अमेरिकालाई गाली गर्नु पहिले अमेरिका बुझौं
सुविधासम्पन्न जीवनयापन बाँचेको अमेरिका देख्दा सबैमा आफूसँग केही नहुनुले पश्चात्ताप हुन्छ । नेपालमा रहँदा अभिमान र गफले चलेको जीवनशैली एवं स्वाभिमान त्यतिखेर बबुरो भएको महसुस हुन्छ
अमेरिकी अनुभवसँग जोडिएका धेरै लेखहरू बेलामौका सामाजिक सञ्जाल र पत्रपत्रिकाहरूमा देख्न/पढ्न पाइन्छ । प्राय: सबैको बुझाइ र भोगाइ आंशिक रूपमा उस्तै खाले हुन्छ । अमेरिकाप्रति नकारात्मक धारणा बनाएर पीडा पोखिएको र गाली गरेको पाइन्छ । अमेरिकामा जीवन कष्टकर छ, काम नगरी खान पाइँदैन, रोबोटजस्तो काम गर्नुपर्छ, भाँडा माझ्नुपर्छ आदि ।
अमेरिकालाई गाली गर्नुमा तुक भए/नभएको सम्बन्धमा ऊप्रतिको बुझाइ कस्तो हो भन्ने चेतनाको दायराले बनाउने धारणा हो ।
म मित्रको सहयोगमा डीभी पाएर केन्टकी राज्यको लेक्सिङ्टनमा जुलाई २०१७ मा सपरिवार आएँ । यहाँ आउने निर्णय गर्नुअघि मैले धेरै राज्यहरूको बसाइ खर्च, जीवनपद्धति, सम्भावना र रोजगारी अवसर कस्तो छ भनेर अध्ययन गरी सोही आधारमा आफ्नो सीप र शिक्षाअनुसार यो राज्य उपयुक्त हुनेछ भनेरै सोचेको थिएँ । आजसम्मको अनुभवमा मेरो निर्णय एकदम सही थियो भन्ने लागेको छ ।
अमेरिकाप्रति बनाइएका आम नकारात्मक विचारहरूजस्तो मेरो अनुभव छैन । हुन त मैले नेपालको क्षेत्रफलभन्दा ६६.८ गुना ठूलो, महाशक्ति र जीवन प्रगतिको अथाह सम्भावना बोकेको देशमा आफ्नो परिस्थितिअनुसार अमेरिकालाई बुझेजति उन्नति गर्न नसकेको हुँला । तर मेरो अमेरिकाप्रतिको स्पष्ट बुझाइ नै छोटो अवधिको उपलब्धि ठान्छु र त्यसैअनुरूप भविष्यमा आफूलाई कसरी फराकिलो पार्ने एवं यहाँका अवसर लिएर जीवन उन्नत बनाउने भनेरै संघर्षरत छु ।
धेरैले विभिन्न लेखहरूमा सतही रूपमा भनेजस्तो त्यस्तो खान नपाउने दु:ख भोग्नु परेको छैन । नपरोस् पनि ।
अत: सामान्य गाउँले पृष्ठभूमि बोकेर सयौँ वर्षअघि दौडिरहेको डिजिटलाइज्ड समाजमा सजिलो गरी जीवनयापन गर्न सकेको छु । म बसेको क्षेत्रमा प्राय: सबै नेपालीहरू राम्ररी नै बसोबास गरेका छन् । धेरै त आफ्नै घर लिएर बसेका छन् । फाट्टफुट्ट पढेर, जागिर खाएर स्थापित हुने पनि छन् । अपार्टमेन्टमा बस्नेहरूको कन्तविजोग देख्नु परेको छैन । भाँडा माझेर गुजारा गरेको देखेकै छैन । भोकै बस्नुपर्ने अवस्था कहिल्यै देखेको छैन ।
