[विशेष] प्राज्ञिक अवसानतिर विश्वविद्यालय
विश्वविद्यालयको गिर्दो साख सुधार्ने सोचसहित बलियो नेतृत्वको खाँचो
टोकियोस्थित बुँक्योको विशाल क्षेत्रभित्र मौलिक र परम्परागत शैलीका भवन प्रशस्त छन् । सहरभन्दा अलिक पर देखिने भौतिक आकर्षण र रमणीय वातवरणभित्रै पर्छ, टोकियो विश्वविद्यालय । प्राध्यापक र विद्यार्थी झिसमिसेदेखि साँझसम्मै अध्ययन, अनुसन्धानमा घोत्लिरहेका हुन्छन् । झन्डै १५ महिना टोकियो विश्वविद्यालयमा अध्यापनको अवसर पाएका राजनीतिशास्त्री गंगाबहादुर थापा सम्झिन्छन् "प्राध्यापक र विद्यार्थी अध्ययन-अनुसन्धानमा केन्दि्रत रहेको मात्र भेटेँ ।"
नवीन अन्वेषणमा सक्रिय ती प्राध्यापक र विद्यार्थीहरू हरेक विषयलाई आलोचनात्मक चेतबाट हेर्छन् । सरकार र राजनीतिक दलको प्रवेश मात्र होइन, प्रभाव पनि शून्य हुन्छ । अनुशासन पनि लोभलाग्दो । "विद्यार्थी कक्षामा अनिवार्य उपस्थित हुनुपर्छ, प्राइभेट परीक्षा प्रणाली गुञ्जायस छैन," थापा भन्छन्, "त्यहाँका कक्षाकोठामा पढाउने मात्र होइन, अनुसन्धानमा सक्रिय हुन्छन् ।"
प्राध्यापकलाई आकर्षक तलब मात्र होइन, अनुसन्धान र अध्ययनका लागि प्रशस्त सुविधा दिइएको हुन्छ । थापाका अनुसार हरेक प्राध्यापकलाई एक/एक वटा कोठा दिएको हुन्छ, जहाँ पुस्तकालय, चिया पकाउने कित्ली, खाना पकाउने सामग्रीदेखि फ्रिजसम्म हुन्छ । विद्यार्थी, कर्मचारी, शिक्षक संगठनका नाममा आन्दोलन देखिँदैनन् । विश्वविद्यालयमा जोकोहीलाई सहज प्रवेश हुँदैन ।
थापाका अनुसार विश्वविद्यालयमा प्राध्यापक अवकाश हुने प्रचलन छैन । प्राध्यापक र विद्यार्थी नयाँ खोज र प्राज्ञिक पहिचान निर्माणमै सक्रिय हुन्छन् । विश्वविद्यालय सञ्चालकमा सरकारको प्रभाव हँुदैन । अर्थात्, टोकियो विश्वविद्यालयको स्वायत्तता, अध्ययन अनुसन्धान, अनुशासन र सन्दर्भ सामग्रीको उपलब्धता लोभलाग्दो पाटो हो, जसले प्राज्ञिक पहिचान अक्षुण्ण राखेको छ ।
विश्वका उत्कृष्ट विश्वविद्यालय सूचीमा अमेरिकाको कोर्नेल विश्वविद्यालय पनि पर्छ । कोर्नेलबाट विद्यावारिधि गरेर फर्केका मानवशास्त्री मुक्तसिंह लामाका लागि संसारका विद्यार्थी आकर्षण गर्ने सपना, प्राज्ञिक स्वायत्तता, ज्ञानको खोजको स्वतन्त्रता सबैभन्दा लोभलाग्दो पक्ष हुन् । "विश्वविद्यालयको प्रशासनिक र प्राज्ञिक स्वतन्त्रतामा नेपालमा जस्तो सरकार र राजनीतिक दलबाट प्रभाव पार्दैनन्," लामा भन्छन् ।
संसारभरबाट विद्यार्थी पुग्छन् । विश्वविद्यालयमा नभएका विषय छैनन् । संसारमा अहिलेसम्म प्रकाशित सबै प्रकारका पुस्तक उपलब्ध छन् । १९ वटा भव्य पुस्तकालय छन् । लामाको भनाइमा सामाजिक विषयमा बेलामौकामा विद्यार्थीका धारणा र प्रदर्शन त हुन्छ तर नेपालजस्तो व्यक्तिगत सौदाबाजीका लागि विद्यार्थी आन्दोलन हुँदैन । दलीय विचारमा संगठित विद्यार्थी, प्राध्यापक र कर्मचारीका संगठन हुँदैनन् ।
प्राध्यापक नियुक्तिमा पनि नेपालमा जस्तो दलीय भागबन्डा र आफन्त प्राथमिकतामा पर्दैनन् । जस्तो, विश्वविद्यालयमा सुरुमा सहायक प्राध्यापक भई अस्थायी रूपमा काम गर्छन् । ६ वर्ष काम गरेपछि बल्ल स्थायीसहित सहप्राध्यापकका लागि प्रतिस्पर्धी हुन्छन् ।
