पत्रु खान्कीको पासो
चाउचाउले दिँदैन पोषण
१९ वर्षीया रश्मी केसी चटपटे र पानीपुरीकी नियमित ग्राहक हुन् । साँधेको चाउचाउ उनको प्रिय । भन्छिन्, “दिनमा एक पटक त खान आउँछु । चटपटेमा हम्टीडम्टी हालेपछि स्पाइसी बन्छ, मीठो हुन्छ ।” यसले स्वास्थ्यमा असर पार्ने बताउँदा भन्छिन्, “हुन त हो तर खान मज्जा लाग्छ ।”
पछिल्लो समय ५ रुपैयाँ पर्ने मामा, हम्टीडम्टी, हिट्सदेखि २० रुपैयाँ पर्ने वाईवाई, रमपम चटपटेमा हालिने प्रमुख चीजको रूपमा विकसित भइरहेको छ । सडकछेउ, मलअगाडि बेचिने चटपटे स्टलमा ५ जाने चाउचाउ मालाजस्तै झुन्ड्याएर राखिन्छ र २० रुपैयाँ पर्ने कार्टुनमा । दिनभर दुई कार्टुन चाउचाउ सकिने बताउँछन्, मध्यबानेश्वरका चटपटे व्यापारी श्याम यादव । उनका चटपटेका पारखीमा ४ वर्षे बालबालिकादेखि प्रौढ महिलासम्म हुन्छन् । कलेजछेउ बस्ने उनका ग्राहक अधिकांश विद्यार्थी र गृहणी हुन् ।
१२ वर्षीय स्वीकृत बरालको मन पर्ने खाजा हो, चाउचाउ । उनी घर होस् या विद्यालय, चाउचाउ खान मन पराउँछन् । भन्छन्, “स्कुलमा खान दिँदैनन् तर घर फर्किने समय या बिहान स्कुल जाने बेला खाइन्छ ।” धेरै खाँदा असर गर्ने बताउँदा भन्छन्, “खै, मामुले नै घरमा पकाएर खुवाइसिन्छ । घरमा त सबैले खान्छन् ।”
विज्ञापन एजेन्सीमा कार्यरत २४ वर्षीय रमेश भुजेल र उनका साथीहरूको अफिसमा नछुट्ने खाजा हो, चाउचाउ फ्राइ, चाउचाउ सुप र चाउमिन । भन्छन्, “यहाँ प्राय: यही पाइन्छ । छिटो, मीठो र सस्तो पनि ।”
यी केही प्रतिनिधि पात्र मात्र हुुन्, जसले निरन्तर चाउचाउलाई स्न्याक्सभन्दा पनि पेट भर्ने खाजाको रूपमा खाइरहेका छन् । करिब ३ दशकदेखि अधिकांश नेपालीको खाजा बनेको छ, तयारी चाउचाउ । बच्चादेखि वृद्धवृद्धासम्म, घरदेखि अफिससम्म चाउचाउमै मन रमेको छ । तथ्यांकअनुसार मासिक साढे ५ करोड प्याकेट चाउचाउ नेपालमै खपत हुन्छ, जसमा खैरो चाउचाउको खपत कुल बिक्रीको ९० प्रतिशत छ । बजारमा सुप स्प्रे नगरिएको सेतो चाउचाउमा रारा र सुप स्प्रे गरिएको खैरोमा वाईवाईको वर्चस्व छ । गण्डकी नुडल्सले ३० वर्षअघि र चौधरी ग्रुपले २८ वर्षअघि उत्पादन गर्न थालेका रारा र वाईवाई अन्तर्राष्ट्रिय ब्रान्ड बनिसकेका छन् । काँचै खान साना प्याकेटका हम्टीडम्टी, हिट्स मामा चाउचाउ लोकप्रिय बनिरहेका छन् भने २० रुपैयाँ पर्ने चाउचाउ खाजाकै रूपमा प्रयोगमा आउन थालेको छ ।
