अनपेक्षित बहिर्गमन
काठमाडौँ विश्वविद्यालयमा उपकुलपति, रजिस्ट्रारदेखि डीनसम्मको नियति एउटै
काठमाडौँ विश्वविद्यालय ‘स्कुल अफ ल’ का संस्थापक डीन विपिन अधिकारीले २९ फागुन ०७५ मा राजीनामा दिए । दुई कार्यकाल अर्थात् ६ वर्षका लागि विश्वविद्यालयसँग आबद्ध अधिकारीले ९ महिना पहिले नै आकस्मिक र अनपेक्षित रूपमा बिदा लिए ।
उपकुलपति डा रामकण्ठ माकाजुकै पहलमा विश्वविद्यालय छिरेका अधिकारीकै नेतृत्वमा विश्वविद्यालयमा कानुन संकाय सुरु भएको थियो । पहिले प्राध्यापनमा संलग्न नभएका उनलाई सहप्राध्यापक मात्र दिइएको थियो । अधिकारी भन्छन्, “विश्वविद्यालयमा काम गर्ने वातावरण सहज नभएपछि राजीनामा दिएको हुँ ।
विश्वविद्यालय स्रोतका अनुसार अधिकारीको राजीनामा आउनुमा उपकुलपति कार्यालयको असहयोग त झल्किन्छ नै, प्राध्यापक हुन नपाएको झोँकले समेत काम गरेको छ । तर विश्वविद्यालयको जीवनमा अधिकारी यसरी अनपेक्षित राजीनामा गर्ने पछिल्ला पदाधिकारी मात्रै हुन्, एक्ला होइनन् ।
काठमाडौँ विश्वविद्यालयको हकमा उच्चपदस्थ पदाधिकारीमा दुई सन्दर्भ जोडिएर आउँछन् । एउटा– लामो समय पदमा रहने, अर्को– अनपेक्षित र दुःखद बहिर्गमन । उपकुलपति सुरेशराज शर्मादेखि विपिन अधिकारीसम्म आधा दर्जन पदाधिकारी राजीनामा दिन बाध्य भएका छन् ।
डीन अधिकारीभन्दा ८ महिना पहिले ७ भदौ ०७५ मा रजिस्ट्रार भोला थापाले प्रधानमन्त्री तथा कुलपति केपी ओलीलाई राजीनामा बुझाएका थिए । सिनेट बैठकमा उपकुलपति माकाजु र रजिस्ट्रार थापाबीच चर्काचर्की पर्यो । हुनलाई यी दुईबीचको दुईवर्षे सहकार्य सुखद थिएन, त्यसको पटाक्षेप ७ भदौ ०७५ मा भएको मात्र हो । यसो हुनुमा राजनीतिक ‘इगो’ ले काम गरेको थियो ।
०७३ मा उपकुलपतिमा माकाजु दोहोरिँदा थापा पनि त्यसका दाबेदार थिए । कांग्रेसको समर्थनमा थापा उपकुलपतिको दाबेदार थिए । उपकुलपतिमा दोहोरिएपछि माकाजुले थापालाई रजिस्ट्रारमा नियुक्त गरेर दुई वर्ष सहकार्य गरे । इगो बढ्दै जाँदा सहकार्य लम्बिने सम्भावना रहेन । र, थापा राजीनामा दिएर हिँडे ।
उपकुलपति माकाजु र रजिस्ट्रार थापाबीच विश्वविद्यालयमा विद्यार्थी भर्ना, पाठ्यक्रमलगायत विषयमा पनि विवाद थियो । विश्वविद्यालयमा यो शैक्षिक सत्रमा कम विद्यार्थी भर्ना भएपछि दोहोर्याएर भर्ना आह्वान गर्नुपरेको थियो । माकाजु र थापाबीच बाहिर देखिएको विवादको एउटा कारण यही थियो ।
२१ वर्ष उपकुलपति पद सम्हालेका सुरेशराज शर्माको बहिर्गमन जति असहज र अप्रत्यासित थियो, त्यति नै अनौठो बनेको छ, डीन अधिकारीको बहिर्गमन । तत्कालीन प्रधानमन्त्री तथा कुलपति बाबुराम भट्टराईले २३ कात्तिक ०६९ विश्वविद्यालयको ६१ औँ सिनेट बैठकमा उपकुलपति शर्माको एक्कासि राजीनामा मागे । विश्वविद्यालयले २७ साउन ०६९ को एमबीबीएस परीक्षामा कोटा माग गर्दै पूर्वमाओवादी विद्यार्थी संगठनले तालाबन्द गर्यो । त्यसमा उपकुलपति शर्मा सहमत भएनन्, बरु माओवादी विद्यार्थी संगठनले सिफारिस गरेका व्यक्तिलाई छात्रवृत्ति दिनुपर्ने विवादको अर्को बुँदा थपियो । यो विवाद लम्बिँदै प्रधानमन्त्री भट्टराईसम्म पुग्यो । ०६३ पछि विश्वविद्यालयमा छिरेको राजनीतिको सिकार भएर राजीनामा दिनुपर्यो ।