यी दुई विश्वविद्यालयका मसिनाजस्ता लाग्ने उदाहरण आदर्श विश्वविद्यालयका भर्याङ भइदिएका छन् । र, विश्वविद्यालय स्वायत्तता, प्राज्ञिक स्वतन्त्रता र दलीय प्रभाव शून्यताबाट मात्रै प्राज्ञिक पहिचान बनाउन सकेका छन् । अमेरिकाको हार्वर्ड विश्वविद्यालय होस् वा चीनको पेकिङ विश्वविद्यालय नै किन नहोस् । ती विश्वविद्यालयको प्राज्ञिक पहिचानको ओजले हरेकलाई आकषिर्त गरेको हुन्छ । दक्षिण कोरियाको सियोल विश्वविद्यालयदेखि भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा पनि सरकारी प्रभाव, दबाब नेपालको जस्तो देखिँदैन, जसले तिनको साख उँचो बनाएकै छ ।
नेपालका विश्वविद्यालयमा पुस्तकालय गतिलो छैन । विद्यार्थी अध्ययनमा भन्दा बढी आन्दोलनमा निस्कन्छन् । प्राध्यापक अनुसन्धानमा भन्दा बढी पद प्राप्तिका लागि नेता व्यवस्थापनमा सक्रिय हुन्छन् । यही देखे-भोगेको शिक्षाविद् वासुदेव काफ्ले नेपालका विश्वविद्यालय र कलेजलाई गाईगोठजस्ता ठान्छन् ।
विश्वविद्यालयभित्र दलीय भागबन्डा र विकृत रूपको प्रारम्भको समय हो, ०६३ साल । विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्ट्रार मात्र होइन, क्याम्पस प्रमुख, उप-प्रमुखसम्म दलीय कोटा भाग लगाएर नियुक्त गर्न थालियो । जुन दिन पूर्वमाओवादी शान्ति प्रक्रियामा ओर्लियो, त्यही दिनबाट दलीय कोटा छुट्टयाउन थालियो ।
अनि सुरु भयो, प्राज्ञिक अवसान । दलको झोला बोक्ने र कक्षाकोठामा नछिरी प्राध्यापक भएकाहरूले प्राज्ञिक अवसरलाई राजनीतिक लाभमा बदले अनि प्राज्ञिक उन्नयनमा गौण र दलप्रति वफादार हुने जमातको हालीमुहाली बढ्यो । प्राध्यापक बालकृष्ण माबुहाङ भन्छन्, "दलीय भागबन्डाले ज्ञानको स्रोत मार्न र निकास थुन्न थाले, त्यसले स्वाभाविक रूपमा विश्वविद्यालय दुर्गन्धित र विषाक्त भइदिए ।"
विश्वविद्यालय थिंक ट्यांकभन्दा प्राज्ञिक पहिचान नै गुमाएका साक्षरको भीड मात्रै बनिसकेको छ । शिक्षाविद् वासुदेव काफ्ले भन्छन्, "विश्वविद्यालयका प्राध्यापकको प्राज्ञिक मृत्यु भइसकेको छ । शिक्षण र सिकाइ सँगसँगै नहुँदा विश्वविद्यालय अवसानतिर लागेका छन् ।"
विश्वविद्यालयका प्राध्यापकमा अध्ययन-अनुसन्धान र अभ्यासमा गतिशीलता छैन । प्राज्ञिक चेतलाई दलको झोलाभित्र राखेर प्राज्ञिक अवसान रोज्नेको प्रबलता छ । त्यही कारण विद्यार्थीमा भरोसा टुट्दै गएको पुष्टि बर्सेनि बिदेसिने नेपाली विद्यार्थीको संख्याले नै गर्छ । विश्वविद्यालयमा दलीय प्रभाव ०४६ को जनआन्दोलनलगत्तै सुरु भइदियो । पञ्चायतमा बरु पदाधिकारीका लागि योग्यताको मापदण्ड माथि थियो, केवल पञ्चायतको विरोध नगरे हुन्थ्यो । ८ वर्षभन्दा बढी त्रिभुवन विश्वविद्यालयको मानविकी संकायको डीन हाँकेका इतिहासविद् त्रिरत्न मानन्धरको भनाइमा रुद्रराज पाण्डे, त्रैलोक्यनाथ उप्रेती, सूर्यबहादुर शाक्य त्रिविको उपकुलपति भए तर उनीहरू न पञ्चायतका समर्थक थिए, न त विरोधी ।