करिब ५ अर्ब रुपैयाँको नेपाली चाउचाउको बजार बर्सेनि २० प्रतिशतले बढिरहेको छ । अभियन्ताहरू चाउचाउलाई पत्रु खाना (जंक फुड) भन्छन् । तर त्यही जंक फुडको बिक्री देशमा अधिक छ ।
१२ जेठ ०७२ मा नेस्ले इन्डिया प्रालिको म्यागी चाउचाउमा सीसा लिड पाइएपछि नेपालमा म्यागी बिक्री वितरण नगर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रेस विज्ञप्ति नै जारी गरेको थियो । भारतकै कतिपय राज्यमा म्यागीमा अखाद्य तत्त्व भेटिएसँगै बिक्रीमा बन्देज लगाइएपछि नेपालमा पनि कारबाही गरिएको थियो । सरकारले नेपाली चाउचाउ पनि प्रयोगशालामा जाँच गरिने बतायो ।
तर त्यसबेला मोनोसोडियम ग्लुटामेट नेपालका चाउचाउमा पनि परीक्षण गरिने बताएको विभागले समेत त्यसबारे अनुगमन र अनुसन्धान गर्दै गरेन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग प्रयोगशालाका एक कर्मचारीका अनुसार ०७२ पछि ल्याबमा चाउचाउ खासै परीक्षण हुँदैनन् । चाउचाउ मात्र होइन, बजारमा यस्ता थुप्रै खानेकुरा छन्, जुन बजार अनुगमन गर्न जाँदा शंका लागे मात्र ल्याब परीक्षणमा ल्याइने नत्र खासै अनुगमन नहुने ती कर्मचारी बताउँछन् । दक्ष कर्मचारी अभावले विभागले बेवास्ता गरेको कर्मचारीको बुझाइ छ ।
यस्तै, १५ कात्तिकमा राष्ट्रपति विद्यादेवी भण्डारीले बलियो नेपालको पोषण कार्यक्रम उद्घाटन गरिन् । कुपोषण र होचोपनामा कमी ल्याउने उद्देश्यले गर्न लागिएको कार्यक्रम चाउचाउमा पोषण थपेर उत्पादन गर्ने कुराले विवाद ल्यायो । सोही विवादपछि डा अरुणा उप्रेतीले बोर्डको सल्लाहकार पदबाट हटेको घोषणा गरिन् ।
नेपालमा प्राय: यस्ता विवाद आएपछि मात्र पोषणबारे छलफल चल्ने गर्छ । खाना जीवनको आधार हो । भनिन्छ, जस्तो खायो, त्यस्तै बनिन्छ । तर सरकार र सम्बन्धित अधिकारीले बजार अनुगमन र अनुसन्धान नगर्दा नागरिकको स्वास्थ्यमा खेलवाड भइरहेको छ ।
स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख केदारराज पराजुली काठमाडौँ उपत्यकामा उपलब्ध चाउचाउ गुणस्तरहीन भएको बताउँछन् । उनका अनुसार एक संस्थाले गरेको अनुसन्धानबाट चाउचाउलगायत अन्य तुरुन्त खान मिल्ने प्याकेटका खानेकुरा न्यून गुणस्तरका छन् । सरकारले तोकेको मापदण्डसमेत पूरा नभइरहेको अवस्थामा चाउचाउजस्ता खानेकुरामा पोषण थपेर त्यसको प्रवद्र्धन गर्नु कत्ति जायज होला ?
