पत्रु र स्वस्थकर खानाको बहस
दाल, भात पनि पत्रु खाना हुन सक्छ भनेर कोही व्यक्तिले गलत भनेका छन् । तर दाल, भात पत्रु होइन, चाउचाउ र कुरमुरे पत्रु हुन् भन्ने कुरा सत्य हो ।
केही दिनअघिको नेपाल म्यागजिनमा ‘पत्रु खाना भन्ने हुँदैन, पोषणमा काम गर्ने तर पोषण विज्ञान नपढेका मानिसले प्रयोग गर्ने शब्द हो’ पढियो । पोषण विज्ञानको पढाइ सुरुआत भएको सायद ७० वर्षभन्दा बढी भएको छैन ।
त्यसअघि हाम्रा पुर्खाहरुले ‘विज्ञान’ नबुझ्दै के खाए स्वस्थ भइन्छ भन्ने जानिसकेका थिए । खानालाई उसिनेर, भुटेर, बफाएर, टुसा उमारेर खाँदा के–के फाइदा हुन्छन्, गेडागुडीमा टुसा उमारेपछि त्यसको पौस्टिकता झन् बढ्छ भन्ने जानेका थिए । खाजामा रेसादार पदार्थ भयो भने कब्जियत हुँदैन भन्ने कुराको ज्ञान थियो । अहिले पोषण विज्ञानले त्यही कुरा ठीक हो भनेर ठप्पा लगाएको मात्रै हो ।
अहिलेको पोषण विज्ञान समय–समयमा परिवर्तित भइरहन्छ । ‘घ्यु स्वास्थ्यका लागि ठीक छैन’ भन्ने कुरा केही वर्षअघि चर्चामा थियो । अहिले घ्युले स्वास्थ्यमा राम्रो असर पुर्याउँछ भनेर उनै वैज्ञानिक पोषणविद् भन्दै छन् । ‘अन्डाको पहेँलो भागले स्वास्थ्यमा खराबी गर्छ । अन्डाको सेतो भाग मात्र प्रयोग गर्नू भन्ने’ पोषणविद् अहिले सेतो–पहेँलो दुवै भाग राम्रो हुन्छ भनिरहेछन् ।
विदेशका वैज्ञानिकले भोजन र पोषणबारे छलफल गर्दा देशको हावापानी, संस्कृति, वातावरण र वर्तमान अवस्थाबारे कहिल्यै पनि छलफल गर्दैनन् । किनभने पोषणविद् पनि बजारबाट प्रभावित छन् । तर केही दिनअघि बीबीसीमा प्रकाशित लेखले के सिद्ध गर्छ भने पोषणबारे नेपालका जनस्वास्थ्यविद्ले जे भनेका थिए, त्यो ठीकै रहेछ ।
‘पत्रु खानाको उपयोगले सानैदेखि बालबालिकामा मोटोपन हुने र त्योसँगै गाँसिएको मधुमेह, उच्च रक्तचापको समस्या एकातिर छ भने बालबालिकालाई कुपोषण हुने समस्या अर्कोतिर छ’, बीबीसीले भनेको छ । यो लेख लेखिरहँदा एरियन नेस्टर लिखित ‘भोजनको राजनीति’ पनि पल्टाउँदै छु । अमेरिकाको जनस्वास्थ्यमा कसरी त्यहाँका ‘पत्रु खाना’ बनाउने कम्पनीको बोलवाला छ, कसरी उनीहरुले अमेरिकन सिनेट (हाम्रा सासंदजस्तै) लाई प्रभावमा पारेर ‘पत्रु खाना स्वास्थ्यका लागि खासै नराम्रो हुँदैन भन्ने जानकारी दिन्छन् भनेर लेखिएको छ ।
उनको किताबमा लेखिएको छ, ‘भोजन सन्तुलित हुनुपर्छ । शरीरलाई चाहिने सूक्ष्म पौस्टिक तङ्खव यसमा रहनुपर्छ । विश्वमा विविध जातजातिका मान्छेले विभिन्न संस्कृतिसहितका परिकारको खाना खान्छन् । यसले उनीहरुको स्वास्थ्य उत्तम रहन्छ । एसिया र मेडिटरेनियाहरुको खानामा विशेषगरी वनस्पति हुन्छन्, जसमा थोरै क्यालोरी, धेरै पौस्टिक तत्त्व हुन्छ । बाल्यकालदेखि नै कस्तो खाना खुवाइन्छ । त्यसले भविष्यमा उनीहरुको मधुमेह, मुटु रोग, उच्च रक्तचाप हुने–नहुने भर पर्छ । अहिले त अमेरिकीले ७० को दशकमा भन्दा बढी खाइरहेछन् । उनीहरु घरबाहिर बढी खान्छन् ।
अमेरिकीका लागि निकालिएको भोजन निर्देशिकामा ‘बोसोजन्य पदार्थ, चिनी धेरै नखानू’ भनेर आयो । जनस्वास्थ्यविद्ले ‘बोसो र चिनी हालेका खाना कम खानू’ भनेका थिए । तर कम कम खानूभन्दा जनताले थोरै प्रयोग गरे बजारमा घाटा लाग्छ भनेरै ‘धेरै नखाऊ’ लेखियो । यो कुरा ठूला औद्योगिक घराना र पत्रु खाना बनाउने व्यापारिक स्वार्थलाई ध्यानमा राखेर लेखिएको थियो । (४६–४७ ) ।
सरकारले ‘जनतालाई यो कम खाऊ, यो बढी खाऊ’ भन्ने होइन । जनतालाई जे मन लाग्छ, त्यही खान पाउनुपर्छ,’ सिनेटर जोनले भनेका थिए । सरकारमा बसेका मानिसले यसो भन्छन् भने अरुको त के कुरा !
