कोरोना सन्त्रासबीच अभिभावक-राज्यको खोजी
यो संकटोन्मुख घडीमा गर्न सकिने न्यूनतम जिम्मेवारी पनि पूरा नगर्दा आज फेरि एक पटक राज्यका निकायहरूमाथि प्रश्न तेर्सिन गएको छ ।
याे नयाँ रोगको औषधी र भ्याक्सिन छैन । तर यसबाट संक्रमित करिब ८२ प्रतिशत रोगी आफैँ निको हुन्छन्, १३ प्रतिशतजति अस्पतालमा निको भएका छन् भने ५ प्रतिशतजति गम्भीर अवस्थामा पुग्न सक्छन् ।
चीनबाट सुरु कोरोना भाइरसको महामारी विश्वव्यापी फैलिरहेको छ । यसले अमेरिका र युरोपेली मुलुकजस्ता आर्थिक रूपले विकसित र स्वास्थ्य प्रणालीको दृष्टिले सक्षम देशहरूमा समेत त्रास सिर्जना गरेको छ । नेपालमा यसबारे चिन्ता, चासो र त्रास उत्पन्न हुनु स्वाभाविकै हो । तर कतिपय देश यो चुनौती सामना र यसलाई नियन्त्रण गर्न सफल पनि भएका छन् । केही ठाउँमा केही समयका लागि संक्रमित रोगी पूर्ण रूपले स्वस्थ भएका छन् । रोग देखा परे पनि रोगीको संख्या बढ्न दिएका छैनन् । तिनलाई मृत्यु हुनबाट बचाएका छन् वा मृत्यु हुनेको संख्या न्यून स्थितिमा राखेका छन् ।
चीनको वुहानलगायतका ठाउँबाट नेपालीलाई देशमा ल्याउने कि नल्याउने बहस चलिरहेका बेला कान्तिपुर टिभीमार्फत् मैले भनेको थिएँ– ल्याउनुपर्छ, यस रोगका विशेषताले गर्दा उनीहरूमा संक्रमणको जोखिम कम छ । नेपालका लागि हामी यो समस्या व्यवस्थापन गर्न सक्षम छौँ भन्ने सन्देश दिने एउटा अवसर हो । अहिले पनि कोरोनाबाट सिर्जित समस्यालाई अवसरमा बदल्न सकिन्छ भन्ने मलाई विश्वास छ ।
हामीले जिब्राल्टर, मकाउ, भियतनाम, केरला, रुस, जोर्डन, नाइजेरिया, भुटान, चिली, आइसल्यान्ड, थाइल्यान्ड, ताइवान, साउदी अरेबियाजस्ता देश, प्रान्त वा सहरबाट लिनुपर्ने शिक्षा के होला ? स्वयं चीनबाट सिक्नुपर्ने कुरा के होला ? नेपालमा अहिलेसम्म एउटै मात्र संक्रमित रोगी देखा परे र ती स्वस्थ पनि बन्न पुगे । तर यो स्थिति निकट भविष्यमै नबदलिएला भन्न सकिन्न ।
यो पनि पढ्नुस
यो संकटोन्मुख घडीमा गर्न सकिने न्यूनतम जिम्मेवारी पनि पूरा नगर्दा आज फेरि एक पटक राज्यका निकायहरूमाथि प्रश्न तेर्सिन गएको छ ।
के नेपाल पनि कोरोना संक्रमितको संख्या धेरै बढ्न नदिने सफल देशका पंक्तिमा उभिन सक्छ ? विश्व अनुभवले भनिरहेका छन्, ‘सक्छ, यदि हामीले हरसम्भव प्रयत्न गर्यौँ भने ।’ नेपाल सरकारका पछिल्ला कदम र सञ्चार माध्यमको प्रयत्नमार्फ्त जनतामा आएको अभूतपूर्व चेतनाले त्यसैतर्फ संकेत गर्छन् ।