बालबालिकाका लागि खतरा चाउचाउ
फागुन ०७५ मा विश्व स्वास्थ्य संगठनले काठमाडौँका १२ देखि २३ महिनासम्मका बालबालिकामा पोषण जाँच गरेको थियो । उक्त जाँचमा ७ सय ४५ घरधुरीका बालबालिका समावेश थिए । पोषण जाँचमा बालबालिकाको स्वास्थ्यमा प्रोटिन, भिटामिन, आइरन, जिन्कलगायत विभिन्न पोषण तत्त्वको अभाव देखियो । यसको मुख्य कारकतत्त्व बजारमा पाइने प्याकेटका खानेकुरा (जंक फुड) थिए, जसमा बिस्कुट, क्यान्डी र चकलेट, नुनिला र मसलेदार प्याकेट खाना र तयारी चाउचाउको मुख्य हिस्सा थियो ।
सर्वेक्षणमा धेरै खपत हुने स्न्याक्स फुडमा अधिक मात्रामा शक्तिवद्र्धक (चिनी धेरै भएको) र नुन धेरै भएको सोडियम तत्त्व हालिएका थिए । यसले शरीरलाई पोषण दिनेभन्दा स्वास्थ्यमा ह्रास ल्याउने काम गर्ने पोषणविद्हरू बताउँछन् । अनुसन्धानकर्ता एवं पोषणविद् डा अतुल उपाध्यायका अनुसार काठमाडौँमा गरिएको सर्वेक्षणमा दुई वर्षका बालबालिकाले आवश्यकभन्दा पनि धेरै मात्रामा जंक फुड खाएका थिए ।
बालबालिकामा पुड्को, ख्याउटे र कम तौलको समस्या देखिनुमा जंक फुड प्रमुख कारक भएको पोषणविद्हरू बताउँछन् । सामान्यत: अमेरिकाका १० देखि १५ वर्षसम्मका बालबालिकाले खाने जंक फुड नेपालका २ वर्षभन्दा कम उमेरका बालबालिकाले खाने गरेको पाइयो । यसरी बालबालिकालाई बजारमा पाइने प्याकेटको खानेकुरा खुवाउँदा तिनको स्वास्थ्यमा आवश्यक पोषण तत्त्वको कमी देखिएको छ ।
स्वास्थ्य संस्था हेलन केलर इन्टरनेसनलले पनि पत्रु खानेकुराका कारण काठमाडौँ उपत्यकाका बालबालिकामा पुड्कोपना हुने खतरा औँल्याएको छ ।
चाउचाउ पत्रु नै हो ?
अनुसन्धानकर्ता उपाध्यायका अनुसार जंक फुडको निश्चित परिभाषा छैन । कुन खाना जंक भन्ने प्रयुक्त सामग्रीबाट थाहा हुन्छ । चिल्लो, नुन र चिनीको मात्रा कुनै पनि खानामा चाहिनेभन्दा अधिक भए र त्यसमा फाइबर, प्रोटिन, भिटामिन, मिनरलको मात्रा कम छ भने त्यो जंक फुड हुन्छ । जस्तो, नेपालीको खाना सेलरोटीलाई जंक फुड मान्ने कि नमान्ने । उपाध्याय भन्छन्, “चाउचाउ फाइबररहित मैदाबाट बन्छ, जसमा प्रोटिन एकदमै कम हुन्छ । नुन हालिन्छ, चिनी नभए पनि चिल्लो हुन्छ, जसले शक्ति दिन्छ । भिटामिन र मिनरल अत्यन्त कम हुन्छ किनकि फलफूल, सागपात केही हालिँदैन ।” यस्तै, चिकेन स्वादका चाउचाउमा मासुको सुपको फ्लेबर हालिन्छ, कति मात्रामा त्यसबाट मासुको पौस्टिक तत्त्व गयो, त्यसको कुनै तथ्यांक छैन ।
नेपाल सरकारको मापदण्डअनुसार प्रोटिनको हकमा १० प्रतिशत नघटेको र मोनोसोडियम ग्लुटामेट १ प्रतिशत नबढेको हुनुपर्छ । तर चाउचाउमा प्रयोग भएको प्रोटिन मैदाकै ग्लुटेन भएको उपाध्याय दाबी गर्छन् । ग्लुटेनले पिठो इलास्टिकजस्तै तन्काउँछ, जुन चाउचाउ तन्काउन प्रयोग हुन्छ । अधिकांश चाउचाउमा २० प्रतिशत प्रोटिन हुने लेबलमै उल्लेख गरेको भेटिन्छ । तर दु:खको कुरा, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जाँच्दैन । अमेरिकामा बालबालिकाको खानामा ग्लुटेन राखिँदैन । ग्लुटेनले सेलियक (सानो आन्द्रामा समस्या) रोग लाग्छ ।
