काेराेना सन्त्रास : अझै कति झेल्नुपर्ने हो जलवायु परिवर्तनको दोख
राज्यसँग कोरोना, डेंगुजस्ता समस्या समाधान गर्ने न भरपर्दो उपाय छ, न त सम्भावित क्षति टार्न अपनाउनुपर्ने पूर्वसावधानी नै ।
कोरोना भयले कोरियाको जीवनशैली असामान्य बनिसकेको छ । यस्तो अवस्थामा यहाँ रहेका नेपालीहरू कत्तिको सुरक्षित छन् ?
“कोरोनाको शंका लागेर अस्पताल भर्ना भएको फान्जाङ (क्याप्टेन) हिजो साँझ बितेछ ।” बिहानै साथीले फोन गर्यो ।
“फान्जाङ र मेरो काम गर्ने ठाउँ सँगै छ । काम पनि एउटै हो । अस्तिको दिन त हो फान्जाङ र मैले सँगै काम गरेका । ऊ तन्दुरुस्तै थियो ।” साथी बोलिरहेछ, म सुनिरहेछु ।
“फान्जाङको शोकमा कारखाना छुट्टी होला कि भन्ने लागेको थियो तर भएन । हामी कामदारहरूको मेडिकल चेकअप गराउने होलान्, कारखानामा दबाइ छर्केलान्, सफा गर्लान् झैँ लागेको थियो । त्यो पनि भएन । बरू मेसिन बिग्रँदा काम रोकिन्छ । मान्छे मर्दा नरोकिदो रहेछ ।” उसले हिक्क गर्यो ।
“अस्ति फान्जाङले आधा गरेर छाडेको काम अब मेरो भागमा आइलागेको छ । अस्ति उसले लगाएका पञ्जाहरू अब मैले लगाउनुपर्ने भएको छ । अस्ति उसले प्रयोग गर्ने 'सेफ्टी टुल्स' हरू अब मैले प्रयोग गर्नुपर्ने भएको छ । अस्ति उसले छोएका सामानहरू अब मैले छुनुपर्ने भएको छ । अस्ति उसले लगाएको एप्रोन अब मैले लगाउनुपर्ने भएको छ । अस्ति उसले उचालेका सामानहरू अब मैले उचाल्नुपर्ने भएको छ । म कसरी गर्न सक्छु र त्यही काम ? तर, मलाई गर्दिन भन्ने छुट छैन । तत्काल कारखाना छाडिहाल्ने अवस्था पनि छैन । छाडिहाले पनि काम पाउन सकस पर्छ । यतिखेर मलाई ती सामानहरू छुन डर लागिरहेछ । मलाई काम गर्न डर लागिरहेछ । फान्जाङले छोएका तिनै सामानहरू त्यही पानीमा पखालेर म कसरी सुकाउन सक्छु र ! भन् त गणेश, म कसरी गर्न सक्छु ? भन् त भन् अब म कसरी गरौं ?” ऊ रून थाल्यो ।
मैले पनि आफूलाई सम्हाल्न सकिनँ । फोन काटिदिएँ ।
केही दिन अघिको कुरा हो, अर्को एउटा साथीको कारखानाको छिगेछा (फोरक्लिफ्ट) चालक कोरोनाकै कारण बितेको थियो । सँगै काम गर्ने सहकर्मी बितेपछि काम छाडेर नेपाल फर्किन खोजेको ऊ टिकट नपाएर अझै भौतारिइरहेको छ ।
मैले थेगुका अरू पनि केही साथीहरूलाई सम्पर्क गरेँ । यदाकदाबाहेक प्रायः सबैको काम निर्वाध चलिरहेको रहेछ । मेरो पनि हालत उस्तै छ । हिजैमात्र छुट्टीमा नेपाल जान भनेर तयार भएको साथीलाई विभिन्न बहाना देखाएर टिकट रद्द गरिदिएको थियो कारखानाले ।