कोरोना भाइरसको खतरासँग जुध्न नेपाल र नेपालीले अहिले हरसम्भव प्रयत्न गर्नुपर्ने बेलामा भर्खरै मिर्गौला प्रत्यारोपण गरी डिस्चार्ज भएका प्रधानमन्त्री केपी ओली र उनका चिकित्सकहरू मास्क नलगाई शुभचिन्तक, सुरक्षाकर्मी र सल्लाहकारबीच न्यूनतम दूरी पनि नराखी अस्पतालबाट बाहिरिएको दृश्य आश्चर्यको विषय भएको छ । उनीहरू सबैले ठीक त्यही गरिरहेका थिए, जुन केही अवधिसम्म नगर्न हामी सबैले आफूलाई अभ्यस्त बनाउन अति आवश्यक छ ।
प्रधानमन्त्री डिस्चार्ज हुने बेलामै विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड– १९) विश्वव्यापी महामारीको चरणमा प्रवेश गरेको घोषणा गरिसकेको थियो । कोभिड देखा नपरेका देशमा पनि यो सुषुप्त अवस्थामा छ भन्ने मानेर तयारी गर्नुपर्ने र सतर्कता अपनाउनुपर्नेबारे विज्ञहरू एकमत छन् । नेपाल त चीनबाहिर कोरोनाको संक्रमित देखापरेको पहिलो देशमध्ये हो । त्यसैले अस्पतालबाट डिस्चार्ज हुँदाको मिडिया कभरेज एउटा राम्रो अवसर थियो– सरकार प्रमुखबाट राष्ट्रलाई यो अत्यावश्यक दूरी कायम गर्ने र व्यक्तिगत सतर्कता अपनाउने ठोस व्यावहारिक सन्देश दिनका लागि । तर त्यो मौका चुकेको मात्र होइन, उल्टो सन्देश प्रवाहित भएको छ ।
यो पनि पढ्नुस
संकटको मौका छोपेर उपभोक्ता लुट्ने कार्य सर्वथा निन्दनीय छ । उनीहरूमाथि सरकारले तत्काल कारबाही गर्नुपर्छ ।
अस्पतालबाट बाहिर आउनासाथ कोरोनाविरुद्धको सार्क प्रमुखहरूको टेलिकन्फरेन्समा भाग लिनु प्रधानमन्त्री केपी ओलीको सराहनीय कदम हो । कोरोनाले गर्दा विशेषत: अमेरिका र चीनबीचको सम्बन्धमा आएको तिक्तता, आरोप–प्रत्यारोपबीच सार्क क्रियाशील भएको देख्न पाउनु पनि सकारात्मक उपलब्धि हो । त्यसैगरी कोभिड– १९ उच्चस्तरीय समन्वय समितिको आठाैँ बैठकका निर्णयहरू र एसईई परीक्षासमेत स्थगन गर्ने निर्णयले जाँचको तयारी गरिरहेका विद्यार्थीलाई केही असुविधा भए पनि नेपालमा कोरोना संक्रमण प्रभावकारी रूपमा नियन्त्रण हुने सम्भावना कैयौँ गुणा बढेको छ ।
मान्छे–मान्छेबीच तथा मान्छे र जनावरबीच दैनिक जीवनलाई असर नपर्ने गरी आवश्यक दूरी कायम गर्नु, त्यस्तो दूरी कायम गर्न अप्ठेरो पार्ने सम्पूर्ण क्रियाकलापलाई स्थितिको गम्भीरता र आवश्यकताअनुसार केही समय रोक्नु नै माथि उल्लिखित कोरोना नियन्त्रण गर्ने सफल देशहरूले अपनाएको मुख्य रणनीति हो । यो नै त्यस्तो प्रभावकारी उपाय हो, जसले नेपाललाई कोभिड नियन्त्रण गर्ने सफल देशको पंक्तिमा उभ्याउन सक्छ ।
विदेशीहरूको आवागमन र नेपालीको विदेश भ्रमणमा रोक लगाउनेदेखि सार्वजनिक स्थल, सामाजिक कार्यक्रम र मनोरञ्जन स्थलहरूमा कम संख्यामा मानिस जम्मा हुने, हात नमिलाउने, अँगालो नमार्ने, अनुहार नछुने, एकअर्कासँगको दूरी न्यूनतम एक हात पर हुनुपर्ने, गाउँ–टोल, सहर एवं सडक सफा राख्ने, घर तथा काम गर्ने थलो वा सार्वजनिक यातायातमा व्यक्ति स्वयं र समुदायले अपनाउनुपर्ने सतर्कताका उपाय नै त्यो दूरी कायम गर्ने जनस्वास्थ्यका सन्देश अनि हस्तक्षेपहरू हुन् । यसमध्ये धेरैलाई उच्चस्तरीय समितिको आठौँ बैठकले सम्बोधन गरिसकेको छ ।
