विश्वभर महामारीका रूपमा फैलिएको कोरोनाको मनोवैज्ञानिक त्रास सर्वसाधारणदेखि स्वास्थ्यकर्मीस...
कमान्डरदेखि सिरियल क्राइमसम्म : एमाले-माओवादी एकताले छोपिएको एउटा हत्याकाण्ड
गोंगबु, सुन्धारा र ठमेलका दोहोरी साँझ पारखीको नजरमा एउटा अनुहार बारम्बार ठोक्किइरहन्छ । गम्भीर हाउभाउ तर रसिक आनीबानी । रात छिप्पिँदै जाँदा ती पात्र बिल तिर्न कहिले साथी बोलाउँछन्, कहिले हत्केलामा पैसा राखेर कलाकारलाई टिप्स उडाउने सोख पूरा गर्छन् ।
ती दोहोरीप्रेमी अरू कोही नभएर माओवादी सशस्त्र द्वन्द्वकालका एक कमान्डर कालीबहादुर खाम ‘विविध’ हुन् । प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका उनी कोटेश्वरका रेस्टुरेन्ट व्यवसायी रामहरि श्रेष्ठको हत्याका मुख्य अभियुक्त हुन् । त्यहाँबाट सुरु अपराध शृंखला डाँका–चोरी, सरकारी कागजात किर्ते र हातहतियार खरखजानासम्म पुग्यो । पर्दाभित्र रक्तचन्दन, यार्सा, सुन र गिटी–बालुवा तस्करीको अवैध सञ्जाल देखिन्छ ।
प्रहरीको ट्रयाक रेकर्डमा उनी सिरियल क्राइमका मुख्य अभियुक्त हुन् । प्रहरीले फरार सूचीमा राखेर एक दशकदेखि उनको खोजी गरिरहेको छ । भेट्न चाहने जोकोहीका लागि सहजै उपलब्ध खामलाई प्रहरीले भने भेटाउन सकेको छैन । उनी काठमाडौँ सामाखुसीमा बस्छन्, निजी स्कार्पियो गाडीमा हुइँकिन्छन् । ठेक्कापट्टाका विभिन्न काममा अप्रत्यक्ष जोडिएर सिंहदरबार वरपरै देखिइरहन्छन् ।
यौन दुराचारको मुद्दामा हिरासतमा रहेकै बेला पूर्वसभामुख कृष्णबहादुर महरा स्वास्थ्यको कारण देखाई नर्भिक अस्पताल भर्ना भएका थिए । त्यसैबेला पूर्वलडाकु कमान्डरहरूले १३ कात्तिकमा उनलाई अस्पतालमै पुगेर सामूहिक भेटे । त्यो टोली नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न नर्भिकबाट सीधै खुमलटार पुग्यो । ती दुवै भेटघाटको अगुवाइ उनै खामले गरेका थिए ।
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबाहेक सबै पूर्वलडाकु डिभिजन कमान्डर ती भेटमा सँगै थिए । प्रचण्डकै अगाडि खामले ऊर्जामन्त्री वर्षमान पुनको आलोचना मात्र गरेनन्, ‘यस्तै रवैया रहिरहे रोल्पामा खुट्टा हाल्न नदिने’ धम्कीसमेत दिएको सहभागी एक पूर्वकमान्डर बताउँछन् । यी सबै घटनाक्रम थाहा पाएका एक उच्च प्रहरी अधिकृत भन्छन्, “खाम मोस्ट वान्टेड अभियुक्त हुन् भन्नु मात्रै छ । उनलाई खोज्ने र पक्राउ गर्ने स्थिति अहिले छैन भन्ने प्रहरीले राम्ररी बुझेको छ ।”
सुरुदेखि नै उनको अपराधलाई माओवादीले राजनीतिक संरक्षण दिँदै आएको छ । ०६५ मा प्रचण्डको नेतृत्वमा माओवादी पहिलोपल्ट सरकारमा पुग्यो । रक्षामन्त्री बने, रामबहादुर थापा ‘बादल’ । केही महिना उनैले खामलाई आफूसँग राखेर संरक्षण दिए । चितवनको एउटा सार्वजनिक कार्यक्रममा खाम बादलसँगै देखिएपछि सदनदेखि सडकसम्मै त्यसको चर्को विरोध भयो । त्यसपछि हो, खाम नेताहरूसँग देखिन छाडेको । भित्रभित्रै भने पूर्वमाओवादी उच्च नेतृत्वसँग उनको सम्बन्ध अटुट छ ।
