बढ्दै छ संक्रामक भाइरसको सन्त्रास
जलवायु परिवर्तन र व्यवस्थापनको लापरबाहीका कारण कोरोनालगायत संक्रामक भाइरसको जोखिममा नेपाल पनि
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चीनबाट फैलिएको नोवेल कोरोना भाइरसका कारण विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गर्यो, १६ माघमा । चीनको हुवेई प्रान्तको उहान सहरबाट फैलिएको कोरोना अमेरिका, जापान, थाइल्यान्ड, दक्षिण कोरिया हुँदै नेपाल भित्रिइसकेको छ ।
भर्खर पत्ता लागेको नोवेल कोरोना भाइरसले चीनमा मात्रै २ सय जनाको मृत्यु भइसकेको छ । चीनमा ७ हजार ७ सय ११ जना कोरोना भाइरसबाट संक्रमित रहेको निश्चित भएको छ भने १२ हजार १ सय ६७ जना संक्रमित भएको आशंका छ । संक्रमितमध्ये १ हजार ३ सय ७० को अवस्था गम्भीर छ र १ सय २४ जना निको भई अस्पतालबाट घर फर्केका छन् ।
डब्लुएचओका अनुसार नेपालसहित १८ देशमा ८३ वटा कोरोना भाइरसका संक्रमण भेटिएका छन् । त्यसमध्ये चीनमा कहिल्यै यात्रा नगरेका ७ जना परेका छन् । चीनबाहिर ३ देशमा मान्छेबाट मान्छेमा कोरोना भाइरस सरेको छ । यीमध्ये एक बिरामी सिकिस्त छन् भने चीनबाहिर अहिलेसम्म कोरोना भाइरसबाट कसैको मृत्यु भएको छैन ।
यस्तो विषम परिस्थितिमा डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले जेनेभा सचिवालयमा टेलिकन्फरेन्स गर्दै स्वास्थ्य अवस्था राम्रो नभएका देश भाइरसबाट बढी जोखिममा पर्ने भन्दै संकटकाल घोषणा गर्नु परेको जनाएका छन् ।
प्रभावकारी छैन हेल्थ डेस्क
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक एवं सरुवा रोग विशेषज्ञ डा वासुदेव पाण्डेले नेपालमा हालसम्म ६ जना कोरोना भाइरस संक्रमणको शंकामा अस्पताल आएको नेपालसँग बताएका छन् ।* तीमध्ये एक जनामा भाइरस संक्रमित भएको पुष्टि स्वास्थ्य मन्त्रालयले गरेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भाइरस संक्रमितको परीक्षणका लागि हेल्थ डेस्क राखेको छ । तर २९ पुसमा अस्पताल पुगेका भाइरस संक्रमितलाई ४ दिनमै फिर्ता पठाएको अस्पतालले केही दिनपछि मात्र विमानस्थलमा हेल्थ डेस्क सञ्चालन गरेको हो ।
कपनको जोसेफ हाई स्कुलको कक्षा ३ का विद्यार्थीहरू । तस्बिरः सरोज बैजु
चीनमा विद्यावारिधि गरिरहेका ती विद्यार्थी नेपाल आएसँगै ज्वरो, श्वास–प्रश्वासलगायत समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । टेकुस्थित अस्पतालको आइसोलेसन वार्डमा राखेर उनको उपचार गरियो । कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको रगत र र्यालको नमुना परीक्षणका लागि ७ माघमा डब्लुएचओको हङकङस्थित कोलाबरेटिङ सेन्टरमा पठाइएको थियो । नमुना परीक्षणका क्रममा ती बिरामी कोरोना भाइरस संक्रमित भएको पुष्टि भयो । यसरी संक्रमितलाई पूर्ण उपचार नगरी डिस्चार्ज गर्दा पनि उनी स्वस्थ भएको अस्पतालका निर्देशक डा पाण्डे दाबी गर्छन् ।
