मुलुकको राजनीति फेर्ने होलेरीका नफेरिएका दुःख
होलेरी गाउँपालिकाको केन्द्र त हो तर अहिले पनि डाक्टर खोज्दै दाङको घोराही पुग्नुपर्छ । होलेरीमा राम्रो अस्पताल, गुणस्तरीय सडक र युद्धको घाउ बिर्साउने विकासका कार्यक्रम चाहिएको छ ।
रुपन्देहीको कञ्चन गाउँपालिकाका चूडामणि ढकाल दुवै कान राम्रोसँग सुन्दैनन् । शरीरभरि चोटैचोट छन् । तत्कालीन विद्रोही माओवादीलाई सघाएको अभियोगमा १० माघ ०५८ का ११ वर्षीय छोरा दिनेश र १४ वर्षीय छोरा रमेशका साथ उनलाई सुरक्षाकर्मीले पक्राउ गरेका थिए ।
“तीन बाउछोरालाई सेनाको सालझन्डी ब्यारेकमा लगेर राख्यो । हात काटेर नुनचुक लगायो, नङमा पिन ठोकियो । पिसाब फेर्दा करेन्ट लगायो,” उनी सुनाउँछन्, “छोराहरूको टुपीमा पिन ठोकियो । मेरो शरीरभरि घाउका खत मात्रै छन् । त्यो यातनाले मेरा कान बन्द भए, पिसाब रोकिन छाड्यो ।”
निरन्तर निगरानी बढेपछि उनी लुकीलुकी हिँड्न बाध्य भए । फेरि पक्राउ पर्ने त्रासका कारण जेठा छोरा रमेशलाई विश्वनाथ र कान्छा दिनेशलाई विदुर नाम बनाएर नयाँ स्कुलमा भर्ना गरे पनि नियमित पढ्न पाएनन् । भविष्य बनाउने समयमा छोराहरू बर्बाद भएको र शरीर अशक्त भएको पीडाले उनलाई विक्षिप्त बनाएको छ । अहिले पनि नियमित डिप्रेसनको औषधी खाइरहेका छन् ।
आफूलाई यातना दिने सुरक्षा अधिकारीलाई उनले अहिलेसम्म बिर्सेका छैनन् । सत्य निरुपण तथा मेलमिलाप आयोगले यस्ता घटनामा छानबिन गर्ने भने पनि काम अघि बढ्न सकेन । कतिले माफीको कुरा गरिरहेको हुँदा यसले उनलाई साह्रै पीडा हुन्छ । “हामीलाई यातना दिनेलाई थोरै भए पनि सजाय हुनैपर्छ,” उनी भन्छन्, “जघन्य अपराध गर्नेलाई कसरी माफी दिन सकिन्छ ? त्यो घटना सम्भँmदा पनि जीउ काँप्छ ।”
कपिलवस्तुको शिवराज नगरपालिका–३ का बहाव कुर्मीको तत्कालीन विद्रोही माओवादीले हात, खुट्टा र शरीरका विभिन्न भागमा बञ्चरोले काटेका घाउ अहिले पनि उस्तै छन् । “दायाँ हातका आँैलाको बीचमा बञ्चरो राखेर दाउरा चिरेझैँ मेरो हत्केला चिरिदिए । त्यसपछि दुई औँला नै गुमे,” उनी बयान गर्छन्, “खुट्टामा पनि त्यसैगरी काटे । पूरै जीउ दुखिरहन्छ । औषधी नखाईकन बस्नै सकिँदैन ।”
कुर्मी गाउँमा भएको भैँसी चोरीको घटनामा पूर्ववडा सदस्यका हैसियतले छलफलमा सहभागी भएका थिए । त्यही क्रममा एक पक्षले ठीक पार्छु भन्ने सोचेर उनीविरुद्ध माओवादीमा गलत कुरा सुनाइदिएछ । त्यसपछि १४ चैत ०६१ राती १५ जना माओवादी आएर उनलाई घरदेखि टाढा लिएर गए र काटेर छाडिदिए ।