अमेरिकामा दु:ख पाउने/नपाउने कुरा जोकोहीले पनि आफ्नो पहिलो बाटो कस्तो छान्ने भन्ने निर्णयमा भर पर्छ । कानुनी रूपमा अमेरिका जाने कि कुनै पनि माध्यमबाट गैरकानुनी रूपमै जाने । मानव तस्करी या यस्तै कुनै उपाय गरेर अमेरिका छिर्ने । यस्तो निर्णय कसैले पनि सोचेको छ भने स्पष्ट हुनुहोस्, तपाईंका दुर्दिन त्यहीँबाटै सुरु हुनेछन् ।
अमेरिका ठग, गैरकानुनी या उपद्रवका लागि श्राप हो भन्दा फरक नपर्ला । एक पटक लागेको आपराधिक दाग जिन्दगीभर त रहन्छ नै । कुनै पारिवारिक सदस्यलाई पनि अमेरिका प्रवेशमा भिसा अस्वीकृत हुन्छ । हुन त अमेरिका पनि दूधले नुहाएजस्तो सबै कुरामा पवित्र छ भन्ने होइन । अनेक धोखाधडी, गोली हानाहान र ‘किलिङ’ हुने देश हो । अमेरिकालाई भ्रष्टाचारमुक्त देशको सूचीमा ट्रान्सपरेन्सी इन्टरनेसनलले २३ औँ स्थानमा सूचीकृत गरेको छ ।
आफू इमानदार हुने हो भने यी कुकर्मले हामीजस्ता सामान्य आप्रवासीलाई खासै छुँदैन । आजसम्म जति नेपालीहरू यस्ता स्क्यान्डलमा परेका छन्, यसमा केही न केही लापर्वाही भएको हुनुपर्छ भन्ने मेरो बुझाइ हो । केही निर्दोष पनि परेको भए त्यो बेग्लै कुरा हो ।
अवैधािनक रूपमा अमेरिका प्रवेश गर्न गाह्रो छ । बलबुँताले छिरे पनि ऊ कुनै पनि कागजात पाउन योग्य हुँदैन । जस्तो, सामाजिक सुरक्षा परिचयपत्र, ग्रीनकार्ड, ड्राइभर लाइसेन्स । यी कागजातबिना कुनै पनि सुविधा लिन पाउँदैन ।
उदाहरणका लागि, बस्ने कोठा, काम, शिक्षा, क्रेडिट कार्ड, जीवन बिमा, स्वास्थ्य सेवा, गाडी आदि । यी कुराहरू नपाएपछि उसले आफन्तकहाँ शरण लिएर, परिवारसँग कोठा भाडाको केही अंश तिरी मिलिजुली बस्नुपर्ने हुन्छ र कर नतिरी नगदमा काम गर्नुपर्ने हुन्छ । नगदमा काम गर्ने भनेको ग्यास स्टेसन, पेय पदार्थ बिक्री पसल, सबवे, रेस्टुराँ आदि ।
यसरी जीवनयापन गर्दा दैनिक जीवनका हरेक पाइलामा आफू निर्धो हुनुपर्ने हुन्छ । कोही सहयोगी नहुने हो भने विजोग हुन्छ । लुकीछिपी रहँदा पनि धेरथोर पैसा कमाउनचाहिँ सक्छ, यदि ऊ क्यालिफोर्नियाजस्तो महँगो ठाउँमा बसेको छैन भने ।
यसरी वर्षौं बस्दा न उसको प्रोफाइल बन्छ, न त कुनै सुविधा पाउन योग्य हुन्छ । तर मानिसहरूले भनेजस्तै खानै नपाएर हरिविजोग हुने अवस्था कहिल्यै आउँदैन । सबैले सुविधासम्पन्न जीवनयापन गरेको देशमा आफूसँग केही नहुनुले पश्चात्ताप हुन्छ । नेपालमा रहँदा अभिमान र गफले चलेको जीवनशैली र स्वाभिमान यतिखेर बबुरो भएको महसुस हुन्छ । पीडाबोध हुन्छ । अमेरिकामा दु:ख पाउने यसरी नै हो र पीडा पोख्ने यस्तै अनुभवले हो ।
