होलेरीमा फर्किएको हाँसो
माओवादी जनयुद्धको उद्गम थलो होलेरी अहिले समृद्धिको लक्ष्य पछ्याइरहेको छ ।
१ फागुन ०५२ मा रोल्पाको होलेरी प्रहरी चौकीमा आक्रमण भयो । रोल्पाका वर्षमान पुनको कमान्डमा रहेका ३६ लडाकुले चौकी आक्रमण गरेका थिए । २८ असार ०५८ मा दोस्रो पटक होलेरी चौकी आक्रमण भयो । लामो समयसम्म ठूलो संख्याका प्रहरी माओवादी नियन्त्रणमा रहे ।
दोस्रो आक्रमणले देशमा सनसनी मच्चायो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजीनामा दिनुपर्यो ।
सशस्त्र द्वन्द्वका यिनै घटनाका कारण होलेरी देश–विदेशमा चर्चामा रह्यो । तत्कालीन विद्रोही माओवादीले युद्धको घोषणा गर्दा पहिलो दिनमै होलेरी चौकीमा आक्रमण गर्नु र दोस्रो आक्रमणबाट पनि सरकारलाई ठूलो धक्का लाग्नु यसको कथासँग जोडिएका संयोग हुन् । यी आक्रमणका मुख्य कमान्डर पुन थिए, जुन अहिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री छन् । यसअघि उनी अर्थमन्त्रीसमेत भइसकेका छन् ।
युद्धको पहिलो आक्रमण स्थलमा अहिले शान्ति स्मारक बनाइएको छ । पहिलो पटक प्रहरी चौकी आक्रमण भएको स्थलमै स्मारक ठडिएको छ । चौकीको भग्नावशेषमा रहेको स्मारकमा दुइटै आक्रमणबारे संक्षिप्त जानकारी दिइएको छ । उक्त स्मारकको उद्घाटन आक्रमणकारी टोलीका कमान्डार पुनले गरे– त्यो पनि १ फागुनकै संयोग पारेर ।
पुनले स्मारक उद्घाटनपछि होलेरीमै युद्धकालीन अनुभव सुनाए । उनले कसरी होलेरी आक्रमण गरेका थिए ? ती आक्रमणका उपलब्धि के भए ? अब होलेरी के चाहन्छ ? यी विषयमा उनले जनतासँग अन्तर्क्रिया पनि गरे ।
“कुनै बेला लुटेरा, लडाकु भनिने मान्छे अहिले नेता भइयो, मन्त्री भइयो,” उनले भने, “हिजो खोला देख्यो कि एम्बुस थाप्ने तयारी हुन्थ्यो, अहिले ऊर्जा निकाल्छौँ । होलेरी पनि हिजो द्वन्द्वको केन्द्र थियो, अब समृद्धिको केन्द्र बन्न सक्छ ।”
पहिलो पटक आक्रमण गर्दा पुनको कमान्डमा रहेको टोली अघिल्लो दिन नै होलेरीमाथिको गढीलेक आएर बसेको थियो । हिउँ परिरहेकाले बसाइ निकै कठिन थियो । भोलिपल्ट बेलुकापख मात्रै आक्रमण भएको थियो । टोलीका सहकमान्डर वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन थिए । लडाकु टोलीका सदस्यहरू पूर्वसभामुख ओनसरी घर्ती, प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, रोल्पाका प्रदेश सभासद् दीपेन्द्र पुनलगायत थिए ।
१२ दरबन्दी रहेको चौकीमा ८ जना मात्रै प्रहरी कार्यरत थिए । “मान्छे मार्ने आदेश थिएन । युद्ध सुरु भएको जानकारी दिने र प्रहरीलाई आत्मसमर्पण गर्न लगाउने योजना थियो,” पुनले भने, “केही फायरिङ गरेर युद्ध सुरु भयो भन्यौँ । प्रहरीले जागिर जाने भन्दै आत्मसमर्पण गर्न मानेनन् । हामीले पनि केही विस्फोटक पदार्थ लिएर छाडिदियौँ ।”
उक्त आक्रमणसँगै रुकुमको आठबिसकोटस्थित राडी प्रहरी चौकी र सिन्धुलीको सिन्धुलीगढी प्रहरी चौकीमा पनि आक्रमण भएका थिए । “बढी दमन भएका ठाउँमा प्रतीकात्मक रूपमा आक्रमण गर्ने योजना थियो,” पुनले भने, “वैदेशिक लगानी निरुत्साहित गर्न बालाजुको कोकाकोला कम्पनी र गोरखाको च्याङ्लीटार कृषि विकास बैंकमा पनि आक्रमण भयो ।”