त्यसैगरी, सबै अस्पताल र आशंका भएका समुदायमा ज्वरो र सुक्खा खोकी आएका बिरामीहरूको सक्रिय रूपले खोज, परीक्षण गरी कोरोना संक्रमित रोगीको पहिचान, निगरानी, उनीहरूसँग सम्पर्कमा आएका व्यक्तिको पनि अनुगमन र परीक्षण, संक्रमित रोगीहरूको आइसोलेसन एवं उपचार र आईसीयू तथा भेन्टिलेटरको तयारी अवस्था त्यस प्रभावकारी नियन्त्रणको अर्को पाटो हो ।
यो पनि पढ्नुस
नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमण देखिएको छैन । तर आएको छ कि छैन भन्नलाई हामीले पर्याप्त मात्रामा जाँचेकै छैनौँ ।
कोरोनाको उच्च जोखिम ६५ वर्षभन्दा माथिका उमेर समूहमा छ, जसमा हाम्रा आमाबुबा, हजुरआमा, हजुरबुबा वा अन्य ज्येष्ठ नागरिक पर्छन् । उमेरको कारण पनि उनीहरूलाई एकभन्दा बढी रोग लागेको हुन सक्छ र त्यसले कोरोनाको संक्रमण अझ गम्भीर बन्ने र मृत्युसम्म हुने खतरा पनि बढाउँछ । युवा र बालबालिकामा भने यसको संक्रमणको सम्भावना र रोगको गम्भीरता तुलनात्मक रूपले कम छ । तर सतर्कता उनीहरूका लागि पनि आवश्यक छ ।
त्यसैले हाम्रो पहिलो प्राथमिकता घरभित्र र बाहिर, अस्पताल वा वृद्धाश्रममा कोरोनाको उच्च जोखिममा रहेका उमेर समूहप्रति तुलनात्मक रूपले बढी ध्यान दिनु र सतर्कताका सबै कार्यसम्पन्न गर्न अनुकूल वातावरण बनाइदिने हो । धार्मिकस्थलमा हुने भीड र सामाजिक भेटघाट कम गर्नु उनीहरूका लागि त्यस्तो दूरी कायम गर्ने उपाय हुन् । घरपरिवार आफैँ अघि नसरीकन यो कार्य सम्पन्न गर्न सकिन्न । तथापि महाशिवरात्रिजस्ता पर्व र धार्मिकस्थलमा त्यति भीड नदेखिनुले त्यस्तो सामाजिक पहल सुरु भइसकेको संकेत दिन्छ ।
यो पनि पढ्नुस
एक महिना पहिला हुनुपर्ने काममा अहिले बल्ल तदारुकता देखिएको छ, तर अहिले गर्नुपर्ने कुरा दुई चार हप्ता ढिला जाने डर छ ।
नेपाल भ्रमण वर्ष २०२० फिर्ता लिने, जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन स्थगित गर्ने, विदेशी नागरिकको आवागमन निरुत्साहित गर्ने, प्रयोगशाला परीक्षण र संक्रामक रोग अस्पताललाई सुदृढ गर्ने, नेपालभित्र कोरोनाले उत्पन्न गर्न सक्ने खराब परिस्थितिका लागि तीनै तहमा तयारी गर्ने र माथि उल्लिखित पछिल्ला निर्णयहरू नेपाल सरकारले लिएका एकपछि अर्को महत्त्वपूर्ण कदम हुन् । यीसँगै सचेतना बढाउन सञ्चार माध्यमको प्रभावकारी हस्तक्षेप, विज्ञहरूले गरेको ज्ञान साझेदारी र नेपालीको अभिरुचिको योगले अहिले नेपाली जनमानस जुन किसिमको तयारी अवस्थामा छ, त्यसले यो चुनौतीलाई अवसरमा बदल्ने प्रचुर सम्भावना प्रदान गरेको छ ।