“अहिले म हातले खान सक्दिनँ । शरीर दु:खेर काम गर्न पनि सक्दिनँ । श्रीमती र ३ छोराहरूको बेहाल छ,” उनी पीडा पोख्छन्, “बिनाकुनै दोष यति ठूलो सजाय पाएको घटनाले मलाई निकै सताउँछ । मलाई काट्नेहरूलाई कारबाही नभएसम्म मनमा शान्ति आउनेवाला छैन ।”
बाँकेको बैजनाथ गाउँपालिका–५ कि उषा दाहाल युद्धकालको घटनाले अहिले पनि त्रसित छिन् । पति दुर्गाबहादुर दाहाल १० भदौ ०५९ मा सुरक्षाकर्मीबाट बेपत्ता पारिए । जेठाजु कमल १७ पुस ०५८ मा बेपत्ता भए । त्यतिले पनि उनले सुख पाइनन् । हरेक रात सेना घरमा आएर उनलाई सतायो । “राती १२ बजे घरमा आएर बन्दुकका कुन्दाले हान्ने, संवेदनशील अंगमा छुन खोज्ने र एकान्तमा लैजान खोज्थे,” उनी भन्छिन्, “म सेना आउनेबित्तिकै बलात्कारको त्रासले छोरालाई च्यापेर बस्थेँ । हरेक पटक दुर्व्यवहार गरे ।” घरमा असुरक्षित भएपछि उनी १३ महिनासम्म माइती गएर बसिन् । “एकातिर श्रीमान् र जेठाजुलाई बेपत्ता पारियो, अर्कोतिर मलाई नियमित यातना,” उनी भन्छिन्, “घर छाडेर हिँड्नुपर्यो । अहिलेसम्म ती घटनाले तर्साइरहन्छन् ।”
मल्लरानी–३ प्युठानकी भूमा पौडेल पनि मानसिक पीडाबाट ग्रस्त छिन् । घटना सुनाउन थाल्यो कि आँसु झरिहाल्छ । तत्कालीन माओवादी निकट महिला संघमा काम गर्ने पौडेललाई १९ कात्तिक ०५५ मा इलाका प्रहरी कार्यालय भालुबाङको टोलीले पक्राउ गर्यो । ६ महिना तुलसीपुर कारागारमा राखेर यातना दियो । “आँखामा पट्टी बाँधेर राखे । अनेक यातना दिए,” उनी भन्छिन्, “जेलबाट छुटेर पनि सुख पाइएन । पटक–पटक पक्राउ गरेर लैजाने र सताउने गरे ।”
नेपालका द्वन्द्वपीडितमा उच्च मानसिक आघात रहेको अध्ययनले पनि देखाएको छ । स्वीडेनको उपसाला विश्वविद्यालय र नेपालको सामाजिक परिवर्तन केन्द्रले ०७४ मा नेपालका ६ जिल्लाका द्वन्द्वपीडितमा मनोसामाजिक स्वास्थ्यसम्बन्धी अनुसन्धान गर्दा दुई तिहाइभन्दा बढीमा चिन्ता, उदासीनता, डर, थकान र निराशा रहेको पाइएको छ । कम्प्युटर प्रविधिबाट नमुना क्षेत्र छनोट गरी स्थलगत अध्ययन गर्दा धेरैमा अझै पनि युद्धको असर देखिएको छ ।
पश्चिम युरोपेली देशहरूमा औसतमा ०.५ देखि २.५ प्रतिशत मात्र व्यक्तिमा द्वन्द्वको आघातजन्य घटनापछि मानसिक तनाव देखिएकामा नेपालमा ३२ प्रतिशतमा यस्तो समस्या रहेको अध्ययनले देखाएको छ । १ हजार १० जनामा गरिएको सर्वेक्षणमा द्वन्द्व प्रभावित क्षेत्रमा ४१ प्रतिशत व्यक्तिमा थ्रेसहोल्डभन्दा उच्च मानसिक तनाव देखिएको छ भने प्रभावित नभएका क्षेत्रमा २० प्रतिशतमा मात्रै । यसले द्वन्द्व प्रभावित क्षेत्रमा बढी मानसिक आघात भएको देखाउँछ । अध्ययनले मानिसमा अझै पनि द्वन्द्वमा सहभागी पक्षप्रति विश्वास नभएको देखाएको छ । ४६ प्रतिशतले तत्कालीन माओवादी नेता वा सदस्यप्रति अहिलेसम्म कत्ति पनि विश्वास नभएको बताएका छन् । यसैगरी २७ प्रतिशतमा सेना तथा प्रहरीप्रति र ३७ प्रतिशतमा अन्य पार्टीका नेता वा सदस्यप्रति कत्ति पनि विश्वास नभएको देखिएको छ ।