त्यो बुझेरै ९ असोज ०६६ मा संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्त प्रमुख रिचर्ड बेनेटले समेत खामलाई अनुसन्धानका लागि प्रहरीसमक्ष आत्मसमर्पण गराउन माओवादी अध्यक्ष प्रचण्डलाई पत्र लेखेका थिए । तर प्रचण्डले मानेनन् । पूर्वमाओवादीमा उनीप्रतिको मोह कतिसम्म देखियो भने सिरियल क्राइमका मोस्ट वान्टेड अभियुक्त खामलाई कुनै समय सशस्त्र प्रहरीले सुरक्षा दिन्थ्यो । ०६७ चैतमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको निर्देशनमा गृहमन्त्री विजयकुमार गच्छदारले असईको नेतृत्वमा तीन सशस्त्र प्रहरीलाई खामको सुरक्षार्थ खटाएका थिए ।
०६६ मा माधवकुमार नेपाल प्रधानमन्त्री निर्वाचित भएको भोलिपल्टै कोटेश्वरस्थित श्रेष्ठ निवासमा पुगेर आश्वासन दिएका थिए, ‘दोषी उम्किन्न । मैले यही घटनाबाट काम सुरु गर्छु ।’ लगत्तै, प्रहरीले खामको खोजी गर्न टोली खटायो । उनी माओवादी नेताको संरक्षणमा उपत्यकाभित्रै रहे पनि प्रहरीले भेटाउन सकेन ।
माओवादी अध्यक्ष प्रचण्डले तत्कालीन गृहमन्त्री भीम रावललाई निवासमै बोलाएर त्यसबारे चासो पनि राखेका थिए । रावलले खामलाई पक्राउ गर्न प्रचण्डसित सहयोग मागेका थिए । तर प्रचण्डले उनी आफ्नो सम्पर्कमा नभएको बताएर पन्छिए । जबकि माओवादीले उनलाई एमालेसँग पार्टी एकता हुनुअघिसम्म केन्द्रीय सदस्यमै राखिरहेको थियो ।
०६३ मा माओवादी शान्ति प्रक्रियामा आएपछि लडाकु कमान्डर खामको टोलीले कोटेश्वर क्षेत्रमा डेरा खोज्न थाल्यो । श्रेष्ठको घरको दोस्रो तला खाली थियो । उनीहरूले सुरुमा म्यानपावर कम्पनीका लागि कोठा चाहिएको भनेका थिए । त्यही बुझेर श्रेष्ठले कोठा भाडामा लगाए । डेरावाल माओवादी लडाकु कमान्डर हुन् भन्ने उनीहरूले त्यतिबेला थाहा पाए, जब खामले अध्यक्ष प्रचण्डसहित बाबुराम भट्टराई, रामबहादुर थापा ‘बादल’ लाई खाना खुवाउन अनुरोध गरे । ‘तपाईंहरू रेस्टुरेन्ट सञ्चालक हुनुहुन्छ, मैले नेताहरूलाई खाना खुवाउनुपर्ने भयो’ भनेर आग्रह गरेको रामहरिपत्नी रमिला श्रेष्ठ सम्झिन्छिन् । भन्छिन्, “म्यानपावर कम्पनीको अफिस राख्ने भनेर डेरा दिएका थियौँ । नेताहरूलाई खाना खुवाउन भनेपछि मात्र माओवादी रहेछन् भन्ने थाहा पायौँ ।”
माओवादीले खामको डेरालाई जनमुक्ति सेनाको तेस्रो डिभिजनको सम्पर्क कार्यालय बनाएको थियो । खामलगायतका लडाकु कमान्डर काठमाडौँ रहँदा त्यहीँ बस्थे । १४ चैत ०६४ राती सम्पर्क कार्यालयबाट पेस्तोल र १७ लाख रुपैयाँ चोरी भयो भनियो । हल्लाखल्ला मच्चिएपछि पैसा र हतियार त भेटिए तर छानबिनको नाममा घरबेटी श्रेष्ठले भने अनाहकमा ज्यान गुमाउनुपर्यो ।
