तस्करीको जन्जाल
नेपालमा राजनीतिक तह, तिब्बती व्यापारमा संलग्न, उत्तरी भेगलाई कब्जा गरेर बसेका केही व्यक्तिको तस्करीमा संरक्षरण र संलग्नता देखिन्छ ।
२७ खर्ब ३८ अर्ब बराबर को अवैध कारोबार
२० फागुन ०७६ को मध्याह्न सञ्चमान तामाङ जोरपाटीको बसपार्क छेउछाउ टहलिँदै थिए । कोही कसैको खोजीमा झैँ देखिने तामाङ ४/५ दिनदेखि चनाखो भएरै त्यतातिर नयाँ काम सल्टाउने प्रयासमा देखिन्थे । अर्थात्, ७ वर्षदेखि जोरपाटीकै एक खाजाघरका कामदार तामाङ हेलम्बु (सिन्धुपाल्चोक) बाट पछिल्लो पटक काठमाडौँ आएको ५/७ दिन मात्रै भएको थियो । हेलम्बुबाट आएसँगै उनका गतिविधि फेरिएका थिए । भेटघाट र गफगाफ पनि भिन्न थियो ।
त्यही मौकामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) कहाँ एउटा सूचना चुहियो, हेलम्बुबाट सालकको खपटा काठमाडौँ भित्रिएको छ । त्यही सूचनाका आधारमा खोजबिन गर्दा तामाङ जोरपाटीको बसपार्कबाट पक्राउ परे, २० फागुनमा ।
सीआईबीका वन्यजन्तु तस्करी नियन्त्रण पोलका डीएसपी महेन्द्र खड्काले जानकारी दिए, ‘तामाङको साथबाट ४ किलो ८ सय ग्राम सालकको खपटा भेटियो, थप अनुसन्धान भइरहेको छ ।’
सालकको खपटा अन्तर्राष्ट्रिय बजारमा महँगोमा बिक्री हुन्छ भन्ने थाहा पाएका तामाङले कसका निम्ति र कति मूल्य पाउन हेलम्बुबाट ल्याएका थिए भन्ने अनुसन्धानबाट खुलिसकेको छैन । वन्यजन्तुको आखेटोपहारको कारोबार नै अवैध भएकाले निर्धारित वा एकनासे हुँदैन । उपभोगकर्ताको माग, सुरक्षामा देखिएको कडाइ र उपलब्धताको आधारमा मूल्य घटबढ भइरहेको हुन्छ ।
नेपाली बजारमा चलेको अनौपचारिक मूल्यलाई आधार मान्दा तामाङसँग करिब २ लाख रुपैयाँ बराबरको सालकको खपटा थियो । त्यो कतातिर निकासी हुँदै थियो भन्ने अझै खुलिसकेको छैन ।
काठमाडौँको जोरपाटीमा तामाङ पक्राउ परेको एक महिनाअघि पश्चिम नेपालमा तीन जना पक्राउ परेका थिए, बाघको छालासँगै । २७ माघ ०७६ मा दाङको तुलसीपुर बसपार्कबाट सल्यानका यामबहादुर राना, सुरनित रामजा बुढा र रमित सुनारको साथबाट पाटेबाघको छाला बरामद भयो । बाघको छालासहित केही व्यक्ति ग्राहकको खोजीमा छन् भन्ने सूचना सीआईबीमा ५ महिनापहिला नै आइसकेको थियो । त्यही सूचनाका आधारमा सीआईबी सक्रिय थियो ।
यसरी ५ महिनाको सक्रियतामा बाघको छालासहित तीन जना पक्राउ परे तर उनीहरूसँग सम्बद्ध अन्य व्यक्ति फरार भए । उनीहरूको सम्पर्क, संवाद र कारोबारको प्रयासमाथि अनुसन्धान भइरहेको छ । उनीहरूको साथमा भएको बाघको छाला बाँके राष्ट्रिय निकुञ्जमा रहेका बाघको फोटो दाँज्दा त्यहीँको हो भन्ने पुष्टि भयो तर कहाँ मारियो र कहाँ बेच्न खोजिँदै छ भन्ने खुलेको छैन ।