अनुसन्धानकर्ता प्रकाश भट्टराईका अनुसार द्वन्द्वपीडितमा आघातजन्य घटनापछि देखिने तनावको स्तर उच्च रहेकाले मनोसामाजिक सहायताद्वारा यसको सम्बोधन गर्न जरुरी छ । उनका अनुसार ४ प्रतिशत व्यक्तिमा अझै पनि हिंसा दोहरिन सक्ने चिन्ता छ । ३४ प्रतिशत पीडितले अहिले दैनिक जीविकोपार्जनका लागि समस्या भोगिरहेको अध्ययनले देखाएको छ ।
“समाजमा मानिस अझै पनि विभिन्न समूहबाट हुन सक्ने खतरा र त्रास महसुस गर्छन् । अन्तरव्यक्ति विश्वासको स्तर एकदमै कम छ,” भट्टराई भन्छन्, “द्वन्द्वमा पुरुषको तुलनामा महिलाले बढी पीडा भोगेका कारण यस्तो भएको हुन सक्छ ।”
सशस्त्र द्वन्द्वले धेरैको आधा शरीर मात्र बचाएको छ, आधा युद्धले खाइदिएको छ । त्यही बचेको शरीरले युद्ध सम्झाइरहन्छ । सल्यान कालिमाटीका भूपेन्द्र खत्रीले बायाँ खुट्टा गुमाएका छन् । बैसाखीको भरमा हिँड्दा युद्धकालीन दिनको झल्को आइरहन्छ, उनलाई । १६ माघ ०५८ राती सुतिरहेका बेला तत्कालीन विद्रोही माओवादीले श्रीमतीलाई घरको थाममा बाँधे अनि खत्रीलाई लिएर गए । आधा किलोमिटर टाढा पुगेपछि उनलाई सुताए । खुट्टामुनि ढुंगा राखे अनि माथिबाट फलामको घनले थिचे । त्यसपछि उनको बायाँ खुट्टा काट्नुपर्यो ।
कांग्रेसबाट कालिमाटी गाविसका पूर्वअध्यक्ष भएका कारण उनलाई कारबाही गरिएको थियो । “घटना पुरानो हुँदै गए पनि घाउ बल्झिइरहन्छ । युद्धको घाउ कहिल्यै निको हुँदो रहेनछ,” उनले भने, “हामीलाई अंगभंग बनाउने दोषीलाई कारबाही नहुँदासम्म मनले शान्ति पाउँदैन ।”
तुलसीपुर उपमहानगर–११ जसपुर दाङका कुलबहादुर वली बोल्न र सुन्न सुन्दैनन् । श्रीमती सुन्दरी वलीको भरमा हिँड्डुल गर्छन् । भर्भराउँदो जवानीमा नेपाल प्रहरीमा जागिरे भएका वली १४ पुस ०५४ मा जाजरकोटको सकला प्रहरी चौकीमा कार्यरत हुँदा तत्कालीन विद्रोही माओवादीले थापेको एम्बुसमा परी सख्त घाइते भए । बमको धक्काले कानका जाली फुटे । त्यसपछि उनी सदाका लागि बोल्न र सुन्न नसक्ने भए ।
देशको सुरक्षाका लागि भन्दै ज्यानको बाजी थापेर दुर्गम क्षेत्रमा खटिएका बेला माओवादी लडाकुको आक्रमणमा परेपछि उनको जीवनले अर्कै मोड लियो ।