यो पनि पढ्नुहोस् : भान्छामा घुसेको भोजनको राजनीति
मैदा गहुँबाटै छानिएर बनेको पिठो हो । भिटामिन र मिनरलका लागि चाउचाउ खाइँदैन । सेल चामलको पिठोबाट बन्छ । घ्युमा पकाइन्छ, चिनी हालिन्छ । त्यसले शरीरमा कुनै पोषण दिँदैन । चामलको पिठोमा कार्बोहाइड्रेट धेरै, फाइबर शून्य, चिनीले मधुमेह जोखिम, चिल्लो शरीरमा बढी भए कोलेस्टेरोल बढाउँछ । यदि हाम्रो शरीरलाई चाहिने अनुपातमा दाल, भात र तरकारी खान्छौँ भने त्यो पोषण हो । तर धेरै दाल र भात तथा थोरै तरकारी खायौँ भने त्यो जंक फुड बन्न जान्छ । जंक फुड खाद्यपदार्थभन्दा पनि खाने प्रक्रिया रहेको उपाध्याय बताउँछन् । त्यसमा सहमत छिन्, खाद्य प्रविधि तथा गुण नियन्त्रणका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत एवं फुड टेक्नोलोजिस्ट हुमा बोक्खिम ।
उपाध्यायका अनुसार १ देखि २ वर्षसम्मका बच्चाका लागि १ हजारदेखि २ हजार क्यालोरी चाहिन्छ । तर अध्ययनले जम्मा ८ सय मात्र क्यालोरी पाइएको देखाएको छ । वयस्क मान्छेलाई १८ सयदेखि २४ सय क्यालोरी चाहिने अन्तर्राष्ट्रिय मापदण्ड हो । नेपालीलाई कति चाहिन्छ, त्यसको अध्ययन हुनै सकेको छैन । विज्ञका अनुसार क्यालोरी नपुग्नुको एउटा कारण जंक फुड नभई खुवाउने प्रक्रिया (जंक फिडिङ) हो । फुड टेक्नोलोजिस्ट बोक्खिम जंक फुड शब्द अभियन्ताहरूले जन्माएको ठान्छिन् । भन्छिन्, “पोषण नपढेका तर पोषणमा काम गरिरहेकाले जन्माएको शब्द हो, यो । कतिपय खानामा विषाक्त तत्त्व हुन्छ, खानालाई ‘फोर्टिफाई’ गर्दा त्यस्ता तत्त्व नष्ट भई शरीरलाई चाहिने पोषिला खाना बन्छन् ।”
अचेल कोरियन चाउचाउको माग व्यापक छ । बोक्खिमका अनुसार कोरियन र नेपाली चाउचाउ एकै खाले तत्त्वबाट बनेको हो । त्यो खान मिल्छ भने यो किन मिल्दैन ? उनी तर्क गर्छिन् । तर पकाएर खानुपर्ने चाउचाउ काँचै खाँदा त्यसले असर गर्ने उनी बताउँछिन् । उनका अनुसार विज्ञापनमा पनि चाउचाउमा अन्डा र सागसब्जी हालेको देखाइन्छ । चाउचाउमा सागसब्जी र अन्डा हालेर खानुपर्छ ।
चाउचाउलाई नखाऔँ भन्न सकिन्न तर बिहान–बेलुका दालभातजस्तो गरी खाने चीज नभएको पोषणविद् उपाध्यायको तर्क छ । भन्छन्, “तर म बालबालिकालाई फिटिक्कै खुवाउन हुन्न र अजिनोमोटो प्रयोग गर्नुहुन्न भन्ने मतमा छु ।” उनका अनुसार कुनै अध्ययनले अजिनोमोटोको प्रयोग फाइदा पुर्याउने र कुनैले चिनियाँ रेस्टुराँ सिन्ड्रोम (चिनियाँ खानामा अधिक मोनोसोडियम) हुने देखाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा ०७४/७५ मा चाउचाउ उद्योगविरुद्ध चार वटा मुद्दा परेका थिए भने ०७५/७६ मा ३ वटा । विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार चाउचाउका मुद्दा कमै हुन्छन् । विशेषगरी पानी मात्र अशुद्ध भेटिन्छ । सरकारले खानुहुन्छ भनेर लाइसेन्स दिएपछि विभागले चाउचाउलाई जंक भनेर कारबाही गर्न नमिल्ने बताउँछन्, महर्जन । भन्छन्, “न्यून गुणस्तर छ भने ल्याबमा पास हुन्न ।”