एक महिनाको अन्तरमा देखिएका दुई घटना वन्यजन्तुको आखेटोपहार तस्करी जालोसँग नेपाली जोडिएका दुई तथ्य मात्रै हुन् । नेपालमा हुने तस्करीको तार चीन, भियतनाम, भारत, टर्की मात्र होइन, अफ्रिकासम्म जोडिन्छ । संगठित अपराधका रूपमा रहेको वन्यजन्तु तस्करी किन हुन्छ ? यो खासमा केही व्यापारिक घरानाका व्यक्तिको सोख मात्र होइन, मेडिकल प्रयोजनमा समेत प्रयोग गरिने हुँदा निरन्तर अवैध तस्करीलाई बढोत्तरी दिन्छ ।
‘हनोईको सर्वाधिक महँगो रेस्टुराँमा भियतनामी व्यापारीको एउटा समूह आफ्ना अमेरिकी नयाँ साझेदारसँग उत्सव मनाउन भेला भएको छ । कसैले ‘टोस्ट’ प्रस्ताव गर्छ । उनीहरू आ–आफ्ना महँगो स्कचले भरिएका ग्लास उठाउँछन् । त्यहाँ पाउडर छरिएको हुन्छ । त्यो सुनको पाउडर होइन, न त शुद्ध कोकिन नै । बिरलै पाइने यो पाउडर निकै महँगो पर्छ । खासमा यो सेतो गैँडाको खाग (सिङ) को पाउडर हो ।’
भुइँतहबाट कल्पनासमेत गर्न नसकिने भोजको यस्तो दृश्य अनौठो र महँगो होइन, भियतनामका लागि । नैरोबीको आगा खाँ विश्वविद्यालयका मिसेल मायरले यी प्रसंग उधिनिरहेका बेला हरेक ८ घन्टामा एउटा गैँडा मारिन्थ्यो, खागका लागि । दाह्राका लागि हरेक ३० मिनेटमा एउटा हात्ती मार्थे, तस्करले । त्यही हविगत थियो, दुर्लभ सालकको पनि । प्रत्येक ५ मिनेटमा एउटा सालकले ज्यान गुमाइरहेको थियो, खपटाका लागि । सातामा २ वटा बाघले ज्यान गुमाउनुपर्थ्याे ।
मायरले ४ वर्षअघि भियतनामी सानसौकत र औकात दर्शाउनभन्दा बढी वन्यजन्तुका अंग किन तस्करी हुन्छ र त्यसको उपभोगकर्ता को हुन् भन्ने देखाउन प्रोजेक्ट सिन्डिकेटमा लेखे । २७ मार्च २०१९ को भियतनामकै घटनाले आङ सिरिंगै पार्छ । त्यस दिन भियतनामको भन्सारले ९ टनभन्दा बढी हात्तीका दाह्रा बरामद गर्यो । अवैध रूपमा ओसारपसार हुने वन्यजन्तुका अंग एकैपटक बरामद भएका घटनामध्ये यो ठूलो परिमाणको थियो ।
विभिन्न अन्तर्राष्ट्रिय प्रतिवेदन तथा संरक्षणकर्मीका अनुसार एक दशक (२००८–२०१८) मा भियतनाम र आसपासमा मात्रै ७६ टन हात्तीका दाह्रा बरामद भएका थिए । ७६ टन हात्तीका दाह्राका लागि कम्तीमा ११ हजार ४ सय १४ वटा हात्तीको हत्या हुनुपर्छ । खासमा एसिया वन्यजन्तुको आखेटोपहारको उपभोगकर्ता हो । त्यसमा पनि चीन सर्वाधिक उपभोगकर्ता । त्यससँगै भियतनामको पनि नाम जोडिन्छ । ती देशको निर्यातकर्ता अफ्रिका हो । वन्यजन्तुको छाला, दाँत, मासु र अण्डकोष विशेषगरी चीन र गैँडाको खागमध्ये ८० प्रतिशतभन्दा बढी भियतनाममा खपत हुन्छ ।
५ दशकअघि मात्रै अफ्रिकामा ठूलो संख्यामा रहेका सेतो गैँडा अब नामिबिया र केन्यामा करिब २५ हजार मात्रै छन् । ५० वर्षअघि करिब २ करोडको संख्यामा रहेका हात्ती अहिले ४ लाख ७० हजार हाराहारी छन् । अझ बाघको संख्या ४ हजारभन्दा कममा झरिसकेको छ । सेभ द राइनो इन्टरनेसनलको प्रतिवेदनलाई आधार मान्ने हो भने गत वर्ष मात्रै दक्षिण अफ्रिकामा अवैध सिकारीले १ हजार २ सय १५ गैँडा मारेका थिए । जबकि सन् २००७ मा जम्माजम्मी १३ वटा मात्रै मारिएका थिए ।