चोरीको सो घटना अनुसन्धानका लागि भन्दै गोविन्दबहादुर बटाला ‘जीवित’ ले श्रेष्ठलाई १५ वैशाख राती २ बजे अपहरण गरेर शक्तिखोरस्थित लडाकु शिविर पुर्याए । सोधपुछका क्रममा गरिएको कुटपिटबाट उनको ज्यान गयो । बटालाले अदालतमा दिएको बयानमा शक्तिखोर लगेर अनुसन्धान गर्ने क्रममा श्रेष्ठले पेस्तोल चोरी गरेको स्वीकारेको दाबी गरिएको छ ।
चोरीमा केशव अधिकारी ‘रघु’ र गंगाराम थापा ‘एटम’ पनि संलग्न भएको श्रेष्ठले पोल खोलेको दिन तीनै जनालाई २८ वैशाखमा एउटै कोठामा राखिएको थियो । पोल खोलिदिएको झोकमा रघु र एटमको कुटपिटबाट श्रेष्ठको टाउको, छाती र खुट्टामा गम्भीर चोट लागी बेहोस भएपछि लडाकु शिविरकै गाडीमा राखेर उपचारका निम्ति काठमाडौँ लैजाने क्रममा भालुढुंगामा पुग्दा श्रेष्ठको मृत्यु भएको उनको दाबी छ । ‘डिभिजन कमान्डर खामलाई खबर गरौँ भनेको थिएँ तर रघु र एटमले तन्नामा बेरी त्यसमा ढुंगा हालेर मेरो सहमतिबिनै झोलुंगे पुलबाट नारायणी नदीमा फालिदिए,’ बयानमा भनिएको छ । एटम डिभिजन कमान्डर खामकै अंगरक्षक थिए ।
मुख्य दोषी खुलेआम घुमिरहेको छ । कारबाही गराउँछु भन्ने नेतासँग भेट्छ तर प्रहरीले पक्रिँदैन । पहिले–पहिले आशा लाग्थ्यो । पार्टी एकतापछि त्यो आशा पनि मरेर गयो । — रमिला श्रेष्ठ (रामहरि पत्नी)
पहिलो संविधानसभा निर्वाचनमा माओवादी सबैभन्दा ठूलो पार्टी बन्यो । तर रामहरि हत्या प्रकरणले उसलाई अप्ठेरोमा पारिदियो । माओवादीबाहेक सबै पार्टीहरू विरोधमा उत्रिएका थिए । घटना कांग्रेस र एमालेले चुनावी पराजयको पीडा पोख्ने विषयजस्तो पनि बनिदियो । सत्तारोहणको तयारीमा रहेका माओवादी अध्यक्ष प्रचण्डलाई लामै समय यो घटनाले तनाव दिएको थियो । त्यसैले उनी खाम, बटालासहित चारै जना लडाकुमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गर्ने सहमति गर्न बाध्य भए । कोटेश्वर नागरिक संघर्ष समिति र रामहरिपत्नी रमिलासँग १४ जेठ ०६५ मा प्रचण्डले गरेको सात बुँदे सहमतिमा रामहरिमाथि तेस्रो डिभिजनले लगाएको चोरीको आरोपसमेत गलत रहेको स्वीकारिएको थियो ।
प्रचण्डले चाहेको भए खाम त्यतिबेलै पक्राउ पर्न सक्थे । श्रेष्ठको अपहरण तथा हत्याका मुख्य अभियुक्त खाम निर्दोष भए सफाइ पाउने कानुनी बाटो छँदै थियो । तर राजनीतिक संरक्षण गरिदिँदा जनयुद्धका कमान्डर एकपछि अर्को अपराध कर्ममा मुछिँदै गए र मोस्ट वान्टेड अभियुक्त बन्ने पुगे ।
०७० को संविधानसभा र ०७४ को स्थानीय तह चुनावसम्म एमालेले यो घटनालाई खुबै उठायो । माओवादीसँग पार्टी एकतापछि भने पूर्वएमाले नेताहरू चुपचाप छन् । “अन्यायमा पर्दा पार्टीका नेताहरू देउता बनेर आएर हाम्रो दु:खमा साथ दिए तर अहिले बोलिदिने पनि कोही छैन,” रमिला खेद प्रकट गर्छिन् ।
