कसरी बच्ने कोरोना भाइरसबाट ?
कुनै भ्याक्सिन या औषधी नै नबनेको कोरोना भाइरसबाट बच्ने उपायहरू
कोरोना श्वासप्रश्वास प्रणालीमा रुघाखोकी लाग्न सक्ने एउटा भाइरस हो । यही कोरोना भाइरसको नयाँ प्रजातिजस्तो सार्स २००२/००३ मा देखिएको थियो । विश्व स्वास्थ्य संगठनजस्ता स्वास्थ्य संस्थाहरूको सहकार्यबाट त्यो भाइरस नामेट पार्न सकियो । कुनै ल्याबमा त्यसका अंशहरू अहिले पनि छन् तर मानिसलाई रोग लगाउन सक्ने गरी त्यो छैन । अहिले फेरि नयाँ भाइरसको प्रजाति उब्जिएको छ । यो नयाँ कोरोना भाइरसको आधिकारिक नाम सार्स कोरोना भाइरस २ (SevereAcute Respiratory Syndrome Coronavirus 2 (SARS-CoV-2) हो । कोभिड भनेको कोरोना भाइरस डिजिज हो । यो नयाँ कोरोना भाइरसले लगाएको रोगलाई कोभिड २०१९ भनिएको छ ।
सुरुमा यो रोग चीनमा कुनै जनावरबाट मान्छेमा सर्यो । प्राय: मान्छेमा जनावरबाट आएको भाइरस रहँदैन । हाम्रो शरीरले त्यो भाइरस मार्न सक्छ । प्राय: भाइरस एउटा निश्चित जनावरमा मात्रै बाँच्न सक्छन् । यो भाइरस चाहिँ कुनै कारण मान्छेमा पनि बाँच्न सक्ने र एउटा मान्छेबाट अर्को मान्छेमा फैलिन सक्ने चरित्रको रहेछ । श्वासप्रश्वास प्रणालीबाट निस्कने र्यालका छिटाहरूबाट यो सर्छ । त्यो र्याल कुनै सामानमा परेको छ भने त्यो सामानसँगको स्पर्शपछि त्यो हात आँखा, मुख, नाकमा लग्यौँ अथवा कुनै चिज समायौँ र खायौँ भने त्यही र्यालका छिटा जताजता जान्छन्, त्यही बाटोबाट हाम्रो शरीरभित्र भाइरस प्रवेश गर्छ । र, हामीलाई रोग लाग्न सक्छ ।
यो पनि पढ्नुस
कुनै भ्याक्सिन या औषधी नै नबनेको कोरोना भाइरसबाट बच्ने उपायहरू
कोरोना भाइरसको संक्रमणबाट विश्वभर नै आतंक छ । अब हामीले रोगबारे जानकारी लिनुपर्छ । रोगबाट कसरी बँच्ने भन्ने सिक्नुपर्छ र त्यहीअनुसार सतर्कता अपनाउनुपर्छ । सरकारले जनतालाई आश्वस्त बनाउन सके आत्तिने अवस्था रहँदैन । यो धेरै फैलिन्छ कि भन्ने अलिअलि शंका छ । कडा इन्फ्लुएन्जाका कारण धेरै मानिस सिकिस्त हुने, अस्पताल भर्ना हुने हामीले देखिरहेकै हो ।
धेरै जना मानिस शिक्षाको अभावले पनि आत्तिएका छन् । कसरी सर्छ, कसरी बँच्न सकिन्छ भन्ने कुरा सिकाइएको छैन । सरकारको वेबसाइटहरूमा सूचना होला तर आम जनताले बुझ्ने भाषा र सार्वजनिक पहुँचमा छैन । जस्तो रेडियो नभन्ने वा टीभी नहेर्ने मान्छेले कसरी बुझ्छन् त ? उनीहरूले पनि थाहा पाउने गरी समुदायमा गएर सिकाउनुपर्छ । नेपालमा ग्रामीण स्वास्थ्य कार्यकर्ताहरूको ठूलो नेटवर्क छ । उनीहरूको नेटवर्कलाई प्रयोग गर्न सकिन्छ । अर्को, ठूलो अभाव मास्कको हुँदै छ । हाम्रो देशमै मास्क उत्पादन थाल्नुपर्छ । ‘एन ९५’ मास्क बन्यो भने धेरै राहत हुन्छ ।
यो पनि पढ्नुस
कोरोना भयले कोरियाको जीवनशैली असामान्य बनिसकेको छ । यस्तो अवस्थामा यहाँ रहेका नेपालीहरू कत्तिको सुरक्षित छन् ?
