आवरण « नयाँ नयाँ विषयको लहर
विद्यार्थीको अभिरुचि बुझेर पाठ्यक्रम थप्दै स्कुल/कलेज
काठमाडौँको क्याम्ब्रिज पब्लिक हाई स्कुलबाट माध्यमिक विद्यालय परीक्षा (एसईई) गरेका अस्मिन अधिकारी, १६, अहिले विभिन्न कलेज धाउँदै छन् । एसईईमा ३.७ जीपीए ल्याएका अस्मिनले एक कलेजमा प्रवेश परीक्षासमेत दिइसके । भन्छन्, “डाक्टर बन्ने इच्छा भएकाले विज्ञानमा कक्षा ११ पढ्न लागेको ।”
यसपालि एसईई गरेका अस्मिनजस्ता विद्यार्थी तथा तिनका अभिभावक विभिन्न अध्ययन संस्था धाउनमै व्यस्त छन् । कतिपय विद्यार्थी आफू पढेको विद्यालयमा कक्षा ११ र १२ भए पनि नयाँ परिवेश र माहोल खोजिरहेका छन् । आफ्नो विद्यालयमा पढ्न चाहेको विषय नभएपछि अन्यत्र गइरहेका दृष्टान्त पनि थुप्रै छन् ।
विद्यालय स्तरको पढाइ सकिनु भनेको स्वतन्त्रता र बृहत् जिम्मेवारीतर्फ नजिक हुनु पनि हो । शिक्षा ऐन (आठौँ संशोधन ०७३) ले कक्षा ९ देखि १२ सम्मलाई माध्यमिक शिक्षाका रूपमा परिभाषित गरेको छ भने राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको मूल्यांकन नतिजा पनि ग्रेडिङ प्रणालीमा गर्न थालेको छ । कतिपय विद्यालयले ११ र १२ को संरचना नराखिसकेकाले कैयौँ विद्यार्थी प्लस टु पढ्न अन्य शैक्षिक संस्था धाउन बाध्य छन् ।
कलेज बुझ्न आउने अधिकांश विद्यार्थीले खासै प्रश्न नगरेको शिक्षकको अनुभव छ । द टाइम्स इन्टरनेसनल कलेजका प्रिन्सिपल शंकरप्रसाद गैरे भन्छन्, “आफू के पढ्ने, त्यो विषय लिँदा के–कस्तो फाइदा हुन्छ भनेर सोध्ने न्यून छन् ।” विद्यार्थी चुप बस्नाले चुनौती थप बढेको उनी मान्छन् । विद्यार्थीको जीवनको महत्त्वपूर्ण क्षण भएकाले निडर भएर निर्णय लिन प्रोत्साहन गरिरहेको प्रिन्सिपल गैरे बताउँछन् ।
सामान्य फेरबदल
पहिले उच्च माध्यमिक शिक्षा परिषद्ले जे पाठ्यक्रम बनाएको थियो, कक्षा ११ र १२ मा त्यसैको आधारमा पठनपाठन भइरहेको छ । पुराना पाठ्यपुस्तकलाई सामान्य परिवर्तन गरी विद्यार्थीले ५ वटा विषय पढिरहेका छन् । त्यसमा नेपाली र अंग्रेजी अनिवार्य विषय छन् । अन्य विषय संकाय हेरेर राखिएको छ । शैक्षिक संस्थाले कतिपय विषय अन्तर्राष्ट्रिय स्तरलाई अभ्यास गर्दै क्रेडिट नआउने हिसाबले पाठ्यक्रम विकास गरी पढाइरहेका छन् ।
कक्षा ११ र १२ मा संकाय हटाउने भनिए पनि त्यसअनुरूप पाठ्यक्रम भने विकास भइसकेको छैन । संकाय नहट्दा केही विद्यार्थी, अभिभावक एवं कलेज अझै उल्झनमा रहेको शिक्षाविद्को मत छ । निजी विद्यालयको संगठन हिसानका वरिष्ठ उपाध्यक्ष युवराज शर्मा सरकारले तयारीबिनै ७ विषय पढाउन खोज्नु गलत भएको औँल्याउछन् ।
दक्षिण एसियाली मुलुकमै पनि ५ विषय पढाइ भइरहेकामा हचुवाका भरमा यस्तो निर्णय गर्न नहुने उनको तर्क छ । भन्छन्, “सरकार तयारीबिनै योजना ल्याउँछ । अहिले पनि नयाँ पाठ्यक्रम थप्ने भनेको छ । तर त्यसका लागि खोइ त शिक्षक दरबन्दी र सोहीअनुरूपको भौतिक संरचना ?”