रामहरि हत्या प्रकरणलाई तत्कालीन एमालेले माओवादीसँग जुध्ने हतियार बनाएको थियो । त्यही आन्दोलनबाट उपत्यकामा वाईसीएलविरुद्ध युवा संघले त्यस्तै प्रकृतिको लडाकु दस्ता युथ फोर्स भिडाएको थियो । युथ फोर्सका तत्कालीन अध्यक्ष महेश बस्नेतलगायत नेतालाई यही घटनाले चर्चित बनायो । अहिले बस्नेतसमेत मौन छन् । भन्छन्, “पार्टी एकतापछि पहिलेझैँ आवाज उठाउन गाह्रो भएको सत्य हो । तर मुख्य अभियुक्त कालीबहादुर खाम नेकपा सदस्य छैनन् । त्यसैले संरक्षण गरिराख्नुपर्ने कारण देख्दिनँ ।”
रामहरि काण्ड ओझेल पर्नुमा पूर्वएमालेको गुटबन्दीले पनि काम गरेको स्रोत बताउँछ । श्रेष्ठका आफन्त नेता नेपाल निकट छन् । त्यसैले केपी ओली समूहले यो मुद्दाबाट हात झिकेको गुनासो परिवारको छ ।
नागरिक स्तरबाट पनि विरोध भएपछि माओवादीले ब्रिगेड कमान्डर गोविन्दबहादुर बटालालाई प्रहरीमा बुझाएर परिस्थिति थामथुम पार्ने रणनीति लिएको थियो । पार्टी नेतृत्वले तीन महिनाभित्र रिहा गर्ने वचन दिएपछि बटाला प्रहरी हिरासतमा जान तयार भए । उनलाई आवश्यक कानुनी कारबाहीका लागि भन्दै ३ जेठ ०६५ मा जिल्ला प्रहरी कार्यालय चितवनमा बुझाइयो । डिभिजन सहकमान्डर पदम लामा ‘सञ्जीव’ ले जनमुक्ति सेनाको लेटरप्याडमा प्रहरीलाई लेखेको पत्रमा आरोपित लमजुङ, भार्तेका केशव अधिकारी र रुकुम, घेत्माका गंगाराम थापा फरार रहेको र उनीहरूको पनि खोजी भइरहेको दाबी गरेका थिए । जबकि दुवैलाई शक्तिखोरमै लुकाइएको थियो ।
जिल्ला अदालत चितवनले १७ जेठ ०६८ मा बटालालाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १७ (३) बमोजिम तीन वर्ष कैद हुने फैसला गर्यो । तर ३ जेठ ०६५ देखि प्रहरी हिरासत र २९ जेठ ०६६ देखि अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा रहँदै उनले तीन वर्ष कैद भुक्तान गरिसकेकाले रिहा भए । पुनरावेदन अदालत हेटौँडाका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र विनोदकुमार शर्माको संयुक्त इजलासले पनि ५ माघमा जिल्ला अदालतको फैसला सदर गरेपछि बटालाको मुद्दा अहिले सर्वोच्चमा चलिरहेको छ ।
जिल्ला अदालतले त्यतिबेलै मुख्य अभियुक्त कालीबहादुर खाम, केशव अधिकारी, गंगाराम थापा र चालक अर्जुन कार्कीको मुद्दा मुल्तवीमा राखेको थियो । त्यसको अर्थ उनीहरूको सम्पत्ति रोक्का गरी दुई वर्षपछि फैसला गर्नुपर्ने हो । तर अदालतले त्यो प्रक्रिया पनि अघि बढाएको छैन ।
माओवादी द्वन्द्वको नेतृत्वकर्ता शक्तिशाली नेताले लिखित सहमति गरेपछि खाम पक्राउ पर्ने आशामा त्यतिबेला आन्दोलन स्थगित गरिए पनि प्रचण्डले पीडित परिवारलाई धोका दिएको रामहरिपत्नी रमिला बताउँछिन् । “मुख्य दोषी खुलेआम घुमिरहेको छ । कारबाही गराउँछु भन्ने नेतासँग भेट्छ तर प्रहरीले पत्रिँmदैन,” उनी भन्छिन्, “पहिले–पहिले आशा लाग्थ्यो । कुनै न कुनै दिन त कानुनी कठघरामा आउला भन्ने लाग्थ्यो । पार्टी एकतापछि त्यो आशा पनि मरेर गयो ।”