बजारबाट प्रभावित वैज्ञानिकले त योसम्म भने, ‘कुनै पनि स्वस्थ व्यक्तिले जति मन लाग्छ, बोसोजन्य खाना खाए हुन्छ’ (४७) । यसरी नीतिगत रुपमा काम गर्ने व्यक्तिले लिखित रुपमै यस्तो कुरा गरेपछि जनतालाई हो भन्ने लाग्ने नै भयो । तर अहिले अमेरिकी जनस्वास्थ्यविद्ले नै भन्छन्– बोसोे भएको खाना कम प्रयोग गर्नुपर्छ ।
दाल, भात पनि पत्रु खाना हुन सक्छ भनेर कोही व्यक्तिले गलत भनेका छन् । तर दाल, भात पत्रु होइन, चाउचाउ र कुरमुरे पत्रु हुन् भन्ने कुरा सत्य हो । अमेरिकामा पनि ठूल्ठूला औद्योगिक घरानाका व्यक्तिले सरकारसँग वकालत गरेर भोजन र पोषणबारे अनुसन्धान गर्नुको कुनै औचित्य छैन । सबै खाना अर्थात् पत्रु खाना पनि स्वस्थकर हुन्छन् । ‘स्वस्थकर खाना खानुपर्छ भनेर वकालत गर्नुको कुनै तर्क छैन ।’ (पेज ३५८ ) । यसरी आफ्नो स्वार्थसिद्ध गरेर पैसा कमाउनेहरु जनस्वास्थ्यप्रति चासो राख्दैनन् ।
वास्तविक जनस्वास्थ्यविद् र पोषणविद्ले पोषणबारे भनेका कुरालाई अमेरिकी व्यापारीले अस्वीकार गर्छन्, नेपालमा पनि ।
पत्रु खाना बनाउने कम्पनी
नेपाल सरकारले केही वर्षअघि स्कुलमा ‘पत्रु खाना बेच्न नहुने’ नीति ल्याएको थियो । तर व्यापारीले विभिन्न मन्त्रालय धाएर पत्रु खानाको वकालत गरे । सरकारको नीति यसै हराएर गयो । यदि अहिलेदेखि नै पत्रु खानाको विरोधमा लागिएन भने भविष्यमा हाम्रो युवा पुस्ता मोटो भएर अनेक समस्यामा फस्नेछ ।
सम्बन्धित सामग्रीहरू
सम्बन्धित
जलवायु परिवर्तन र व्यवस्थापनको लापरबाहीका कारण कोरोनालगायत संक्रामक भाइरसको जोखिममा नेपाल ...
बढ्दै छ संक्रामक भाइरसको सन्त्रास
सरकारले कहिले लैजाने हो ? हामी कुरेर बसिरहेका छौँ ।...
चीनमा काेराेना सन्त्रास भाेगिरहेकी पत्रकार भन्छिन् – सरकार कुर्दैछौँ
कुनै भ्याक्सिन या औषधी नै नबनेको कोरोना भाइरसबाट बच्ने उपायहरू...
कसरी बच्ने कोरोना भाइरसबाट ?
दाल, भात पनि पत्रु खाना हुन सक्छ भनेर कोही व्यक्तिले गलत भनेका छन् । तर दाल, भात पत्रु होइ...
पत्रु र स्वस्थकर खानाको बहस
चाउचाउले दिँदैन पोषण...
पत्रु खान्कीको पासो
राज्यले तोकेभन्दा बढी शुल्क उठाइरहेका ७ मेडिकल कलेज सञ्चालकविरुद्ध विद्यार्थी आन्दोलन चर्क...