शर्मा प्रिन्सिपल रहेको तीनकुनेस्थित हिमालयन ह्वाइटहाउस कलेजले कक्षा ११ र १२ का विद्यार्थीलाई आन्तरिक र बाह्य बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउन एकाउन्टिङ ट्याली, एनिमेसन, भिडियो सम्पादन, व्यवसायी बन्ने तालिम अतिरिक्त विषयका रूपमा पढाउँदै आएको छ । यस्तै, स्नातकमा इन्जिनियरिङ पढ्न चाहनेका लागि पाठ्यक्रम बनाएरै पढाइरहेका छन् ।
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक लेखनाथ पौडेलका अनुसार नयाँ पाठ्यक्रम भने ०७७ बाट मात्रै लागू हुनेछ । कक्षा ११ र १२ का ३ ऐच्छिक समूहमा ब्युटिसियन तालिमदेखि बुढ्यौली शिक्षा तथा अन्तर्राष्ट्रिय भाषालगायत ६० भन्दा बढी विषय समेटिएका छन् । अब आउने ढाँचामा ४ वटा अनिवार्य विषय हुनेछन्, नेपाली, अंग्रेजी, सामाजिक र जीवनोपयोगी शिक्षा । अरू ३ वटा समूहमा रहेका ऐच्छिक विषयमध्ये एक छान्न पाइनेछ ।
अब संकायभन्दा पनि विद्यालय र विद्यार्थीले माग गरेअनुसारका विषय पढाइ हुने पौडेल बताउँछन् । भन्छन्, “विज्ञान लिएर पढ्नेले मानविकी पनि पढ्न सक्छ तर स्नातक गर्ने बेला उसले कक्षा ११ र १२ मा लिएको विषय त्यसमा सहयोगी हुन्छ कि हुँदैन, त्यो भने ध्यानमा राख्नुपर्नेछ ।”
केन्द्रले सूचना तथा सञ्चार प्रविधि, सहकारी व्यवस्थापन, मानव मूल्य, बौद्ध दर्शन, औषधी, जडीबुटीजस्ता विविध विषय पनि समेटेको छ । साथै, मुन्धुम (किराती) शिक्षा, मैथिलीलगायत स्थानीय भाषा मात्र होइन, अन्तर्राष्ट्रिय भाषा पढ्न चाहने विद्यार्थीका लागि कोरियन, जापानिज, जर्मन भाषा ऐच्छिक विषयका रूपमा कक्षा ११ र १२ मा राख्न विज्ञसँग छलफल चलाएको छ ।
थरी–थरीका विषय
कुमारीपाटीमा रहेको ओमेगा सेकेन्डरी स्कुलले यस वर्षदेखि कक्षा ११ र १२ मा जापानी भाषालाई ऐच्छिक विषयको रूपमा पढाउँदै छ । १ सय पूर्णांक रहने यो विषयमा जापानी भाषा व्याकरणसहितको आधारभूत पाठ्यक्रम हुनेछ । ११ र १२ दुवैमा पढाइ हुने यो भाषा सरकारले उच्च शिक्षा अध्ययन र रोजगारीका लागि जापान खुलाएपछि स्कुलले त्यहीअनुरूपको जनशक्ति निर्माण गर्न पाठ्यक्रममा राखेको प्रिन्सिपल लावण्यप्रसाद ढुंगाना बताउँछन् ।