०४६ सालको सुरुमै कांग्रेस कोटाबाट उपकुलपतिमा वासुदेवचन्द्र (बीसी) मल्ल र एमाले कोटाबाट राममान श्रेष्ठ रेक्टर भएर आए अनि दलीय कार्यकर्ताको स्वार्थ पूरा गर्ने दुइटा निर्णय गरे । पहिलो, १५ वर्ष सेवा पुग्ने सबै सह-प्राध्यापकलाई प्राध्यापकमा बढुवा । दोस्रो, करार सेवामा रहेका अध्यापक स्वतः स्थायी । दलीय बहुलताको प्रवेशसँगै विश्वविद्यालयको संख्या पनि त्यसरी नै बढ्यो । शिक्षाविद् काफ्लेको भनाइमा अदक्ष जनशक्तिबाट प्रदान हुने सेवा, त्यसका लागि खर्चिनुपर्ने थप समय र आर्थिक पक्ष झन् महँगो पर्छ । त्यसर्थमा विश्वविद्यालय ज्ञानभन्दा पनि बदनामी उत्पादन गर्ने थलो भएका छन् ।
राजनीतिक चक्र
राजनीतिक भागबन्डाको चक्र अहिलेसम्म आइपुग्दा बदनामीको उत्कर्षमा पुगेको छ । बीसी मल्ल र राममान श्रेष्ठको बदनामीको नजिर प्रयोग गरेर अहिले पनि त्रिविका करार र आंशिक शिक्षक स्थायी भइरहेका छन् । ०४८ मा कांग्रेसकै कोटामा केदारभक्त माथेमा उपकुलपति, देवेन्द्र मिश्र रेक्टर र सुदर्शन रिसाल रजिस्ट्रार भए । मिश्र र रिसालको नाम नेताको खल्तीबाट आएको थिएन, माथेमाले सिफारिस गरेका थिए ।
०५१ मा एमालेको अल्पमतको सरकार बनेलगत्तै शिक्षामन्त्री मोदनाथ प्रश्रतिले माथेमाको राजीनामा मागे र कमलकृष्ण जोशीलाई उपकुलपति नियुक्त गरे । त्रिविका प्राध्यापक माथेमा र जोशी दलीय भागबन्डामा आए पनि प्राज्ञिक उन्नयनमा विश्वविद्यालयको साख जोगाउने प्रयत्नमै थिए । जोशीपछि कांग्रेस कोटाबाट नवीनप्रकाशजंग शाह उपकुलपति भए । शाह त्यस्ता भाग्यमानी हुन्, जो परीक्षा नियन्त्रक, त्रिवि सेवा आयोगको अध्यक्ष मात्र होइन, थाइल्यान्डको राजदूतसमेत भए ।
१८ असोज ०५९ को राजा ज्ञानेन्द्रको 'सफ्ट कू' पछि उपकुलपतिमा नियुक्त गोविन्द शर्माको समय राजावादी कोटाबाट महेन्द्र सिंह रेक्टर र गीताभक्त जोशी रजिस्ट्रार भए । दुवैको भाग्य कतिसम्म चम्कियो भने सिंह माओवादी कोटाबाट राजदूत हुन पाए भने जोशी योजना आयोगको सदस्य । त्रिविको साख र प्राज्ञिक अभ्यास खस्कने क्रम ०६२/६३ को जनआन्दोलनपछि चरमचुलीमा पुग्यो । त्यही बेला एमाले कोटाबाट उपकुलपति माधव शर्मा, कांग्रेस कोटाबाट रेक्टर सूर्यलाल श्रेष्ठ र माओवादी कोटाबाट भीमराज अधिकारी रजिस्ट्रार भए । तीन दलले तीन पद मात्रै बाँडेनन्, डीनदेखि क्याम्पस प्रमुख र उपप्रमुखसम्मको पद पनि भागबन्डा गरे ।
सुधार्ने कसरी
विश्वविद्यालय भन्नेबित्तिकै सोचिन्छ- ज्ञान आर्जनको स्रोत र निकासको थलो । विश्वविद्यालयले समालोचनात्मक चेत भएको जनमत उत्पादन गर्छ । तर नेपालका विश्वविद्यालय 'क्रिटिकल मास' उत्पादन गर्ने र राज्यको थिंक ट्यांकभन्दा दलप्रति बफादार, क्रियाशील कार्यकर्ता उत्पादनको कारखाना हुँदै छन् । कतिसम्म लाजमर्दो छ भने स्नातकोत्तर तहका शोधपत्रलाई 'सारपत्र' भन्न थालियो, अरूको सार्ने भएकाले । अनि, प्राध्यापक नै अरूका शोधपत्र सारेर अनुसन्धानपत्रको संख्या धेरै देखाउने र पुस्तक प्रकाशन गरी बढुवा हुन्छन् ।
प्राध्यापक माबुहाङको भनाइमा नेपालको उच्च शिक्षाका नाममा पश्चिमाको ज्ञानको पोखरीबाट उघाएर ल्याइयो, आफ्नो मौलिक ज्ञानको पोखरी सुकाइयो । अर्थात्, राज्य व्यवस्थाले मौलिक ज्ञानलाई ग्रहण गरेन अनि नेपालको अनौपचारिक ज्ञानलाई औपचारिक ज्ञानमा रूपान्तरण र प्रवर्द्धन गर्ने प्रयत्न पनि गरेन ।
