अलपत्र उ नाकामा उति भनेर लेख्दैछन् । के यिनीहरूलाई त्यतिबेला यो सबै कुरा थाहा थिएन ? कि मान्छे अलपत्र परुन् न, अर्को स्कुप हुनेछ भनेर चुप लागेर बसे ? सामाजिक सञ्जालमा गाउँ फर्किरहेका मानिसहरूलाई 'उत्सव' मनाउन जसरी हिँडेका, रोग सार्न हिँडेका सहरिया आदि भनेर गाली गरिँदै थियो । काठमाडौँमा व्यवस्थित घरबार र तराई पहाडमा मौजा हुने र छुट्टी मनाउन जानेले त गाउँ जानेलाई गाली वा खिसी गर्न मिल्यो होला । सहरमा उपाय नै नहुने त गाउँको आफ्नो 'बुकुरो' (बाबुराम भट्टराईका शब्द) मा ओत लिन नगएर के गरुन् भनेर मिडियाले सम्म बुझ्नुपर्ने । कलेज क्वार्टरमा बस्ने हामी नै छोराको कलेज अनिश्चितकालीन बन्द भइसकेको, उपभोग्य सामग्रीको अभाव सुरु भइसकेको अवस्थामा होस्टेलले उसलाई के खुवाएर पालेर राख्छ भनेर आत्तिन थालिसकेका थियौँ । होस्टेल यसैपनि सरकारी उर्दी विपरीत २५ भन्दा बढी व्यक्ति बसिरहेको ठाउँ थियो ।
अझ यो समय भनेको नाकाबन्दी भन्दा पनि अफ्ठ्यारो र खतरायुक्त समय हो । लकडाउनको यो समयमा त नाकाबन्दीमा जसरी घरबाहिर हिँड्न पाइएन, त्यतिबेला सुचारू रहेका दैनिक ज्यालादारी काम र कार्यालयका काम व्यापार आदि पनि रोकिने भए । खान नपाउने भइयो नै, बिहान एक घन्टा दुई बाल्टी पानी थापेर दिनभरिलाई पुर्याउन पर्ने सहरका डेराबासीले बारम्बार हात धुनुपर्ने यस्तो बेला हातसम्म पनि कसरी धुने ? ५० वटा टिनका टहरा र एउटै शौचालय प्रयोग गर्नुपर्ने गरी बस्नेले भोक त पन्छाउलान् तर संक्रमणबाट कसरी बच्ने ? मलाई बारबार लागिरहेको थियो, गाउँमा घर गोठ भएका मान्छे बरु आइसोलेसनकै अवस्था आएपनि गोठमाथिको धन्सारमा बस्दा हुन् । बारीको पल्लो छेउमा कच्ची भएपनि शौचालय बनाउँदा हुन् र छुट्टै बस्दा हुन् । मूल वा खोलामा खरानीले भएपनि हात त धुन पाउँदा हुन् । सहरमा टहरामा बस्नेलाई संक्रमण भइहाले त सडकमै मर्नुको विकल्प छैन । इन्द्रबहादुर राइको कथा 'रातभरि हुरी चल्यो' मा जस्तै सहरी गरीबका दुःख पनि अनन्त छन् ।
नेपाली घरहरूको संरचना अनुसार सहरमा बसिरहेका छोरा-छोरी, छोरा-बुहारी गाउँमा भएका बाउआमाका सपोर्ट सिस्टम पनि हुन् । वृद्ध आमाबाबुलाई अधबैसे छोराछोरीले स्याहार्ने नै संरचना हो । कतिपय घरमा ७० नाघेका निरक्षर आमाबाबु सरकारले दिएको हेल्पलाइन नम्बर पनि डायल गर्न पनि नसक्ने अवस्थामा छन् । उनीहरूलाई संक्रमण भएमा अस्पताललाई खबर गरिदिने मान्छे समेत छैन । बुढाबुढी दुईजना मात्र बस्ने भएकोले उपभोग्य सामग्री किन्न जाँदा मात्र पनि संक्रमणमा पर्ने जोखिममा छन् । सरकारले वा संघसंस्थाले प्रिन्ट गरेका कोरोनाभाइरसबाट बच्ने सन्देश पढ्न सक्ने कुरै भएन । कोरोनाभाइरसको