‘विप्लवी पुस्तकालय, २०१५’
असनमा स्वयंसेवकको भरमा चलेको एक पुस्तकालयको कथा
मनु ब्राजाकीले लेखेका छन्, ‘यो सहरमा हरेक घर बिराएर एउटा रक्सी पसल छ । तर एउटा राम्रो पुस्तकालय खोज्न दिनभर भौँतारिनुपर्छ । त्यसैले सहरमा पढ्नेभन्दा पिउने धेरै छन् ।’
हामी असन घुम्दै जाँदा ६ दशक पुरानो एउटा पुस्तकालयभित्र आफूलाई पाउन सक्छौँ । साँझको समय, कोठा वरिपरि काठका बेन्च, बीचमा एउटा लामो टेबलमा असरल्ल छरिएका केही थान पत्रिका र पत्रिकाका अक्षरमा घोत्लिरहेका केही मानिस । असन न्ह्याकन्तलामा रहेको पुस्तकालयमा रोजै देखिने दृश्य हो । न्ह्याकन्तला मिर्मिरेमै पाक्ने ग्वार्मरीका लागि प्रसिद्ध छ । ग्वार्मरी काठमाडौँ सहरको बिहानी स्वाद हो ।
बजारभरिका अग्ला घरबीच एउटा पुरानो दुईतले घर छ । बाहिरबाट सहरको धूलोले झ्यापै छोपिएको भवनको भित्री हालत जीर्ण छ । छतबाट पानी चुहिन्छ । भित्ता चर्किएका छन् । घरबाहिर एउटा बोर्ड झुन्डिएको छ । खुइलिएको र धूलोले भरिएको छ बोर्ड । रञ्जना लिपि, देवनागरी लिपि र अंग्रेजी तीनै भाषामा लेखिएको छ बोर्डमा– ‘विप्लवी पुस्तकालय, २०१५’ ।
दुर्गालाल श्रेष्ठ, माणिकलाल श्रेष्ठ, काजीलाल श्रेष्ठलगायत युवा पुस्तकालय खोल्ने र जनतालाई पढ्नुपर्छ भनेर जागरुक बनाउने अगुवा थिए । भोटाहिटीस्थित एक गल्लीको सानो कोठामा ०१५ मा स्थापना गरिएको पुस्तकालय ०२३ मा बल्ल न्ह्याकन्तलाको भवनमा सरेको थियो । भवन बनाउनमा प्रमुख देन थियो, काजीलाल श्रेष्ठ परिवारको ।
धर्मशोभा तुलाधर त्यसकी नियमित सदस्य थिइन् । पुस्तकालय जाँदाका दिन सम्झिँदै तुलाधर भन्छिन्, “निकै किताब पढेँ, मैले पुस्तकालयमा । धेरैजसो पुस्तक नेपाल भाषाका थिए ।” विप्लवी पुस्तकालयका नियमित पाठक थुप्रै थिए उबेला । न्ह्याकन्तला वरपर टोलका युवाको साँझ बिताउने ठाउँ यही थियो । गफिने, बहस गर्ने युवा समूह बाक्लै थियो । जागिरे युवाले एक–एक पत्रिका उपलब्ध गराउने जिम्मा लिएका थिए ।
अहिले अवस्था त्यस्तो छैन । युवामा पुस्तक र पुस्तकालयप्रतिको रुचि शून्यप्रायः छ । तर पनि चलिरहेछ, पुस्तकालय । पहिलो तल्लामा भेटिएका अमित जोशी पुस्तकालयका हर्ताकर्ता हुन् । पुस्तकालयमा को आए, को गए हेर्न सजिलो गरी राखिएको छ– एक ऐना, भर्याङको भित्तामा । ऐनासँगै छ, काजीलाल श्रेष्ठको तस्बिर । प्रवेश ढोकासँगैको भित्तामा टाँसिएको छ, एक शिलापत्र ।
