विश्वविद्यालय स्वशासित प्राज्ञहरूको समुदाय
विद्यार्थीलाई बजारमा पाइने जागिरका लागि मात्र तयार पार्ने नभई संसारमा तीव्र गतिले भइरहेको परिवर्तनसँग मुकाबिला गर्न सक्ने क्षमता भएको सचेत, क्रियाशील नागरिक बनाउने उद्देश्य रहनेछ ।
प्राज्ञिकता-विद्वता (स्कलरसिप) र वैज्ञानिक खोजको सबैभन्दा धेरै काम हुने स्थान नै विश्वविद्यालय हो । बाहिरी समाजले भने विश्वविद्यालयले गर्ने शिक्षणलाई मात्र देख्छ । पश्चिमा जगतमा विश्वविद्यालयमा हुने धेरै क्रियाकलापमध्ये एकमा पर्छ शिक्षण कार्य । एउटा राम्रो विश्वविद्यालय विभिन्न किसिमका बौद्धिक, वैज्ञानिक र सांस्कृतिक कार्यमा संलग्न हुन्छ । त्यस्तो कार्यको महत्त्वलाई अमुक देशको सिमाना र वर्तमान पिँढीमा मात्र सीमित गर्न सकिँदैन । अहिले संसारमा मनुष्य जातिको बौद्धिक, वैज्ञानिक र कलात्मक परम्परालाई अध्ययन, जगेर्ना तथा बढावा गर्ने र आउने पिँढीलाई हस्तान्तरण गर्ने सबैभन्दा महत्त्वपूर्ण संगठनात्मक माध्यम विश्वविद्यालय हो सायद ।
म विद्यार्थी हुँदा अथवा विश्वविद्यालयमा पढाउँदाको संसार र अहिलेको समय-परिवेशबीच धेरै परिवर्तन आइसकेको छ । तर हाम्रा विश्वविद्यालयमा अपेक्षाकृत परिवर्तन आएजस्तो लाग्दैन । हुन त विश्वविद्यालय समाजभन्दा अगाडि कहिल्यै दौडन सक्दैन । विश्वविद्यालयको धर्म भनेकै समाज/संसारमा आएका परिवर्तनको पछिपछि दौडनु हो र यी दुईबीचको दौडमा धेरै अन्तर हुन नदिने हो । यसो हुन नसकेमा समाजले खोजेका ज्ञान, सीप तथा बौद्धिकता र विश्वविद्यालयबाट दीक्षित जनशक्तिबीच तालमेल हुँदैन ।
वास्तवमा, विश्वविद्यालयका केही विशिष्ट लक्षण हुन्छन्- एक, यो माध्यमिक शिक्षापछिको यस्तो अध्ययन हो, जो व्यावसायिक तालिमभन्दा फरक र स्तरीय हुन्छ । दुई, यसले उच्च शिक्षाबाट प्राप्त हुने विद्वतालाई प्राथमिकता दिन्छ, जो दैनिक समस्यालाई सुल्झाउने खालको हुनैपर्छ भन्ने जरुरी छैन । तीन, माथि उल्लिखित कार्यहरू कुनै एक विषय/विधा वा विषयको समूहअन्तर्गत गरिन्छ । चार, यस्ता प्राज्ञिक काम गर्नका लागि यो पूर्ण स्वतन्त्र हुन्छ । पाँच, यसले निर्धारित शिक्षा पूरा गरेका विद्यार्थीलाई प्रमाणपत्र प्रदान गर्छ, जसलाई राष्ट्रिय-अन्तर्राष्ट्रिय जगत्का सरकारी तथा निजी क्षेत्रले मान्यता दिन्छन् ।