त्यो अवसरको सदुपयोग गर्न सरकारले गर्नुपर्ने थप काममा पहिलो हो– सबै शंकास्पद व्यक्तिको पहिचान गरी ल्याब परीक्षणका लागि प्रेषण गर्न चिकित्सकहरूले अनुसरण गर्नुपर्ने वैज्ञानिक प्रोटोकल जारी गर्नु । संक्रमित रोगी देखापरे उनीहरू र तिनका सम्पर्क व्यक्तिलाई निरीक्षण गर्नका लागि विशेषज्ञहरूको सुपरिवेक्षणमा स्वयंसेवकको समूह परिचालन गर्नु र त्यसका लागि मोबाइल एप्स तथा मोबाइल ट्रयाकिङ सिस्टम प्रयोग गर्नु ।
दोस्रो– सबै संघीय, प्रदेश र स्थानीय तहका कोभिड– १९ का रोगीहरूलाई उपचार प्रदान गर्ने समर्पित अस्पताल एवं प्रयोगशालाको व्यवस्था गर्दै चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षाका सबै उपकरण उपलब्ध गराउँदै संक्रमण भएको खण्डमा उनीहरूको स्वास्थ्य सुरक्षाको सम्पूर्ण जिम्मेवारी सरकारले लिने प्रतिबद्धता जारी गर्नु तथा उपचारसम्बन्धी अभिमुखीकरण गर्दै उनीहरूको मनोबल उच्च राख्नु ।
तेस्रो– कोरोनाविरुद्धको अभियानलाई समन्वय गर्ने संयन्त्रहरू संघीयदेखि स्थानीय तहसम्म सक्रिय हुनु । नागरिक समाज पनि यो चुनौती सामना गर्न अग्रसर हुनु । कोरोनाबाट त्रास मात्रै होइन, सामाजिक सरसहयोगका प्रेरणादायी उदाहरण पनि देखा परेका छन् । सामाजिक सञ्जाल त्यसको माध्यम हुन सक्छ । आफ्नो खाली रहेको घरका कोठाहरू कोरोना संक्रमितले आश्रय लिन चाहे प्रयोग गर्न निमन्त्रणा दिने भैँसेपाटीका गौतम दम्पती स्तुत्य छन् ।
चौथो– कोरोनाविरुद्धको अभियानलाई नेपालका प्रमुख जनस्वास्थ्य समस्यालाई सम्बोधन गर्न सक्ने जनस्वास्थ्य अभियानमा रूपान्तरित गर्नु ।
पाँचौँ– त्यसभन्दा अझ अघि बढेर प्रकृति र मानव समाजबीचको अन्तरसम्बन्धप्रति घोत्लिनु । कोरोना भाइरस जनावरमा पहिलेदेखि नै थिए, अब मान्छेमा सर्ने स्थिति किन आउन थाल्यो । हाम्रो खुराक र जीवनशैली नयाँ–नयाँ भाइरसको क्रीडास्थल बन्न सक्ने सम्भावनालाइ बढाइरहेका छन् भने त्यसबारे पुनर्विचार गर्नु र तिनलाई परिवर्तित गर्नु ।
नेपालमा अहिलेसम्म ४ सय ८० भन्दा बढी शंकास्पद व्यक्तिमा नयाँ केस फेला परेको छैन । नेपालमा कोरोना छँदै छैन भन्ने होइन । यसको अर्थ हो– हामीसँग अवसरको एउटा आँखीझ्याल छ, जसको लाभ नेपालले उठाउन सक्छ ।
त्रास हैन, समग्र तयारी र उच्च सतर्कता
कोरोनाबारे हामी सबै सतर्क हुनु आवश्यक छ तर यसबाट अनावश्यक रूपले त्रसित हुनुपर्ने कारण छैन । त्रसित नभईकन पनि हामी यसबाट बच्ने दृढ कदम उठाउन सक्छौँ । कोभिड मात्रै होइन, कुनै पनि रोग र समस्या त्रसित भएर सामना गर्न सकिन्न । नयाँ रोग, जसको औषधी र भ्याक्सिन छैन ।
