विद्यार्थीलाई किन चाहियो युनिफर्म ?
निजी बोर्डिङ स्कुलहरूले शैक्षिक प्रतिस्पर्धाका नाममा विद्यार्थीलाई थरीथरीका पोसाक लाद्ने, अतिरिक्त क्रियाकलाप देखाएर अभिभावकलाई आर्थिक बोझ थोपरिरहेका छन् ।
‘ह्या ऽऽ, बस मनिटर दाइ पनि कस्तो के, बसमा पनि स्लिभस् फोल्ड गर्न नहुने, टाई तल गर्न नहुने रे ! नाम टिप्दिरा के ! स्कुलमा त भएन भएन, बसमा पनि नहुने रे के ! अब को–अर्डिनेटरको गाली खानुपर्छ भोलि स्कुलमा,’ अभिनव र संज्ञा स्कुलबाट रिसाउँदै घर आइपुगेका थिए । स्कुलबाट हाँस्दै र हल्ला गर्दै आउने दुवैको मुहारमा आक्रोश र दिग्दारी स्पष्ट देखिन्थ्यो । उनीहरूको आक्रोश देखेर मलाई भने हालै बेलायतको एक्जरटरस्थित इस्का एकेडेमीका साना स्कुले केटाहरूले गरेको विद्रोहको सम्झना आयो । २२ जून २०१७ का दिन भएको सो विद्रोह स्कुले केटाहरूको आक्रोशको परिणाम थियो । बढ्दो गर्मीमा पनि स्कुलमा पाइन्ट लगाउनैपर्ने बाध्यात्मक नियमका विरुद्ध केटाहरू स्कर्ट लगाएर स्कुल आएका थिए । उनीहरूले यसअघि कक्षा–शिक्षक, मनिटर तथा स्कुल प्रशासनसँग उखरमाउलो गर्मीका कारण हाफ पाइन्ट लगाएर स्कुल आउन पाउनुपर्ने आग्रह गरेका थिए । तर, स्कुल प्रशासनले हाफ पाइन्ट स्कुलको युनिफर्म नीति नभएकाले अनुमति दिन नमिल्ने जवाफ दियो । केटीहरूले स्कर्ट लगाएर आउन पाउने तर आफूहरूले हाफ पाइन्ट किन नपाउने भन्ने केटाहरूको प्रतिवादमा स्कुल प्रशासनले उनीहरूलाई ‘ तिमीहरूलाई त्यस्तै गर्मी लागेको छ भने स्कर्ट लगाएर आउन सक्छौ तर हाफ पाइन्ट लगाउन पाइँदैन’ भन्ने ठाडो जवाफ दिएको थियो । यस्तो जवाफ पाएको भोलिपल्ट केटाहरूले यो विद्रोह गरेका थिए । स्कुले केटाहरूको यो विद्रोहलाई थुप्रै अन्य केटाकेटीले पनि साथ दिएका थिए ।
केटाहरूको यो विद्रोहले २३ जूनका दिन सफलता प्राप्त गर्यो । इस्का एकेडेमी प्रशासनले आगामी शैक्षिक सत्रदेखि अभिभावकसँग सल्लाह गरेर हाफ पाइन्टलाई स्कुल युनिफर्ममा समावेश गर्ने निर्णय गर्यो । साथै, विद्रोह गर्ने विद्यार्थीमाथि कुनै कारबाही नहुने पनि भनियो । यो निर्णयपछि केटाहरूले एक टेलिभिजन अन्तर्वार्तामा खुसी हुँदै स्वतन्त्रता प्राप्त भएजस्तो अनुभूति भइरहेको बताएका थिए ।
हामीकहाँ पनि बर्सेनि मौसम परिवर्तित हुँदैछ । गर्मी र जाडो दुवै बढ्दै गएको छ । अभिनव र संज्ञाले जस्तै दिग्दारी हरेक दिन हजारौँ स्कुले बालबालिकाले भोगिरहेका छन् । राम्रा विद्यालय र गुणस्तरीय शिक्षाको आशमा आफ्ना साना नानीलाई हामी घरपायकभन्दा पनि टाढा–टाढाका स्कुलमा भर्ना गर्न बाध्य छौँ । धूलो, धूवाँ अनि जाम, यस्तो वातावरणमा असिनपसिन हुँदै बालबालिका घन्टौँ बसमा निदाएर स्कुल जाने–आउने गर्छन् । डिसिप्लेन इन्चार्ज (डीआई) को डरले स्कुल र मनिटरको डरले बसमा कोही पनि युनिफर्म कोडको बर्खिलाप जान सक्दैनन् । गर्मी होस् वा जाडो, जो जान्छन् उनीहरूको नाम टिपिन्छ । बाहुला सारे पनि सजाय, स्वेटर खोले पनि सजाय । सजायको त्रासले थुप्रै बालबालिका कालानीला हुँदै घर आइपुग्छन् थाकेर र गलेर । बालबालिकामा स्कुलमा सजाय पाएको खबर अभिभावकले थाहा पाए झन् गाली गर्छन् भन्ने डर हुन्छ । अथवा कम्प्लेन गरे शिक्षकले झन् कडा सजाय दिने त्रास । यस्ता समस्या सामान्य देखिए पनि यसले बालबालिकाको पढाइ, सिकाइ र मनोविज्ञानमा गहिरो असर परिरहेको हुन्छ । अमेरिकी मनोविज्ञान संस्थाले हालै गरेको एक अध्ययनले पनि मौसममा भइरहेको परिवर्तनले मानसिक स्वास्थ्यमा असर गरिरहेको रिपोर्ट सार्वजनिक गरेको छ ।