काेराेना सन्त्रास : अझै कति झेल्नुपर्ने हो जलवायु परिवर्तनको दोख [सम्पादकीय]
विदेशबाट नेपालमा दैनिक ५ देखि ६ हजार मानिसको आगमन भइरहेको छ । त्यसमध्ये यस महिना मात्रै १२ हजार ४० को आगमन भएको बीबीसी नेपाली सेवाले उल्लेख गरेको छ । त्यसबीचमा कतिमा कोरोना भाइरसको लक्षण थियो भन्ने जाँचपड्ताल गरिएको छैन ।
हेल्थ डेस्कले २४ घन्टै सेवा दिने उद्देश्यले विशेषज्ञ डाक्टरसहित ११ जनाको टोली खटाए पनि सेवा प्रभावकारी छैन । शरीरमा ज्वरो आए–नआएको जाँच्न राखिएको थर्मल स्क्रिनिङसहितको वातानुकूलित कोठा व्यवस्था नहुँदा मेसिनले राम्रोसँग काम गर्न सकेको छैन ।
चीनमा महामारीको रूप लिइसकेको र डब्लुएचओले संकटकाल घोषणा गरिसकेकाले व्यवस्थापनमा सन्तोष मान्ने अवस्था छैन । उसले स्वास्थ्यस्थिति राम्रो नभएका देशमा भयावह स्थिति आउने औँल्याइसक्दा पनि नेपाल सरकार भने सूचना लुकाएर आफ्नो कमजोरी ढाक्न खोजिरहेको छ । कोरोनाबारे बुझ्न खोज्दा विमानस्थलका कर्मचारी पासबिना हेल्थ डेस्क जान नमिल्ने बताउँछन् । हेल्थ डेस्कका अधिकारीसँग हामीले सम्पर्क गर्यौँ । तिनले विमानस्थलसँग पास माग्नू भने । विमानस्थल कार्यालय गयौँ, तिनले उही हेल्थ डेस्कतिर देखाए । विमानस्थलका निर्देशक देवचन्द्रलाल कर्ण सूचना लुकाउन नखोजेको दाबी गर्छन् । भन्छन्, “हामीले कसैलाई रोकेका छैनौँ । यसबारे सबै कुरा इडीसीडीले गर्छ । भाइरस अरूलाई पनि नलागोस् भनेर सचेत मात्र गरेको हो ।”
सन् २००२ मा चीनमा सार्स प्रकोप फैलियो । त्यस समय विभिन्न देशका साथै नेपालमा पनि नाकाहरूमा क्वारेन्टाइनका लागि हेल्थ डेस्क राखियो । ४ महिना काम गरेर हेल्थ डेस्क बन्द भयो । त्यसपछि कसैको स्वास्थ्य परीक्षण भएन । पुन: स्वाइन फ्लु भएपछि सुचारु भएको हेल्थ डेस्क पनि ३ महिनामै बन्द भयो ।
मास्क लगाएर बौद्धनाग परिक्रमा । तस्बिरः सरोज बैजु
अफ्रिकामा इबोलाको प्रकोप फैलिएपछि सन् २०१४ मा हेल्थ डेस्क सञ्चालन भयो । तर ठाउँ अभाव र साधनको कमीले हेल्थ डेस्क निस्क्रिय बन्यो । अहिले पुन: हेल्थ डेस्क सञ्चालनमा आएको छ । बारम्बार बन्द भइरहेको हेल्थ डेस्कको समस्या पनि उही छ, ठाउँ अभाव र स्रोत–साधनको कमी । तर आफूले प्रशस्त ठाउँ दिएको र इडीसीडीबाट खटिएका जनशक्तिलाई सहजीकरण गरिदिएको दाबी गर्छन्, निर्देशक कर्ण ।
कोरोनाको उद्गम
ग्रीसको ल्याटिन भाषाबाट आएको शब्द कोरोनाबाट कोरोना भाइरस बनेको हो । ल्याटिनमा कोरोनाको अर्थ ताज (क्राउन) हो । चीनबाट फैलिएको भाइरसलाई नोवेल कोरोना भाइरस भनिन्छ, जसको नाम २०१९–एनसीओभी राखिएको छ । चिनियाँ विशेषज्ञले यो भाइरस सार्ससँग ८० प्रतिशत मिलेको बताएका छन् । सार्सले सन् २००२ र २००३ गरी ७ सय ५० जनाको ज्यान लिएको थियो ।