संसारभरि नै जंगलको आगोसरी फैलिइरहेको यसले स्वाभाविक रूपमा चिन्ता उत्पन्न गर्छ । तर हामीले बिर्सन नहुने के हो भने आम रूपमा यसबाट संक्रमित करिब ८२ प्रतिशत रोगी आफैँ निको हुन्छन्, १३ प्रतिशतजति अस्पतालमा भर्ती भएर निको भएका छन् भने ५ प्रतिशतजति गम्भीर अवस्थामा पुग्न सक्छन् । यसबाट हुने औसत मृत्युदर ३.५ देखि ४.५ प्रतिशत अनुमान गरिएको छ, जुन देशअनुसार घटीबढी हुन सक्छ ।
त्यसैले कोरोना संक्रमणलाई फैलन नदिन र संक्रमित रोगीलाई गम्भीर अवस्थामा पुग्न नदिन सरकारले उठाएका कडा र दृढ कदमले नेपाल कोरोनाको विश्वव्यापी महामारीसँग जुझ्ने सफल देशहरूको अग्रपंक्तिमा उभिन सक्ने सम्भावना बढाएको हो ।
यो पनि पढ्नुस
कोरोना भयले कोरियाको जीवनशैली असामान्य बनिसकेको छ । यस्तो अवस्थामा यहाँ रहेका नेपालीहरू कत्तिको सुरक्षित छन् ?
विश्वका सफल मानिएका देशहरूले केही समय संक्रमितको संख्यामा नियन्त्रण गरेर मृत्यु हुन नदिए पनि त्यहाँ छिटफुट रूपमा नयाँ संक्रमितहरू देखा परेका छन् । तर नेपालमा अहिलेसम्म पहिलो केसपछि अहिलेसम्म ४ सय ८० भन्दा बढी परीक्षण गरिएका शंकास्पद व्यक्तिमा नयाँ केस फेला परेको छैन । नेपालमा कोरोना छँदै छैन भन्ने होइन । यसको अर्थ हो– हामीसँग अवसरको एउटा आँखीझ्याल छ, जसको लाभ नेपालले उठाउन सक्छ ।
त्यो अवसरको लाभ नेपालको सुरक्षा कवचलाई अझ सुदृढ बनाउने अर्को महत्त्वपूर्ण निर्णय लिएर उठाउन सक्छ, नेपालमा अब अर्को एउटा मात्रै कोरोना भाइरसको केस देखा परे पनि यसलाई ‘उच्च सतर्कता’ को अवस्था वा ‘जनस्वास्थ्य संकट’ घोषणा गर्दै तद्नुरूपका कार्यक्रम लागू गर्ने ।
कोभिड– १९ विश्वव्यापी महामारीकै रूपमा घोषित भइसकेको अवस्थामा नेपालले सो घोषणा गर्न केही पनि अप्ठेरो छैन र प्राविधिक रूपले त्यो सही हुनेछ । त्यो घोषणासँगै ती सबै कदम उठाउन अनुकूल स्थिति बनाइदिन्छ, जुन माथि उल्लिखित देशहरूले समयमै उठाएका हुन् ।
यो पनि पढ्नुस
जलवायु परिवर्तन र व्यवस्थापनको लापरबाहीका कारण कोरोनालगायत संक्रामक भाइरसको जोखिममा नेपाल पनि
तिनीहरूमध्ये प्रमुख हुन्– केही समयका लागि सम्पूर्ण हवाई र स्थलमार्गबाट सीमा वारपार गर्ने यात्रुवाहक यातायात बन्द गर्ने, सबै सामाजिक गतिविधि कम गर्ने, त्यस्ता कार्यक्रममा १५ जनाभन्दा बढी जमघट हुन नहुने र जम्मा भएको खण्डमा व्यक्तिगत दूरी कायम राख्ने, ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरू घरमै बस्ने आदि । एक किसिमले भन्ने हो भने दैनिक काममा बाधा नपुर्याई र सुरक्षित सामूहिक प्रयत्नलाई असर नपारी नेपालको सामाजिक जीवन केही समयका लागि टक्क अडिने तर माथिबाट लादिएर होइन, स्वचाहना र स्वअनुशासनले । कोरोना संक्रमण बढेको खण्डमा यी कदम आवश्यकताअनुसार कडा बनाउँदै लैजान सकिन्छ ।
