यसो गरे नेपाल कोरोना रोक्न सफल देश बन्न सक्छ
याे नयाँ रोगको औषधी र भ्याक्सिन छैन । तर यसबाट संक्रमित करिब ८२ प्रतिशत रोगी आफैँ निको हुन्छन्, १३ प्रतिशतजति अस्पतालमा निको भएका छन् भने ५ प्रतिशतजति गम्भीर अवस्थामा पुग्न सक्छन् ।
अमेरिकाबाट बेलायत हुँदै नेपाल आउँदै थिइन्, ईशा ढुंगाना थापा । ६ चैत दिउँसो ४ बजे उनी त्रिभुवन विमानस्थलमा ओर्लिइन् पनि । उनीसँग कोरोना परीक्षणका कुनै कागजपत्र थिएनन् । उनलाई विमानबाटै ओर्लिन दिइएन ।
ईशा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीका कानुनी सल्लाहकार वासुदेव ढुंगानाकी नातिनी हुन् । सत्तारुढ नेकपाका धेरै नेतासँग उनका माइतीको राम्रो सम्बन्ध हुने नै भयो । त्यसैले क्वारेन्टाइनमा बस्ने गरी उनलाई विमानबाट ओराल्न दबाब दिइयो ।
नेता वामदेव गौतम, गृहमन्त्री रामबहादुर थापा र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिसँग ईशालाई सघाइदिन ‘आग्रह’ गरेका थिए । संक्रमण फैलिएका मुलुकबाट आउने व्यक्तिमा अनिवार्य स्वास्थ्य परीक्षण प्रमाणपत्र नहुँदा उनलाई फर्काउनुपर्ने बाध्यता आइपरेको समितिका अधिकारी बताउँछन् । ईशा बेलायत फर्किएर नेपाली दूतावासको शरणमा पुगिन् । “धेरैतिरबाट अनुरोध आएको थियो तर संक्रमणको जोखिम मोल्न सक्ने स्थिति नभएकाले डिपोर्ट गर्नुपर्यो,” ती अधिकारी भन्छन् ।
सरकारले ९ चैतदेखि सबै अन्तर्राष्ट्रिय उडान एक साताका लागि स्थगन गरेको छ । युरोप, पश्चिम एसिया, खाडी मुलुक, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानको सीधा तथा ट्रान्जिट आगमन ७ चैतबाटै रोक लगाइएको थियो । छिमेकी मुलुकका सीमा नाकामा स्वास्थ्य जाँच गरेर मात्र आवागमन गर्न मिल्नेछ । १० चैतदेखि लामो दूरीको यातायात अनिश्चितकालका लागि रोकिएको छ । अत्यावश्यक सेवाबाहेकका देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवाप्रदायक संस्थाका सेवाहरू ९ देखि २१ चैतसम्म बन्द गरिएको छ । कोरोना संक्रमणको त्रास र सावधानीमा मुलुक ठप्प छ ।
२०१९ को डिसेम्बर अन्तिम साता वुहानमा पहिलोपल्ट कोरोनाको संक्रमण देखियो । छिट्टै फैलिने र उपचार पत्ता नलागेपछि चीनले २० जनवरीमा वुहान सहर रहेको हुवेई प्रान्तसँग अरू प्रान्तको सम्बन्धविच्छेद गरिदियो । त्यसले महामारी अरू प्रान्तमा फैलिन पाएन । सिंगो सहरलाई ‘लक डाउन’ गरेर महामारी नियन्त्रण गर्ने चिनियाँ मोडल सफल भएपछि अहिले अधिकांश मुलुकले त्यसैलाई पछ्याइरहेका छन् ।
नेपालमा पनि कोभिड १९ संक्रमणका प्रारम्भिक केसहरू देखिएपछि सरकारले मंगलबारदेखि एक साताका लागि देश लकडाउन गरेको छ ।
यो पनि पढ्नुस
याे नयाँ रोगको औषधी र भ्याक्सिन छैन । तर यसबाट संक्रमित करिब ८२ प्रतिशत रोगी आफैँ निको हुन्छन्, १३ प्रतिशतजति अस्पतालमा निको भएका छन् भने ५ प्रतिशतजति गम्भीर अवस्थामा पुग्न सक्छन् ।
निर्धक्क हुने स्थिति छैन
चैत पहिलो सातासम्म नेपालमा कोरोना संक्रमित नभेटिएको सरकारी दाबी छ । तर शंकास्पद व्यक्तिले सहज रूपमा परीक्षण गराएर निर्धक्क हुने स्थिति भने बनिसकेको छैन । प्रधानमन्त्री केपी ओलीले ७ चैतमा देशबासीलाई सम्बोधन गर्दै सावधान हुन तर आतंकित नहुन अपिल गरेका छन् । भूकम्प र नाकाबन्दीका बेलाझैँ नेपाली राष्ट्रिय भावना प्रकट गर्न आग्रह गर्दै ओलीले भनेका छन्, ‘समस्या समाधानमा सिंगो राष्ट्र एकजुट रहेको भावना प्रकट भएको छ । मुलुकले हामी सबैको इच्छाशक्ति र उच्च मनोबलको माग गरेको छ ।’