यही पृष्ठभूमिलाई ख्याल गर्दै भन्न सकिन्छ, प्रायः यिनै विधा र विषयलाई प्राथमिकता दिएर पढाइ हुने थलो हो विश्वविद्यालय । मलाई एक विषयमा सीमित विश्वविद्यालयमा उति रुचि लाग्दैन किनकि विश्वविद्यालयमा सबै विषय र विधाका शिक्षक-विद्यार्थीको जमघट हुनुपर्छ भन्ने कुरामा विश्वास राख्छु । विभिन्न विषय अध्ययन-अध्यापन गर्नेहरूबीच हुने औपचारिक-अनौपचारिक संवाद या कफी टेबलगफले विद्यार्थीहरूको खोज-अनुसन्धानलाई विविध कोणबाट मद्दत पुग्छ भन्ने सोच्छु । आखिरमा ज्ञान भनेकै अन्तरअनुशासनात्मक विषय हो । यसलाई छुट्टाछुट्टै विषयको पूर्ण बन्द डब्बामा राख्न मिल्दैन ।
करिब तीन दशकअघि हामी केही साथीहरू मिलेर बन्दीपुरमा ११ र १२ कक्षा सञ्चालन गर्ने कलेज खोल्दा अर्थोपार्जनभन्दा पनि नयाँ खालको शिक्षा दिने लक्ष्य राखेका थियौँ । सबैले अनिवार्य पढ् नुपर्ने मूलतः तीन विषय थिए । एक, अंग्रेजी, नेपालसम्बन्धी ज्ञान र गणित । दुई, विश्वविद्यालयको पाठ्यक्रम । र, तीन, सामाजिक सेवा । विद्यार्थीले वरपर नै सही सामाजिक कार्य गर्नुपथ्र्यो । कक्षा सञ्चालन पनि फरक ढंगले गरिन्थ्यो । शिक्षकले कक्षाकोठामा भट्याउनुभन्दा पनि विद्यार्थीलाई पहिले नै पढेर आएको आधारमा प्रश्नोत्तर र छलफलमा प्रेरित गरिन्थ्यो । सकेसम्म विद्यार्थीहरूको अनुभव प्रयोग गराउन खोजिन्थ्यो । हामी आफैँ पाओलो फ्रेरेको पुस्तकबाट उत्प्रेरित भएर कक्षालाई संवादजस्तै गरेर चलाउन खोज्थ्यौँ । नेपाली भाषा विश्वविद्यालयको पाठ्यक्रमअनुसार पढाए पनि प्रस्टसँग लेख्ने र आफूलाई मनमा लागेको कुरा बुँदागत ढंगले मौखिक प्रस्तुति दिने अभ्यास विद्यार्थीलाई दिलाउने प्रयत्न गथ्र्यौं । गणितको महत्त्व देखेर थप गणित सिकाउँथ्यौँ । 'नेपाल' नै हाम्रो सबभन्दा चाखलाग्दो विषय थियो, जसमा विद्यार्थीलाई नेपालको इतिहास, भौगोलिक बनावट, जातजाति, अर्थतन्त्र आदिबारे कक्षा-प्रवचन र छलफलद्वारा पढाउने कोसिस गथ्र्यौं । पञ्चायतको समय भएकाले राजनीतिबारे हामी कक्षामा खासै कुरा गर्दैनथ्र्यौं तापनि 'नेपाल' विषयको पढाइले गर्दा नै कलेज धेरै दिन टिक्न सकेन । स्कुल तहभन्दा माथिको शिक्षामा केही नयाँ तरिकाले कक्षा सञ्चालन गर्ने प्रयासको छोटो इतिहास थियो यो हाम्रो ।
मैले सोचेको विश्वविद्यालयमा चाहिँ सबै मुख्य विषय पढाइ हुने गर्छ । साथै, स्नातक तहसम्म सबै संकायमा मानविकी र समाजशास्त्र (लिबरल आर्ट्स) को कुनै न कुनै हिस्सामा अनिवार्य अध्ययन हुन्छ । यसले विद्यार्थीलाई मानवीय ज्ञान र सभ्यतासँग परिचित मात्र नगराई उनीहरूमा मानवीय संवेदनशीलताको विकासका लागि मद्दत गर्छ । स्नातक तहमा विषय विशिष्टीकरणको सुरुआत भए पनि पढाइ अन्तरअनुशासनात्मक हुने भएकाले त्यो विशिष्टीकरण गहन हुँदैन । शिक्षक कक्षा प्रवचनभन्दा बहस सञ्चालन गर्ने कुरामा बढी जिम्मेवार हुन्छन् । शिक्षकको कक्षा प्रश्नोत्तर र छलफलबाट चलायमान हुन्छ । यसले विद्यार्थीमा स्मरण गरेर लेख्नेभन्दा पनि विश्लेषण, संश्लेषण, समालोचना, मौलिक विचारको प्रकटीकरणजस्ता उच्चकोटिको ज्ञान-सीप विकास गर्छ । कक्षाकोठा धेरै तर्क-वितर्कले नै जीवन्त हुन्छ ।