आतंकबाट बच्नु भनेको मानसिक रुपमा बलियो हुनु पनि हो । यस्तोमा घर आएका छोराछोरी –छोराबुहारीको साथले वृद्ध आमाबाबुलाई थोरै मानसिक बल पनि मिल्दो हो । यतिबेला त अझै यी सबै कुरा बिर्सेर मान्छे आफ्नै ज्यानमात्र अडाउने ठाँउ नभएपछि गाउँ फर्किरहेका हुन् । नाकाहरूमा स्यानिटाइजर छर्ने , हेल्थ डेस्क राख्ने, संक्रमणको आशंका देखिएकालाई यतै रोक्ने र आवश्यक उपचार र आइसोलेसनमा लैजाने र स्वस्थ्यहरूलाई गाउँ जान दिने र क्वारन्टाइनमा राख्ने नै उपाय हो भनेर पहिल्यै मिडियाले लेखिदिएको भए आज धेरै ठाउँमा मान्छे अलपत्र परेका समाचार अलि कम आउँथे कि ? भनेर आस पनि लाग्छ ।
'आदर्शवादी'को न्यूनतमवाद
कलेज कम्पाउन्डभित्र बाहिरबाट आउने मान्छेको आवतजावत बन्द छ । सावधानी अपनाएर एकै मिनेट हिँडेपनि डाँडा र खोला हेर्न मिल्ने ठाउँमा पुगिन्छ । केही दिनको लागि घरमा दाल, चामल र आलु छ । त्यसैले मैले आफ्नो दुःख वर्णन गर्नु बनावटी हुन्छ ।
तर जीवन बिताउने आफ्नै केही न्यूनतमवादी अर्थात 'मिनिमलिस्ट' सिद्धान्त छन् । यतिबेला त्यही पालन गरिरहेको छु । १० गतेबाट गण्डकी प्रदेशमा पनि लकडाउन घोषणा सुनेपछि फेरि सात दिनको लागि सामान ल्याउनु पर्ने भयो । म र छोरी होम क्वारन्टाइनमा थियौँ । ९ गते साँझ मेरो श्रीमान् र छोरा गएर दुई किलो गेडागुडी, दुई किलो चिउरा, दुई किलो आटा, केही बिस्कुट र चाउचाउ आदि सामान ल्याए । सात दिन कसो नपुग्ला भनेर बस्यौँ । दिउसो रोटी खान खोज्ने केटाकेटीलाई अब रोटी साँझको सिंगो खाना हो भनेर दिउसो चिउरामा बानी पारेँ ।
घर वरिपरिको थोरै जग्गामा अलिकरि हरियो केराउ, धनिया र पुदीना छ । पहिलो लकडाउनको अन्तिम चार दिनमा गेडागुडीको तरकारी र धनिया-पुदीनाको चटनी खायौँ । अब थपियो भनेपछि केही हरियो तरकारी किन्नुपर्ने भो भनेर बजार निस्कियौँ । सात बजेसम्म मात्र बजार खुला हुनेरैछ, घरभित्र १० दिन र सात दिन बिताएका म र मेरो श्रीमानलाई यो सबै थाहा पनि थिएन । एकजना साथीले फोन गरेर साँझमा बजार खुल्छ, छोराछोरीलाई गेडागुडी मात्र नखुवाउ, भोलिबाट फेरि लम्बिन्छ भनेपछि हतारहतार पुग्दा सात बजेर दस मिनेट गएको थियो ।
सधैँ तरकारी किन्ने पसलका दाइ-दिदीले ढोका बन्द गरिसक्नै लागेका थिए, सधैँ किन्ने ग्राहकले आएर चार दिनदेखि गेडागुडी मात्र खाइरहेका छौँ भनेपछि दया लागेर होला, किन्न दिए । प्रहरीको गस्तीको भ्यानको साइरन बजेको सुनियो । उनीहरूले ढोका बन्द गरे र बाहिरको बत्ती निभाए । मेरो श्रीमान भित्र तरकारी छान्दै र म बाहिर तरकारी राख्न बनाएको स्ट्यान्डमुनि लुकेँ । त्यसमाथि बाटोमा जाँदै गर्दा अनुहार खुलै राखेर हिँडिरहेका एक युवकले