विश्व वन्यजन्तु कोष नेपालका सिनियर म्यानेजर माधव खड्का पनि वन्यजन्तु तस्करीको अन्तर्राष्ट्रिय बजारमा कमी नआएको स्वीकार्छन् । “नेपालमा सिकार शून्य वर्ष मनाइरहेकाबेला अफ्रिकामा गैँडा मरिरहेकै हुन्छन्,” खड्का भन्छन् ।
संरक्षणकर्मीकै साँठगाँठ : २७ मार्च २०१९ मा भियतनाममा बरामद ९ टन हात्तीकोदाह्राको बजार मूल्य सालाखाला ४० लाख डलर अनुमान गरिएको थियो । हात्तीको दाह्रा एसियाली बजारमा प्रतिपाउन्ड करिब १ हजार ५ सय डलरमा किनबेच हुन्छ । र, गैँडाको खाग प्रतिपाउन्ड ४५ हजार डलरभन्दा बढी पर्छ । वाइल्डलाइफ ट्रेड मनिटरिङ नेटवर्कका अनुसार गैँडाको खाग प्रतिकेजी १ लाख डलरसम्म पर्छ, जबकि सन् १९९० मा साढे २ सय डलर थियो । तस्करहरूले अफ्रिकाको एउटा हात्ती एसियाली मुलुकमा ल्याइपुर्याउँदा २१ हजार डलरसम्म आम्दानी गर्छन् । अवैध व्यापारको आम्दानी र अर्थतन्त्र देखाउन यी तथ्यांक नै काफी छन् ।
विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाहरूको अध्ययनमा वन्यजन्तुको आखेटोपहारको अवैध ओसारपसार तथा कारोबारको अर्थतन्त्र वर्षमा कम्तीमा २३ विलियन अमेरिकी डलर अर्थात् २७ खर्ब ३८ अर्ब रुपैयाँ बराबरको हुन्छ । यो रकम भनेको नेपालको वार्षिक बजेटको झन्डै दोब्बर हो । जुओलोजिकल सोसाइटी अफ लन्डनका नेपाल प्रतिनिधि हेमसागर बरालको भनाइमा वन्यजन्तुको आखेटोपहार ओसारपसार र कारोबार विश्वको चौथो ठूलो अपराधमा पर्छ । “लागूऔषध, हातहतियारपछि वन्यजन्तुको आखेटोपहार ओसारपसारको कारोबार हुन्छ,” बराल भन्छन्, “यसमा नेपाल पनि ट्रान्जिटको रूपमा देखिन्छ ।” सालकको खपटा, बाघको छाला, कस्तुरीको बिना, भालुको पित्त मात्र होइन, पछिल्ला दिनमा चिरुको रौँदेखि चिम्पान्जीसम्मको व्यापार नेपालबाट हुने गरेको तथ्य छ । नेपालबाट चीन र भारतमा निकासी त हुन्छ नै, टर्कीबाट समेत नेपालमा आउँछ ।
संस्थागत अपराधमा विकसित तस्करीले अत्याधुनिक हतियार मात्र होइन, हेलिकप्टरको समेत प्रयोग गर्न थालेका छन् । विगतका दशकको जस्तो स्थानीय हतियारको प्रयोगले वन्यजन्तुको सिकारशैलीमा परिवर्तन भएको छ । यसमा तस्कर र सरकारी अधिकारी मात्र होइन, संरक्षणकर्मीकै समेत साँठगाँठ देखिन्छ । तस्करले खासगरी स्थानीयलाई प्रयोग गर्छन् । यसका लागि राजकुमार प्रजाको उदाहरण पर्याप्त छ । चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तुबारे मसिनो गरी जानकार प्रजालाई प्रयोग गरेर गैँडाको हत्या गरिन्थ्यो र ती गैँडाको खाग तस्करी हुन्थे ।