कहिलेकाहीँ कक्षामा सुरु भएको बहस बाहिर क्याफ्टेरिया र कफी टेबलसम्म पुग्छ । विद्यार्थीहरू धेरैभन्दा धेरै पुस्तक-अनुसन्धानपत्र पढ्ने र देश-विदेशमा भइरहेका बहसमा आफ्ना धारणा राख्न उत्प्रेरित हुन्छन् । विद्यार्थीका लागि पढाइ चाखलाग्दो भए पनि सजिलो र चैनपूर्ण हुँदैन । टर्मपेपर लेख्ने-बुझाउनेदेखि सेमिनारमा भाग लिने काम नियमित हुन्छ । जब विद्यार्थीहरू नै विषयमा प्रत्यक्ष संलग्न भएर अभ्यास गर्छन्, त्यस ज्ञानको महत्त्व र आयु पनि लामो हुन्छ । कतिपय अभ्यास सामूहिक हुने हुँदा विद्यार्थीमा सामूहिकताको भाव स्वतः जागृत हुन्छ ।
अमूर्त सिद्धान्त फलाक्नेभन्दा यथार्थसँग सन्दर्भसामग्रीलाई जोड्नेमा त्यो सिकाइ प्रभावकारी र अर्थपूर्ण हुन्छ । समसामयिक विषयलाई सन्दर्भित गरी कक्षा जीवन्त बनाइन्छ । प्रश्नसहितका हात उठाउने विद्यार्थीबाट कक्षा जुर्मुराएको आभास गराइनेछ ।
मैले आदर्श कल्पेको विश्वविद्यालय एउटा स्वतन्त्र स्थल हुने भएकाले यसका लागि आफ्नै गुठी (बोर्ड अफ ट्रस्टिज) हुन्छ । विशेषगरी राजनीतिक र अन्य हस्तक्षेपबाट विश्वविद्यालय मुक्त हुने भएकाले नेतृत्वको चयन बोर्ड अफ ट्रस्टिजले बनाएको समितिले गर्छ । नेतृत्वको उम्मेदवार चयन गर्दा बाहिरका विश्वविद्यालयमा प्राध्यापन गरिरहेका विदेशी वा गैरआवासीय नेपालीलाई पनि छान्न सकिनेछ ।
विश्वविद्यालयमा अनुभवी र बाहिरका प्रतिष्ठित विश्वविद्यालयका दीक्षित युवा शिक्षकहरूको मिश्रण हुन्छ । करिब १५ प्रतिशत विद्यार्थी र शिक्षक विदेशी भएमा पढाइ र अनुसन्धानमा विविध दृष्टिकोण ल्याउँछन् भन्ने आशा लिएर विदेशी शिक्षक-विद्यार्थीलाई आकषिर्त गर्न विश्वविद्यालय प्रयत्नशील रहन्छ । विश्वविद्यालयअन्तर्गत विषयगत कलेज हुन्छन् र तिनीहरू आफैँ कोर्स बनाउने, कक्षा-सञ्चालन गर्ने र परीक्षा लिने मामलामा स्वतन्त्र हुन्छन् । यी कलेजहरू आफ्नो फ्याकल्टी आफैँ चयन गर्छन् र नियुक्ति गर्छन् ।
प्राध्यापनबाट निवृत्त र विभिन्न क्षेत्रको नेतृत्वदायी भूमिकामा रहेका प्रबुद्ध राजनीतिज्ञ, साहित्यकार, लेखक र बिजनेस एक्जुकेटिभहरूसँग विद्यार्थीले अन्तक्रिर्या गर्ने अवसर यहाँ उपलब्ध गराइन्छ । विद्यार्थीलाई एकअर्कामा प्रतिस्पर्धा गर्न लगाइँदैन । बरु आफैँसँग प्रतिस्पर्धा गर्न लगाइनेछ । विद्यार्थीलाई बजारमा पाइने जागिरका लागि मात्र तयार पार्ने नभई संसारमा तीव्र गतिले भइरहेको परिवर्तनसँग मुकाबिला गर्न