स्कुले कमिसन जालो र हाम्रा लालाबाला
स्कुलहरूले हरेक वर्ष पुस्तको प्रकाशक फेरिदिन्छन् वा प्रकाशकले पुस्तकको केही भाग वा अंश नै परिवर्तन गरिदिन्छन्, जसले गर्दा विगत वर्षको पुस्तक कुनै कामै नआओस्
हाल देशमा चलिरहेका सबै स्कुलहरू शतप्रतिशत रूपमा व्यावसायिक भइसकेका छन् । यसमा सबै स्कुलहरू बराबर छन्, चाहे नारा जुनसुकै होस्, ब्यानर जे पनि होस् । पैसा कमाउनु राम्रो काम पक्कै हो तर कमाउने नाममा कसैको रगत चुस्नु पक्कै पनि राम्रो होइन । पठनपाठनका निम्ति हामीकहाँ चलिरहेका स्कुल तथा शैक्षिक संस्थाहरूद्वारा अवलम्बित नियम, विधि र जुन पद्धति माग गरिएको छ, त्यो एउटा सामान्य अवस्था र मध्यमवर्गीय परिवारका निम्ति त्यति सहज भने छैन ।
स्कुलहरूको व्यवस्थामा जुन आर्थिक भार सिर्जना गरिएको छ, त्यो अब हर कसैले थेग्न सक्ने अवस्था रहेन । मैले यहाँ उजागर गर्न खोजेको मिडियम स्तरका स्कुलहरूको व्यवस्थाको हो । उनीहरूको माग, नियम र निरीक्षण (रेगुलेसन) को हो । बाँकी उच्च तहका स्कुल त ठूलाबडाका निम्ति स्थापना गरिएका हुन् । यहाँ कमाउने एउटा पद्धतिको कुरा राख्न चाहन्छु, बाँकी भनेको त्यस्तै हो ।
स्कुलको पाठ्यक्रमको किताब किन्न एउटा बुकसप निश्चित गरिन्छ । त्यहीँबाहेक अन्त किताब कहीँ पाइँदैन । त्यहाँ पनि यस्तो अवस्था सिर्जना गरिएको महसुस हुन्छ कि किताब नि:शुल्क वितरण गरिँदै छ अथवा पुस्तक बिक्री गरेर उपकार गरिँदै छ । यो कस्तो खाले मोनोपोली हो ?
स्कुलहरूले हरेक वर्ष पुस्तको प्रकाशक फेरिदिन्छन् वा प्रकाशकले पुस्तकको केही भाग वा अंश नै परिवर्तन गरिदिन्छन्, जसले गर्दा विगत वर्षको पुस्तक कुनै कामै नआओस् ।
निश्चित पुस्तक बिक्री–वितरकसँग स्कुलहरूको कमिसन पहिला नै २० देखि ३० प्रतिशतसम्म पक्का भइसकेको हुन्छ ।
जस्तै, एउटा पुस्तकको प्रकाशनमाथि ५० रुपैयाँ खर्च हुन्छ । (स्मरण रहोस्, पुस्तक संख्या जति वृद्धि हुन्छ, प्रकाशन लागत त्यति नै कम हुन्छ) प्रकाशकले त्यस पुस्तकमा पुस्तक मूल्य २ सय ५० लेखिदिएको हुन्छ । त्यसपछि ५/१० रुपैयाँ नाफा राखेर होलसेल भनेर अगाडि बढाइन्छ । उसले फेरि ५/१० रुपैयाँ नाफा राखेर पुस्तक बिक्री अगाडि बढाउँछ । अनि, बल्ल घुस्याहा प्रवृत्तिको खेल प्रारम्भ हुन्छ ।
स्कुलले पुस्तक बिक्रेतालाई सोध्छ, कति कमिसन दिन्छौ ?
सर हजुर, १५ प्रतिशत ।
के कुरा गरेको होला ? ऊ त्यसले त २० प्रतिशत दिइरहेको छ !