जंगबहादुर राणाले बेलायत भ्रमणपछि दरबार हाइस्कुल खोल्दा काठमाडौँ उपत्यकामा नेवारी, मैथिली र संस्कृत भाषाको प्रबलता थियो । तर जंगबहादुरले पश्चिमा पोखरीको अंग्रेजीलाई जोड दिए । "जंगबहादुरको जगमा विश्वविद्यालयले ठूलो मान्छे उत्पादन गर्यो तर कामकाजी ज्ञानी मान्छे उत्पादन गरेन," माबुहाङ भन्छन्, "राजनीतिक हिसाबको ठूलो मान्छे भन्ने भ्रमले विश्वविद्यालयलाई पनि गाँज्यो र दलीय पोल्टामा पुग्यो ।"
लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति त्रिरत्न मानन्धरको भनाइमा विश्वविद्यालयले प्राज्ञिकभन्दा पार्टीको 'गुडलिस्ट' का मान्छे मात्रै जन्मायो । "त्यस कारण आत्मसम्मान भएको प्राज्ञ आत्मसन्तुष्टिका लागि मात्रै विश्वविद्यालयको प्राज्ञिक काममा सक्रिय छन्," मानन्धर भन्छन्, "त्यस्तो व्यक्ति उपकुलपति हुन पनि हच्किन्छ ।" त्यसो भए विश्वविद्यालय सुधार गर्न के गर्नुपर्छ त ? मानन्धर थप्छन्, "विद्यार्थी, कर्मचारी, शिक्षकका दलसम्बन्ध वैचारिक संगठनको विघटन पहिलो सर्त हो ।"
विश्वविद्यालय सुधारकै लागि शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा उच्चस्तरीय शिक्षा सुधार आयोग बन्यो र प्रतिवेदन तयार गरियो । विश्वविद्यालय सुधारका लागि ट्रस्टी बनाएर पदाधिकारी नियुक्त गर्न प्रस्ताव गरियो । आश्चर्य के भने, भर्खरै खुलेको मदन भण्डारी प्राविधिक विश्वविद्यालयको हकमा ट्रस्टीको कुरा आयो । तर अन्य ७ वटा विश्वविद्यालयका पदाधिकारी नियुक्तिको प्रसंगमा चुपचाप मात्र बसिएन, प्रतिवेदन नै सार्वजनिक गरिएन ।
गलत अभ्यास
लुम्बिनी बौद्ध विश्वविद्यालय अहिले क्षेत्राधिकारभन्दा बाहिर गइसकेको छ । बौद्ध दर्शनको उन्नयनमा काम गर्ने विश्वविद्यालय इन्जिनियरिङ कलेज र कानुन कलेज सञ्चालनमा लाग्यो । प्रदेश ५ को सरकारले नै लुम्बिनी बौद्ध विश्वविद्यालयलाई कानुन अध्यापनमा दबाब दियो । उद्देश्य र प्राज्ञिक संरचनाविपरीतका कलेजलाई सम्बन्धन दिन मिल्छ कि मिल्दैन भनेर प्रश्न सोध्ने हिम्मत सरकारसँग छैन ।
क्ष्ाेत्रीय विश्वविद्यालयको अवधारणामा खुलेका पोखरा, पूर्वाञ्चल, सुदूरपश्चिम, मध्यपश्चिमाञ्चल विश्वविद्यालयको बदमासी र हर्कत झन् उदेकलाग्दो छ । विराटनगरस्थित पूर्वाञ्चल विश्वविद्यालयका ५ वटा आंगिकमध्ये एक र १७ सम्बन्धन कलेजमध्ये १० वटा काठमाडौँ उपत्यकामा छन् । उही हविगत पोखरा विश्वविद्यालयको छ । जस्तो, आंगिक र सम्बन्धन गरेर १३ वटा कलेज काठमाडौँ उपत्यकामा छन् । विडम्बना नै भन्नुपर्छ, ०७२ मा स्थापित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको त्यही हविगत भइदियो र १० वटा आंगिक क्याम्पसमध्ये ५ वटा काठमाडौँमा छन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति त्रिरत्न मानन्धर भन्छन्, "विश्वविद्यालय क्षमता, दक्षता र उद्देश्यमा टिक्नै चाहेका छैनन्, काठमाडौँ-मोह र उद्देश्यविपरीतको सम्बन्ध दिनु त्यसैको परिणति हो ।" ती विश्वविद्यालयमा आर्थिक अनियमितताको मुद्दामा नमुछिएका पदाधिकारी नै छैनन् । डेढ वर्षभन्दा बढी निलम्बनमै परेर सुदूरपश्चिम विश्वविद्यालयका पदाधिकारीले ५ भदौ ०७६ मा अवकाश पाए । र, प्राज्ञिक परिषद्को बैठक डाक्नसमेत सकेनन् ।
विकृतिका अनेक रूप