उक्त घटनापछि उनले पाँच वर्षमै जागिर छाड्नुपर्यो । अहिले उनी अरूको भाषा बुझ्दैनन्, आफ्नो भाषा बुझाउन पनि सक्दैनन् । “सानैदेखि बोल्न नसक्ने भएको भए सांकेतिक भाषा बोल्न सकिन्थ्यो होला । आधा उमेरमा यस्तो हालत भएपछि भाषा बुझ्न र बुझाउन समस्या भएको छ,” कागजमा लेख्छन्, “अझै पनि औषधी खाइरहनुपर्छ । दुई छोरा पालनपोषणको चिन्ता छ ।” युद्धले श्रीमान्को आधा जीवन बर्बाद पारेको श्रीमती सुन्दरीले बताइन् । “कमाउन गएका मान्छे बोल्न र सुन्न नसक्ने भएर आए । उल्टै खर्च गरेर औषधी गर्नुपर्ने भयो,” उनी भन्छिन्, “उहाँको स्याहारमा लाग्दा अरू काम गर्नै भ्याइँदैन । कसरी ज्यान पाल्ने भन्ने चिन्ता छ ।”
चौरजहारी नगरपालिका–११, खोलागाउँ, रुकुम पश्चिमका गोपालप्रसाद शर्माका दुवै आँखा बन्द छन् । उनी पनि अरूकै सहारामा जीवन चलाइरहेका छन् । कांग्रेसबाट खोलागाउँ गाविस अध्यक्ष भएका शर्माले ११ साउन ०५५ मा आँखाको ज्योति गुमाएका हुन् । त्यस दिन राती आएको तत्कालीन विद्रोही माओवादीको समूहले उनलाई मरणासन्न हुने गरी पिट्यो र अन्तमा आँखामा तेजाब हालिदियो । त्यसपछि उनले संसार देख्न छाडे ।
काठमाडौँमा ९ महिना उपचार गर्दा पनि आँखाको ज्योति आउन सकेन । आँखा गुमाएर पनि उनी गाउँ फर्कन सकेनन् । अहिले पनि उनको १ हजार ७ सय वर्गमिटर जग्गा कब्जामै छ । उनी युद्धकालदेखि नै बाँकेको कोहलपुरमा विस्थापित जीवन बिताइरहेका छन् । श्रीमती विष्णु शर्मा उनलाई हात समाएर हिँडाउँछिन् । “श्रीमतीको हात समाएर जीवन चलेको छ । २१ वर्षदेखि यो सजाय भोगिरहेको छु,” उनी भन्छन्, “अहिलेसम्म हाम्रो आवाज कसैले सुनेको छैन । हामीले आँखा गुमायौँ, यातना भोग्यौँ, घरबारविहीन भयौँ तर न्याय दिन कोही तयार भएन ।”
तुलसीपुर–१८ दूधराश दाङका चक्रपाणि शर्मा दुवै हातमा बैसाखी टेकेर बल्लबल्ल हिँड्न सक्छन् । माओवादी लडाकु भएका शर्मालाई २५ चैत ०६१ मा रुकुमको खारास्थित सैनिक ब्यारेक आक्रमण गर्ने क्रममा बमको छर्रा लाग्यो । उनको मेरुदण्ड नै नचल्ने भयो । त्यसपछि अहिलेसम्म उनी निरन्तर उपचारमा छन् । “छोराछोरीको लालनपालन, शिक्षा, स्वास्थ्यको समस्या छ । युद्ध लडेर देशमा परिवर्तन ल्याइयो,” उनी भन्छन्, “अहिले हाम्रो त्याग र बलिदानकै कारण नेताहरू सत्तामा छन् । आधा शरीर लिएर बाँचे पनि देशमा सत्ता फेरियो भनेर चित्त बुझाएका छौँ ।”
यो पनि पढ्नुस
होलेरी गाउँपालिकाको केन्द्र त हो तर अहिले पनि डाक्टर खोज्दै दाङको घोराही पुग्नुपर्छ । होलेरीमा राम्रो अस्पताल, गुणस्तरीय सडक र युद्धको घाउ बिर्साउने विकासका कार्यक्रम चाहिएको छ ।
युद्धका बेला कतिपय विद्रोही या सरकारी सुरक्षाफौजमा सहभागी भएरै पीडित भएका छन् भने कति अनाहकमा चोट भोग्न बाध्य । आफ्नै पेसामा रहेर सहज जीवन चलाइरहेका बेला अनाहकमा उनीहरू युद्धको सिकार भए । त्यो घटनाको घाउले अहिले पनि उनीहरूलाई मर्नु न बाँच्नु बनाएको छ ।