सुरुमा प्रतीकात्मक आक्रमण मात्रै भएको पुनले बताए । त्यसपछि २८ असार ०५८ बिहानपख होलेरी प्रहरी चौकीमा दोस्रो आक्रमण भयो । प्रहरी हवल्दार राजबहादुर गिरीको मृत्यु भयो । ७५ प्रहरीलाई माओवादीले नियन्त्रणमा लिए । सबै सरकारी कार्यालयमा आगजनी भयो । त्यसबेला लडाकु कमान्डर नन्दबहादुर पुन र कमिसार वर्षमान पुन थिए । भालुवाङ सशस्त्र प्रहरी क्याम्पमा आक्रमण गर्न खोजेकामा सूचना चुहिएपछि एकाएक होलेरी आक्रमण गरिएको थियो ।
प्रहरीलाई नियन्त्रणमा लिएर नुवागाउँको डाँडामा राखियो । भोलिपल्ट बिहानपख खाना खाइरहेका बेला नेपाली सेनाका तीन वटा हेलिकोप्टर आए । सेना छाडेर हेलिकोप्टर फर्कंदै गर्दा माओवादीले गोली प्रहार गरेपछि हेलिकोप्टर भाग्यो । हेलिकोप्टरमा केही क्षति पुग्यो । केही बेरपछि थप दुई हेलिकोप्टर आए । त्यसलाई पनि गोली प्रहार गरेपछि भागे । नियन्त्रणमा लिएका प्रहरीलाई लडाकुको एक टोलीले सल्यानतर्फ लिएर गयो । १ हजार ५ सयको लडाकु टोलीमध्ये ५ सय जनाको टोली नुवागाउँतर्फ झर्यो ।
नुवागाउँमा झर्दै गर्दा सेनाको ४५ जनाको टोलीसँग जम्काभेट भयो । “सेना आफ्नो पोजिसनमा सुरक्षित स्थानमा बस्यो । हामी पनि आफ्नो पोजिसनमा बस्यौँ,” पुनले भने, “त्यसपछि माइकबाट हाम्रो सेनासँग लड्ने योजना छैन । तपाईंहरू आफ्नो बाटो लाग्नुस् भन्यौँ । अन्तमा चिट्ठीबाट खबर आदानप्रदान भयो ।” दुई–दुई जना नि:शस्त्र लडाकु र सैनिकबीच वार्ता गराई दुवै पक्ष आ–आफ्नो बाटो लाग्ने सहमति भएको पुनले बताए । त्यसपछि पुनको टोली गैरीगाउँतर्फ लागेको थियो ।
भोलिपल्ट सञ्चार माध्यममा माओवादी लडाकुहरू सेनाको घेरामा रहेको समाचार आएको थियो तर उक्त कुरा यथार्थ नभएको पुनले बताए । त्यही क्रममा तत्कालीन प्रधानमन्त्री कोइरालाले राजा ज्ञानेन्द्रसमक्ष सेना परिचालनको प्रस्ताव लगेका थिए । राजाले असहमति जनाएपछि कोइरालाले राजीनामा दिएका थिए । यस घटनाका कारण पनि होलेरी चर्चामा आएको थियो । त्यही वर्ष ८ मंसिरमा दाङ सदरमुकाम घोराहीमा आक्रमण भयो । पहिलो पटक सैनिक ब्यारेक कब्जा गरेका माओवादी ९ गते बिहान होलेरी पुगेका थिए । त्यहाँ माओवादीको मेला नै थियो । हतियार ओसारपसार भइरहेका थिए । त्यसबेला पनि होलेरी सरकारी निगरानीमा पर्यो ।
त्यसयता होलेरीले धेरै कष्ट बेहोरेको छ । धेरैले बिनाकारण सन्तान गुमाएका छन् । होलेरी आक्रमण गर्ने मुख्य कमान्डर सबै सत्तामा छन् । यति लामो युद्धपछि जनताले के पाए ? यो प्रश्न सबैजसो घरमा छ । रुन्टीगढी–६ होलेरीका भैरवबहादुर विकलाई कत्ति पनि चित्त बुझेको छैन । ११ चैत ०५९ मा छोरा वामदेव विकलाई सेनाले पक्राउ गरेर मार्यो । “हामी कुनै पनि दलमा नभएका सर्वसाधारण मानिसलाई किन सजाय ? मेरो छोरा होलेरीको बासिन्दा भएकै कारण मारियो,” उनले भने, “यसको न्याय कसले दिन्छ ? फेरि नेत्रविक्रम चन्दले युद्ध भनिरहेका छन् । यसलाई सरकारले कसरी रोक्छ ?”