अस्पतालहरूमा संक्रमण नियन्त्रणका नीतिहरू लागू गर्नुपर्छ । सबै अस्पतालले अहिले नै आफ्ना वार्ड र क्याबिनहरूमा हात धुने ठाउँ छैन भने अहिले नै धाराहरूको प्रबन्ध गर्नुपर्छ । ताकि साबुनले हात धुन सजिलो होओस्, मान्छेले टाढासम्म हिँड्नुपर्यो भने हात नधुन सक्छ । अहिले भएकै कोठालाई ३०/४० हजार रुपैयाँ खर्च गरेर ‘नेगेटिभ प्रेसर रुम’ बनाउन सकिन्छ । यसो गरेमा अस्पतालका स्वास्थ्यकर्मीहरूको सुरक्षा गर्न सकिन्छ । र, अस्पतालमा एउटा मान्छेबाट अर्को मान्छेमा रोग फैलने सम्भावना कम हुन्छ ।
संक्रमण बढ्दै गयो भने भीडभाड कम गर्ने तथा भीडभाडमा नजान प्रेरित गर्नुपर्छ । अहिले नै स्कुल बन्द गर्ने कुरा चर्चामा आएको छ । तर सरकारले गर्नुपर्ने मुख्य कुरा चाहिँ ल्याबको क्षमता बढाउने हो । ल्याबको क्षमता बढाएपछि नेपालमा कोरोना भाइरस आएको छ कि छैन भन्ने निर्क्योल गर्न सजिलो हुन्छ ।
नेपालमा अहिलेसम्म संक्रमण देखिएको छैन । तर आएको छ कि छैन भन्नलाई पर्याप्त मात्रामा जाँचेकै छैनौँ । खोकी लागेर आएका वा इन्फ्लुएन्जा नेगेटिभ भएका बिरामी हरेक दिन २०/२५ जनाको परीक्षण गर्न सकियो भने अहिलेसम्म आएको छैन भनेर देखाउन सक्छौँ र जनतालाई आश्वस्त पार्न सक्छौँ । केही गरी आएको वा फैलिएको रहेछ भने पनि अनावश्यक रुपमा सरकारको स्रोत साधन क्वारेन्टाइन गर्नेतिर खर्च हुँदैन । त्यतिबेला हामी के भन्न सक्छौँ भने कम लक्षण भएका मानिसहरू घरमै बस्नुस्, अरुलाई सर्न नदिनुस्, मास्क लगाउनुस् । स्कुलहरू बन्द गर्नुपर्ने भए त्यो बेला गर्न उपयुक्त हुन्छ । स्वास्थ्य किटहरू बढी ल्याएर परीक्षण बढाउनेतिर हाम्रो प्रयत्न कमजोर भइरहेको छ ।
यो पनि पढ्नुस
जलवायु परिवर्तन र व्यवस्थापनको लापरबाहीका कारण कोरोनालगायत संक्रामक भाइरसको जोखिममा नेपाल पनि
व्यक्तिगत सुरक्षाका प्रबन्ध हामी सजिलैसँग अपनाउन सक्छौँ । हात धुने र स्यानिटाइजर प्रयोग गर्ने बानी बसालौँ । कसरी हात धुने भनेर भिडियोहरू थुप्रै छन् । साबुनले राम्रोसँग हात धुन र पखाल्न २० देखि ३० सेकेन्ड लाग्छ । हात पखालेपछि सुकाउनु पनि पर्छ । सुकेन भने पनि पूरा सफा भइसकेको हुँदैन । त्यसबाहेक अरुलाई सर्न नदिन मास्क लगाउनुपर्छ । तर आफूलाई लक्षण छैन, खोकी छैन, ज्वरो छैन, श्वास फेर्न गाह्रो भएको छैन भने मास्क लगाउनुपर्दैन । बिनालक्षण मास्क लगाउँदा अनावश्यक खर्च हुन्छ । त्यो मास्क अरु कोही साँच्चै चाहिने स्वास्थ्यकर्मी वा बिरामी रहेछ भने उसलाई नपुग्न सक्छ । कोरोना भाइरसबाट बँच्न भनेर बाटोमा हिँड्दा मास्क लगाउनु आवश्यक छैन ।