स्कुलले न्याय सेवामा खरिदार र नायब सुब्बाको काम गर्ने कर्मचारी अभाव भएपछि सरकारी नीतिअनुरूप मानविकीअन्तर्गत कानुनको एक विषय राखेको छ । ओमेगा मात्र होइन, कानुन विषयलाई कक्षा ११ र १२ मा प्राथमिकतामा राख्ने । रिभेरा इन्टरनेसनल एकेडेमी, चावहिलले ०७४ देखि नै कक्षा ११ र १२ मा कानुन विषय पढाउन थालेको छ । प्रिन्सिपल प्रज्ज्वल कोइरालाका अनुसार ०५१/०५२ मा प्रवीणता प्रमाणपत्र तहमा कानुन संकाय हटाउँदा टिप्पणी लेख्ने, मिसिल उठाउनेजस्ता सामान्य कामका लागि दक्ष जनशक्ति अभाव भयो । फेरि सरकारले पछिल्लो समय कम्पनी र संस्थान तथा नगरपालिका र गाउँपालिकामा अनिवार्य कानुन अधिकृत हुनुपर्ने प्रावधान राखेको छ । यसले पनि न्याय क्षेक्रमा जनशक्तिको खाँचो बजारमा छ ।
कक्षा ११ र १२ मा पूर्ण रूपमा कानुन संकाय पढाउने पहिलो कलेज हो, काठमाडौँ मोडेल कलेज (केएमसी), ललितपुर । अरूले मानविकीअन्तर्गत कानुनको एक विषय पढाउँछन् भने केएमसीमा ११ मा कानुनका ३ विषय पढाइ हुन्छन् भने १२ मा ५ विषय । पढाइसँगै प्रयोगात्मक कक्षाका रूपमा कानुनी मस्यौदा तयार पार्न सिकाइन्छ । स्नातकमा यदि कानुन विषय थप पढ्न मन नलागे त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालमा व्यवस्थापन विषय पढ्न सकिने अवसर रहेको प्रिन्सिपल सुरेन्द्र सुवेदी बताउँछन् ।
पाठ्यक्रम विकास केन्द्रले जीवनोपयोगी शिक्षा भनेर नयाँ पाठ्यक्रम थप्दै छ । तर रिभेरा इन्टरनेसनल एकेडेमीले पहिलेदेखि नै कक्षा ११ र १२ का विद्यार्थीका लागि ‘२१ औँ शताब्दीका सीप’ नामक ऐच्छिक विषय पढाइरहेको छ । प्रिन्सिपल कोइराला भन्छन्, “विद्यार्थीलाई सिर्जनात्मक बनाउन, विश्लेषण गर्न, प्रस्तुति शैली, प्रविधि प्रयोग र नैतिक मूल्य–मान्यता हामीले पढाइरहेका छौँ ।” उनका अनुसार बोल्ने शैली, आन्तरिक सीप सुरुदेखि नै विकास गर्दै गए पछि बजारमा प्रतिस्पर्धा गर्न सजिलो हुन्छ ।
अर्थ मन्त्रालयको ०७५/७६ को तथ्यांकअनुसार पर्यटन क्षेत्रले कुल गार्हस्थ उत्पादनको २.१ प्रतिशत योगदान दिएको छ । सरकारले सन् २०२० लाई भिजिट वर्षका रूपमा मनाउँदै छ । यसका लागि थप नयाँ १ सय गन्तव्य पहिचान गरी त्यसको बजारीकरण सुरु भइसकेको छ । पर्यटन व्यवस्थापनका लागि बजारमा दक्ष जनशक्ति माग उच्च छ । यो माग धान्न हाम्रा कलेज कत्तिको सक्षम छन् त ?