तुलसीपुर उपमहानगर–१७ दाङका रामजी थारु बैसाखी टेकेर हिँड्छन् । किसानी गर्ने थारुलाई द्वन्द्वले अपांग बनायो । ११ जेठ ०५५ राती आएका ६/७ माओवादीलाई घरमै बस्न दिए । खाना खुवाए । सुरक्षाकर्मीको त्रासले माओवादीलाई पठाएर सुत्ने योजनाअनुसार उनी माथिल्लो तलामा गए । माओवादीले हतियार मिलाएर राख्ने क्रममा एउटा बन्दुक पड्कियो र थारुको दायाँ खुट्टामा गोली लाग्यो ।
लामो समय उपचार गर्दा पनि खुट्टा ठीक हुन सकेन । अन्तमा बैसाखीको सहारामा हिँड्नुपर्ने भयो । खेतीपाती गरेर जीवन गुजारा गर्दै आएका थारुलाई घरको काम गर्न कठिन भयो । “म अशक्त भएपछि छोराहरू सबै पढाइ छाडेर घरको काममा लागे,” ७० वर्षीय थारु भन्छन्, “उपचार खर्च, क्षतिपूर्ति भनेर धेरै ठाउँमा धाएँ तर कतैबाट केही पाइएन । हामीजस्ता निर्दोषलाई कसले न्याय दिन्छ ?”
बर्दिया ढोडेरीका कृष्णराज योगीका टाउकामा अझै पनि गोली छन् । राम्रोसँग हिँड्न सक्दैनन् । ४ असोज ०६० मा ढोडरीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा पढाइरहेका बेला एक्कासि माओवादी आएर उनलाई नियन्त्रणमा लिए । कांग्रेस समर्थक भएकै कारण उनलाई एक सय मिटर टाढाको नर्सरीमा लगे अनि गोली हाने । योगी २१ दिनपछि होसमा आउँदा लखनउमा उपचार भइरहेको थियो ।
“माओवादीले मर्यो भनेर छाडिदिएका रहेछन् तर म बाँचेँ,” उनी भन्छन्, “त्यो गोली अझै टाउकामा छ । गोलीकै कारण शरीर नचल्ने भएको छ ।”
गोलीका कारण उनको बायाँ हात र खुट्टासँगै आधा शरीर चल्दैन । माओवादीको गोली खाएर पीडित भइरहेका बेला सरकारले १२ वर्षदेखि पढाउँदै आएको जागिर पनि खाइदियो । “म अशक्त भएपछि सबैले साथ छाडे । पढाउन सक्दैन भनेर जागिर पनि खाइदिए,” उनी भन्छन्, “अहिले मलाई त्यो घटना र गोलीले औधी पीडा दिइरहेको छ ।”
सशस्त्र द्वन्द्वले केहीलाई दोस्रो जीवन दिएको छ । मरेको भनेर माया मारिसकेका बेला उनीहरू दोस्रो जीवन पाएर घर फर्केका छन् । भाग्यले बाँचेका ती पात्रले पनि युद्धलाई भुल्न सक्ने अवस्था छैन । दाङ तुलसीपुर उपमहानगर–१५ पहरुवाका बलसुन्द्रा चौधरी २१ भदौ ०५९ दिउँसो थारु परम्पराअनुसार गुरुवाको पूजा गरिरहेका थिए । त्यही बेला सेना आएर उनीसहित नौ जना थारु किसानलाई पक्राउ गर्यो । सबैलाई बाटैभरि यातना दिँदै लगियो । त्यही क्रममा उनलाई मरणासन्न हुने गरी पिटियो । मर्यो भनेर बाटोमै फालियो । “पछि होस आउँदा हातखुट्टा लागिरहेका थिएनन् । जीउ थर्थरी काँपेको थियो,” उनी भन्छन्, “बल्लबल्ल उठेँ । नजिकै रहेका मानिसलाई घटनाबारे सोधेँ । आफूसँगै पक्राउ परेका सबै मारिएको थाहा पाएँ । त्यसपछि घर जान सकिनँ । भारततिर भागेँ ।”