शर्माको राजीनामा स्वीकृतिलगक्तै शिक्षामन्त्री दिनानाथ शर्माको नेतृत्वमा दमननाथ ढुंगाना, लोकवित्रम थापा सदस्य रहेको उपकुलपति छनोट समिति बन्यो । र, त्यस समितिले त्यतिबेला रामकण्ठ माकाजुलाई उपकुलपति छनोट गर्यो । पहिलो कार्यकाल जति सहज थियो, दोस्रो पटक माकाजुलाई उपकुलपतिका लागि त्यति सहज भएन । २३ मंसिर ०७३ मा माकाजुको कार्यकाल सकिएपछि तत्कालीन शिक्षामन्त्री धनीराम पौडेल संयोजक र सदस्यमा पूर्वउपकुलपति शर्मा, दमननाथ ढुंगाना रहेको उपकुलपति छनोट समितिले ३ जनाको नाम सिफारिस गर्नुपर्नेमा कानुनविपरीत ५ जनाको नाम सिफारिस गर्यो ।
समिति सदस्य शर्मा र ढुंगानाको चाहना माकाजुलाई दोहोर्याउने थियो । तर त्यतिबेला माओवादी कोटाबाट जनार्दन लामिछाने र कांग्रेसबाट भोला थापाको लबिइङ चर्को थियो । मन्त्री पौडेलले सकेसम्म पहल गरेका थिए, लामिछानेको पक्षमा । शर्मा र ढुंगानाका अगाडि मन्त्री पौडेलको जोर नचलेपछि माकाजु दोहोरिए । त्यतिबेला शर्मा र ढुंगानाले माकाजुको विकल्पमा भद्रमान तुलाधरको नाम अगाडि ल्याएका थिए ।
रजिस्ट्रार थापाको बहिर्गमन जसरी असहज र दुःखद बन्यो, त्यस्तै असहज बहिर्गमन थियो, केदारभक्त माथेमाको । त्रिविका पूर्वउपकुलपति माथेमा काठमाडौँ विश्वविद्यालयको सिनेट सदस्य थिए । विश्वविद्यालयले १५ जेठ ०७३ का लागि तय भएको मेडिकल साइन्स पोस्ट ग्य्राजुएट (पीजी) परीक्षाको प्रश्नपत्र रद्द गराउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग नै चलखेलमा लागेपछि सिनेट सदस्य माथेमाले रुचाएनन् । त्यो घटनाबाट दुःखी बनेका माथेमाको गुनासो भने विश्वविद्यालय पदाधिकारीले अनधिकृत रूपमा अख्तियारको छापामार शैली रोक्न वा विरोध गर्न नसकेको प्रति थियो । त्यही कारण असार ०७३ मा माथेमाले सिनेट सदस्यबाट राजीनामा दिए ।
अलिकति पुरानो सन्दर्भ पनि जोडिन आइपुग्छ, यस्तै असहज बर्हिगमनमा । सन् १९९३ देखि सन् १९९८ सम्म विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टको डीन पद सम्हालेका थिए, विजय केसीले । त्यसपछि डीनमा नियुक्त भए, सुवास केसी । सन् १९९८ देखि झन्डै १७ वर्ष डीनको पद सम्हालेका सुवासले पनि मनखुसीले छाड्न पाएनन्, पुनः विजय केसीलाई ल्याइएको छ । शर्मा र माकाजुसँगै उपकुलपतिका प्रतिस्पर्धी रहेका स्कुल अफ एजुकेसनका पूर्वडीन मनप्रसाद वाग्लेको कथा पनि भोला थापाको भन्दा कम छैन । ०७३ को उपकुलपति छनोट समितिले माकाजुसहित वाग्लेको नाम सिफारिस गरेको थियो । उपकुलपति हुने सम्भावना नभएपछि वाग्लेले विश्वविद्यालय छाडे । विश्वविद्यालय छाड्नुभन्दा ५ वर्ष पहिले नै स्कुल अफ एजुकेसन डीनबाट छाडेका थिए । त्यतिबेला पनि उनले सुरेशराज शर्मासँगै उपकुलपतिमा प्रतिस्पर्धा गरेका थिए ।