ज्ञानेश्वरस्थित इन्टरनेसनल स्कुल अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (आईएसटी) कलेजले स्थापना कालदेखि नै होटल म्यानेजमेन्ट र ट्राभल एन्ड टुरिजम म्यानेजमेन्ट पढाउँदै आएको छ । युरोपेली मुलुक अस्ट्रियाको पर्यटन विश्वविद्यालय सार्चबर्गसँग सम्बन्धनप्राप्त आईएसटीले होटल व्यवस्थापन सम्बन्धका विभिन्न आधारभूत तालिम दिई प्रमाणपत्र प्रदान गर्दै आएको छ ।
विद्यार्थीलाई सामान्य पाठ्यक्रम पढाउनेभन्दा पनि अन्तर्राष्ट्रिय मापदण्डअनुरूपका प्रयोगात्मक कक्षा सञ्चालन गर्दै आएको कलेजकी प्रिन्सिपल सम्झना बस्नेत बताउँछिन् । भन्छिन्, “सरकारले भनेअनुसारको पाठ्यक्रम त छँदै छ, साथमा बारिस्टा, बार र बेकरीको तालिम पनि हामी दिइरहेका छौँ ।” कक्षा १२ मा पुगेपछि उद्योगमा ३ महिना थप इन्टर्नसिप गर्ने व्यवस्थाका कारण विद्यार्थीले स्तरीय होटलमा जागिर पाएका छन् । १८/१९ वर्षमै उनीहरू बजारमा उत्कृष्ट कर्मचारीका रूपमा पुरस्कृत भइरहेका छन् ।
मानविकी र ललितकलाको प्रभाव
नयाँ बानेश्वरस्थित नोबेल एकेडेमीले विज्ञान, व्यवस्थापन संकायसँगै यसै वर्षदेखि ललितकला पनि थपेको छ । एकेडेमीका संस्थापक अध्यक्ष सुरेन्द्र श्रेष्ठका अनुसार विगतमा भर्नामा आएका विद्यार्थीको रुचि देखेर चित्रकला, मूर्तिकला तथा डिजाइनका कोर्स पाठ्यक्रममा राखिएको हो । जो विद्यार्थी किताबी कुरा पढ्न अग्रसर हुँदैनन्, उनीहरूका लागि यो प्रयोगात्मक विषय राखेको श्रेष्ठको भनाइ छ । यसमा ७५ प्रतिशत प्रयोगात्मक हुन्छ भने २५ प्रतिशत लिखित जाँच । विश्वव्यापी रूपमा प्रसिद्ध फोटोग्राफी, वेब डिजाइन, मुरल आर्ट (भित्ते चित्र) मा रुचि राख्नेले पनि सुन्दर भविष्य बनाउन सक्छन् भनेर ती विषय थपेको नोबेल एकेडेमीको भनाइ छ ।
कतिपय विद्यार्थीले स्नातकोत्तर गरे पनि सो विषयलाई व्यावहारिक प्रयोगमा ल्याउन भने सक्दैनन् । यसकारण प्रयोगात्मक अभ्यासको खाँचो भएको विज्ञहरूको बुझाइ छ । विज्ञका अनुसार कक्षा ११ र १२ मै विज्ञानतर्फ रेडियोलोजी, इलेक्ट्रिसिटीलगायतका विषय पढाउने हो भने दक्ष जनशक्ति त्यसै तयार हुन्छन् ।
छाउनीस्थित काठमाडौँ भ्याली स्कुल/कलेजले नयाँ पाठ्यक्रम नथपे पनि त्यसलाई सहयोग पुग्ने अतिरिक्त प्रशिक्षण कक्षा सञ्चालन गरिरहेको छ । कलेजले ट्राभल एन्ड टुरिजम र व्यवस्थापनतर्फ बिजनेस स्टडिज पढाइरहेकाले त्यसलाई सहयोग पुर्याउन कम्प्युटरमा विन्डोज सिकाइन्छ । प्रेरणात्मक तालिम दिइन्छ । सरकारी प्रावधानअनुसार पाठ्यक्रममै बढी केन्द्रित हुनुपर्दा अतिरिक्त विषय पढाउन गाह्रो भएको कलेजका अध्यक्ष स्वागत श्रेष्ठ बताउँछन् ।
शिक्षकमै निर्भर