१६ माघ ०७१ मा प्रजा मलेसियामा पक्राउ पर्दा नेपालका संरक्षणकर्मीले ठूलो सफलता मानेका थिए । त्यस्तै सफलता कालु मनाङे पक्राउ पर्दा जुटेको थियो । कोषका माधव खड्का भन्छन्, “तस्करीमा संलग्नमध्ये ठूला उदाहरणमा कालु मनाङे र राजकुमार प्रजा नै हुन् ।” खासगरी वन्यजन्तुका आखेटोपहार आम्ची (तिब्बती डाक्टर) ले परम्परागत औषधी बनाउन प्रयोग गर्छन् । त्यसलाई चीन सरकारले मान्यता दिएकाले पनि तस्करीमा बढोत्तरी भएको हो ।
गैँडाको खाग मुख्यगरी ज्वरो नियन्त्रण तथा विषाक्त खानाका कारण आउने समस्याका लागि प्रयोग गरिन्छ । कतिपय अवस्थामा यौनोत्तेजनाका लागि पनि प्रयोग गर्छन् । बाघको अधिकांश अंग प्रयोगमा आउँछ । वाइन बनाउन पनि हड्डीको उपयोग हुन्छ ।
यो पनि पढ्नुस
नेपालमा राजनीतिक तह, तिब्बती व्यापारमा संलग्न, उत्तरी भेगलाई कब्जा गरेर बसेका केही व्यक्तिको तस्करीमा संरक्षरण र संलग्नता देखिन्छ ।
परम्परागत औषधीको प्रयोजनमा वन्यजन्तुका आखेटोपहारको अवैध ओसारपसार अदृश्य बाटोबाट वैध अर्थतन्त्रमा जोडिएको देखिन्छ । यही मूल्यांकनले हुन सक्छ, चार महिनाअघि वुहानबाट फैलिएको कोरोना भाइरसका कारण चीनले अस्थायी रूपमा वन्यजन्तुका आखेटोपहार आयातमा प्रतिबन्ध लगाएको छ । वन्यजन्तुको आखेटोपहारको ओसारपसार र कारोबारको जालो अपराधका अन्य माध्यममा पनि प्रयोग हुन्छ । वन्यजन्तु तस्करीको आम्दानी हातहतियार ओसारपसारमा पनि प्रयोग भइरहेको हुन्छ । अपराधले जेलिएको अर्थतन्त्र चक्रमा विश्व वन्यजन्तु कोष नेपालका वरिष्ठ म्यानेजर खड्का सहमत छन् । भन्छन्, “एउटा अपराधको सम्बन्ध अर्कोसँग जोडिएको देखिन्छ ।” केही वर्षअघि तत्कालीन अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले वन्यजन्तुको तस्करी रकम हातहतियार ओसारपसारमा खर्चिएको बताएको सन्दर्भ खड्का स्मरण गर्छन् ।
महँगोमा वन्यजन्तुका आखेटोपहार किन अवैध ओसारपसार भइरहन्छ त ? मूलत: औषधीजन्य प्रयोजन र सजावटको सोखले काम गर्छ । त्यसका लागि मुख्य बजार चीन र भियतनाम नै हुन् । त्यसबाहेकको बजार विभिन्न देशका दरबारिया, कुलीन वर्ग र सोखिन व्यापारिक घराना हुन्छन् । नेपालकै उदाहरण हेर्दा गैँडाको खाग, बाघको जुँगा, बाह्रसिंगेको सिङ, हात्तीको दाँतले सिंहदरबार, नारायणहिटी दरबार सिंगारिएका थिए । अझ राजपरिवारका सदस्य द्विपक्षीय साइनो सुमधुर बनाउन पनि वन्यजन्तुकै प्रयोग गर्थे । त्यसले तस्करीलाई बल पुर्याउँथ्यो ।
सिंहदरबारमै सजाइएका गैँडाका खाग, बाघको जुँगा, बाह्रसिंगेका सिङलगायत अंग तस्करी भइसकेका रहेछन् । केही महिनापहिले राष्ट्रिय सभाका सदस्य तथा प्रत्यायोजित व्यवस्था तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारी नेतृत्वको टोली अध्ययनका लागि पुग्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पुरानो कार्यालयभित्र बेलायती बैठकमा सजाइएका ती अंग चोरी भइसकेका थिए ।