शिलापत्रमा ०२३ मा ‘विप्लवी सफू कुथी छेँ’ (पुस्तकालय भवन) स्थापनार्थ सहयोग गर्नेहरूको नाम कुँदिएको छ । शिलापत्रमा सबैभन्दा धेरै सहयोग गर्ने जगतलाल श्रेष्ठ र हरिमाया श्रेष्ठको नाम सबैभन्दा माथि कुँदिएको छ । ०२३ मा ३ हजार ८ सय रुपैयाँ निकै ठूलो सहयोग हो । पत्रिका पढ्ने कोठा सफा र व्यवस्थित छ तर दोस्रो तल्लाको अवस्था दयनीय छ । ०७२ को भुइँचालोमा ढलेका दराज ठडिए पनि पुस्तक अझै व्यवस्थित हुन सकेका छैनन् । ०४६ मा काजीलाल श्रेष्ठले थपेको दोस्रो तल्ला उनको जीवनको अन्तिम योगदान बन्यो, पुस्तकालयप्रति । तल्ला थपेकै वर्ष उनी बिते ।
विप्लवी पुस्तकालय स्थापना कथा रमाइलो छ । आधिकारिक रूपमा पुस्तकालय स्थापना नहुँदै युवाहरू एकआपसमा पुस्तक साटासाट गर्थे । पुस्तकको पहिलो पानामा लेखिएको हुन्थ्यो– ‘विप्लवी पुस्तकालय’ । अग्रजबाट यस्तै सुनेका छन्, अमितले । पुस्तक साटासाटको यही क्रम नै पुस्तकालय स्थापनाको जग बन्यो । देशमा प्रजातन्त्र आउनुअघि चलेको यो पुस्तक साटफेरले ०१५ मा बल्ल संगठित हुने अवसर पायो ।
त्यतिबेला पुस्तकालय अरू पनि थिए ।
‘धवल पुस्तकालय’, ‘प्रदीप्त पुस्तकालय’, ‘मैत्री पुस्तकालय’ । धवल नेपालको पहिलो सार्वजनिक पुस्तकालय हो । प्रदीप्त विसं २००३ मा स्थापना भएको थियो । संस्थापक थिए, प्रेमबहादुर कंसाकार । मैत्री पुस्तकालय थँहिटीमा थियो । अहिले बोर्ड मात्रै छ ।
दाजुहरूको लहैलहैमा पुस्तकालय आउने बानी बसेको थियो अमितको । ०५१ मा साँचो अमितको हातमा पर्दा पुस्तकालयका अध्यक्ष थिए, राजेन्द्र राजोपाध्याय (आरके निर्मल) । पुस्तकालय खोल्ने र व्यवस्थित गर्न चार–पाँच युवा पालो मिलाएर आउँथे । राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर कृष्णबहादुर मानन्धर, अमर जोशी, राजु जोशीलगायतका स्थानीय युवा पुस्तकालय सञ्चालनमा सक्रिय थिए । हातमा साँचो परेको २५ वर्षदेखि अमित लगातार पुस्तकालय खोल्न न्ह्याकन्तला आइरहेका छन् । दैनिक साँझ ५ देखि ७ बजेसम्म अमित यहीँ भेटिन्छन् ।
२५ वर्षको लामो समय बितिसक्दा पनि कहिल्यै कार्यसमिति बैठक बसेको, चुनाव भएको थाहा पाएका छैनन् अमितले । त्यसैले कार्यसमितिमा को–को छन्, थाहा नभएको बताउँछन् । अमितलाई पुस्तकालय चलाउन न कहिल्यै कार्यसमिति बैठक आवश्यक पर्यो, न त माइन्युट । असनका हेराकाजी तुलाधर वर्तमान कजी (प्रमुख) हुन् पुस्तकालयका । उनीसँग फोनमा कुरा हुन्छ अमितको । आम्दानी र खर्चको गफ हुन्छ । त्यत्ति हो ।
सहयोगका पुस्तक पनि अस्वीकार गर्नुपर्ने अवस्थामा छन् अमित । भन्छन्, “यसमा दुई कारण छन् । पहिलो, पुस्तकालयको अवस्था भुइँचालोपछि ज्यादै अव्यवस्थित र भग्नावशेषमय छ । लिएका पुस्तक राख्ने ठाउँ छैन । दोस्रो, आजभोलि पुस्तकालयमा पुस्तक पढ्न कोही आउँदैनन् । साँझ दुई–चार जना छिर्छन्, पत्रिका पढ्न ।”