डब्लुएचओका अनुसार भाइरस समूहमा ६ वटा प्रजातिका भाइरस सूचीकृत छन् । तर चीनमा देखिएको भाइरस नौलो हो र यो सातौँ प्रकारको हो । जीवविज्ञका अनुसार भाइरस दुई प्रकारका हुन्छन्– आरएनए र डीएनए । आनुवंशिकताका आधारमा छुट्याइएका यी भाइरसमा आरएनए भाइरसको संख्या बढी छ ।
इबोला, एचआईभी र कोरोना आरएनए भाइरस हुन् । आरएनए भाइरसलाई खतराको सूचीमा राखिएको छ । आनुवंशिकता भन्नु जिन छिट्छिटो परिवर्तन हुनु हो । यसले गर्दा भाइरसका प्रकार पनि बढ्दै गएको चिकित्सक एवं कन्सल्टेन्ट माइक्रोबायोलोजिस्ट वसुधा श्रेष्ठ बताउँछिन् । कोरोना नयाँ भएकाले यसको भ्याक्सिन पत्ता लागेको छैन । श्रेष्ठ भन्छिन्, “हरेक भाइरसको भ्याक्सिन फरक–फरक हुन्छ । सार्ससँग लक्षण मिल्छ भन्दैमा त्यसको भ्याक्सिन (खोप) लगाउन मिल्दैन । त्यही भएर अहिलेका लागि सचेत हुनु नै सुरक्षा हो ।”
जुन भाइरस लागेको छ, त्यहीबाट भ्याक्सिन बनाउने भएकाले भाइरस ल्याब विकास गर्नुपर्छ । यसरी विकास गरेको भाइरस भ्याक्सिन बनाउँदा कम्तीमा ३ महिना लाग्ने विज्ञहरू बताउँछन् । रोयटर्सका अनुसार अस्ट्रेलियन वैज्ञानिकको टोलीले प्रयोगशालामा कोरोना भाइरस विकास गरेका छन् । जापान टाइम्सडटकोडटजेपीका अनुसार मेलबर्नको पिटर दोहर्टी इन्स्टिच्युटको संक्रमण र प्रतिरक्षा युनिटले भाइरसलाई प्रयोगशालामा विकास गरेका थिए । संक्रमित बिरामीबाट लिएर विकास गरेको भाइरस भ्याक्सिन बनाउन प्रयोग गर्न सकिन्छ । यसका लागि नमुना डब्लुएचओ र अन्य प्रयोगशालालाई दिन सकिने इन्स्टिच्युटका सहायक निर्देशक माइक केटन बताउँछन् ।
चीनमा काेराेना सन्त्रास भाेगिरहेकी पत्रकार भन्छिन् – सरकार कुर्दैछौँ
साधारणतया भाइरस संक्रमित एक जनाबाट ३ जनासम्म लाग्न सक्ने हुनाले सकभर भीडमा नजाने, हाच्छ्युँ गर्दा कुमले छोपेर गर्ने, हातमुख बारम्बार साबुनपानीले धोइरहने र खानेकुरा राम्ररी पकाएर मात्र खानुपर्ने श्रेष्ठ बताउँछिन् । यस्तै, हामीले लगाउने सर्जिकल मास्कले खासै सुरक्षा नगर्ने हुँदा एन–९५ मास्क लगाउनुपर्छ । नयाँ खाले संक्रमण भएकाले यसको कुनै औषधोपचार विधि छैन । जनावरबाट मानिसमा सरेको मानिएको यो सरुवा रोग हो । केही अध्ययनले यो भाइरस चमेरा वा सर्पबाट सरेको देखाए पनि पुष्टि भने भएको छैन ।
जलवायु परिवर्तन र भाइरस
चीनको उहान सहरमा कोरोनाको महामारी फैलिएसँगै कैयौँ देशका मान्छे त्यहाँ नगए पनि कोरोनाबाट संक्रमित भएका छन् । कतिपयले यसलाई जलवायुसँग जोडेका छन् । पृथ्वीको तापक्रम बढिरहेको छ । तापक्रम बढेसँगै त्यसले वातावरण र वातावरणीय जीवमा प्रत्यक्ष असर पारिरहेको छ । यस्ता नयाँ किसिमका संक्रमण बढ्नुमा जलवायु परिवर्तन र भाइरसको सम्बन्ध नजिकको रहेको विज्ञहरू बताउँछन् ।
जलवायुविज्ञ मञ्जित ढकालले डब्लुएचओलाई साभार गर्दै जलवायु परिवर्तन पनि भयावह भाइरस फैलनुको एक कारण भएको औँल्याएका छन् । भाइरल इन्फ्ल्युएन्जा भनेको मौसमी रुघाखोकी हो । कोरोना भाइरस भर्खर विकास भएकाले केही भन्न सक्ने अवस्था छैन ।