पाठ्यक्रम विकास केन्द्रले सार्क क्षेत्रमा ११ र १२ मा जस्तो पढाइ हुन्छ, सोही खाले शिक्षानीति अपनाएर पाठ्यपुस्तक तयार पारेको छ । शिक्षाविद् विद्यानाथ कोइरालाका अनुसार पाठ्यक्रमभन्दा पनि पठनपाठन अर्थात् प्रस्तुति शैली महत्त्वपूर्ण हुन्छ । भन्छन्, “वस्तुगत कुराभन्दा विश्लेषणात्मक क्षमतालाई ध्यान दिनुपर्यो । पाठ्यक्रममा भएका ज्ञानलाई शिक्षकले दैनिक जीवनसँग जोड्न सक्नुपर्यो ।”
प्रायः कक्षा ११ र १२ मा विश्वभरि नै ६० प्रतिशत केन्द्रका कुरा पढाइन्छ भने बाँकी प्रदेशका । अधिकांश देशमा अंग्रेजी, विज्ञान र गणित प्रमुख विषयका रूपमा रहन्छन् भने बाँकी ऐच्छिक । नेपालको कक्षा ११ र १२ मा विदेशमा यही नीतिअनुरूप मान्यता दिइएको छ । उनीहरूले जुन विषय आफ्नो देशमा पढाइ हुँदैन, त्यसको क्रेडिट दिँदैनन् । धेरै सम्भावना जुन विषयमा छ, तिनलाई प्राथमिकता दिएर पाठ्यक्रम तयार पारेको केन्द्रका महानिर्देशक पौडेल बताउँछन् । पौडेलका अनुसार गत वर्ष १५ वटा विषय परिमार्जन गरिएको थियो, जसमा चार वटा अनिवार्य विषय थिए । यस वर्ष २० वटा विषय परिमार्जन भएका छन् ।
पहिले ५ सय पूर्णांक हुन्थ्यो, अहिले १ हजार २४ घन्टाको क्रेडिट घन्टा छुट्याइएको छ । जीवनोपयोगी शिक्षा आगामी वर्षदेखि राख्न लागिएको छ । कक्षा १ देखि १२ सम्म अनिवार्य राखिने विषय स्वास्थ्य, समाज, नैतिकता, सकारात्मक विचार, सञ्चार एवं सिर्जनात्मक कार्यबारे सिकाउन लागिएको पौडेल बताउँछन् । भन्छन्, “विषय राम्रो छ तर यसका लागि शिक्षक दरबन्दी राख्न मुस्किल छ । अरू कक्षाकै शिक्षकले पढाउने कि भनेर सोच्दैछौँ ।”
अमेरिकामा २० औँ शताब्दीमा विद्यार्थीले विद्यालयले सिकाएको ज्ञान व्यवहारमा उतार्न नसकेपछि जीवनोपयोगी शिक्षा लागू भएको थियो । नेपालमा अधिकांश न्यून अंक ल्याई पास भएका शिक्षा विषय पढ्न जान्छन् । पौडेल भन्छन्, “शिक्षा विषय पढ्ने विद्यार्थी नै कमजोर भएपछि उनीहरू शिक्षक भएर आउँदा कस्तो पढाउलान्, त्यसबारे सोच्नु जरुरी छ ।”
उच्च शिक्षाका लागि विदेश
प्रत्येक वर्ष हजारौँ विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि बिदेसिन्छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष ०७५ साउनदेखि ७६ जेठसम्म मात्रै विश्वका ७२ मुलुकका शिक्षालयमा अध्ययनका लागि ५८ हजार ६ सय १५ विद्यार्थीले स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) लिएका छन् ।