त्रिविका रजिस्ट्रार डिल्लीराम उप्रेतीले आफैँ प्राध्यापक हुन रहर गरेर बढुवा कार्यविधि नै परिवर्तन गरिदिए । नयाँ मापदण्डमा विद्यावारिधि उत्तीर्ण गरेको नम्बर ८ मात्र निर्धारण गरियो, जबकि पहिला १२ नम्बर थियो । २४ चैत ०७५ मा उप्रेती र बुटवल बहुमुखी क्याम्पसका सहप्राध्यापक नूरजंग केसीलाई बढुवा गर्न सेवा आयोगको सिफारिस थियो । अन्यायमा परेको भन्दै सहप्राध्यापक दिलनाथ फुयाँल र नरेन्द्र कटुवालले विरोध गरे । उप्रेतीको यो बढुवा प्रकरण त्रिवि पुनरावेदन आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको छ । तर रजिस्ट्रार उप्रेती आफ्नो बढुवा विवादमा बोल्न चाहेनन् । "यो विषयमा अहिले बोल्नु उपयुक्त हुँदैन," उप्रेती भन्छन् ।
सेवा आयोगका अध्यक्ष चैतन्य शर्मासहितका उच्च पदाधिकारीले आफन्तलाई जागिर दिन र बढुवाका लागि लिखितमा अनधिकृत रूपमा परीक्षाफल प्रकाशन गराएपछि अख्तियारले अनुसन्धान सुरु गर्यो र अन्तर्वार्ता रोक्यो । त्यही मौकामा प्राध्यापकको अन्तर्वार्ता गरियो र रजिस्ट्रार उप्रेती स्वयं बढुवा भए । यो आफैँमा नैतिक प्रश्न थियो ।
स्मरण रहोस्, त्रिवि पुनरावेदन आयोग एक वर्षदेखि पदाधिकारीविहीन छ, दलीय भागबन्डा नमिल्दा । उप्रेतीभन्दा अघिल्लो पटक माओवादी कोटाबाट रजिस्ट्रार भएका चन्द्रमणि पौडेल पनि चलखेलबाटै प्राध्यापक भएर निस्के । आफैँ पदमा बसेर आफैँ बढुवा हुने यो काइदा पौडेलले उनीभन्दा अघिल्ला रजिस्ट्रार गीताभक्त जोशीबाट सिकेका थिए ।
व्यक्तिगत स्वार्थले व्यक्तिलाई कतिसम्म गिराएको हुन्छ भन्ने देखाउन उपकुलपति त्रिपाठी र रजिस्ट्रार उप्रेतीको घटनाले पनि पुष्टि गरिदिन्छ । ५ भदौ ०७६ मा त्रिपाठीलाई उपकुलपतिको जिम्मा दिइयो, उपकुलपति खनियाँको अवकाशपछि । प्राध्यापकको बढुवा कार्यविधिमा सहयोग नगरेको झोक उप्रेतीले त्रिपाठीमाथि पोखे । त्यसैको दबाबमा उपकुलपति त्रिपाठीले कामु रेक्टरको जिम्मा मानविकी संकायका डीन शिवलाल भुसाललाई दिइन् ।
यस्तै घटना त्रिवि केन्द्रीय विभागको विभागीय प्रमुख नियुक्ति प्रकरणमा देखियो । जस्तो, १२ साउन ०७६ मा अवकाश भएका नेपाली विभाग प्रमुख देवीप्रसाद गौतमपछि कृष्णप्रसाद घिमिरेलाई प्रमुख बनाइयो । यसमा त्रिपाठीको राम्रै चलखेल थियो । त्रिपाठीको कोपभाजनमै परेर महोदव अवस्थी र मोतीलाल पराजुलीले घिमिरेको नियुक्तिसँगै राजीनामा दिए । त्रिविकै अंग्रेजी विभागका प्रमुख प्रेम फ्याकले पनि राजनीतिक दबाबकै कारण ५ महिना पहिला राजीनामा दिएका थिए । फ्याक भन्छन्, "दलमा खुल्नका लागि अनेकन दबाब आएपछि काम गर्न समस्या भयो । त्यसैले राजीनामा दिएँ ।"
नेकपा निकट कर्मचारी संगठनका नेता हेम न्यौपानेको सल्लाहमा दलीय स्वार्थ पूरा गर्न रजिस्ट्रार उप्रेती कर्मचारी सरुवामा हाबी हुन्छन् । शिक्षक सरुवा प्रकरणमा उपकुपति त्रिपाठीको हर्कत पनि कम छैन । अझ त्रिपाठीको हकमा त उनका श्रीमान् रमेश भट्टराई हाबी हुन्थे । तर त्रिपाठी यो स्वीकार्दिनन् । भन्छिन्, "म आफैँ सक्षम छु । श्रीमान्लाई निर्णयमा सोधेकी छैन ।" उपकुलपतिसँग विगतमा बेलामौका झगडा परेर बोलाचाल बन्द हुने गरेकोचाहिँ स्वीकार्छिन् ।