कानुनी रूपमा बसेको छ भने उसको जीवनमा नसोचेको परिवर्तन हुन्छ । सुविधा लिएर छोटो समयमै सम्पन्न जीवन बनाउन सक्ने देश हो, अमेरिका । नेपालबाट आएको केही समयमै सबै कागजात बनिसकेपछि ठूला कम्पनीहरूमा कम्तीमा साताको ५ दिन काम गर्ने हो भने सुरुआती अवस्था सहज बन्दै जान्छ । केही महिनामै गाडी चढेर काममा जाने, किनमेल गर्न जाने, घुमघाम गर्ने दिनचर्या सुरु हुन्छ । अमेरिकी जीवनशैलीको हावापानीले छुन थाल्छ ।
जहाँसम्म रोबोटजस्तो काम गर्नुपर्छ भनिन्छ, त्यो साँचो हो । नेपालमा कामचोर भई, मनलाग्दी बाहिर निस्कने, चिया पिउँदै गफ छाँट्ने बानी भएकाहरूलाई सिस्टममा काम अवधिभर खाना र खाजा समयदेखिबाहेक आफूलाई दिएको जिम्मेवारी मिनेट–मिनेटको सदुपयोग गरी दैनिक पूरा गर्नैपर्ने हुन्छ । अनि, समय–समयमा दिइने सुझाव र गलत काम गरे बर्खास्तसम्म हुने चेतावनी पनि पाइने भएकाले आम नेपालीहरूलाई काम नपचेको हो । तर काममा सम्मान र समानता महसुस हुन्छ । कटु वचन र गाली सुन्नु पर्दैन ।
अमेरिका यसरी नै बनेको हो । यसरी काम हुन नसक्दा हाम्रो देश पछि परेको रहेछ भन्ने ज्ञान पाइन्छ ।
अमेरिकामा उन्नति गर्ने हिसाबले कसरी आउने त ?
पहिलो बाटो– डीभी ग्रीनकार्ड पाएर आउने । पढ्ने, जीवन उकास्ने र व्यापक सम्भावना बोकेर प्रगति गर्ने । नेपालमा लिएको शैक्षिक दक्षताले यहाँ खासै महत्त्व नपाउने (यदि नपढ्ने हो भने) हुँदा पहिलो बाटो सबभन्दा उत्तम हो । तर कुनै पनि क्षेत्रमा विशेष सीप छ र यहाँ लाइसेन्स लिने हो भने कमाइ माथिल्लो स्तरको हुन्छ ।
दोस्रो– डीभी ग्रीनकार्ड लिएर आउने । सकेसम्म साताको धेरै घन्टा काम गर्ने । पैसा कमाउने । औसत जीवन जिउने ।
तेस्रो– डीभी ग्रीनकार्डमार्फत आउने । सकेसम्म धेरै काम गर्ने र पैसा कमाएर व्यापार/व्यवसाय गर्ने अनि स्वरोजगार जीवन जिउने ।
चौथो– विद्यार्थी भिसामा आउने । यसरी आउनेको केही वर्षको अध्ययन र मिहिनेतपछि जीवन प्रगतिमय हुन्छ । थोरै पढाइको पनि धेरै महत्त्व र मूल्य छ, अमेरिकामा । पढ्नेले राम्रो रोजगारी पाउँछ । अध्ययन अवधिभर सबै सुविधा लिन पाउने प्रावधान छ । पढाइ सकेर ५ वर्षपछि ग्रीनकार्डका लागि आवेदन दिन पाइन्छ । तर सबै आवेदकले ग्रीनकार्ड पाउँछन् भन्ने छैन । यसमा ह्वाइटहाउस प्रशासन र उसले आप्रवासीप्रति अख्तियार गर्ने तात्कालिक रणनीतिले तिनको भिसामा प्रत्यक्ष प्रभाव पार्दछ ।
