मुवाले बन्दुक समातेपछि
दलिनमा झुन्डिएको पेट्रोम्याक्सको उज्यालोमा मुवाको त्यस रातको रूप आज पनि प्रस्ट सम्झना छ, मलाई ।
कहिले बच्चाजस्तो, कहिले लोग्ने मान्छेजस्तो त कहिले दरिलो पहाडजस्ती मेरी मुवा । बुबाको कर्तव्य पनि मुवाले नै निर्वाह गर्नु परेकाले होला, उहाँमा एक हिसाबको मर्दानापन पनि थियो । त्यसैले न बिराउने, नडराउने खाले हुनुहुन्थ्यो ।
म १४–१५ वर्षकी थिएँ हुँला, जब बर्दियाको हाम्रो गाउँ डकैतीको डरले थुर–थुर थियो । तर डाँकाहरू असफल भएरै फर्किएका थिए । त्यो रात सम्झेर आज पनि आङ सिरिंग हुन्छ ।
सीमावर्ती गाउँमा डाँका लाग्छ भनेको सुनेकी थिएँ । एक दिन ठूलो दाइ गुलरिया गएका बेला, झमक्क साँझ परेपछि पूर्वतिरको ओरई खोला (गाउँ सीमा) को जंगलपारिबाट धेरै टर्चलाइट बाल्दै, निभाउँदै गरेर मान्छेहरू आइरहेको खबर चौकीदारले मुवाकहाँँ ल्याए । उनले आत्तिएको स्वरमा खोलातिरबाट डाँकाहरू हाम्रै गाउँतर्फ आइरहेको एकै सासमा सुनाए । चौकीदार त्यत्तिकै डराएका होलान् भनेर मुवालाई पत्यार लागेन ।
यसैबीच हाम्रा कोठारी (म्यानेजर) पनि आत्तिँदै आइपुगे र भने, ‘होइन, डाँकैजस्ता छन्, बत्ती बाल्दै, निभाउँदै आइरहेका छन्, आँगनबाटै देखिइरहेको छ ।’ त्यसपछि हामीले पनि भान्साघरबाट बाहिर निस्केर हेर्यौँ । नभन्दै खोलापारिबाट टर्चलाइटको उज्यालो हाम्रै गाउँतिर आइरहेको थियो ।
अबचाहिँ मुवा पनि आत्तिनुभयो र कोठारीलाई भन्नुभयो, ‘दीपक (जेठो छोरा) छैन, बुहारी र केटाकेटीहरूलाई यहाँ लिएर आऊ ।’ अनि, चौकीदारलाई छिमेकका केही जवान र बलिया केटाहरूलाई पठाउन एवं गाउँभरिका घरमा पुगेर खबरदारी गर्न अह्राउनुभयो । अर्थात्, हामीकहाँ केटाकेटीदेखि नै बसेकालाई ‘माथिबाट बन्दुक लिएर आऊ’ भन्नुभयो । उसले माथिबाट बाह्रबोर बन्दुक ल्यायो । अग्लो मेचमा बस्नुभएकी मुवाले त्यो बन्दुक हातमा लिनुभयो ।
यत्तिकैमा भाउजूहरू पनि आत्तिँदै आउनुभयो । टर्चको उज्यालो झन्झन् नजिकिँदै थियो । ठूली भाउजू, केटाकेटी र काम गर्ने सबै रुन थाले । मलाई याद छ, सानी भाउजू रुनु भएन तर आत्तिनुभएको थियो । मुवाले निर्देश गर्नुभयो, ‘बुहारी तिमी नन्द र केटाकेटीहरूलाई लिएर माथि जाऊ, डाँकाहरू ओरईपारिको जंगल नजिकै आइसकेजस्तो छ । म यहीँ बसेर हेर्छु ।’ भाउजूहरू माथि उक्लिनुभयो । मलाई चाहिँ मुवाको माया लाग्यो, माथि गइनँ । यहीबीचमा गाउँका युवाहरू लाठा र टर्च लाइटले सुसज्जित भएर आइपुगे । उता डाँकाहरू पनि खोलापारि जंगलमा आइसकेका थिए, सायद ।
गाउँ छिर्ने तीन वटा बाटा र दुई चोकमा मुवाले तिनलाई समूह बनाएर तैनाथ गराउनुभयो । उनीहरूलाई ‘खबरदार–होसियार’ भन्दै ओहोरदोहोर गरिरहनु भयो । र, चार जनालाई भने आफूसँगै रहन भन्नुभयो । बाँकीलाई ओरई खोलावारि गाउँ छिर्ने बाटोमा खटाउनुभयो । त्यसपछि मुवाको नजर ममाथि गयो । मलाई हप्काउँदै माथि पठाउनुभयो । म माथि त गएँ तर मुवालाई तल छाड्न मनले मानेन र ढोकामा लुकेर हेरिरहेँ । मेरो मुटुुको धड्कन असामान्य भयो । अब मेरो मुवालाई डाँकाले मार्छन् भन्ने डरले सतायो । मनमा आयो– दादा पनि छैन...अब के हुन्छ ?