यस्ता कदमले नेपालको आर्थिक अवस्थामा केही असर पर्न सक्छ तर पछि आउन सक्ने आर्थिक संकटका अगाडि त्यो केही पनि होइन । औद्योगिक र व्यापारी समुदायले पनि यतिबेला सरकारसँग क्षतिपूर्ति माग्ने होइन, आफ्नो सामाजिक उत्तरदायित्व देखाउने बेला हो ।
कोरोना : संकट र अवसर दुवै
करिब ८० प्रतिशत संक्रामक रोग फोहोरमैला, दूषित पानी र प्रदूषणले फैलिन्छन् भन्ने जनस्वास्थ्यको पुरानै खोज हो, नयाँ देखा परिरहेको संक्रामक रोगमा पनि यो त्यत्तिकै सही छ । त्यसमा प्रकृति र जनावरप्रति मानिसले देखाएको असंवेदनशीलता थपिएको छ ।
व्यक्तिगत सरसफाइ र दूरीको अपिल हाम्रोजस्तो जताततै फोहोर एवं प्रदूषण फैलिने तथा टोल र सडकमा थुक्ने, सिंगान फाल्ने, खोक्दा, खकार्दा मुख नछोप्ने बानी भएको सहरमा कत्तिको प्रभावकारी होलान् भन्ने प्रश्न उठ्नु स्वाभाविकै हो । त्यसैले अहिले संक्रामक रोगहरूबारे तीव्र गतिले बढी रहेको चेतना अब त्यसको जरा कारणलाई सम्बोधन गर्नतर्फ मोडिनुपर्छ । र, हाम्रै आनीबानी परिवर्तित हुनुपर्छ– विशेषत: नागरिक समाजको सक्रिय पहलबाट ।
यो पनि पढ्नुस
अहिले वुहानमा जारी कोभिड-१९ संकटको घडीमा क्षति मात्रै भइरहेको छैन, नयाँ नयाँ सिर्जना र आविष्कारहरू पनि भइरहेको छ।
१. काठमाडौँ फोहोरमैलाको प्रचुरता र सरसफाइको कमीका लागि बदनामी कमाएको सहर हो । विभिन्न प्रकारका रोगहरू फोहोरमैलाबाटै सिर्जित हुन्छन् र तिनले पानीलाई पनि दूषित बनाउँछन् । नेपालका अन्य ठाउँमा फोहोरजन्य जनस्वास्थ्यको समस्या त्यति विकराल छैन, जति काठमाडौँमा छ । बाग्मती, विष्णुमती र इच्छुमतीजस्ता पवित्र नदीहरू ढलमा परिवर्तित हुँदा पनि त्यो हामीमध्ये धेरैको सरोकारको विषय बनेको छैन । नेपाल सरकारको यसप्रतिको लापरवाहीको चरम रूप आफ्नो ठाउँमा छँदै छ । केही अभियन्ताहरू धेरै वर्षदेखि सफाइ अभियानमा जुटेका छन् तर उनीहरूलाई अपेक्षित समर्थन र सहयोग छैन ।
यदि कोरोनाले गर्दा काठमाडौँ केही समयका लागि बन्द हुने भयो भने त्यसबेला उपत्यकामा र नेपालभरि नै जनस्वास्थ्यको पहिलो प्राथमिकता समग्र सफाइ अभियान चलाउन किन सकिन्न ? स–सानो समूहमा खुला ठाउँमा व्यक्तिगत दूरी कायम गरेर काम गर्न सकिन्छ । कल्पना गरौँ, मौरीजस्तै लाखौँ स्कुल, कलेजका विद्यार्थीहरू सफाइ अभियानमा जुटेको र नेपाल सरकारले सम्पूर्ण सामर्थ्यसहित त्यसलाई सहयोग जुटाइरहेको छ । के यो कल्पनातीत छ ?