सक्ने क्षमता भएको सचेत, क्रियाशील नागरिक बनाउने उद्देश्य रहनेछ । मेरो विचारमा जागिरका लागि तयारी त उच्च शिक्षाको उप-उत्पादनको रूपमा आउने हो । यति भन्दाभन्दै मैले आदर्श भनी सोचेको विश्वविद्यालयमा मुलुकको आवश्यकताअनुरूप अगाडि बढ्छ । राज्यका विभिन्न क्षेत्रमा विश्वविद्यालयको 'बौद्धिक' योगदान बेजोड रहनेछ । राज्यबाट पाउने 'सहयोग' को निरन्तरताका लागि पनि यो विश्वविद्यालय आवश्यक हुन्छ ।
हुन त उच्च शिक्षामा निजी विश्वविद्यालयको पनि प्रशस्त भूमिका देख्छु । तर मैले चाहेको विश्वविद्यालयचाहिँ सार्वजनिक कोषबाटै सञ्चालन हुनुपर्छजस्तो लाग्छ । यसका मुख्य तीन कारण छन्- एक, अहिलेको युगमा उच्च शिक्षालाई व्यक्तिगत सम्पत्ति (प्राइभेट गुड) भन्न मिल्दैन । दुई, उच्च शिक्षामा विद्यार्थीको भर्ना योग्यता र आफ्नै विशिष्ट अनुभवका आधारमा हुनुपर्छ, न कि तिर्न सक्ने शुल्कका आधारमा । राज्यबाट एथेष्ट अनुदान प्राप्त भए विश्वविद्यालयका शिक्षकहरू आफ्नो विभागको अस्तित्व वा उन्नयनमा लागिपर्छन् । शिक्षणभन्दा बाहिरको आर्थिक लाभदायी परामर्श सेवा वा अनुसन्धान परियोजनामा धेरै समय दिने बाध्यता पर्दैन उनीहरूलाई । अनुसन्धान विश्वविद्यालयको महत्त्वपूर्ण कार्यभित्र परे पनि कतिपय विदेशी विश्वविद्यालयमा आर्थिक प्रलोभन या विश्वविद्यालयको 'र्यांकिङ' कै लागि शिक्षणभन्दा अधिकतम जोड अनुसन्धानमा दिइएको पाइन्छ । यसले राज्यका लागि भविष्यमा चाहिने नेतृत्व वर्गको सिकाइ/पढाइमा कमी हुन जाने खतरा रहन्छ ।
राम्रा विश्वविद्यालयहरूमा अनुसन्धानमा जोड दिइन्छ । यो सन् १८१० मा विलियम भोन हमवोल्टले बर्लिन विश्वविद्यालय स्थापना भएदेखि सुरु भएको हो । अचेल विश्वका सबैजसो प्रख्यात विश्वविद्यालयहरूले ज्ञान सञ्चार (ट्रान्सफर) भन्दा सिर्जना (क्रियसन) मा जोड दिएको हामी पाउँछौँ । एउटा राम्रो विश्वविद्यालयले ज्ञान सञ्चार र ज्ञान सिर्जनाबीच सन्तुलन गरेको हुन्छ ।
मैले सोचेको आदर्श विश्वविद्यालयमा राजनीतिक दलसँग आबद्ध शिक्षक, कर्मचारी र विद्यार्थीको कुनै भूमिका रहँदैन । विश्वविद्यालय ऐनले नै यस्ता संघ-संगठनलाई निषेध गरिदिएको हुन्छ । यति भन्दाभन्दै देशको जल्दोबल्दो समस्या र चुनौतीलाई विश्वविद्यालयभित्रका कक्षागत छलफलमा यथोचित स्थान दिइन्छ । शिक्षक-विद्यार्थीले गर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय चुनौतीबारेका छलफललाई प्रोत्साहित गरिन्छ । विद्यार्थीलाई पढाइको रगडानका साथै क्याम्पसबाहिरको यथार्थ जगत्सँग परिचित हुन अनि त्यसमाथि छलफल र जिज्ञासा राख्न उत्प्रेरित गरिन्छ ।