रातीको ९ बजिसक्यो । यतिबेलासम्म अरू लोग्ने मानिसहरू पनि आइपुगे । तीमध्येका धेरैलाई ओरई खोलाको किनारतिरै पठाउनुभयो, मुवाले । चौकीदारको ‘होसियार रहो’ र गाउँको सुरक्षामा खटिएका युवाहरूको एकोहोरो आवाजले रातीको चकमन्नतालाई चिरिरहेको थियो । उता, खोला–किनारसम्म टर्चको उज्यालो आइपुग्यो, एकाएक मेरो मुटुले धड्किन नै बिर्सेजस्तो गर्यो ।
उज्यालो धेरै बेरसम्म त्यहीँ रोकियो अनि सबै बत्ती एकैपल्ट निभ्यो । अन्धकार भयो, अँधेरी रातमा नै डाँकुहरूले हमला गर्छन् रे । ला...अब तिनीहरू अँध्यारोमा लुक्दै कतातिरबाट आउने हुन् भन्ने डर पस्यो, सबैमा । त्यसपछि त मुवाले खोला–किनारमा झन धेरै चहलपहल बढाउन र उज्यालो पार्न लगाउनुभयो । धेरै ठाउँमा आगो बालेर केटाहरू ठूल्ठूलो स्वरमा कराउन थाले ।
रातको ११ बज्यो । गाउँमा पनि उज्यालो नै छ । चोकचोकमा काठ बालेका छन् । कसैका हातमा वनकस (बाबियो) को उज्यालो छ । कसैको हातमा टर्चको त कसैले राँको बोकेका छन् । अब एकाएक फेरि ओरईपारि उज्यालो भयो । मुटुले ढ्यांग्रो ठोक्यो । तर ईश्वरको कृपाले त्यो उज्यालो दक्षिणतिर मोडियो, हाम्रोतिर आएन ।
बल्ल सास आयो ।
भोलिपल्ट खबर आयो, खोलापारिको गाउँको एउटा घरमा पसेर गरगहना, पैसा लुटेर लगेछन् । ‘आउन त दीपक राजाकै गाउँ लुट्न आएका हौँ’ पनि भनेछन्, लुटेराहरूले । तर हाम्रो गाउँका मानिस धेरै सचेत र जागरुक भएकाले छिर्न आँट नगरेका रहेछन् । त्यस राती डाँकाहरू हाम्रो गाउँ पस्न नसक्नुको मूल कारण नै मेरि मुवा हुनुहुँदो रहेछ । डाँकाहरू आउँदै गरेको खबर पाउनेबित्तिकै उहाँले जसरी रणनीति बनाउनुभो, युवालगायत गाउँलेलाई परिचालित गर्नुभयो, त्यही कारण नै डाँकाहरूले ओरई खोला तर्ने आँट गरेनन् ।
त्यो घटना अहिले सम्भँmदा अनौठो लाग्छ, हिन्दी सिनेमाजस्तो ।
आजभन्दा ४० वर्षअघिको समय र कक्षा ८ सम्मको पढाइ । १३ वर्षमा बिहे र १४ वर्षको उमेरमा पहिलो सन्तान जन्माएकी मेरी मुवा वास्तवमै कति दृढ र सामथ्र्यवान महिला हुनुहुँदो रहेछ भनेर बयान गर्न यही घटना नै काफी छ ।
दलिनमा झुन्डिएको पेट्रोम्याक्सको उज्यालोमा मुवाको त्यस रातको रूप आज पनि प्रस्ट सम्झना छ, मलाई । अग्लो मेच, छेउमा गोली लोड भएको बाह्रबोर बन्दुक अनि अनुहारमा कठोरता र दृढ निश्चयीपन देखिन्थ्यो, मुवामा ।
महिला शक्तिको स्वरूप देखिने यस्ता समस्त मुवाहरूमा नमन !
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...