कोरियनहरू श्रममा विश्वास गर्ने भएर हुन सक्छ अथवा भेडोपन, जे भनेपनि प्रायः उद्योगहरू निर्वाध चलिरहेका छन् । मानौँ केही भएकै छैन ।
यो पनि पढ्नुस
राज्यसँग कोरोना, डेंगुजस्ता समस्या समाधान गर्ने न भरपर्दो उपाय छ, न त सम्भावित क्षति टार्न अपनाउनुपर्ने पूर्वसावधानी नै ।
पछिल्लो एक हप्तादेखि कोरिया कोरियाजस्तो छैन । कोरिया रहर हैन, कहर भएको छ यतिबेला । यहाँको सामान्य जीवनशैली अब असामान्य बनिसकेको छ । अति ब्यस्त हुने सडकहरू रित्ताप्रायः भैसकेका छन् । पाइलो टेक्ने ठाउँ नहुने मेट्रो रेलहरू अब खाली खाली गुडिरहेछन् । टनाटन हुने पार्कहरू रित्ता देखिन्छन् ।
मुख्य संक्रमण फैलिएको थेगु सहरका ठूलठूला सपिङ कम्प्लेक्सहरू बन्द छन् । मार्टहरू बन्द छन् । चर्चहरू बन्द छन् । बेलाबेला सडकमा एक्बुलेन्सहरू मात्र कुदिरहन्छन् । खाद्य पदार्थहरूको लागि स-साना मार्ट तथा फेमिजमहरूमा चित्त बुझाउनुपर्ने भएको छ । दैनिक उपभोग्य सामानहरू बिस्तारै नपाइने पो हो कि भन्ने भय सिर्जना हुन थालेको छ । करिब ६ करोड जनसंख्या भएको कोरियामा भोकमारी लागे के होला ? अर्को भय सुरु भैसकेको छ ।
सडकमा निर्वाध हिँडडुल गर्न पनि डर लाग्न थालेको छ । बाटामा कसैले ख्वाक्क खोकेको सुने, कसैते थुक्क गरेको देखे बाटो परिवर्तन गर्न मन लाग्छ । कतै कोहीसँग ठोक्किए मन चिसो हुन्छ, लगाइराखेका आफ्नै लुगा फुकालौं झैँ लाग्छ । वृद्धवृद्धाहरूमा संक्रमण चाँडो फैलने हुँदा उनीहरू हिँडेको बाटो हिँड्नै मन नलाग्ने भएको छ । पसलमा केही किनेर खाइहाल्न आँटै आउँदैन । तिर्खा लागे सर्वजनिक धारामा पानी पिउन मन लाग्दैन ।
कोरिया सरकाले अत्यावश्यक कामबाहेक बाहिर हिँडडुल गर्न निषेध गरेको छ । नचिनेका मान्छेसँग देखभेट, बोलचाल नगर्न अनुरोध गरेको छ । जताततै चेकजाँच र निगरानीहरू बढाएको छ । बाटामा कसैले माक्सहरू वितरण गरे, अथवा चर्चका प्रतिनिधिले बाटामा बसेर सेफ्टीको लागि भन्दै दिएका दबाइहरू नलिन तथा प्रयोग नगर्न भनिएको छ । मोबाइलमा इमर्जेन्सी अलर्टहरू आइरहन्छन् । सञ्चार माध्यम तथा सामाजिक सञ्जाल कोरोनामय छन् । यसो हुँदा भय झन् बढ्ने रहेछ ।
यो पनि पढ्नुस
जलवायु परिवर्तन र व्यवस्थापनको लापरबाहीका कारण कोरोनालगायत संक्रामक भाइरसको जोखिममा नेपाल पनि
काम गर्दागर्दै पनि कसैले नबोलाइदिए हुने । कोही छेउछाउमा नआइदिए हुने । काम अह्राउनेहरूले परैबाट हातकै इसाराले अह्राइदिए हुने जस्तो लाग्छ । सिक्ताङ(किचन) मा सबैसामु बसेर खानपनि मन लाग्दैन । अरूले लामो श्वास फेरेपनि तर्किन मन लाग्छ । त्यतिमात्र हैन कोठाकै सहकर्मी साथीहरूका छेउछाउ जान पनि डर लाग्छ । काम गर्दागर्दै न कसैसँग 'टच' पो गरेँ कि ? कसैले हाच्छ्युँ गर्दा आसपासै पो थिएँ कि? मास्क पो नलगाई काम गरेँ कि ? कतै बाहिरबाट आएकाहरूले भाइरस पो बोकेर आए कि ? तर्सिरहनुपर्छ ।