११ मंसिर ०५८ मा संकटकाल घोषणा भएपछि होलेरीबासीले झनै यातना भोगेका थिए । त्यसपछि होलेरीमा प्रहरी बस्न नसक्ने भयो । माओवादीले होलेरीलाई आफ्नो आधार क्षेत्र मान्न थाले । सेनाले निशाना बनाउन थाल्यो । त्यसपछि शान्ति प्रक्रिया नआउँदासम्म कहिल्यै राम्रोसँग निदाउन नपाएको होलेरीकै टपेली डाँगीले बताइन् ।
“माओवादीलाई सधैँ खाना खुवाउनुपर्ने । उनीहरूका हरेक कार्यक्रममा हिँड्नुपर्ने,” उनले भनिन्, “सेना आयो भने नकुटेर कहिल्यै फर्कंदैनथ्यो । माओवादी आएर सेना, पुलिस लुकाएका छौ कि भनेर घर खानतलासी गर्थे ।”
यो पनि पढ्नुस
माओवादी जनयुद्धको उद्गम थलो होलेरी अहिले समृद्धिको लक्ष्य पछ्याइरहेको छ ।
अहिले देशमा राजनीतिक परिवर्तन भए पनि सर्वसाधारणको दैनिकीमा केही बदलाव नआएको उनले बताइन् । “नेताहरू सत्तामा गए, महँगा गाडी चढ्ने भए तर हामीले के पायौँ ?” उनले भनिन्, “हाम्रो अवस्था त उस्तै छ । यहाँको केही विकास भएन ।”
होलेरीमा राम्रो अस्पताल, गुणस्तरीय सडक र युद्धको घाउ बिर्साउने विकासका कार्यक्रम चाहिएको उनले बताइन् ।
अहिले पनि डाक्टर खोज्दै दाङको घोराही पुग्नुपर्छ । सडक डरलाग्दो छ । संघीयता आएपछि होलेरी रुन्टीगढी गाउँपालिकामा पर्छ । सखी, झेनाम, डुब्रिङ, दुविडाँडा, जेदबाङ, मसिना र जौलीपोखरी गाविस मिलाएर रुन्टीगढी बनाइएको हो । अहिले यहाँ २७ हजार ९ सय २९ जनसंख्या छ । यसमध्ये ४६ प्रतिशत जनजाति छन् ।
होलेरी अहिले गाउँपालिका केन्द्र भएको छ । केही चहलपहल बढेको छ । अब यसलाई युद्ध पर्यटनको केन्द्र बनाउने योजना रहेको गाउँपालिका अध्यक्ष बालाराम बुढाले बताए । “पहिले युद्धले आक्रान्त भयो । अब यसलाई युद्ध पर्यटनका रूपमा विकास गर्ने सोचमा छौँ,” उनले भने, “पहिलो आक्रमण भएको स्थल, गुरिल्ला ट्रेकिङ र माओवादी लडाकुका शिविर भएका स्थानलाई पर्यटकीय अवलोकन केन्द्र बनाउने योजनामा छौँ ।”
शान्ति प्रक्रियाका क्रममा रुन्टीगढीकै दहवन र उँघामा माओवादी लडाकुका शिविर बसेका थिए । युद्धकालमा रुन्टीगढीमा राज्य पक्षबाट ३० र विद्रोही पक्षबाट ९ जनाको ज्यान गएको बुढाले बताए ।
प्राकृतिक रूपले पनि होलेरी क्षेत्रलाई महत्त्वपूर्ण गन्तव्य बनाउन सकिने यसबारे अध्ययन गरेका संस्कृतिविद् डा गोविन्द आचार्यले बताए । “स्वर्गद्वारी महाप्रभुको जन्म, तपस्या स्थल पनि यही हो । स्वर्गद्वारी आवागमनका लागि पनि होलेरी महत्त्वपूर्ण केन्द्र छ,” उनले भने, “प्राकृतिक रूपमा पनि हिमालको अवलोकन गर्न पाइने, गुराँसे बगैँचा र ऐतिहासिक धार्मिक क्षेत्र पर्यटन विकासका आकर्षण हुन् ।”