मौसमी रोगलाई जलवायुले असर गर्छ । गत वर्ष डेंगु फैलियो । डेंगु गर्मी या तराईका फाँटमा मात्र लाग्ने रोग भए पनि मुगुसहित ६८ जिल्लामा फैलियो । त्यसले ६ जनाको ज्यान गयो भने १५ हजार ५ सय ९ जना संक्रमित भए । अहिले जाडो याम छ । डेंगुका बिरामी अझै फाट्टफुट्ट देखिने गरेका छन् । मान्छेको आवतजावतक्रम बढ्नु, गाडी र पूर्वाधारको विकास हुनु, मौसमी जलवायु परिवर्तन भइरहनुले यस्तो भएको बुझ्न सकिन्छ । जस्तो, डेंगु भाइरस १२ डिग्री र मलेरिया १५–१६ डिग्रीको अनुकूल वातावरणमा विकसित हुन्छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने यात्रुलाई गरिएको थर्मल स्क्यानिङ ।
सर्पबाट कोरोना भाइरस सरेको मान्ने हो भने नेपालका विशालु सर्प अहिले मधेसमा गर्मी बढ्नाले पहाडतिर सरिरहेका छन् । जसले कतै यात्रा गरेको छैन, उसलाई पनि डेंगु भयो । अध्ययनअनुसार २ हजार मिटर अग्लो ठाउँमा पनि डेंगुले बासस्थान जमाएको छ । तापक्रम बढ्नु, हिजो लामखुट्टे थिएन, आज देखियो भन्नु, कतै यात्रा नगर्दा पनि संक्रमित हुनुले जलवायु परिवर्तनलाई पनि डेंगु फैलिएको एक कारण मान्ने गरिएको छ । भाइरसको संक्रमण फैलाउन पनि जलवायुको भूमिका छ ।
कसरी बच्ने कोरोना भाइरसबाट ?
भ्याक्सिनको आविष्कार र स्तरीय प्रविधि नहुँदा समस्या झन् बढाएको छ । डब्लुएचओले सचेत गराउँदा–गराउँदै पनि डेंगु नियन्त्रण गर्न नसकेको सरकारले कोरोना भाइरसलाई कसरी रोक्ला ? महामारी फैलिइहाल्यो भने उपचारका लागि के–कस्तो तयारी गरेको छ ? इडीसीडीका निर्देशक डा विवेककुमार लाल डब्लुएचओले संकटकाल घोषणा गरे पनि आत्तिइनुपर्ने अवस्था नरहेको दाबी गर्छन् । भन्छन्, “भाइरसबारे पैरवी गर्न, स्रोत–साधन जुटाउन र न्यून गुणस्तरको स्वास्थ्य सेवा भएका मुलुकलाई हुन सक्ने प्रकोपबाट बचाउन घोषणा गरेको हो । चीनको व्यापार व्यवसाय बन्द भएको छैन । हवाई उडान बन्द भएको छैन । तसर्थ हामी खासै जोखिममा छैनौँ ।”
अन्य देशको तुलनामा नेपालले गुणस्तरीय सेवा दिन नसकेको डा लाल स्वीकार्छन् । २० पुसमा संक्रमित नेपाल भित्रिएको, २९ पुसमा डायलासिस गरेको र केही दिनपछि संक्रमित भएको पुष्टि भएको थियो । तर विमानस्थलमा थर्मल स्क्यानर राखेको भने एक साता मात्र भयो । त्यस अवधिमा के–कति संक्रमित भए भन्ने प्रश्नको जवाफ लालसँग पनि छैन । भन्छन्, “हामी यसमा चुकेकै हो । थर्मल स्क्यानर पहिला थियो । ०७२ को भूकम्पमा क्षति पुगेपछि हट्यो । स्क्यानर अहिले मात्र राखेको हो । ”
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले संक्रमितको आशंकामा जाँच गरेकाहरू स्वस्थ पाइएको डा रुना झा बताउँछिन् । प्रयोगशालासँग भाइरस पत्ता लगाउने उपकरण गुणस्तरयुक्त भएको उनको दाबी छ ।