काम गर्दा, हिँडडुल गर्दा त मास्क लगाइन्छ । होस्टेलमा धेरैजनालाई एउटै कोठामा राख्ने भएकाले कोठामा बस्दा पनि निसास्सिनेगरी मास्क लगाइराख्नुपर्छ । हात धोएको धोएकै गर्नुपर्छ । ड्रेस चेन्ज गरिरहनुपर्छ । साथीहरूले प्रयोग गरेका सामानहरू छुन डर लाग्छ । सबैको अनुहार मलिन देखिन थालेको छ ।
दिन दुई गुना रात चार गुना केभिड १९ का संक्रमितहरू बढिरहेछन् । र, यही अनुपातमा वृद्धिदर बढिरहे संक्रमणले महामारीको रूप लिने निश्चितप्रायः छ ।
यो पनि पढ्नुस
कोरोना भाइरसका कारण चीन आन्तरिक विपत्तिमा त छ नै, यसैका नाममा बाह्य विभेदबाट आक्रान्त पनि ।
कोरिया सरकारले जति नै उच्च सतर्कता अपनाए पनि कोरियन नागरिकहरुभने खासै सतर्क भएको पाइँदैन । हेलचेक्र्याईं गर्छन् । मास्क लगाउँदैनन् । खाख–खाक खुक–खुक गरिरहन्छन् । ढाप मारिरहन्छन् । सामुन्नेमा आएर ह्वास्स श्वास गनाउनेगरि बोलिरहन्छन् । सतर्क हुन अनुरोध गर्दा अहिल्यै मर्दैनस् भनेर उल्टै जिस्क्याउँछन् । कफी, पानी, खानामा जुठो मिसाइदिइहाल्छन् । रक्सी खाने, होहल्ला गर्ने गरिरहन्छन् । सरकारले सचेतनाका लागि अनेक कामहरू गरिरहँदा शतप्रतिशत साक्षर कोरियनहरूमा सचेतना भने शून्य जस्तै लाग्छ ।
सामाजिक सञ्जालमा अनेक समाचारहरू आइरहन्छन् । भ्रामक समाचार र भ्युअरको लोभले बनाइएका झुटा भिडियोहरू हेरेर बुझ्दै नबुझी घर परिवारका सदस्यहरूले तर्साइरहन्छन् । ‘यतिजना बिरामी भए, उतिजना मरे’ भनेर बारबार आउने समाचारहरूले भय अझै बढ्दै जाँदो रहेछ ।
भय कम गर्न भनेर साथीहरूलाई सम्पर्क गर्दा उनीहरू झन् भयभित भेटिन्छन् । सबैलाई अब के होला भन्ने पिर छ । तत्काल घर फर्कन चाहनेहरूको लागि टिकट अभाव छ । कतिपयको कारखानाले घर फर्कन छुट्टी दिइरहेका छैनन् । नेपाल सरकारले अहिलेसम्म आफ्ना नागरिक फर्काउने विषयमा कुनै निर्णय गरिसकेको छैन ।
यो पनि पढ्नुस
कुनै भ्याक्सिन या औषधी नै नबनेको कोरोना भाइरसबाट बच्ने उपायहरू
भय, त्रासले आत्मबल कमजोर हुदै जाँदो रहेछ । त्यसै पनि आत्महत्या बढी हुने कोरियामा कोरोनाको भयले आप्रवासी कामदारहरूमा डिप्रेसनको खतरा ह्वात्तै बढ्ने देखिन्छ । भाइरसले भेटिहाले के गर्ने ? धेरै अन्योलमै छन् । दूतावासले सुरक्षित रहनुहोला भन्ने वक्तव्य निकालेर पन्छिन खोजिरहेको छ । अरु बेला विभिन्न बहानामा अर्थ संकलन गर्ने सामाजिक संघ संस्थाहरू गुमनाम छन् । आफ्नो देश भनेको आफ्नो हौसला रहेछ । राज्यसत्ता निरिह हुँदा भय झन् बढ्दो रहेछ ।