'होम सेन्टर' विश्वविद्यालयमा पछिल्ला समय मौलाएको रोग हो । परिक्षा केन्द्र प्रभावमा राख्ने यस्तो रोग निजीदेखि आंगिक क्याम्पससमेत संक्रमित छन् । गत वर्ष तत्कालीन त्रिवि रेक्टर त्रिपाठीले उपत्यकाका ९ वटा क्याम्पसमा गरेको अनुगमनमा 'होम सेन्टर' र मिलेमतोमा साटफेर गरेको भेटेकी थिइन् । पनिकालाई सुझावको लामो फेहरिस्त पनि बुझाइन् तर सुधार भएन । त्रिपाठी भन्छिन्, "गत वर्ष उपत्यकाका ९ वटा कलेज अनुगमन गर्दा सेन्टर खरिद गर्ने रहस्य खुल्यो र मैले पनिकालाई लेखेरै सुधार गर्न दिएकी थिएँ ।"
विश्वविद्यालयमा उत्तरपुस्तिका साट्ने हर्कत पनि भएका छन् । गत वर्ष मात्रै जनकपुरको रारा बहुमुखी क्याम्पसका विद्यार्थीको अंग्रेजी विषयको उत्तरपुस्तिका यही शंकाको घेरामा परे । त्यो शंकाको तीर मानविकी संकायकै केन्द्रीय विभागमा पनि तेर्सिएको थियो, राजनीतिशास्त्रको स्नातकोत्तर तहको उत्तरपुस्तिकामा । २० भदौ ०७६ मा सञ्चालित स्नातकोत्तर तहको नेपाली विषयको प्रश्नपत्रको समस्या पनि यस्तै प्रकृतिको थियो, जसले त्रिविको केन्द्रीय विभागबाहेकमा १ घन्टा ढिला गरी परीक्षा भयो । प्रश्नपत्रकै कारण गत वर्ष परिक्षा रद्द गर्नुपर्ने बाध्यता आइलागेको थियो ।
त्रिविका पदाधिकारीहरू आफन्त मात्र होइन, दलीय कार्यकर्तालाई काखी च्याप्छन् भन्नलाई अहिले त्रिविका विभिन्न कार्यालयका कामुहरूको रमिताले पुष्टि गर्छ । जस्तो, निवर्तमान उपकुलपति खनियाँले नातामा ज्वाइँ पर्ने विष्णु थपलियालाई सामान्य प्रशासन महाशाखाको कामु दिए । पूर्वएमालेको कोटामा रजिस्ट्रार डिल्लीराम उप्रेतीले कुमारप्रसाद हुमागाइर्ंलाई आर्थिक प्रशासन महाशाखाको प्रमुख बनाइए । अनि, पूर्वमाओवादीको कोटा अर्थात् रेक्टर सुधा त्रिपाठीको कोटामा वासु गिरीलाई कर्मचारी प्रशासन महाशाखा प्रमुखमा कामु बनाइयो ।
आफन्तलाई सुविधा बाँड्नलाई पदाधिकारीले कतिसम्म गर्छन् भन्न अर्को उदाहरण छ । जस्तो, भागबन्डाको चरम रूप देखाएर पदाधिकारीले उपकुलपतिको कार्यालयमा कामुको जिम्मा पाएका छन्, कमलप्रसाद घिमिरेले । रेक्टरको कार्यालयमा निर्मल मिश्र र रजिष्ट्रार कार्यालयमा नवीन्द्रप्रसाद भण्डारीलाई कामु दिइयो । उपकुलपति कार्यालयमा कामु दिएपछि रेक्टर त्रिपाठीले विरोध गरिन् । त्यसको बदलामा त्रिपाठीलाई पनि कामु राख्ने सुविधा दिइयो अनि रजिस्ट्रारसम्म पुग्यो । त्यसरी नै भागबन्डाको खेलमा लागेका पदाधिकारीले भागबन्डा मिलाउन ४ वटा निर्देशकको पद पनि बढाए ।
राजनीतिक स्वार्थले काम गर्दाको उदाहरण मानवशास्त्र विभागको अमेरिकी परियोजनामा पनि परेको छ । विभागले सोसल इन्क्लुजनसम्बन्धी करिब १३ करोड रुपैयाँको ३ वर्षे परियोजना सञ्चालन गरिरहेको छ । सुरुमा त्यो परियोजना रेक्टर कार्यालयकै भएकाले उसबाट स्वीकृति लिएको थियो । तर उपकुलपति खनियाँले अड्काएर राखेका थिए । अमेरिकी दूतावासले दुईपल्ट चिट्ठी लेखेपछि खनियाँले रोक्का गरेको परियोजना सञ्चालन गर्न असार ०७६ मा स्वीकृति दिए ।
त्रिविका प्रश्नपत्र निरन्तर बाहिरिन्छन्, परीक्षाअगावै । अंग्रेजीमा सोधिएका प्रश्नपत्रको वाक्य अशुद्ध हुन्छन् । हुँदाहुँदा हालै शिक्षाशास्त्र संकायले शिक्षाको स्नातकोत्तर तहको प्रश्नपत्र नेपालीमा तयार गर्ने निर्णय गराउन भ्याए ।