लामो समयसम्म घरपरिवारलाई उनको अवस्थाबारे केही थाहा थिएन । शान्तिपूर्ण वातावरण भएपछि मात्रै उनी घर फर्के । त्यो घटना सम्झिए भने बेचैन हुन्छन् । “त्यो दिन सम्झियो भने हातखुट्टा लाग्न छाड्छन् । केही कामै गर्न मन लाग्दैन,” उनले भने, “अहिले पनि डर लाग्छ ।” खेतीकिसानी गरेर जीविका चलाइरहेका थारु किसानलाई एक ठाउँमा जम्मा भएको भनेर पक्राउ गरिएको थियो । दाङको दंगिशरण गाउँपालिकास्थित कौवाघारीका छविलाल सार्की पनि मरेर बाँचे । १६ साउन ०५९ बिहान ७ बजेतिर कौवाघारी गाउँका १३ जना सार्की दाजुभाइ हलो, जुवा काट्न खुकुरी, बञ्चरो बोकेर दक्षिणपट्टिको राजाकोट जंगलतिर उकालो लागेका थिए । केही उकालो चढेर डाँडामा थकाइ मारिरहेका बेला राजाकोटमा रहेको नेपाली सेनाले चारैतिरबाट घेरा हाल्यो । माओवादी आरोपमा सबैलाई पक्राउ गरी सैनिक क्याम्प लगियो । केही बेर राखिसकेपछि ५० मिटर ओरालो झारेर लाइन लगायो, कपडा खोल्न लगायो र गोली हान्ने तयारी भयो । उनी आत्तिएर भीरबाट हाम फाले । चारैतिर गोली बर्सियो तर पनि उनी भाग्यले बाँचे । अरू १२ जनाको एकै चिहान भयो ।
छविलाल त्यसपछि घर बस्न सकेनन् । भारतमा भासिए । उनी मरेको भनेर गाउँमा छविलालचोक बन्यो । शान्ति प्रक्रियापछि ०६३ मा मात्र उनी घर फर्के । “घर फर्कंदा सबै अचम्म परे, मेरो नाममा चोक नै बनिसकेको रहेछ । पुरानो घटनाले झनै सतायो । फेरि भारत फर्कें,” उनी भन्छन्, “चार वर्ष बसेर मात्र घर फर्कें । गाउँ बस्दा झनै डर लाग्थ्यो ।” श्रीमती र छोराछोरीले धेरै अनुरोध गरेपछि मात्र उनी घर बस्न थाले ।
द्वन्द्वका क्रममा जिल्लामा अनाहकमा सर्वसाधारण मारिएका यस्ता धेरै घटना छन् । घोराहीको बेलुवामा नौ, तुलसीपुरको फूलबारीमा ६, दंगिशरणको गोल्टाकुरीमा १२ र तुलसीपुरको पहरुवामा ८ जना सर्वसाधारण बिनाकारण सुरक्षाकर्मीबाट मारिएका छन् । उनीहरूको विषयमा राष्ट्रिय मानव अधिकार अयोगले समेत अध्ययन गरी निर्दोष मारिएको ठहर गरिसकेको छ । युद्धले सबैभन्दा बढी प्रभाव पारेका राप्तीका पाँच जिल्लामा पीडित बढी छन् । इन्सेकको तथ्यांकअनुसार दस वर्षे युद्धका क्रममा राप्तीका पाँच जिल्लामा राज्यबाट १ हजार ६ सय ८ र माओवादीबाट १ सय ६१ जना सर्वसाधारणको हत्या भएको छ । यसैगरी देशभरि राज्यबाट ८ हजार २ सय ५८ र माओवादीबाट २ हजार ६ सय ३४ सर्वसाधारणको हत्या भएको छ ।
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...