चोरी घटनाले तस्करीको सञ्जाल कहाँसम्म फैलिएको छ भन्ने मात्र देखाउँदैन, वन्यजन्तुका अंगबाट आकर्षक कमाइ हुन्छ भन्ने सन्देश पनि दिएको छ ।
छिचोल्नै गाह्रो : तस्करको भित्री जालोसम्म सुरक्षाकर्मी हत्तपत्त पुग्न सक्दैनन् । संगठित अपराधको संलग्नता कति गोप्य हुन्छ भने एक तहबाट अर्को तहमा पुग्नै सुरक्षाकर्मीलाई हम्मेहम्मे हुन्छ । जस्तो, नेपालकै हकमा पनि विभिन्न वन्यजन्तुका आखेटोपहारसहित पक्राउ पर्ने नागरिकबाट दोस्रो तहमा पुग्न सकेको छैन । सीआईबीका पछिल्ला तथ्यांकलाई आधार मान्ने हो भने वन्यजन्तुको तस्करी नेपालको बाटोबाट कम हुँदै छ । विश्व वन्यजन्तु कोष नेपालका वरिष्ठ म्यानेजर खड्का अनुसन्धानका क्रममा एउटा तहबाट अर्को तहमा पुग्नै मुस्किल पर्नेमा सहमत छन् ।
केही ठूला अपरेसन नभएका भने होइनन् । नेपाल र चीनबीचको तस्करीमा चार तहसम्म पुगेर नेपाल प्रहरीले अनुसन्धान गरेको थियो । त्यही क्रममा गैँडाको खाग तस्करीमा संलग्न भनिएका अहिलेसम्मका हाइप्रोफाइल तस्कर कालु मनाङेलाई प्रहरीले पक्राउ गरेको थियो । वन्यजन्तु अपराधको दोस्रो तहसम्म पुग्न नसक्नुमा लामो र गहिरो सञ्जालले मात्र काम गरेको छैन, त्यसमा विभिन्न अन्तरदेशीय व्यापारको प्रभाव पनि छ । पूर्वडीआईजी हेमन्त मल्ल भन्छन्, “वन्यजन्तु तस्करीमा नेपाल, भारत र चीनको त्रिदेशीय सम्बन्ध जोडिन्छ । त्यसमा चीनतिरको सूचना प्रवाह एक प्रकारले बन्द हुन्छ, जसले गर्दा अपराधमा संलग्न दोस्रो तहसम्म पुग्नै गाह्रो छ ।”
वन्यजन्तुको संरक्षणमा प्रशस्त लगानी हुन्छ । त्यसमा संरक्षणमा जोडिएका एनजीओ मात्र होइनन्, पछिल्ला दिनमा विश्व बैंक, युरोपियन कमिसनसम्म सक्रिय छन् । वन्यजन्तु तस्करीले पारिस्थितिकीय प्रणाली, सांस्कृतिक र आर्थिक सम्पदामाथि चुनौती थपेको विश्लेषण गरेर विश्व बैंकले इलिगल वाइल्डलाइफ ट्रेड रिपोर्टमा प्रकाशित गरेको थियो । ग्लोबल इन्भाइरोमेन्ट फ्यासिलिटी फन्ड, जर्मनी, अमेरिका, युरोपियन युनियन कमिसन र विश्व बैंकलगायतले सन् २०१०–२०१६ सम्मका निम्ति १.३ बिलियन डलर २४ वटा अन्तर्राष्ट्रिय दातृसंस्थालाई वन्यजन्तु संरक्षण र प्रवद्र्धनका लागि खर्चेका थिए । एसिया र अफ्रिकामा प्रतिवर्ष १ सय ९० मिलियन डलर खर्चिएको थियो । विश्व बैंकको मान्यतामा वन्यजन्तु आर्थिक, सांस्कृतिक र पारिस्थितिकीय प्रणालीसँग मात्र अन्योन्याश्रित सम्बन्धमा छैनन्, विकासशील देशका लागि रोजगार सिर्जना, पर्यटनको इन्जिन र दिगो विकासका आधारशिला पनि हुन् । सन् २०१९ को अक्टोबर पहिलो साता पेरु सरकारको आयोजनामा करिब ३० देश सहभागी उच्चस्तरीय भेला भयो । भेलाले वन्यजन्तु संरक्षणमा वर्षमा १० बिलियन डलर खर्चिने निर्णय मात्र गरेन, तस्करी नियन्त्रणमा सीमापार सहकार्यमा जोड दियो । पेरुका कृषिमन्त्री जोर्जे मोन्टेनेग्रोले भेलामा भनेका थिए, ‘वन्यजन्तु तस्करी संसारको चौथो ठूलो अवैध कारोबार हो ।’