नजिकैबाट खोकिदिए । तरकारी पसलका दाइ-दिदीले पनि दुई घन्टा खोल्दा थामिनसक्नु भीड हुन्छ, मान्छे टाढा बस भन्दा रिसाउँछन् भने । १० दिन घरभित्र लुकेको बेकार भयो भन्दै म घर फर्किएँ । यसै नि आफन्त नभएको सहरमा लकडाउनमा छौँ, घरमा केटाकेटी एक्लै छोडेर तरकारी किन्न जाँदा उतैबाट पुलिसले भकुर्दै लगेर थन्क्याइदियो भने केटाकेटी अलपत्र हुन्छन भन्ने अर्को डर । अबदेखि दालभात मात्र खाएर भएपनि बस्ने, सबै सकिए बरु अनलाइनबाट मगाउने भनेर सल्लाह गर्यौँ ।
भोलिपल्टदेखि धनियाले हाम्रो भान्सामा 'साग' को स्थान पायो । चटनी खानुपरे वरिपरि प्रशस्तै उम्रेको पुदिना मात्र खाने, धनियालाई आलुमा मिसाएर सागको रुपमा प्रयोग गर्न थाल्यौँ । घ्यू नभएपछि तेलले दाल झान्न थालियो । सानी छोरीले बिहान छिटो उठेर चिया माग्नभन्दा ढिलासम्मै सुतोस् भनेर बिहानमा घरमा आवाजहरू सानो राख्न थाल्यौँ । अझै मलाई यो खाद्य संकट अल्पकालीन त हुँदै होइन भन्ने लागेको छ । कोरोनाभाइरसको आतंक त ढिलोचाँडो सकिएला तर यतिबेला किसानहरू घरभित्र छन् र ठूलो परिमाणमा हुने खेतीहरू ठप्प छन् । कपास र रेशमजस्ता चीज नफल्लान् र कपडाको समेत उत्पादन र आयात निर्यात बन्द होला भन्नेसम्म मेरो सोच पुगेको छ । त्यो पछिको कुरा भयो , लकडाउनमै पनि व्यापारीहरूले घरघरमा बडो जोखिमपुर्वक सामान डेलिभरि गरिरहेका छन् । हामीले सकेसम्म कम अर्डर गर्नु र उनीहरूले सकेसम्म कम बाहिर निस्कन पर्नु हामी दुबैथरीको लागि सुरक्षित हो भनेर बारम्बार छोराछोरीलाई सम्झाएको छु ।
हामीले गरेको यो सबै काम कुनै महान काम होइन । यो हामीले सरकार भन्दा पनि आफैलाई सघाउन गरेको हो । हामी आफैलाई आफ्नो परिवार, छरछिमेकलाई र देशलाई नै महामारीबाट बचाउन सकिएला भनेर गरिरहेका हौँ । सरकारलाई सहयोग वा असहयोग भन्दापनि चेतनशील नागरिकको रुपमा, जंगलमा डढेलो लागेपछि हामी मात्र कसरी बचौँला र भनेर यो सबै गरिरहेका छौँ । मेरा परिवारका सदस्य र साथीहरू स्वास्थ्यकर्मी छन् । जोखिममा रहेर काम गरिरहेका उनीहरूले फेसबुक ट्विटरमै हल्काफुल्का हँसी-मजाकका पोस्ट लेखेको देखेपछि पनि हामी ल आजको दिन सकुशल छन् भनेर चित्त बुझाएर सुत्ने गरेका छौँ । तर सरकारका मान्छेहरूको रवैया देखेर भने विरक्त लाग्छ । उनीहरू असहयोग कि असहयोग रटिरहेका छन् । सरकारलई असहयोग गर्नकै लागि भाइरस लागेर मर्न को चाहिँ चाहन्छ होला ? तर हामी यसरी थुनिनु मात्र समाधान होइन ।