अधिकांश विद्यार्थीले अस्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायत, जापान, भारत, चीनलगायत देशमा पढ्न जान शिक्षा मन्त्रालयबाट स्वीकृति लिएका हुन् । पछिल्लो २ वर्षमा मात्र विदेश जाने विद्यार्थी संख्या १६ प्रतिशत बढेको छ । र, यो अझै बढ्ने क्रममा छ । साथमा करोडौँ नेपाली रुपैयाँ बाहिरिनु पनि चिन्ताको विषय हो । जापान, युरोप र अमेरिका पढ्न जाने विद्यार्थी फर्केर आउन चाहँदैनन् । यसले देशलाई पारेको क्षतिबारे छुट्टै अध्ययन भएको छैन ।
विदेश जाने अधिकांश विद्यार्थीको रुचि प्रविधि, व्यवस्थापन तथा नर्सिङ विषय हुने गरेको छ । नेपालका ८० प्रतिशत विद्यार्थी प्रविधि (आईटी) पढ्न विदेश जाने भएकाले त्यसैअनुसार नयाँ पाठ्यक्रम थप्ने तयारी भइरहेको केन्द्रका महानिर्देशक पौडेल बताउँछन् । नेपालमा यी विषयमा पढाइ हुने भए पनि प्रयोगात्मक विषयको कमी, विदेशमा काम गर्दै पढ्न सकिने वातावरण र प्रमाणपत्रको अन्तर्राष्ट्रिय मान्यताका कारण विद्यार्थीमा विदेश मोह बढेको शैक्षिक परामर्श संस्थाहरूको दाबी छ ।
विद्यार्थी विदेश जानुमा शैक्षिक संस्थाहरूले नै जिम्मेवार भूमिका खेल्न नसकेको औँल्याउँछन्, द टाइम्सका प्रिन्सिपल गैरे । भन्छन्, “हामी शैक्षिक संस्थाहरूले विद्यार्थीलाई बुझाउन सकेनौँ, के पढेमा के बनिन्छ ? उता गए पनि तिनै विषय दुःख गरेर पढ्ने हो भनेर बुझाउन हामी चुक्यौँ ।”
गैरेका अनुसार विदेश गएका अधिकांश विद्यार्थी शुल्क तिर्न सक्ने क्षमताका हुँदैनन् । उता (विदेश) काम पाइहाल्छु अनि तिरेर पढ्छु भन्ने सोच्छन् । तर सोचेजस्तो हुँदैन । विद्यार्थीले काम गर्दै पढ्न पाउनुपर्नेमा सहमत छन्, वरिष्ठ उपाध्यक्ष शर्मा । भन्छन्, “विद्यार्थीले पार्टटाइम, फुलटाइम कुनै पनि काम गर्दै पढ्छु भन्दा त्यो सुविधा पाउनुपर्छ । तर कक्षा ११ र १२ को सरकारी पाठ्यक्रममा सीपमूलक पाठ्यक्रम विकास भएको छैन ।”
आवरणसहित तस्बिरहरू : सरोज बैजु
सम्बन्धित
पढ्ने–पढाउने पाउनै मुस्किल...
४२ विद्यालयमा चलेको थारु भाषा शिक्षा अहिले जेनतेन एउटामा
शिक्षकहरू हाम्रा नानीहरूलाई मायाको आँखाबाट कहिले हेर्छन् ? आखिर कहिले उनीहरू ‘वास्तविक शिक...
... अनि किन जाने यस्तो स्कुल ?
राजनीति–व्यापार गठजोडका कारण मेडिकल कलेजद्वारा विद्यार्थीबाट असुलेको अतिरिक्त रकम फिर्ता ग...
अटेरी मेडिकल कलेज सञ्चालकसामु निरीह सरकार
विद्यार्थीको सिकाइमा सकारात्मक प्रभाव पारे पनि शिक्षकमै विषयगत ज्ञान कमजोर...
स्थानीय पाठ्यक्रम कति प्रभावकारी ?
अतिरिक्त शुल्क फिर्ता गराउन चिकित्सा शिक्षा संघर्ष समितिको आन्दोलन ६–७ वटामेडिकल कलेजमा ...
मेडिकल कलेजका बेथिति : निर्लज्ज सञ्चालक, मूकदर्शक सरकार
परीक्षाजस्तो संवेदनशील विषयमा त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान परीक्षा शाखाले आकस...