प्रधानमन्त्रीको सम्बोधनकै क्रममा ‘लक डाउन’ घोषणाको तयारी गरिएको थियो । त्यसका लागि नाकाहरू बन्द गर्न भारतलाई प्रस्ताव गरिएकामा ‘नेपाल र भुटानका सीमाबारे तत्काल नसोचिएको’ भारतले जवाफ पठायो । तर भारतीय सीमावर्ती बस्तीमा दैनिक आवागमन भइरहेको निष्कर्षपछि ७ चैतको समन्वय बैठकले ‘लक डाउन’ तयारी गरेको हो ।
उच्चस्तरीय समितिका संयोजकसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल कोरोनाबाट जोगिन मुलुक लक डाउनको तहमा पुगेको बताउँछन् । “उपलब्ध साधन–स्रोतका आधारमा महामारीबाट जोगिन सबै क्षेत्रलाई परिचालन गरिएको छ,” उनी भन्छन्, “खुला सिमानालगायतका कारणले लक डाउनको स्थिति आएको छ ।”
सरकारले उपभोग्य वस्तुको अभाव हुन नदिने घोषणा गरे पनि बजारमा भने ग्यास, खाद्यान्न, तरकारीलगायतको संकट देखिन थालेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट उपभोग्य वस्तुको अभाव हुन नदिन सम्पूर्ण व्यवस्था मिलाएको बताउँछन् । भन्छन्, “केही महिनालाई पुग्ने गरी उपभोग्य वस्तु उपलब्ध छन् । कसैले कृत्रिम अभाव सिर्जना गर्छ र कालोबजारी गर्छ भने पक्राउ गरेरै कारबाही गर्ने निर्णय भएको छ ।”
सरकारी दाबीप्रति अविश्वास पैदा भई आम नागरिकले उपभोग्य वस्तु थुपार्न खोज्दा बजारमा अभाव सिर्जना भएको छ । त्यो अविश्वास अन्त्य गर्न आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङ, खाद्य संस्थानका गोदाम र आयल निगमको भण्डारण सार्वजनिक गर्ने रणनीति बनाएको छ । ग्यास लुकाउनेको लाइसेन्स खारेज गर्ने चेतावनीपछि व्यवसायीले स्टक र वितरण परिमाण सार्वजनिक गर्नुपर्नेछ । “आवश्यक परे हेलिकप्टरमा खाद्यान्न ओसारेर पनि आपूर्ति व्यवस्था मिलाउँछौँ,” मन्त्री भट्ट भन्छन्, “लक डाउनकै स्थिति आए पनि आत्तिनु पर्दैन । सरकारले खाद्य संस्थान, साल्ट्र ट्रेिडङमार्फत् घुम्ती सेवा दिनेसम्मको योजना बनाएको छ ।”
नेपाली सेनाले कोरोना संक्रमणसँग जुध्न कार्यविधि बनाएर तयारी गरेको छ । युद्ध कार्य निर्देशनालयमा कोरोना संकट व्यवस्थापन केन्द्र स्थापना गरेर देशैभर तयारी अवस्थामा राखिएको प्रवक्ता विज्ञानदेव पाण्डे बताउँछन् । संकटकालीन क्याम्प र उपचार व्यवस्थाका लागि १ सय ८१ सैन्य अधिकृतलाई प्रशिक्षण दिइएको छ । नेपालगन्ज, पोखरा र इटहरीमा प्रदेशस्तरीय अस्पताल छन् । त्यस्तै, १८ वाहिनी फिल्ड एम्बुलेन्सलाई पनि तयारी अवस्थामा राखिएको उनी बताउँछन् । भन्छन्, “राष्ट्रिय संकट सामना गर्न सेना स्ट्यान्डबाई छ ।”
प्रदेश १ पृतनाले प्रदेश सरकारसँग मिलेर झापा, मोरङ र उदयपुरमा गरी ४ सय ४४ बेड क्षमताको उपचार तयारी गरेको छ । प्रकोप फैलिएर लक डाउनकै स्थितिका लागिसमेत तयारी अवस्थामै रहेको सैनिक स्रोत बताउँछ । भूकम्पका बेला चीनले उपलब्ध गराएका टेन्टबाट हरेक प्रदेशस्थित पृतनामा अस्थायी अस्पताल बनाउनेसम्मको तयारी छ ।
यो पनि पढ्नुस