ल्याटिन अमेरिकी देश तात्नुको कारण त्यस क्षेत्रको जैविक विविधतासँग जोडिन्छ । अर्थात्, विश्वको जैविक विविधताको ४० प्रतिशत हिस्सा ल्याटिन अमेरिकाले ओगट्छ । त्यहाँ २५ प्रतिशत दुर्लभ प्रजाति छन् ।
नेपालको हकमा पनि वन्यजन्तु तस्करी नियन्त्रण प्रयासमा कानुनी उपायको खोजी त भएकै छ, त्यसबाहेक सचेतनाको प्रयास पनि । सीआईबीका डीएसपी खड्काका अनुसार पछिल्ला दिनमा नेपालमा वन्यजन्तु तस्करीमा न्यूनीकरणमा छ । राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय कानुन नै आकर्षित हुने भएकाले तस्करीमा संलग्नको मनोबल पनि कम हुन्छ । “पक्राउ परेकामध्ये अधिकांश जेल चलान हुने भएकाले तस्करीमा संलग्न हुनेको संख्या कम देखिन्छ । सीआईबीले अनुसन्धान थालेपछि नेपालबाट हुने तस्करीमा कमी आएको छ,” खड्का दाबी गर्छन् ।
वन्यजन्तुका आखेटोपहार तस्करीमा नेपाल ट्रान्जिटका रूपमा देखिन्छ । अन्तर्राष्ट्रिय गिरोहले नेपालबाट चीन, जापान, भियतनाम, कम्बोडिया, भारतलगायतका देशमा निर्यात गर्छन् । सीआईबीका अधिकारीहरूका अनुसार नेपालबाट मुख्यगरी चीन निकासी हुन्छ ।
टर्की र अफ्रिकाबाट पनि नेपालमा केही आखेटोपहार भित्रिन्छ र तिनको मुख्य बजार भने चीन, भियतनामतिरै हो । भारतका वन्यजन्तु नेपालको बाटो हुँदै चीन पुग्छन् । चिम्पान्जी/बाँदर पनि नेपालबाटै बाहिरिन्छ । चीन तस्करीका लागि दार्चुलाको यारी, हुम्लाको हिल्सा, मुस्ताङको कोरला, रसुवाको केरुङ, सिन्धुपलाञ्चोकको तातोपानी, संखुवासभाको किमाथांकार ताप्लेजुङको ओलाङचुङगोला नाका प्रयोग हुन्छन् ।
पूर्वडीआईजी हेमन्त मल्लको भनाइमा वन्यजन्तु तस्करीसँग सम्बन्धित अपराधमा नेपाल–भारत–चीन सम्बन्ध बढ्ता जोडिएको छ । “नेपालमा वन्यजन्तु तस्करीमा दलालहरूको संख्या बढी हुन्छ । भारतमा वन्यजन्तुको सिकार गर्ने अनि नेपालबाट चीन निकासी हुने गरेको छ,” मल्ल भन्छन् । तस्करले कतिपय अवस्थामा हेलिकप्टर र एयरलाइन्सको पनि दुरुपयोग गर्छन् । भलै, संसारका एयरलाइन्सहरूले वन्यजन्तुका अंग ओसारपसार नगर्ने निर्णय नै गरेका छन् । पानीजहाजमा भने प्रशस्त ओसारपसार हुन्छ ।
विश्वभर महामारीका रूपमा फैलिएको कोरोनाको मनोवैज्ञानिक त्रास सर्वसाधारणदेखि स्वास्थ्यकर्मीस...
महामारीका रुपमा फैलिइरहेको कोभिड-१९ संक्रमण नेपालमा पनि देखिएपछि एक साताका लागि मुलुक लकडा...
२७ खर्ब ३८ अर्ब बराबर को अवैध कारोबार...
रामचन्द्र पौडेल र कृष्ण सिटौला समर्थकहरुलाई पद दिएर महाधिवेशनबाट फेरि सभापति हुने देउवा रण...
प्रहरीले मोस्ट वान्टेड सूचीमा राखेर एक दशकयता खोजिरहेका अभियुक्त कालीबहादुर खामका अपराध–शृ...
पाँच अपराधमा अदालतबाट दोषी ठहरिएका प्रमुख सेनानी भरत गुरुङको अकुत सम्पत्ति सरकारबाटै फिर्त...