स्कुल युनिफर्मका विषयमा हामीकहाँ पनि बेलाबेलामा चर्चा हुने गर्छ । थुप्रै निजी स्कुलहरू पोसाकका मामिलामा निकै कडा हुन्छन् । जाडोमा युनिफर्मबाहेकका टोपी, मफ्लर, ज्याकेट, स्वेटर लगाउने अनुमति दिइँदैनन् । स्कुल पोसाक सम्बन्धमा सरकारले ०६९ मा ‘संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका’ पारित गरेको छ । १३ बुँदे पोसाकसम्बन्धी निर्देशिकाले कस्तो लुगा लगाउने, पाइन्टको कम्मर कत्रो हुनुपर्ने, टाई नेकसम्म लगाउनुपर्ने, स्कर्ट कत्रो हुनुपर्ने आदि–इत्यादि तोकिदिएको छ । त्यस्तै, पोसाक खरिद गर्न निश्चित स्थान तोक्न नपाइने, पोसाक तोक्दा मौसम अनुसार जाडो र गर्मी, उपयुक्त हुनुपर्ने पनि लेखिएको छ । यिनै निर्देशिकाका आधारमा संस्थागत विद्यालयले आ–आफ्ना पोसाक नीति बनाएका छन् । तर, ती बालमैत्री छन्/छैनन् ? स्कुलहरूले निर्देशिका पालना गरिरहेका छन्/छैनन् भन्ने अनुगमन र मूल्यांकन गर्नेबारे निर्देशिका मौन छ ।
स्कुल पोसाक विद्यार्थीबीच समानताको वातावरण, संस्थागत पहिचान र अनुशासन कायम गर्न लगाइएको नियम हो । यसले विद्यालय परिसरमा गैरविद्यार्थीको आगमन पहिचान तथा स्कुल परिसरभित्र कुनै अप्रिय दुर्घटना हुन नदिन पनि सहयोग गर्छ । सिभिक्ट र युनिसेफले हालै गरेको एक अध्ययनले निजी विद्यालयका विद्यार्थीलाई दिइने दण्डका कारणमध्ये अनुशासित पोसाक नलगाउनु पनि एक प्रमुख कारण रहेको देखाएको छ । तर, अनुशासन र सुरक्षाका नाममा लादिने बाध्यकारी नियमका कारण विद्यार्थी कस्तो तनावबाट गुज्रिरहेका हुन्छन् भन्ने अध्ययन गर्ने प्रयास भने भएको देखिँदैन ।
बढ्दो प्रतिस्पर्धात्मक राष्ट्रिय एवं अन्तर्राष्ट्रिय परिदृश्यमा दिइने शिक्षा गुणस्तरीय हुनु आवश्यक हुन्छ । तर, निजी बोर्डिङ स्कुलहरूले शैक्षिक प्रतिस्पर्धाका नाममा विद्यार्थीलाई थरीथरीका पोसाक लाद्ने, अतिरिक्त क्रियाकलाप देखाएर अभिभावकलाई आर्थिक बोझ थोपरिरहेका छन् । यस्ता विषयमा सम्बन्धित मन्त्रालय, विभागले न अनुगमन गरेका छन्, न त कारबाही नै । गुणस्तरीय शिक्षाका लागि बालमैत्री विद्यालय अत्यावश्यक कुरा हो । यसका लागि सरकारले ‘बालमैत्री विद्यालय प्रारूप–२०६७’ पारित गरेको छ । तर, सरकारी विद्यालयमा केन्द्रित उक्त कार्यक्रमले लाखौँको संख्यामा निजी विद्यालयमा पढिरहेका विद्यार्थीलाई सम्बोधन गर्ने पहल भने गरेको छैन ।
सम्बन्धित
पढ्ने–पढाउने पाउनै मुस्किल...
४२ विद्यालयमा चलेको थारु भाषा शिक्षा अहिले जेनतेन एउटामा
शिक्षकहरू हाम्रा नानीहरूलाई मायाको आँखाबाट कहिले हेर्छन् ? आखिर कहिले उनीहरू ‘वास्तविक शिक...
... अनि किन जाने यस्तो स्कुल ?
राजनीति–व्यापार गठजोडका कारण मेडिकल कलेजद्वारा विद्यार्थीबाट असुलेको अतिरिक्त रकम फिर्ता ग...
अटेरी मेडिकल कलेज सञ्चालकसामु निरीह सरकार
विद्यार्थीको सिकाइमा सकारात्मक प्रभाव पारे पनि शिक्षकमै विषयगत ज्ञान कमजोर...
स्थानीय पाठ्यक्रम कति प्रभावकारी ?
अतिरिक्त शुल्क फिर्ता गराउन चिकित्सा शिक्षा संघर्ष समितिको आन्दोलन ६–७ वटामेडिकल कलेजमा ...
मेडिकल कलेजका बेथिति : निर्लज्ज सञ्चालक, मूकदर्शक सरकार
परीक्षाजस्तो संवेदनशील विषयमा त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान परीक्षा शाखाले आकस...