जनप्रशासनबाट समाजशास्त्र विभागतिर लाग्दा अर्को उदेकलाग्दो घटना भेटिन्छ । समाजशास्त्र विभागले स्नातकोत्तर तह तेस्रो सेमेस्टरको विद्यार्थीको उत्तरपुस्तिकामा प्राप्तांकमा ५ र १० नम्बर थपेर नतिजा प्रकाशन गरियो । यसो गर्नुको कारण उत्तीर्ण संख्या बढाउनलाई थियो । विद्यार्थीको अध्ययनमा सुधार र परीक्षाफल प्रकाशन छिटोछरितो गर्न सेमेस्टर प्रणालीको सुरुआत भएको थियो ।
झोलामा कलेज
त्रिविका व्यवस्थापन संकाय र मानविकी संकायका डीनले साउन ०७६ मा विकृतिको चरम रूपमा देखाए । काठमाडौँमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न सम्बन्धन लिएका दुई कलेजलाई उनीहरूले त्रिविको कानुनविपरीत पोखरा र चितवनमा स्थानान्तरण गरे- त्यो पनि सञ्चालकको प्रभावमा परेर । विद्यार्थी नपाएको भन्दै कलेजका सञ्चालकहरू डीन कार्यालय पुगे र दलीय प्रभाव र आर्थिक प्रलोभन देखाए । प्रधानमन्त्री केपी ओली निकट बताउने व्यवस्थापनका डीन डिल्लीराज शर्माले दलीय प्रभावसहितको आर्थिक लाभको काम नगर्ने कुरै थिएन । अनि, काठमाडौँमा ती कलेज कार्यालय सञ्चालन गरेको रेकर्डसमेत नभेटिँदा कारबाहीको सट्टा पुरस्कृत गरे । बीबीए अध्यापनका लागि सम्बन्धन लिएको कलेजलाई व्यवस्थापनका डीन डिल्लीराज शमर्ाले काठमाडौँबाट पोखरा पठाइदिए । त्यही नजिरलाई टेकेर मानविकी संकायका डीन शिवलाल भुसालले काठमाडौँमा ब्याचलर अफ कम्प्युटर एप्लिकेसन(बीसीए) अध्यापनका लागि सम्बन्धन लिएको कलेजलाई चितवन पठाए । यसमा त्रिविको योजना निर्देशनालयका निर्देशक ऋषिद पोखरेलको चासो मात्र होइन, संलग्नता छ । विकृतिको चरम नमुनालाई डीन शर्मा भने सामान्य ठान्छन् । "क्याम्पस स्थानान्तरण गर्न मिल्छ, त्यसैअनुसार गरेको हो," शर्मा भन्छन् । तर त्रिविमा जिल्ला नै फेर्ने व्यवस्था नभएको त्रिविका कर्मचारी बताउँछन् ।
अलिक फरक प्रसंग नै सही, निजी कलेज टि्रनिटीको लगानीमा त्रिविले ब्याचलर्स अफ कम्प्युटर एप्लिकेसन (बीसीए) कार्यक्रमको पाठ्यक्रम तयार गरियो । सुरुमा यो कार्यक्रमलाई मानविकी संकायकै अंगको रूपमा ब्याचलर्स अफ आर्टस् एन्ड कम्प्युटर एप्लिकेसन (बीएसीए) भनिएको थियो । तर टि्रनिटीमा मानविकी संकाय नभएका कारण कार्यक्रमको नाम नै परिवर्तन गरियो र भनियो- ब्याचलर्स अफ कम्प्युटर एप्लिकेसन -बीसीए) । तत्कालीन उपकुलपति हिराबहादुर महर्जनको समयकै सन्दर्भ हो, त्यतिबेला ५२ वटा कलेजलाई बीसीए कार्यक्रम सञ्चालन गर्न दिने तयारी हुँदै थियो । तर महर्जनपछि आएका उपकुपति तीर्थ खनियाँले भागबन्डामा १ सय २३ कलेजलाई अनुमति दिए । त्यतिले नपुगेर नेविसंघ आन्दोलनमै उत्रियो, आफूले भनेको कलेजले बीसीए कार्यक्रम नपाएको झोकमा । र, अन्तिममा सहमति जुट्यो, २६ मंसिर ०७५ मा । त्रिवि र नेविसंघबीचको सहमतिपत्रमा भनिएको छ- बीसीएको सन्दर्भमा आफूले कार्यक्रम पाउनुपर्ने भनेर निवेदन दिएका क्याम्पसको सन्दर्भमा तथ्य बुझी प्रक्रिया अगाडि बढाउने ।
अर्को उदाहारण पनि जोड्नैपर्ने हुन्छ, नेपाल फिल्म कलेजको । यो कलेजलाई सम्बन्धन दिन निवर्तमान उपकुलपति खनियाँको जोडबल प्रशस्त थियो र जाँदाजाँदै सम्बन्धन सकारे । खनियाँले पहिला नै सम्बन्धन दिए पनि ०७५ मा कलेजको पूर्वाधार नै नपुगेको भन्दै त्रिवि र अख्तियारमा उजुरी पर्यो । आयोगले तत्काल सम्बन्धन रोक्न र पुनः अध्ययनपछि मात्रै सम्बन्धन दिन निर्देशन दियो । त्यही निर्देशनअनुसार त्रिविले सहायक डीन शरद ठाकुरको नेतृत्वमा अध्ययन समिति बनायो । ठाकुर नेतृत्वको समितिले सम्बन्धन दिन योग्य नदेखेपछि प्रतिवेदन बुझाउनुको सट्टा राजीनामा दियो । त्यसपछि अर्का सहायक डीन किरण आचार्यको नेतृत्वमा अर्को समिति गठन भयो तर समितिले प्रतिवेदन तयार नपार्दै खनियाँले सम्बन्धन टुंगो लगाइदिए ।