२. काठमाडौँको वायु प्रदूषण अर्को ठूलो जनस्वास्थ्य समस्या हो । हामी जलवायु संकटबारे बहस गर्छौं र चिन्तित हुन्छाैँ, जुन आवश्यक छ । तर त्यसकै एउटा अंग हो– काठमाडौँको वायु प्रदूषण, जुन केही समयदेखि बेइजिङ र दिल्लीजस्ता सहरभन्दा बढी देखिन थालेको छ । त्यसबारे मौसमी बहस मात्रै भएको पाइन्छ । सडकको दुर्गति, प्रदूषणरहित सार्वजनिक यातायातको अभाव र निजी सवारी साधनको गैरजिम्मेवार प्रयोग, फोहोरमैला प्लास्टिक जलाउने बानी यसका प्रमुख कारणमध्ये पर्छन् ।
यो पनि पढ्नुस
कोरोना भाइरसका कारण चीन आन्तरिक विपत्तिमा त छ नै, यसैका नाममा बाह्य विभेदबाट आक्रान्त पनि ।
एउटै पनि मृत्यु नभएको कोरोनाबाट हामी आत्तिन्छौँ तर बर्सेनि वायु प्रदूषणले गर्दा हजारौँ मानिस श्वाससप्रश्वासजन्य रोगले मरिरहेकोबारे हाम्रो खासै ध्यान पुगेको छैन । सडक र यातायातमा सुधार आए सवारी दुर्घटनाबाट ठूलो संख्यामा हुने मृत्यु र अंगभंगजस्तो नेपालको अर्को ठूलो जनस्वास्थ्य समस्यामा पनि कमी आउने थियो । केही समयपछि वर्षाको मौसम आउँदै छ । दयनीय अवस्थाका सडकका खाल्डाखुल्डीमा जमेका पानी नै डेंगु रोग फैलाउने लामखुट्टे प्रमुख आश्रयस्थलहरू बन्नेछन् । निर्जीव सडकलाई जथाभावी गर्न सकिन्छ भन्ने सोच नै जीवितहरूका लागि काल बनेर आउन सक्छ ।
यिनीहरू केही उदाहरण मात्रै हुन् । गर्नुपर्ने कामको सूची लामो छ । हाम्रो सोच र चिन्तन यतातर्फ मोडिन सक्यो भने रोग लाग्दा लक्षणको उपचार गरेर सन्तुष्ट हुने मानसिकताबाट बाहिर निस्केर रोग लाग्नुको मूल कारण र त्यसलाई समाधान गर्ने चौतर्फी प्रयत्नतर्फ केन्द्रित हुनेछ । कोरोनाले उत्पन्न गरेको संकटबाट हामीले सिक्ने सबैभन्दा महत्त्वपूर्ण पाठ त्यही हो र अवसर पनि ।
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...