१० दिन थुनिने र एकदिन बाहिर निस्कँदा संक्रमित व्यक्तिसँग सम्पर्कमा आएपछि सबै कुरा शुन्यमै पुग्ने हो । स्कुलदेखिकी एकजना साथी छे हङकङमा बस्ने । साँझ भएपछि नेपालको भीडभाड र असुरक्षित स्थिति देखेर मलाई भनिराख्छे, हङकङमा लकडाउन गरिएको छैन, सामाजिक-शारीरिक दूरी कडाइका साथ पालन गरिएको छ र विदेशबाट आएकालाई क्वारेन्टाइनमा राखिएको छ । टेस्ट द्रूतस्तरमा भइरहेको छ । उसको कुरा सुनेपछि हाम्रोमा कहिले पो सबै लक्षण देखिएकाको, विदेशबाट आएकाको, उनीहरूसँग सम्पर्कमा आएकाको र हामी सबैको टेस्ट हुने, हामी कहिले थुनिएको अवस्थाबाट बाहिर निस्कने भन्ने सम्झे उकुसमुकुस हुन्छ । आफ्नो तर्फबाट सकेजति 'जिम्मेवारी' पूरा गरिरहेका नागरिकलाई घरभित्र थुनेर र स्वास्थ्यकर्मीलाई धम्की दिँदै असुरक्षित रुपमा उपचारमा धकेल्नु कुनै समाधान होइन । छिटोभन्दा छिटो र बढीभन्दा बढी टेस्ट गरिनु र ढुक्क हुनु मात्र उपाय हो । यस्तोमा नक्कली र अपूरा सामान खरीद गर्ने, चौतर्फी आलोचना भएपछि अब फेरि नयाँ सामान मगाउन दुई हप्ता लाग्छ भन्ने नागरिकलाई बन्दी अवस्थामै थप त्रसित बनाउनेहरू नागरिकलाई नै भनिरहेका छन्, 'जिम्मेवार होउ , सरकारलाई सहयोग गर ।' महामारीको बेला उनीहरू चाहिँ जति बेजिम्मेवार भएपनि पुग्ने हो ?
म एक गिद्ध
चैत दसगतेको सबेरै ; मेरो श्रीमानका २५ वर्ष पुराना सहकर्मीले (पोखराबाटै) मेसेन्जरमा कल गरे । सबैजना कोही देशभित्र अड्किए कोही विदेशमा अलपत्र परे भन्ने कुरामा उनले 'रोग सार्नेहरूलाई आउन दिनु हुँदैन' बाटै कुरा सुरु गरे । किन आउन पाउनुपर्छ भन्ने तर्कलाई हराउनको लागि अन्तिममा उनले कटु स्वरमा भने, 'ती 'मूला' देश छोडेर जानेहरू किन आउन पर्यो, उतै मरेपनि हुन्छ ।' युवा अवस्थामा नेकपाको सक्रिय राजनीति गरेका र बुढेसकालमा 'आस्था' मात्रको आधारमा कम्बल ओढेर घ्यू खाइरहेका उनी आफूपनि नियमित विदेश यात्रामा जाने मान्छे हुन् । यतिबेला उनी तीन महिनाको लागि विदेश पुगेका र उताबाट आउन नदिइएको भए के भन्थे होला । असह्य भएपछि मैले फोनमा बोलिरहेका मेरा श्रीमानसँग कराएँ "स्थायी रुपमा देश छोडेर गएकाहरू फर्कन खोजेका होइनन् , टेकिने ठाउँ नभएका मात्र आउन खोजेका हुन् । मेरै एकजना एनआरएन साथी विदेश फर्केर क्वारन्टाइनमा बसिरहेको छ ।" अवसर वा जीविकाको खोजीमा एक ठाउँबाट अर्को ठाउँ जाने काम मानव जीवनको इतिहास जत्तिकै पुरानो छ । त्यसको आधारमा जन्मेको माटोबाट ऊ बर्खास्त हुँदैन भनेर बुझ्नेजति दिमागमा उनले पार्टीप्रतिको 'आस्था' नामको बिर्को लगाएकै छन् । हिजोअस्तिदेखि धार्चुलामा महाकाली किनारमा अड्केका, शरीरमा झिंगा भन्काएका निरिह नागरिकप्रति सरकारका मान्छेको रवैया ठ्याक्कै उनै मेसेन्जरमा फोन गर्ने व्यक्तिको भन्दा एक रत्ति फरक छैन ।