इडीसीडीले संक्रमण बढ्दै गए हब र स्याटलाइट भन्दै दुई प्रकारको अस्पताल छुट्याएको छ । चीनमा जस्तो २ दिनमा संक्रमितलाई अस्पताल बनाएर राख्न नसकिने हुँदा स्वास्थ्य मन्त्रालयले हबअन्तर्गत ६ र स्याटलाइटमा ७८ वटा अस्पताल देशभर छुट्याएको छ । चितवन, पोखरा र भैरहवा विमानस्थलमा हेल्थ डेस्क राखिएको छ । चीनसँग जोडिएका तातोपानी र रसुवागढी नाकामा निगरानी राख्न दुई/दुई जनाको अनुगमन टोली छिट्टै पठाउन लागिएको छ ।
चीनस्थित नेपाली दूतावाससँग त्यहाँ कति नेपाली छन् भन्ने तथ्यांक छैन । उहानमा करिब १ सय ७० नेपाली रहेको बेइजिङस्थित चाइना इन्टरनेसनल रेडियोका संवाददाता लक्ष्मी लम्साल बताउँछन् । बेइजिङमा कोरोना भाइरसको संक्रमणबाट बच्न सुरक्षामा कडाइ गरेको उनले सुनाए । अन्य ठाउँमा भएका नेपाली पनि सुरक्षित रहेको र कोही त्यहीँ बस्न चाहने र कोही फर्कन चाहने दुवै थरी रहेको लम्सालले जानकारी दिए ।
‘काठमाडौँमा जाँचै छैन’
पंकज भण्डारी, सांघाई
म चीनमा अध्ययनका लागि गएको थिएँ । अहिले चीनकै सांघाई प्रान्तमा स्नो भ्याली ग्रुप चाइनामा व्यापार प्रवद्र्धन म्यानेजरका रूपमा दुई वर्षदेखि कार्यरत छु । चीनमा नयाँ वर्ष मनाइरहेकाले फेब्रुअरी ३ सम्म अफिस बन्द छ । सांघाईमा ५० देखि ७० जना मानिस संक्रमित छन् । कोरोना भयावह होलाजस्तो लागेपछि १६ माघमा नेपाल फर्किएँ ।
मसँगै बसेका भारतीय साथीलाई ज्वरो आएको थियो । पछि क्लिनिकमा जाँच गर्दा भाइरल होइन भन्ने थाहा भयो । भारत सरकारले आफ्ना नागरिकलाई आफ्नै विमानबाट उद्धार गर्यो । तर नेपालीको हकमा भने त्यस्तो छैन । यसले गर्दा मनोविज्ञानमा प्रभाव परेको छ ।
म सांघाई हुँदै ग्वान्जाओ आएँ । ग्वान्जाओबाट काठमाडौँ आउँदा त्यहाँ थर्मल स्क्यानिङ गरेको थियो । बन्दुक टाइपको डिभाइसले एउटा लेनमा उभ्याएर मलाई जाँचेको थियो । तर काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्दा त्यस्तो जाँच केही गरेन । भाइरलका लक्षणबारे ब्यानर छेउमा राखिएको थियो । हामी समूहमै त्यहाँबाट हिँड्यौँ । कसैले केही सोधेनन् ।
सम्बन्धित
जलवायु परिवर्तन र व्यवस्थापनको लापरबाहीका कारण कोरोनालगायत संक्रामक भाइरसको जोखिममा नेपाल ...
बढ्दै छ संक्रामक भाइरसको सन्त्रास
सरकारले कहिले लैजाने हो ? हामी कुरेर बसिरहेका छौँ ।...
चीनमा काेराेना सन्त्रास भाेगिरहेकी पत्रकार भन्छिन् – सरकार कुर्दैछौँ
कुनै भ्याक्सिन या औषधी नै नबनेको कोरोना भाइरसबाट बच्ने उपायहरू...
कसरी बच्ने कोरोना भाइरसबाट ?
दाल, भात पनि पत्रु खाना हुन सक्छ भनेर कोही व्यक्तिले गलत भनेका छन् । तर दाल, भात पत्रु होइ...
पत्रु र स्वस्थकर खानाको बहस
चाउचाउले दिँदैन पोषण...
पत्रु खान्कीको पासो
राज्यले तोकेभन्दा बढी शुल्क उठाइरहेका ७ मेडिकल कलेज सञ्चालकविरुद्ध विद्यार्थी आन्दोलन चर्क...