घर परिवार वा छरछिमेकमा उमेर बढी भएका, रोगसँग लड्ने क्षमता कमजोर भएका दीर्घ रोगीहरू छन् भने उनीहरूलाई जोगाउनुपर्छ । इन्फ्लुएन्जाको भ्याक्सिन लगाएको छैन भने लगाइहालौँ । त्यस्ता बिरामीलाई झन् पहिले लगाऊँ । उनीहरू सकेसम्म बाहिर जान नपरोस् भन्नेमा ध्यान दिनुपर्छ । भीडभाडमा जान नपरोस् भनेर सहयोग गर्नुपर्छ । अहिले प्रचारमा आइरहेको छ कि हामी नजानिकनै मुख, नाक, आँखा छोइरहेका हुन्छौँ । सकेसम्म त्यसो नगरौँ भनिएको छ । तर साँच्चै त्यसो गर्न सकिन्छ कि सकिँदैन, मलाई थाहा छैन ।
यो पनि पढ्नुस
सरकारले कहिले लैजाने हो ? हामी कुरेर बसिरहेका छौँ ।
यो संकट कति समय जाला ? यसै भन्न गाह्रो छ । कुनै भाइरस जाडो सिजनमा मात्र देखिन्छन्, गर्मी सिजनमा हराउँछन् । कुनै भाइरस सबै सिजनमा फैलिरहने पनि हुन सक्छन् । इबोलालाई जाडो र गर्मीले खासै फरक पारेन । सार्सलाई पनि जाडो र गर्मीले खासै फरक पारेको होइन । सामान्यतया कोरोना भाइरस अलि बढी तापक्रममा मर्छन् भनिन्छ । गर्मी सिजन आउँदै जाँदा केही हदसम्म यो रोगका नयाँ बिरामीको संख्या कम हुँदै जाला । तर पूरै हराउँछ जस्तो लाग्दैन । यसलाई निर्मुल पार्न सशक्त जनस्वास्थ्य संयन्त्रको प्रयत्न आवश्यक छ । सरकार र समुदायको सहकार्य चाहिन्छ । नयाँ भ्याक्सिन र औषधि नआएसम्म यसै भन्न सकिन्न ।
यो असाधारण संकटको समय हो । अरु बेलाका उपायबाट काम चल्दैन । सरकारको कार्यशैली अहिलेभन्दा चुस्त देखिनुपर्छ । सरकारको तदारुकता त देखिन्छ । विभिन्न समिति बनेका छन्, नाकामा सतर्कता देखिएको छ, तर फैलिएमा कसरी जोगिने, कसरी बिरामीहरूको संख्या कम गर्ने भन्नेमा ध्यान पुगेको छैन । सघन उपचार क्षमता बढाएर, संक्रमण नियन्त्रण नीति सुधार गरेर, स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराएर यस्ता काम गर्न सकिन्छ । जुन कुरा एक महिना पहिला हुनुपर्थ्यो, त्यसमा अहिले राम्रो तदारुकता देखिएको छ, तर अहिले गर्नुपर्ने कुराको चाहिँ अझै दुई चार हप्ता ढिला जान्छ कि भन्ने डर छ । सरकारले पनि आफ्नो नियमित प्रक्रियाभन्दा द्रुत कारबाही देखाउनुपर्छ । साँच्चै काम गर्ने भन्दा पनि सरकारी अधिकारीहरूको समय कागजी बैठकमा खेर गइरहेको छ । कार्यसञ्चालन प्रक्रिया सजिलो र छरितो बनाएर अहिलेको संकट सामना गर्न सक्छौँ ।
कुराकानी : रविराज बराल
यो पनि पढ्नुस
कोरोना भाइरसका कारण चीन आन्तरिक विपत्तिमा त छ नै, यसैका नाममा बाह्य विभेदबाट आक्रान्त पनि ।
यो पनि पढ्नुस
अहिले वुहानमा जारी कोभिड-१९ संकटको घडीमा क्षति मात्रै भइरहेको छैन, नयाँ नयाँ सिर्जना र आविष्कारहरू पनि भइरहेको छ।
यो पनि पढ्नुस
राज्यसँग कोरोना, डेंगुजस्ता समस्या समाधान गर्ने न भरपर्दो उपाय छ, न त सम्भावित क्षति टार्न अपनाउनुपर्ने पूर्वसावधानी नै ।
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...