सन् २००७ देखि २०१२ सम्म डीन सम्हालेका वाग्लेले राजीनामा दिएपछि थप ५ वर्ष प्राध्यापकको रूपमा काम गरे । विश्वविद्यालय कतिसम्म असहिष्णु थियो भन्नेचाहिँ डीन वाग्लेलाई बिदाइसमेत नगर्नुले पुष्टि गर्छ । सन् २०१७ मा विश्वविद्यालय छाडेका वाग्ले स्मरण गर्छन्, “उपकुलपतिको किचन क्याबिनेटले विश्वविद्यालय चलाउन खोज्छ, त्यही कारण पदाधिकारीको सहज बर्हिगमन हुँदैन । सीमित मान्छेले राम्रालाई छिर्न र टिक्न दिँदैनन् । त्यसले काम गर्ने वातावरण सहज हुँदैन,” वाग्ले भन्छन् ।
वाग्लेले छाडेपछि स्कुल अफ एजुकेसन सम्हालेका टंकनाथ शर्माको बहिर्गमन पनि सहज भएन । त्यसो त मेडिकल साइन्सको नेतृत्व गरेका नरेन्द्रबहादुर राणा उमेर ८६ वर्ष हुँदासम्म २० वर्ष डीन भइरहे । दुई वर्षदेखि राजेन्द्र कोजुले डीन सम्हालिरहेका छन् । एउटै व्यक्तिले नेतृत्व गरिरहने प्रवृत्तिले पनि विश्वविद्यालयमा विवाद भइरहन्छ । विश्वविद्यालय पदाधिकारीको असहज र अप्रत्यासित बर्हिगमनबारे उपकुलपति रामकण्ठ माकाजु धेरै बोल्न चाहँदैनन् । “कार्यकाल सकिएर उहाँहरूले छाड्नुभएको हो” माकाजु प्रस्टीकरण दिन्छन् । निरन्तरको विवाद र असहज परिस्थिति बन्नुमा विश्वविद्यालय सञ्चालन प्रवृत्ति मुख्य मानिन्छ । वाग्लेको विश्लेषणमा काठमाडौँ विश्वविद्यालय आफैँमा गैरसरकारी क्षेत्रमा सञ्चालित सार्वजनिक विश्वविद्यालय हो । तर विश्वविद्यालयका पदाधिकारीले निजी विश्वविद्यालयजस्तो आभास दिलाउँछन् । विश्वविद्यालयका पदाधिकारीलाई अर्को एउटा बोर्डले सञ्चालन गर्न खोज्छ । जस्तो, पूर्वउपकुलपति शर्मासहितको तत्कालीन काठमाडौँ भ्याली क्याम्पसका संस्थापक सदस्यले विश्वविद्यालयको आजीवन सदस्य रहने गरी ‘बोर्ड अफ ट्रस्टी’ बनाएका छन् ।
त्यही बोर्डले उपकुलपति छनोटसहित महत्त्वपूर्ण निर्णयमा प्रभाव राख्छ । जस्तो, त्यही बोर्डका सुरेशराज शर्मा र दमननाथ ढुंगाना दुवै पटक उपकुलपति छनोट समितिमा बसे । सुरेशराज शर्मा, सीताराम अधिकारी, भद्रमान तुलाधरलगायत ५ जनाको बोर्ड अफ ट्रस्टी थियो । केही वर्ष पहिला कानुनबाट दमननाथ ढुंगाना, स्वास्थ्यबाट रामकण्ठ माकाजु र अर्थबाट कृष्णबहादुर मानन्धरलाई थप गरियो । विश्वविद्यालय ऐनमा ट्रस्टीको व्यवस्था नभए पनि अनुभवी र संस्थालाई योगदान गर्ने व्यक्तित्वको सम्मानमा यस्तो व्यवस्था गरिएको म्यानेजर दीपकप्रसाद दाहालको भनाइ छ ।
सम्बन्धित
पढ्ने–पढाउने पाउनै मुस्किल...
४२ विद्यालयमा चलेको थारु भाषा शिक्षा अहिले जेनतेन एउटामा
शिक्षकहरू हाम्रा नानीहरूलाई मायाको आँखाबाट कहिले हेर्छन् ? आखिर कहिले उनीहरू ‘वास्तविक शिक...
... अनि किन जाने यस्तो स्कुल ?
राजनीति–व्यापार गठजोडका कारण मेडिकल कलेजद्वारा विद्यार्थीबाट असुलेको अतिरिक्त रकम फिर्ता ग...
अटेरी मेडिकल कलेज सञ्चालकसामु निरीह सरकार
विद्यार्थीको सिकाइमा सकारात्मक प्रभाव पारे पनि शिक्षकमै विषयगत ज्ञान कमजोर...
स्थानीय पाठ्यक्रम कति प्रभावकारी ?
अतिरिक्त शुल्क फिर्ता गराउन चिकित्सा शिक्षा संघर्ष समितिको आन्दोलन ६–७ वटामेडिकल कलेजमा ...
मेडिकल कलेजका बेथिति : निर्लज्ज सञ्चालक, मूकदर्शक सरकार
परीक्षाजस्तो संवेदनशील विषयमा त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान परीक्षा शाखाले आकस...