समय छँदै देखाइने अग्रसरता यही स्तरमा कायम रहे हामी सम्भवत: यो विश्वव्याधि छल्न सफल राष्ट्र बन्न सकौँला । तर त्यसका लागि प्रार्थना गरेर बस्ने बेला छैन, नआत्तिईकन सक्दो कदम चालौँ ।
सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरन्जन स्थल, डान्सबार तथा क्लब चैत मसान्तसम्मै बन्द गरिएका छन् । अत्यावश्यक काममा बाहेक आवागमन नगर्न सरकारले अपिल गरेको छ । मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक स्थल र पार्टी प्यालेसमा २५ भन्दा धेरै भेला नहुन आह्वान गरेपछि धार्मिक तथा सांस्कृतिक गतिविधि पनि ठप्प छन् ।
सरकारी निर्णयको प्रभाव अस्पतालदेखि आर्यघाटसम्म परेको छ । पशुपति क्षेत्र विकास कोषले मलामीसमेत २५ भन्दा बढी नआउन सूचना जारी गरेरै रोकेको छ । आरतीसमेत बन्द गराइएको छ । पहिल्यै तय भएका ठूला पूजा तथा कर्मकाण्डसमेत स्थगन गर्न सम्बन्धित पक्षलाई सूचना पठाइएको कोषका अध्यक्ष प्रदीप ढकाल बताउँछन् ।
माध्यमिक तहको प्रवेशिका परीक्षा (एसईई) सुरु हुनु अघिल्लो साँझ ५ चैतमा स्थगन गरियो । सबै खाले परीक्षा अर्को सूचना नभएसम्म स्थगन गरिएका छन् भने विश्वविद्यालय तथा शैक्षिक संस्थाका सबै पठनपाठन चैत मसान्तसम्म बन्द गरिएका छन् । उपत्यकाभित्र टेकु अस्पताल, आयुर्वेद अस्पताल कीर्तिपुर, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल र पाटन अस्पतालमा २०/२० आईसीयु बेड छुट्याइएको छ । प्रदेशमा आवश्यकताअनुसार कम्तीमा १ सय १५ आईसीयु व्यवस्था गर्ने भनिएको छ । तर त्यसमा खासै प्रगति भएको देखिँदैन ।
यो पनि पढ्नुस
भारतबाट आउने नेपाली र विदेशीमध्ये कोही संक्रमित रहेछन् भने हामीले विमानस्थल बन्दसहित कोरोना रोकथामका लागि चालेका कदम काम लाग्दैनन् ।
कोरोना संक्रमणका बिरामी बढेमा थप चार वटा ल्याब तयारी अवस्थामा छन् । अहिले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र नमुना परीक्षण हुँदै आएको छ । बिरामीको संक्रमण बढेमा नमुना परीक्षणका लागि वीर अस्पताल, शिक्षण अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिवि माइक्रो बायोलोजी विभागका ल्याब सञ्चालनमा ल्याउने स्वास्थ्य मन्त्रालयको तयारी छ । यी सबै प्रयोगशालाबाट दैनिक ५ हजार नमुना परीक्षण गर्न सकिने कोरोना नियन्त्रण निर्देशक समिति सदस्य डा खेम कार्की बताउँछन् । त्यसका लागि चार सय जनशक्ति तयारी अवस्थामा छ ।
झन्डै दुई महिनाको भगीरथ प्रयत्नपछि कोरोना नियन्त्रणतिर आएपछि चीन अप्ठेरोमा परेका देशलाई सघाउन तयार देखिन्छ । नेपाललाई सहयोग चाहिए भन्न चिनियाँ राजदूत हउ यान्छीले गरेको आग्रह त्यसैको प्रमाण थियो । “हामी तयारी अवस्थामै छौँ । चीनबाट तत्कालै स्वास्थ्यकर्मी मगाउन आवश्यक छैन,” कार्की भन्छन्, “चिकित्सकलाई चाहिने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) लगायत उपकरण र सामग्री भने सहयोग मागेका छौँ ।”
परीक्षण गरिएको नमुनालाई डब्लुएचओको क्वालिटी कन्ट्रोलका लागि नमुना परीक्षण गर्न हङकङ पठाउने गरिएको छ । त्यहाँबाट नमुनाको नतिजा पनि एउटै आउने गरेकाले नेपालको परीक्षणमा शंका गर्ने ठाउँ नरहेको उनको दाबी छ ।
यो पनि पढ्नुस
यो संकटोन्मुख घडीमा गर्न सकिने न्यूनतम जिम्मेवारी पनि पूरा नगर्दा आज फेरि एक पटक राज्यका निकायहरूमाथि प्रश्न तेर्सिन गएको छ ।