कुनै बेला पूर्वमाओवादी लडाकुभित्र साहसी कमान्डर मानिने खाम शान्ति प्रक्रियामा आएपछि निरन्तर विवादमा पर्न थालेका हुन् । चितवन शक्तिखोरस्थित तेस्रो डिभिजनको कमान्डर रहँदा उनले लडाकु शिविरलाई तस्करीको अखडा बनाइदिए । रक्तचन्दन, सुन, ढुंगा–गिटी, बालुवा र यार्सा तस्करीमा लडाकु परिचालन गरिए । खामले तस्करीका लागि ब्रिगेड कमान्डरहरूलाई जिम्मेवारी छुट्याएरै खटाएको स्रोत बताउँछ । त्यतिबेला कल्याण स्मृति ब्रिगेडमा सूर्य पौडेल (सरल सहयात्री), बेथान स्मृतिमा वियोग मगर, वासु स्मृतिमा प्रदीप वालाचन, दिनेश रामजी ब्रिगेडमा सविन र डिभिजन कार्यालय ब्रिगेडमा गोविन्दबहादुर बटाला कमान्डर थिए । यिनै कमान्डरको सहयोगमा खामले रक्तचन्दन, सुन, गिटी–बालुवा र यार्सा तस्करीलाई अघि बढाए ।
ब्रिगेड कमान्डरद्वय पौडेल र वियोगलाई रक्तचन्दन तस्करीमा खटाइएको दाबी गर्ने स्रोत भन्छ, “कब्जा गरिएको अवैध रक्तचन्दन बिक्री गर्ने जिम्मेवारी उनीहरूलाई थियो ।” लडाकु शिविरमा ल्याइएको एक ट्रक रक्तचन्दन पनि पौडेलले नै लगेको पूर्वकमान्डर बताउँछन् । सिन्धुपाल्चोकबासी भएकाले पनि उनलाई रक्तचन्दन र सुन तस्करीमा लगाइएको थियो । अर्का ब्रिगेड कमान्डर युवराज दुलाल ‘शरद’ पनि अवैध तस्करीमा सामेल थिए । शिविरबाट बाहिर आएपछि अध्यक्ष प्रचण्डको सुरक्षामा पनि खटिएका उनी अहिले बाग्मती प्रदेशमन्त्री छन् । खामपछि तेस्रो डिभिजन कमान्डर बनेका धनबहादुर मास्के ‘राजेश’ ढुंगा–गिटी, बालुवामा मुछिए ।
एकातर्फ वन तथा वातावरणमन्त्री मातृका यादव रक्तचन्दन र ढुंगा–गिटी, बालुवा अवैध धन्दा बन्द गर्न लागिपरेका थिए । अर्कोतर्फ लडाकु समूह भने समानान्तर टोली बनाएर ‘कब्जा’ गर्ने र आफैँ तस्करी गर्ने गथ्र्यो । मन्त्री यादवलाई योङ कम्युनिस्ट लिग (वाईसीएल) का तत्कालीन उपत्यका इन्चार्ज चन्द्रबहादुर थापा ‘सागर’ को सहयोग थियो । शक्तिखोर लडाकु कमान्डरका अवैध गतिविधिबाट यादव आजित भइसकेका थिए । रक्तचन्दनसँगै हरेकपल्ट कोही न कोही लडाकुसमेत पक्राउ पर्थे । “लडाकु कमान्डर नै तस्करीमा संलग्न रहेको थाहा पाएपछि यादव पछि हटेर राजीनामा दिने स्थिति आएको हो,” एक पूर्वकमान्डर भन्छन् ।
सरकारले उपलब्ध गराउने भनिएको रासनभत्ता सुरुका १३ महिना लडाकुले पाएनन् । त्यसैलाई निहुँ बनाएर डिभिजन कमान्डर खामले ‘तस्करी नियन्त्रण’ को योजना बनाए । एउटा स्थितिसम्म पार्टी खर्च व्यवस्थापनका लागि भन्दै लडाकुहरूले तस्करी सुरु गरेका थिए । तर पछि त्यसैलाई पेसा बनाएको उल्लेख गर्दै प्रताप स्मृति ब्रिगेडका तत्कालीन सहायक कमान्डर शंकर बोहरा ‘निर्मल’ भन्छन्, “सिद्धान्त, आदर्श र स्कुलिङ एकातिर छाडेर कमान्डरहरू तस्करीमा सामेल भएको देख्दा दु:ख लाग्छ ।”