जस्तो, बाराक ओबामा हुँदाको केही खुकुलो नीति र ट्रम्प प्रशासनको कडाइ । चलाखी गर्नेले रोजगारी (हिब) भिसा लिएर ग्रीनकार्ड प्राप्त गरी स्थायी रूपमा बसोबास गरेका प्रशस्त उदाहरण छन् ।
अमेरिका आएर पढ्न नसक्ने र कुनै पनि सीपको लाइसेन्स नलिने हो भने औसत जीवन गुजार्नुपर्ने हुन्छ । तर त्यस्तो जीवन पनि सुविधासम्पन्नचाहिँ हुन्छ ।
पाँचौँ– कूटनीतिक र अन्य विशेष भिसामा सामान्य नेपालीहरूको त्यति पहुँच नभए पनि कलाकार, व्यापार या ट्राभल भिसाहरूमा तिनको आउ/जाउ क्रम चलिरहेकै छ ।
कूटनीतिक या विशेष भिसामा यहाँ आएर घुमीफिरेर जाने पनि सुन्दर उपाय हो । तर यस्तो माध्यमबाट आएर छोटो समयमै फर्किंदा अमेरिका र यहाँको विकासलाई गहिराइमा बुझेर ज्ञान हासिल गर्न भने सकिँदैन ।
छैटौँ– अवैधानिक रूपमा आउने र दु:ख पाउने । अब आफैँ निर्णय गर्नुस्, कुन बाटोबाट अमेरिका आउनु हुन्छ र कुन तरिकाबाट भविष्य बनाउनु हुन्छ ?
अमेरिकामा आप्रवासीका लागि भाषा प्रगतिको एउटा ठूलो बाधक हो । भाषामा दक्ष नभएकै कारण धेरै नेपालीहरूले दैनिक जीवनमा सानातिनादेखि ठूला अप्ठेराहरू झेल्नुपर्ने हुन्छ । सानो काम गर्न पनि भाषिक सहयोगी खोज्नैपर्ने हुन्छ । धेरैजसो ठाउँमा त भाषिक सहयोगी पनि सम्पर्कमा राखिएको हुन्छ । तर भाषाकै कारणले कामै गर्न नसकिने परिस्थितिचाहिँ आउँदैन । अंग्रेजी भाषा सुधारका कक्षाहरू प्राय: नि:शुल्क अथवा न्यून शुल्कमा सञ्चालित छन् ।
भाषिक ‘जिनोफोबिया’ (भाषाको कारणले विदेशीसँग लाग्ने डर) नराखी कुनै काम गर्दा आफैँ प्रयास गर्ने बानीले आत्मविश्वास बढाउँछ । परनिर्भर भए आफू सधैँ कमजोर भइन्छ । व्यवधानहरू खेपिरहनुपर्छ ।
अमेरिका यस्तो देश हो, जहाँ कानुनी रूपमा योग्य भए जोकोहीले, जहाँसुकैबाट आएकाले पनि प्रगति गर्न सक्ने अपार सम्भावना छ ।
राज्यले पढ्ने खर्च पनि दिएको छ । छुट छ । आर्थिक सहयोग गर्ने संस्थाहरू पनि छन् । छात्रवृत्ति पनि छ । सक्छौ, केही अंश तिर, सक्दैनौँ भने नतिर । परिस्थिति मिलाऊ । जीवन अर्को खुड्किलोमा चढाऊ र प्रगति गर । स्वतन्त्रता, मानव अधिकार, प्रजातन्त्र उपभोग गर्दै सहज जीवन बाँच । यी सुविधा उपभोग गर्न नचाहे यहाँको सिस्टमअनुसार काम गर । कम या औसत आय भएकाहरूले केटाकेटीको शिक्षा, स्वास्थ्य र खानेकुराको पनि सुुविधा लेऊ, जुन सरकारले दिएको हुन्छ ।
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...