'जहाँ छौँ, त्यहीँ रहौँ' वाला सरकारी उर्दीले सबै जनसंख्यालाई समेट्दैन । टेकिने अडिने ठाउँ नै नभएर देश र गाउँ फर्केकाहरूलाई ढोका बन्द गरिएको देख्दा सोचाई आउँछ, काठमाडौँबाट हाम्फाल्दै आमाबाउ भएको ठाउँमा आएको मेरो छोरालाई बाहिर देख्नासाथ हामीले ढोका बन्द गरिदिएको भए ऊ कहाँ जाँदो हो ? के गर्दो हो ? छोराछोरीका लागि आमाबाबु र नागरिकका लागि राज्य एकै होइन ? घर फर्कन पाउनु भावना मात्र हो कि संविधान प्रदत्त मौलिक हक हो ? यी लगायत अन्य तमाम कुरामा सरकारलाई झकझक्याइरहेका नागरिकलाई सरकारका एक मन्त्री प्रदीप ज्ञवालीले सिनोमात्र देख्ने 'गिद्ध' भनेका छन् । उनी र उनका समकक्षीहरूका लागि आफ्नो दलको भक्ति गर्नेजति जनता र बाँकी गिद्ध हुन् सायद । तर बुझ्नुपर्ने कुरा के भने जसले मान्छेलाई कुनै जनावरसँग दाज्छ, ऊ प्रकृतिले निर्माण गरेको सह-अस्तित्वलाई स्वीकार्दैन भन्ने थाहा हुन्छ । यसबाट व्यक्तिको आफ्नै अल्पज्ञान बाहेक अरु केही छचल्किन्न भन्ने थाहा हुन्छ । गिद्ध फोहोर व्यवस्थापन गरेर वातावरण संरक्षणमा ठूलो योगदान दिने महत्त्वपूर्ण पंक्षी हो । यिनीहरू नहुने हो भने पृथ्वी प्रदुषित भएर मान्छे बस्न लायकको हुँदैन । सचेत मान्छेले गिद्धले झैँ फोहोर खाँदैन तर फोहोर औँल्याउँछ । उसको सरोकार पृथ्वी र प्रदुषणसँग मात्र हुन्छ, आफ्नाले फोहोर गरे कि अर्काले भन्नेसँग हुँदैन ।
त्यसैले केही मान्छेरूपी 'गिद्ध'हरू कुन दलको सरकार आयो वा गयो भन्ने वास्ता नगरी फोहोर औँल्याइ रहन्छन् । चार पाँच दिनदेखि संकटकै बेला भएपनि सरकार पारदर्शी हुनुपर्छ भनेर केही 'गिद्ध' लगातार कराइ रहेपछि हो कि, सरकारले ओम्नी ग्रुपसँगको आफ्नो सम्झौता रद्द गरिसकेको छ । 'लकडाउन' प्रहरीको लागि बर्बरताको अभ्यास होइन', 'आफ्नो देश-गाउँ फर्कन पाउनु मौलिक हक हो' , 'साँझ बिहान भीडभाड र दिनभर थुन्नु समाधान होइन', 'स्वास्थ्यकर्मीको स्वास्थ्य र जीवनसँग कुनै 'तर' वा 'लेकिन' लाग्नुहुँदैन' आदि भन्दै कराइरहेका गिद्धको यी आवाज पनि सरकारले सुन्छ कि ? अर्को कुरा , देशलाई 'बपौती' ठानेर देशभित्र बसिरहेका वा सरकार चलाइरहेकाहरूले बुझ्नुपर्ने कुरा के भने देश हाम्रो मात्र होइन । आज कराइरहेका 'गिद्ध' र महाकाली किनारमा अड्केका नेपाली मध्येका केही भोलि देश चलाउने ठाउँमा नपुग्लान् भन्ने के छ ? भारतीय कवि राहत इन्दौरीको कविता छ नि:
"जो आज साहिबे मसनद है, कल नही होंगे
किरायेदार है जाति मकान थोडी है ,
सभी का खून है शामिल यहाँ कि मिट्टी मे
किसी के बाप का हिन्दुस्तान थोडी है "
अर्थात, जो आज सत्ताधीस छन्, भोलि हुने छैनन् , भाडामा बस्नेहरू हुन् , (सत्ता) उनीहरूको निजी घर होइन ।
यो देशको माटो सबैको रगतले उत्तिकै भिजेको छ, (देश) कसैको बाउको सम्पत्ति होइन ।