डिभिजनको आर्थिक विभाग हेर्ने ब्रिगेड सचिवको जिम्मेवारीमा थिइन्, सुशीला गौतम ‘सुष्मा’ । रासनभत्ता नआएकैले तस्करी गरेर लडाकु पाल्नुपर्ने स्थिति आएको विवादित कमान्डरको दाबी उनी ठाडै अस्वीकार गर्छिन् । उनका अनुसार लडाकुका लागि उधारोमा खाद्यान्न ल्याइएको थियो । सरकारले बजेट निकासा गरेपछि भरतपुरस्थित राष्ट्रिय वाणिज्य बैंकबाट एकमुष्ट १४ करोड झिकेर ऋण तिरेको सम्भिँmदै गौतम भन्छिन्, “अरू केही होइन, शान्ति प्रक्रियामा आएपछि कमरेडहरू बिग्रेका हुन् । भ्रष्ट भएका हुन् ।”
अनमिनले प्रमाणीकरण गरेका १९ हजार ६ सय २ लडाकुमध्ये ३ हजार ९ सय ५० शक्तिखोरमै थिए । उनीहरूलाई सरकारले उपलब्ध गराएको मासिक ५ हजार रुपैयाँ भत्तामध्ये १ हजार पार्टीले लेबी लिन्थ्यो भने १ हजार वाइसीएलका लागि भन्दै कट्टा गरिन्थ्यो । तैपनि कमान्डरहरूले शान्ति प्रक्रियामा पार्टी चल्नुपर्यो भन्दै अवैध गतिविधिमा लाग्दा नरोक्नुको परिणाम अहिले देखिएको गौतम बताउँछिन् ।
बालाजु पाँचौँ विस्तारित बैठक (१८–२३ साउन ०६४) मा माओवादी मूल नेतृत्व संविधानसभामा जाने कि नजाने भन्ने गरमागरम बहससँगै लडाकु शिविरभित्रका असन्तुष्टि पनि छताछुल्ल भए । कमान्डरबीच भित्रभित्रै बढेको असन्तुष्टि अध्यक्ष प्रचण्डले चाल पाइहाले । लडाकुको आक्रोश थामथुम पार्न उनले नयाँबजारस्थित आफ्नै निवासमा कमान्डरहरूको छुट्टै बैठक राखे । त्यहाँ झन् धेरै आरोप–प्रत्यारोप चल्यो । दीपक चलाउनेसहित केहीले शक्तिखोरमा तस्करी नियन्त्रण भन्दै कमान्डरहरू आफैँ अवैध धन्दामा लागेकामा आक्रोश पोखे । डिभिजन कमान्डरका रूपमा सम्बोधन गर्दै खामले भनेका थिए, ‘यो त्यसै भएको छैन । आवश्यकता र बदलिँदो परिस्थितिको मागअनुसार पार्टी हेडक्वार्टरकै निर्देशनमा भएको छ ।’
अध्यक्ष प्रचण्डको अगाडि नै विरोध गर्ने कमान्डरलाई चेतावनीको भाषामा खाम बोलेपछि आफूहरूले शक्तिखोरको लहरो नयाँबजारसम्मै जोडिएको थाहा पाएको अर्का पूर्वकमान्डर बताउँछन् । त्यसलाई पुष्टि गर्दै प्रचण्डले पनि खामकै भाषा बोलिदिए । शान्ति प्रक्रियामा आएपछि पार्टी व्यवस्थापन र चुनाव खर्चका लागि स्रोत जुटाउनु परेको उल्लेख गर्दै उनले भनेका थिए, ‘यसलाई धेरै अगाडि लैजानुहुन्न । एउटा स्थितिसम्म व्यवस्थापनपछि रोक्नुपर्छ ।’ सो घटनापछि असन्तुष्ट कमान्डरहरूले पनि लडाकु शिविरबाट हुने तस्करीबारे बोल्न छाडे ।
बेथान स्मृति ब्रिगेडकी कमान्डर रहेकी कमला नहर्की ‘सपना’ आफूले त्यतिबेलै आर्थिक अपारदर्शिता र सांस्कृतिक विचलनको विरोध गरेको बताउँछिन् । ०६६ मा चौथो डिभिजनको अरुणखोला सरुवा भइन् । खामबारे उनको टिप्पणी छ, “उहाँ जनयुद्धका मोर्चामा रिजल्ट दिने कमान्डर हो । तर रामहरि काण्डपछि एकपछि अर्को घटनामा मुछिँदै जानुभयो ।”