स्थानीय बूढापाकामाझ विप्लवी पुस्तकालयको शाख निकै उच्च छ । त्यसैले आफ्नो शेषपछि संगृहीत पुस्तक पुस्तकालयलाई दान गर्ने इच्छा राख्छन् । थुप्रै पुस्तक आएका छन् यसरी । तर सधैँ दोधारमा पर्छन् अमित । लिऊँ राख्ने ठाउँ छैन, नलिऊँ सहृदयी चित्त दुखाउँछन् । यसरी पुस्तक आएर मात्रै पनि सार्वजनिक पुस्तकालय नचल्ने अमितको दाबी छ । उनी भन्छन्, “सार्वजनिक पुस्तकालय न पुस्तक भएर चल्छ, न त पैसा भएर । यसका लागि लगाव, सकारात्मक सोच र स्वयंसेवी भावना चाहियो । सबैभन्दा महत्त्वपूर्ण पाठक चाहियो ।” पुस्तक दिने मात्रै होइनन्, बेलाबेला पुराना पुस्तक खोज्दै आउनेहरू पनि छन्, पुस्तकालयमा ।
विप्लवी पुस्तकालयमा सदस्य हुन वार्षिक शुल्क थियो, सय रुपैयाँ । पढ्न पुस्तक घर लगे मासिक दस रुपैयाँ पनि तिर्नुपर्थ्यो । पुस्तकालयले नयाँ सदस्यता दर्ता बन्द गरेको एक दशक नाघिसकेको छ । प्रह्लादनरसिंह राणा, दुर्गानारायण मानन्धर सदस्यता लिने अन्तिम व्यक्ति थिए । एक दशकअघिसम्म पुस्तकालयमा ६–७ सय सदस्य थिए । पुस्तक पढ्नेहरू पनि थिए । बिस्तारै सदस्य बन्ने/बनाउने र पुस्तक खरिद प्रक्रिया बन्द भए ।
विप्लवीमा नयाँ अनुहारले प्रवेश नगरेको वर्षौं भइसकेको छ । नियमित जति आइरहेछन्, तिनीहरूले नै पुस्तकालय छ है भन्ने आभास दिने गरेका छन् । स्थानीय युवालाई पुस्तकालयभन्दा भवनप्रति बढी रुचि छ किनभने भवनले आर्थिक लाभ दिन्छ । टोलका युवा मिलेर ६ दशकअघि खोलेको पुस्तकालय वर्तमान पुस्ताका युवाबाट अपहेलित छ ।
पुस्तकालय, खेलमैदान, सडकबत्ती स्थानीय चुनावको समयमा गरिने उत्तेजक उद्घोष हो । वडा–२५ न्ह्याकन्तलामा ६ दशकदेखि निरन्तर चलिरहेको पुस्तकालयमा न कुनै जनप्रतिनिधिले पाइला टेकेका छन्, न त यसको विषयमा चासो राखेका छन् । सल्लाह गर्ने कोही नहुँदानहुँदै पनि अमितले धन्न पुस्तकालय भवनको ताल्चा खोलिरहेका छन् ।
सम्बन्धित
पढ्ने–पढाउने पाउनै मुस्किल...
४२ विद्यालयमा चलेको थारु भाषा शिक्षा अहिले जेनतेन एउटामा
शिक्षकहरू हाम्रा नानीहरूलाई मायाको आँखाबाट कहिले हेर्छन् ? आखिर कहिले उनीहरू ‘वास्तविक शिक...
... अनि किन जाने यस्तो स्कुल ?
राजनीति–व्यापार गठजोडका कारण मेडिकल कलेजद्वारा विद्यार्थीबाट असुलेको अतिरिक्त रकम फिर्ता ग...
अटेरी मेडिकल कलेज सञ्चालकसामु निरीह सरकार
विद्यार्थीको सिकाइमा सकारात्मक प्रभाव पारे पनि शिक्षकमै विषयगत ज्ञान कमजोर...
स्थानीय पाठ्यक्रम कति प्रभावकारी ?
अतिरिक्त शुल्क फिर्ता गराउन चिकित्सा शिक्षा संघर्ष समितिको आन्दोलन ६–७ वटामेडिकल कलेजमा ...
मेडिकल कलेजका बेथिति : निर्लज्ज सञ्चालक, मूकदर्शक सरकार
परीक्षाजस्तो संवेदनशील विषयमा त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान परीक्षा शाखाले आकस...