कस्ता उपकुलपति
शिक्षाविद्को विश्लेषणमा विश्वविद्यालयमा अबको उपकुलपतिलाई मूलतः चार सूचकांकमा हेर्नुपर्छ । पहिलो, राजनीतिभन्दा प्राज्ञिक चेतले नेतृत्व गर्ने क्षमता भएको । दोस्रो, भिन्न विचार समूहलाई विस्थापन होइन, व्यवस्थापन गर्न सक्ने क्षमताको । तेस्रो, अध्ययन-अनुसन्धान, अभ्यासबाट प्राज्ञिक उन्नयनमा क्रियाशील । चौथो, अन्तर्राष्ट्रिय सम्बन्ध र परिवर्तनसँगै गतिशील भइरहेको । हुन पनि, बजारले मागेको विषय नहुँदा विश्वविद्यालयका कक्षा निरस लाग्छन् । जस्तो, इतिहास, संस्कृति, भूगोल र राजनीतिशास्त्रको पाठ्यक्रम समयानुकूल परिमार्जन गर्न सकेन, जसले विद्यार्थी आकषिर्त भएनन् । शिक्षाविद् प्रेम फ्याकको भनाइमा बजारको गतिशीलतासँगै विश्वविद्यालयसँग अपेक्षा धेरै छ । त्यस कारण अपेक्षा पूरा गर्ने क्षमता छैन भन्ने छूट विश्वविद्यालयसँग छैन । "अबको उपकुलपतिसँग विश्वको प्राज्ञिक अभ्यासमा आएको परिवर्तन र गति जानकारी भएर कर्पोरेट सम्बन्ध विस्तार गर्ने नेतृत्व क्षमता पनि चाहिन्छ," फ्याक भन्छन् ।
हुन पनि, बिगि्रँदो विश्वविद्यालयको अवस्था र गिर्दो साख उजिल्याउने सोचसहित नेतृत्व आउँछ कि आउँदैन भन्ने मुख्य चुनौती छ । माबुहाङको भनाइमा अबका उपकुलपति विश्वविद्यालयलाई पाराडाइम सिफ्ट गराउने र उत्पादित जनशक्तिलाई कामकाजी बनाउने भिजनसहित आउनुपर्छ । त्यस मतमा पूर्वउपकुलपति मानन्धर सहमत छन् । तर त्यसका लागि दलीय प्रतिबद्धता अनिवार्य ठान्छन् ।
विश्वविद्यालय स्वायत्त हुनुपर्छ । प्राज्ञिक अभ्यास र स्वतन्त्रतामा जोड दिनुपर्छ । र, प्राध्यापकमा नवीन खोजको भोक मात्र हुनुपर्छ । अनि सचेत नागरिक निर्माणका लागि विश्वविद्यालय बहस गर्ने थलो बन्नुपर्छ । फेरि पनि कुलपति र सह-कुलपतिले यी सन्दर्भ बिर्सिए भने देशको भावी सन्तति सचेत होइन, साक्षर मात्रै हुनेछ ।
साथमा यो पनि पढ्नुस् : हरे ! कस्तो विश्वविद्यालय बनायौँ हामीले ?
सम्बन्धित
पढ्ने–पढाउने पाउनै मुस्किल...
४२ विद्यालयमा चलेको थारु भाषा शिक्षा अहिले जेनतेन एउटामा
शिक्षकहरू हाम्रा नानीहरूलाई मायाको आँखाबाट कहिले हेर्छन् ? आखिर कहिले उनीहरू ‘वास्तविक शिक...
... अनि किन जाने यस्तो स्कुल ?
राजनीति–व्यापार गठजोडका कारण मेडिकल कलेजद्वारा विद्यार्थीबाट असुलेको अतिरिक्त रकम फिर्ता ग...
अटेरी मेडिकल कलेज सञ्चालकसामु निरीह सरकार
विद्यार्थीको सिकाइमा सकारात्मक प्रभाव पारे पनि शिक्षकमै विषयगत ज्ञान कमजोर...
स्थानीय पाठ्यक्रम कति प्रभावकारी ?
अतिरिक्त शुल्क फिर्ता गराउन चिकित्सा शिक्षा संघर्ष समितिको आन्दोलन ६–७ वटामेडिकल कलेजमा ...
मेडिकल कलेजका बेथिति : निर्लज्ज सञ्चालक, मूकदर्शक सरकार
परीक्षाजस्तो संवेदनशील विषयमा त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान परीक्षा शाखाले आकस...