काठमाडौँ, भृकुटीमण्डपमा भएको माओवादी सातौँ बिस्तारित बैठक (२–६ साउन ०६९) मा लडाकु शिविरभित्र भएका अनियमितताबारे छानबिन गर्न पोष्टबहादुर बोगटीको नेतृत्वमा समिति गठन गरिएको थियो । समितिले लाजिम्पाटस्थित निवासमै पुगेर अध्यक्ष प्रचण्डलाई प्रतिवेदन बुझायो । प्रचण्डले प्रतिवेदन मात्र हैन, सम्पूर्ण कागजात र प्रतिवेदन टाइप गरिएको कम्प्युटर हार्डडिस्कसमेत बुझे । तर पूर्वडिभिजन कमान्डर मास्केले ढुंगा–गिटी, बालुवा तस्करीमा लगाएको ३ करोडमध्ये २ करोड फिर्ता गराउनेबाहेक कुनै कारबाही नगरिएको माओवादी स्रोत बताउँछ ।
पार्टी राजनीतिमा लाग्न मास्केलाई खामको जस्तो कुनै कानुनी अड्चन छैन । तर उनी खुलेर राजनीतिमा नलाग्नुको मुख्य कारण लडाकु शिविरभित्रको भ्रष्टाचार नै हो । “राजनीति गर्न इमान बाँकी रहनुपर्यो । त्योभन्दा पार्टीमा माग्न, खान र घुक्र्याउन सजिलो छ । विवादित कमान्डरहरू त्यही गरिरहेका छन्,” पूर्वसहायक ब्रिगेड कमान्डर बोहरा भन्छन् ।
रामहरि काण्डमा खामलाई जोगाउनकै लागि माओवादी र जनमुक्ति सेनाले ब्रिगेड कमान्डर बटालालाई प्रहरीमा बुझाएको थियो । तैपनि विरोध नरोकिएपछि खामलाई तेस्रो डिभिजन कमान्डरबाट हटाएर रोल्पा दहवनस्थित छैटौँ डिभिजनमा सरुवा गरियो । अदालतमा मुद्दा दर्ता भएपछि निलम्बन गरिएको घोषणा गरियो । आन्तरिक रूपमा भने उनी डिभिजन कमान्डरकै हैसियतमा कार्यरत थिए । सेना समायोजन प्रक्रिया नटुंगिदासम्म उनी त्यसरी नै लुकेर बसे ।
०६८ मा रुकुम र डोल्पा सीमास्थित माझफालमा यार्सा लुटियो । हतियारधारी समूह डोल्पाका यार्सा संकलन हुने पाटन पुगेका थिए । सो घटनामा पनि खामको टोली संलग्न रहेको सम्बद्ध व्यवसायी बताउँछन् । पूर्वपर्यटन राज्यमन्त्री धनबहादुर बुढाको यार्सासमेत लडाकु टोलीले हतियार देखाएर लुटेको थियो ।
लडाकु शिविरबाट निस्केपछि खाम यार्सा तस्करीमा खुलेरै लागेको उनी निकट स्रोत बताउँछ । चिनियाँ व्यापारी लुटपाट त्यसैको अर्को शृंखला बन्न पुग्यो । खामविरुद्ध चिनियाँ नागरिक मा मायर लीको जाहेरीमा डाँका–चोरी, हातहतियार खरखजाना तथा सरकारी छापा दस्तखत किर्ते अभियोग लागेको छ ।
कालीबहादुर खाम लडाकुलाई कन्भिन्स गर्न सक्ने क्षमता राख्ने सफल कमान्डर हुन् । शान्ति प्रक्रियामा आएपछि मात्र उनीमाथि धेरै प्रश्न उठेका हुन् । — महेश्वर गहतराज ‘अथक’ (सांसद, नेकपा)
२५ असार ०६७ मा खामको समूहले यार्सा बिक्री गर्ने भनी लीलाई बोलाएर लुटपाट गरेको थियो ।* मित्रनगरस्थित मोरङ नवमित्र गेस्टहाउसको कोठा नं ३०१ मा उनीहरूले लीलाई बोलाएर बिक्री गर्न खोजेको यार्सा देखाए । तर किनबेच नटुंगिँदै २१ लाख २० हजार लुटपाट गरिएको उनले प्रहरीमा जाहेरी दिए ।