हुन्छ, हजुर सर, त्यसो भए म २५ प्रतिशत कमिसन दिन्छु ।
यहाँ पुस्तक बिक्रीवितरण गर्नेलाई जुन ५० रुपैयाँ लागतको पुस्तक ७५ रुपैयाँमा प्राप्त भएको थियो, अब यहाँ २५ देखि ३० रुपैयाँ स्कुलको कमिसन थप भयो । अब पसलेले पनि ५/१० रुपैयाँ खानैपर्यो ।
यसो गर्दागर्दै ५० रुपैयाँमा तयार भएको पुस्तक अभिभावकले किन्न जाँदा डेढ सय/साढे दुई रुपैयाँसम्म पुग्छ । त्यो पनि सहजै र सजिलै प्राप्त भए पो । कयौँ पटक किताब आएको छैन भनेर कृत्रिम अभाव सिर्जना गरी ढिलो उपलब्ध गराएर ठूलै उपकार गरेझैँ व्यवहार गर्छन्, किताब पसलेहरू । किताब प्राप्त गर्न थाहा छैन, के–के भनी हातै जोड्नुपर्ने अवस्था आउँछ ।
उता विद्यार्थीलाई किताब नल्याएको भनेर शिक्षकले कयौँ पटक मानसिक र अन्य दबाब दिइसकेका हुन्छन् भने यता अभिभावक दिनको २–३ पटक किताब पसल धाउँदा लखतरान भइसकेका हुन्छन् । अझ अगाडि सुन्नुस्, ठूलो सास्ती पाएर तपाईंले प्राप्त गरेको किताबको पैसा तिर्ने बेला किताब पसलेले के भन्छ, त्यो सबैलाई थाहै होला । ल , तपाईंलाई किताबमा १० प्रतिशत छुट अरे । ठूलै उपकार गर्नुभयो र मेरो बच्चाको भविष्य नै बनाइदिनुभयो भनेर धन्यवाद भन्नुबाहेक अभिभावकसँग अरू कुनै उपाय हुँदैन ।
स्कुलका यी र यस्ता कार्य अथवा कमिसनको चक्करले जुन अवस्था सिर्जना गरिदिएको छ, त्यसको पीडा त तिनै अभिभावकहरूलाई सोध्नुहोस्, जसको आम्दानी कम र बच्चाहरूको शिक्षादीक्षाको बोझ अधिकतर बढी होला ।
यसैगरी हरेक स्कुल लेबलको अर्थात् क्लासको क्लास फी अलग–अलग हुन्छ । जस्तै, एलकेजीको २ हजार र युकेजीको ३ हजार वा जम्माजम्मी ३ हजार ५ सय रुपैयाँ इत्यादि । अब एकछिनका लागि कुनै स्कुलमा सबै तहमा गरी ८ सय विद्यार्थी छन् र तिनको सामान्य स्कुल फी ३ हजार ५ सय रुपैयाँ छ भने त्यसको हिसाबकिताब गुणा गर्दा २८ लाख हुन आउँछ ।
अब यसरी किताबको खरिद बिक्रीमा २५ प्रतिशत मात्रै स्कुलले कमिसन माग गर्ने अथवा लिने हो भने ७ लाख त किताबको कमिसन मात्र आउँदो रहेछ ।
दु:खसाथ भन्नुपर्दा, यदि शिक्षामा यस्तो फोहोरी कमिसनको खेल नहुने भइदिएको भए पढाइ धेरै सस्तो हुने थियो । आज हाम्रो समाजमा दुइटा वस्तु नै सबभन्दा महँगा छन्– शिक्षा र उपचार ।
किनभने दुवै क्षेत्रमा कमिसन र घुस्याहा प्रवृत्ति मौलाएको छ । स्कुललाई स्टेसनरीमा आएको हरेक पेन्सिलमा कमिसन र त्यो पेन्सिलले डाक्टरद्वारा लेखिएको (लेखेको) हरेक प्रिस्केप्सनमा डाक्टरलाई कमिसन । यसै नासुरले आज हाम्रो भविष्य अन्धकारतर्फ धकेल्दै छ ।
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...