चीनमा काेराेना सन्त्रास भाेगिरहेकी पत्रकार भन्छिन् – सरकार कुर्दैछौँ
सरकारले कहिले लैजाने हो ? हामी कुरेर बसिरहेका छौँ ।
म ५ महिनादेखि उहान सहरमा विद्यावारिधि गर्दै छु । विश्वविद्यालय नजिक अपार्टमेन्टको १३ औँ तलामा बस्छु । २० जनवरीमा डिपार्टमेन्ट स्टोरबाट सामान किनेर फर्केपछि वीच्याटको म्यासेजबाट थाहा पायौँ, कोरोना भाइरस भयावह हुँदै छ ।
यहाँ म, श्रीमान् र ३२ महिने छोरा बस्छौँ । २३ जनवरीमा जब सिंगै सहर सिल गरियो, त्यसपछि भने डर लाग्यो । नेपाली दूतावासमा सम्पर्क गरेँ । राजदूतलाई घर पठाइदिन आग्रह गर्दा पनि वास्ता गरेनन् । वीच्याटमा नेपालीको समूह बनाऔँ भन्दा पनि दूतावासले सुरुमा ध्यान दिएन । तर पछि समूह बनेछ, राम्रो भयो । पहिला केहीले घर फर्कन चाहेका र केहीले यहीँ ठीक छ भने पनि अहिले हामी सबै घर फर्कन चाहन्छौँ ।
भाइरस भयावह रोगको रूपमा फैलिएकाले बजारमा मास्क र पन्जाको कमी छ । सस्तो मास्कलाई पनि १ सय ८० आरएनबी (चिनियाँ मुद्रा) मा किन्नुपर्यो । पन्जा त हामीले किन्नै पाएनौँ । नयाँ वर्ष भएकाले खानेकुरा प्रशस्तै किनेका थियाैँ । १२ दिन भयो, घरबाट बाहिर ननिक्लेको ।
फोहोर फाल्न लिफ्टबाट ओर्लनुपर्छ । कसैले हाच्छ्युँ गर्यो या संक्रमितले लिफ्टको बटन छोएका छन् भने पनि भाइरस सर्न सक्छ । भाइरस लागेको १ देखि १४ दिनमा पत्ता लाग्ने भएकाले अझै त्रासमा छु । सुरुमा त मरिन्छ कि जस्तो लाग्थ्यो । अहिले भने अब ठीक भएजस्तो लाग्छ ।
सुरुका ३–४ दिन डरले डिप्रेसनजस्तै भएको थियो । संस्कृति पढाउने शिक्षकसँग कुरा गरेँ । उहाँले काउन्सिलरसँग कुरा गरेपछि केही राहत मिल्यो । हामीजस्तै चिनियाँ पनि आत्तिएका रहेछन् भनेपछि केही शान्त भयो ।
मेरो बच्चालाई घुम्न मन पर्छ । अरू बेला बिहान–बेलुका बाहिर घुमाउँथेँ । एक दिन बार्दलीमा बिहान उसलाई घाम देखाउन गएकी थिएँ । पल्लो अपार्टमेन्टका ज्येष्ठ नागरिकले लुगा सुकाएको देख्नेबित्तिकै भित्र पसेँ । किनभने हामीले मास्क लगाएका थिएनौँ ।
भाइरसले बच्चा र वृद्धलाई बढी जोखिम हुन्छ । म बस्ने भवनमा प्राय: वृद्धवृद्धा बस्छन् । पल्लो अपार्टमेन्टका ज्येष्ठ नागरिकले हाच्छ्युँ गरेको भए आमाछोरा संक्रमित हुन्थ्यौँ । त्यसैले झटपट भित्र छिरेँ । मेरो ठाउँमा उनी भएको भए पनि त्यस्तै हुन्थ्यो होला ।
अचेल बच्चा बाहिर जान पाइनँ भनेर बेलुका भएपछि चिच्याउँछ । उसलाई देखेर झन् चिन्ता लाग्छ । नजिकै रहेको स्टोर १ किलोमिटर पर छ । त्यहाँ हेल्थ डेस्क छैन । यहाँ कोरोना हाच्छ्युँबाट मात्र नभई नाक, आँखाबाट पनि सर्ने भन्छन् ।
श्रीमान् ३ दिनअघि स्टोर जानुभएको थियो । त्यहाँ ३०/३५ जना मान्छे लाइनमा थिए । सामानसँगै रोग पनि आयो कि भन्ने डर । चिसोले रुघाखोकी लाग्ला भनेर कोठामा हिटिङ अन गरिरहनुपर्छ । यसले गर्दा बिहान मुख सुक्खा हुन्छ । फेरि सुक्खा रुघा लाग्ला भनेर २/३ घन्टा तनावमै बित्छ । बरु नेपालमा भएको भए परिवारसँग होइन्थ्यो । मलाई र श्रीमान्लाई केही भए दिदीबहिनीले हेर्थे भन्ने लागिरहन्छ । यस्तोमा नकारात्मक सोचाइ आउँदो रहेछ । सरकारले कहिले लैजाने हो ? हामी कुरेर बसिरहेका छौँ ।
सम्बन्धित
जलवायु परिवर्तन र व्यवस्थापनको लापरबाहीका कारण कोरोनालगायत संक्रामक भाइरसको जोखिममा नेपाल ...
बढ्दै छ संक्रामक भाइरसको सन्त्रास
सरकारले कहिले लैजाने हो ? हामी कुरेर बसिरहेका छौँ ।...
चीनमा काेराेना सन्त्रास भाेगिरहेकी पत्रकार भन्छिन् – सरकार कुर्दैछौँ
कुनै भ्याक्सिन या औषधी नै नबनेको कोरोना भाइरसबाट बच्ने उपायहरू...
कसरी बच्ने कोरोना भाइरसबाट ?
दाल, भात पनि पत्रु खाना हुन सक्छ भनेर कोही व्यक्तिले गलत भनेका छन् । तर दाल, भात पत्रु होइ...
पत्रु र स्वस्थकर खानाको बहस
चाउचाउले दिँदैन पोषण...
पत्रु खान्कीको पासो
राज्यले तोकेभन्दा बढी शुल्क उठाइरहेका ७ मेडिकल कलेज सञ्चालकविरुद्ध विद्यार्थी आन्दोलन चर्क...