चिनियाँ नागरिकले हुलियासहित जाहेरी दिएका थिए । त्यसैका आधारमा प्रहरीले खाम, गणेशकुमार मल्ल र कर्णबहादुर बुढाको पहिचान गर्यो तर पक्राउ गर्न सकेन । लगत्तै २७ असारमा प्रहरीले गोंगबुस्थित खामको डेरा खानतलासी गरेको थियो । त्यस क्रममा कर्मचारीको हस्ताक्षरसहितको जिल्ला वन कार्यालयको छाप भेटिएपछि उनको समूहविरुद्ध किर्ते मुद्दा दर्ता गरियो । खामको डेराबाटै विभिन्न हतियारमा लाग्ने १० राउन्ड गोली बरामद गरिएपछि उनीविरुद्ध अर्को मुद्दा थपियो, हातहतियार खरखजाना ।
पूर्वी रुकुमको हुकाम निवासी खाम माओवादी द्वन्द्वको सुरुआतदेखि नै सहभागी भए । यार्सा पाइने भेगका भएकाले पार्टीका लागि आर्थिक स्रोत जुटाउने र हतियार खरिदमा समेत उनी संलग्न भएको बताइन्छ । माओवादीले गरेका अधिकांश ठूला आक्रमणमा उनी संलग्न थिए । “उनी लडाकुलाई कन्भिन्स गर्न सक्ने क्षमता राख्ने सफल कमान्डर हुन्,” खामलाई स्कुल कमिटीदेखि संगठित गरेका सांसद महेश्वर गहतराज ‘अथक’ भन्छन्, “शान्ति प्रक्रियामा आएपछि मात्र उनीमाथि धेरै प्रश्न उठेका हुन् ।”
१३ पुस ०६२ मा बर्दियाको गणेशपुरमा सेनासँग भएको भिडन्तमा कमान्डर प्रेमबहादुर रोका ‘जीत’ सहित ३७ लडाकु मारिए । डिभिजन कमान्डर जनार्दन शर्मा र सहायक कमान्डर थिए, खाम । सो टोली सदरमुकाम गुलरिया आक्रमण गर्न त्यहाँ पुगेको थियो । तर परिस्थिति अनुकूल नभएपछि फर्किनै लागेका बेला सेनाको सानो टोली देखेर आक्रमण गर्दा घेराबन्दीमा परेको थियो । जीतको टोली घेराउमा परेको थाहा पाएर पनि मद्दत टोली नपठाएको आरोप खाममाथि लाग्यो । घेराबन्दीमा परेर पनि बाँचेका दुई थिए, बाँके–बर्दिया इन्चार्ज अथक र विजय केसी ‘विकल्प’ । केसी उनै हुन्, जो माओवादी युद्धबारे बनेको फिल्म लालसलामका नायक बने ।
पछि बैंक लुटपाटको घटनामा पक्राउ परी अहिले पोखरा कारागारमा छन् । माओवादीभित्र गणेशपुर घटनाले लामो समयसम्म खामको आलोचना भयो । अथक भने सुरक्षाकर्मीमाथिको आक्रमणको योजना हतारमा बनाइएकाले ठूलो क्षति बेहोर्नु परेको बताउँछन् । भन्छन्, “पार्टी र लडाकु नेतृत्वले नैतिक जिम्मेवारी लिएको हो । एक्लो कालीबहादुरलाई मात्र दोषी भन्न मिल्दैन ।”
सम्बन्धित
महामारीका रुपमा फैलिइरहेको कोभिड-१९ संक्रमण नेपालमा पनि देखिएपछि एक साताका लागि मुलुक लकडा...
संक्रमणको सन्त्रास र सावधानीमा मुलुक ठप्प
२७ खर्ब ३८ अर्ब बराबर को अवैध कारोबार...
वन्यजन्तु आखेटोपहार : तस्करीको विश्व–सञ्जालमा नेपाल
रामचन्द्र पौडेल र कृष्ण सिटौला समर्थकहरुलाई पद दिएर महाधिवेशनबाट फेरि सभापति हुने देउवा रण...
देउवाका १० भाइ
प्रहरीले मोस्ट वान्टेड सूचीमा राखेर एक दशकयता खोजिरहेका अभियुक्त कालीबहादुर खामका अपराध–शृ...
कमान्डरदेखि सिरियल क्राइमसम्म : एमाले-माओवादी एकताले छोपिएको एउटा हत्याकाण्ड
पाँच अपराधमा अदालतबाट दोषी ठहरिएका प्रमुख सेनानी भरत गुरुङको अकुत सम्पत्ति सरकारबाटै फिर्त...