यति हुँदाहुँदै पनि कोरियामा रहेका नेपालीहरूको अवस्था भयभित भने भैसकेको छैन । नेपालमा भन्दा कोरियामा उपचार राम्रो र प्रभावकारी छ । कोरोनाको मृत्युदर कम भएकाले आत्तिइहाल्नुपर्ने अवस्था छैन । व्यक्तिगत सरसफाई तथा सुरक्षामा ध्यान दिए संक्रमणबाट केही हदसम्म जोगिन सकिन्छ । अनावश्यक हिँडडुल नगर्ने, माक्स लगाइरहने, तातो पनी पिइरहने गर्नाले पनि भाइरसबाट जोगिन सकिन्छ । ल्वाङ मरिच, दालचिनी, बेसारपानीको प्रयोगले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सक्छ । कोरोनाको हकमा रोग प्रतिरोध क्षमता नै अहिलेसम्मको एकमात्र दबाई हो । त्यसैले यस्ता कुरामा ध्यान दिनुपर्छ । अल्कोहलले भाइरस मर्ने भाअएकाले रक्सी पिउनुपर्छ भन्ने हल्ला चलेको छ । भ्रामक हल्लाको पछि लाग्नु हुँदैन ।
यो पनि पढ्नुस
सरकारले कहिले लैजाने हो ? हामी कुरेर बसिरहेका छौँ ।
मनोबल घट्दै गए शरीरको रोग प्रतिरोग क्षमतामा ह्रास आउँछ । योग गर्नाले पनि भय कम गर्न सकिन्छ । सामाजिक सञ्जालमा भ्रामक समाचारहरू हेर्नु भन्दा मोटिभेसनल भिडियोहरू हेर्नु हितकर देखिन्छ ।
स्वास्थ्य भन्दा ठूलो केही छैन । रूघाखोकी, ज्वरो तथा श्वास प्रस्वाससम्बन्धि समस्याहरू भए तत्काल अस्पताल जानुपर्छ । कोरोना लागिहाले वैधानिक तथा अवैधानिक आप्रवासी कामदारहरूलाई कोरिया सरकारले निःशुल्क उपचार गर्छ ।
अन्त्यमा, कोरियामा रहेका नेपालीहरूका घर परिवार तथा आफन्तहरूलाई भ्रामक समाचारहरूको पछि नलाग्न र नआत्तिन अनुरोध छ । बरू तपाईंहरू पनि आफ्ना आफन्तहरूको मनोबल बढाइदिनुस् । केही हदसम्म भए पनि भय कम हुन्छ । अहिलेसम्म कोरियामा रहेका आप्रवासी कामदार तथा विद्यार्थीहरू सुरिक्षत छौं । विदेशीहरूको हकमा मंगोलियाका एकजना बाहेक कसैलाइ पनि केभिड भाइरसको संक्रमण देखिएको छैन ।
कोरियामा कोरोनाको मुख्य प्रभावित क्षेत्र थेगुमा मात्र १० हजार बढी नेपाली कामदारहरू रहेको अनुमान छ । थेगुमा दुई हजार बढी बिरामी भेटिएका छन् । लेख तयार पार्दासम्म कोरियामा २९३१ जना केभिड १९ का बिरामीहरू भेटिइसकेका छन् । मृत्यु हुनेहरूको संख्या १६ छ भने २७ जाना निको भैसकेका छन् । कोरियामा करिब ५० हजार नेपालीहरू कार्यरत छन् भने विद्यार्थीहरू पनि छन् ।
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...