बेखबर योजना आयोग
१८ कात्तिकमा नेपालमा ‘सन ग्लोबल ग्यादरिङ’ भएको थियो । ६१ देशका प्रतिनिधिले भाग लिएको कार्यक्रम उप्रधानमन्त्री उपेन्द्र यादवले उद्घाटन गरेका थिए भने राष्ट्रपतिले भाषण गरेकी थिइन् । बहुक्षेत्रीय पोषण योजना (०७५/७६ देखि ०७९/८०) सम्म कार्यक्रम नेपाल सरकारको मन्त्रिपरिषद्बाट ३ मंसिर ०७४ मा पारित भएको थियो । यसैअन्तर्गत ‘सन ग्लोबल ग्यादरिङ’ भएको हो । राष्ट्रिय योजना आयोगले पोषणमा सुधार गरी सन् २०३० सम्म पुड्कोपनलाई १५ प्रतिशत, ख्याउटेपनलाई ४ प्रतिशत र रक्तअल्पतालाई १० प्रतिशतमा झार्ने लक्ष्य लिएको छ । तर प्रधानमन्त्री नै अध्यक्ष रहेको योजना आयोग नै विश्व स्वास्थ्य संगठनले काठमाडौँ उपत्यकामा गरेको अनुसन्धानबारे जानकार छैन । प्रवक्ता किरण रूपाखेती आयोगलाई यसबारे केही थाहा नभएको दाबी गर्छन् । नेपाल संवाददाता पुग्दा उनको कार्यालयमा अधिकांश दैनिक पत्रपत्रिका थिए । उक्त समाचार केही महिनाअगाडि सञ्चार माध्यममा छाएको थियो । पढेलेखेका बाबुआमाकै सन्तान कुपोषित भएको डरलाग्दो तथ्यांक त्यसले उजागर गरेको छ । तर प्रवक्ता रूपाखेतीले उल्टै पुड्कोपन ५७ बाट ३६ प्रतिशतमा घटेको भन्दै आफ्नो प्रशंसा आफैँ गरे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोषण संवेदनशील र पोषण विशेषज्ञ कार्यक्रम चलाएको छ । स्वास्थ्य विभागले सरकारका अन्य निकायले पूरा गर्न नसकेका कामको परिपूर्ति मात्र पोषण विभागले गर्ने शाखा प्रमुख पराजुली बताउँछन् । आयोगले देशकै लागि पोषण निर्देशिका र कार्यक्रम बनाउने अन्य कृषि, महिला तथा बालबालिका, ज्येष्ठ, खानेपानी, सरसफाइ तथा वातावरण, अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरी कार्यक्रम लैजानुपर्नेमा उनको जोड छ । भन्छन्, “तर उनीहरू आफ्नो काम गर्दैनन् । परिपूर्ति मात्र गर्नुपर्ने ठाउँमा हामीले सम्पूर्ण पोषण हेर्नु परेको छ । २६ वर्षदेखि भिटामिन ए क्याप्सुल र २० वर्षदेखि आइरन ट्याबलेट बाँडिरहेका छौँ । । जबकि यी भिटामिन र मिनरल ५० प्रतिशत नियमित खानाबाट र बाँकी ५० प्रतिशत अन्य माध्यम क्याप्सुल आदिबाट पुर्याउनुपथ्र्यो ।”
सम्बन्धित
जलवायु परिवर्तन र व्यवस्थापनको लापरबाहीका कारण कोरोनालगायत संक्रामक भाइरसको जोखिममा नेपाल ...
बढ्दै छ संक्रामक भाइरसको सन्त्रास
सरकारले कहिले लैजाने हो ? हामी कुरेर बसिरहेका छौँ ।...
चीनमा काेराेना सन्त्रास भाेगिरहेकी पत्रकार भन्छिन् – सरकार कुर्दैछौँ
कुनै भ्याक्सिन या औषधी नै नबनेको कोरोना भाइरसबाट बच्ने उपायहरू...
कसरी बच्ने कोरोना भाइरसबाट ?
दाल, भात पनि पत्रु खाना हुन सक्छ भनेर कोही व्यक्तिले गलत भनेका छन् । तर दाल, भात पत्रु होइ...
पत्रु र स्वस्थकर खानाको बहस
चाउचाउले दिँदैन पोषण...
पत्रु खान्कीको पासो
राज्यले तोकेभन्दा बढी शुल्क उठाइरहेका ७ मेडिकल कलेज सञ्चालकविरुद्ध विद्यार्थी आन्दोलन चर्क...