विश्वमा जुनजुन विश्वविद्यालयहरूमा राज्य र बाहिरी राजनीतिको सोझो तथा कडा प्रभाव पर्छ, त्यस्ता विश्वविद्यालयले न शिक्षणमा राम्रो गर्न सकेका छन्, न त अनुसन्धानमा नै । आदर्शवादी तरिकाले सोच्ने हो भने विश्वविद्यालय भनेको स्वशासित प्राज्ञहरूको समुदाय हो । यसलाई राज्यले स्रोत जुटाइदिने हो, गैरनाफामूलक संस्था (फाउन्डेसन) तथा कर्पोरेट हाउसहरूले अनुसन्धानका लागि अनुदान (ग्रान्ट) दिने हो, विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्ने हो र आम नागरिकले आफ्ना छोराछोरीलाई व्यावहारिक ज्ञानभन्दा फरक समाज, जीवन, विश्व, विश्व-सभ्यता, आधुनिकता, विज्ञान प्रविधि, धर्म-संस्कृति आदिसम्बन्धी ज्ञान हासिल गर्न आफूले ठूलो घाटा बेहोरेर भए पनि त्यहाँ पठाउने हो । एउटा सच्चा विश्वविद्यालयले विद्यार्थीलाई मूलभूत रूपमा परिवर्तन गर्छ । युवाहरूले यहाँ शिक्षा आर्जन गरेपछि उनीहरूले गर्ने काम, रुचि र रोजाइमा ठूलो परिवर्तन आउँछ । यहाँ ४ वा ६ वर्ष बिताएपछि उसको पहिलेको सोच वा विश्वासलाई पनि पुनर्विचार र पुनर्मूल्यांकन नगरी रहन सक्दैन । राम्रो विश्वविद्यालयले विद्यार्थीले पहिल्यै प्राप्त गरेका मूल्य-मान्यता र विश्वासलाई जोखिममा राखिदिन्छ । जो त्यस्तो जोखिम लिन/चुकाउन सक्छ, उसले विश्वविद्यालय शिक्षाबाट चित्तबुझ्दो फल प्राप्त गर्न सक्छ ।
संवाद : गुरुङ सुशान्त
पढ्नुहोस् अघिल्ला कक्षाका पाठ :
→ कठै, हाम्रो बिब्ल्याँटो सोच !
→ दुई खाले शिक्षाले खनेका बडेबडे खाडल
→ मिलनसार समाजको खोजी
→ रोबोटजस्ता केटाकेटी
तपाईं आफ्ना जिज्ञासा, सुझाव र टिप्पणी [email protected] मा mathema गरेर पठाउन सक्नुहुनेछ । हामी तिनलाई माथेमा सरको कक्षामा पुर्याउनेछौँ ।
सम्बन्धित
पढ्ने–पढाउने पाउनै मुस्किल...
४२ विद्यालयमा चलेको थारु भाषा शिक्षा अहिले जेनतेन एउटामा
शिक्षकहरू हाम्रा नानीहरूलाई मायाको आँखाबाट कहिले हेर्छन् ? आखिर कहिले उनीहरू ‘वास्तविक शिक...
... अनि किन जाने यस्तो स्कुल ?
राजनीति–व्यापार गठजोडका कारण मेडिकल कलेजद्वारा विद्यार्थीबाट असुलेको अतिरिक्त रकम फिर्ता ग...
अटेरी मेडिकल कलेज सञ्चालकसामु निरीह सरकार
विद्यार्थीको सिकाइमा सकारात्मक प्रभाव पारे पनि शिक्षकमै विषयगत ज्ञान कमजोर...
स्थानीय पाठ्यक्रम कति प्रभावकारी ?
अतिरिक्त शुल्क फिर्ता गराउन चिकित्सा शिक्षा संघर्ष समितिको आन्दोलन ६–७ वटामेडिकल कलेजमा ...
मेडिकल कलेजका बेथिति : निर्लज्ज सञ्चालक, मूकदर्शक सरकार
परीक्षाजस्तो संवेदनशील विषयमा त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान परीक्षा शाखाले आकस...