हरे ! कस्तो विश्वविद्यालय बनायौँ हामीले ?

- डम्बर चेम्जोङ

विश्वमा आज जे-जस्तो विश्वविद्यालयको कल्पना र कामना गरिन्छ, त्यसको स्थापनाको इतिहास आधुनिकताको सन्दर्भमा हेर्नुपर्छ । मानव समाज र ज्ञान-विज्ञानलाई विवेकशीलता र वस्तुपरकताका आधारमा ठीक/बेठीक मान्ने पद्धतिसँगै विचार वा ज्ञानको पक्षमा आधुनिकता सुरु भयो । ज्ञानको आधिकारिकता वा वैधता मध्यकालतिर धर्मले दिन्थ्यो । त्यो बेला चिकित्सा विज्ञान, कानुन, सामाजिक विज्ञान, भौतिक विज्ञान आदि भए पनि आधुनिक थिएनन् । युरोपकेन्द्रित नै सही तर आज हामीले अध्ययन-अध्यापन गरिरहेका सामाजिक विज्ञानका अनेक विधा (राजनीति विज्ञान, मानव विज्ञान, भूगोल, इतिहास, अर्थविज्ञान, समाज विज्ञान आदि), प्राकृतिक विज्ञानका विधा (भौतिक, रसायन, जीव, भूगर्भ आदि विज्ञान) तथा मानविकी (कला र साहित्य आदि) को जग युरोपबाटै सुरु भएको हो । युरोपमा पनि आधुनिक विश्वविद्यालयको उठान मध्यकालमा प्रचलित धर्म केन्द्रित विश्वविद्यालयको जगबाटै भएको हो । तर भारतीय उपमहादेशमा भने मध्यकालका अत्यन्त महान भनिएको नालन्दा विश्वविद्यालयजस्ता पनि अस्तित्वविहीन बनाइए । युरोपेलीले उन्नाइसौँ शताब्दीमा विभिन्न विज्ञानको क्रमशः स्थापना र विकास गर्दै ल्याउनुको कारण उनीहरूले आफ्ना उपनिवेशसँग फरक ढंगले व्यवहार र व्यापार गर्नुपर्ने परिस्थिति हो । औद्योगिकीकरण, अव्यवस्थित बसाइँ-सराइका कारणले बढ्दो सामाजिक अव्यवस्था र समस्याको समाधान खोज्ने क्रममा तथा आफ्ना उपनिवेशका नितान्त फरक समाज र संस्कृतिलाई कज्याएर कर उठाई खानुपर्ने हुनाले पनि नयाँ-नयाँ सामाजिक विज्ञानको स्थापना भयो । मध्यकालमा विश्वविद्यालयहरू मूलतः धर्ममा आधारित ज्ञान प्रसार-प्रचार र बढी भए बहसका केन्द्र थिए भन्न सकिन्छ । भारतमा प्रचलित गुरुकुल शिक्षा पद्धति, बौद्ध धर्मावलम्बी समाजका गुम्बा-बिहार शिक्षा पद्धति, इस्लाम धर्मावलम्बी समाजका मदरसामा आधारित शिक्षा पद्धति तत्-तत् समाजमा विश्वविद्यालयको रूपमा विकसित भएजस्तो लाग्दैन । बरु त्यस्ता शिक्षा पद्धतिलाई युरोपकेन्दि्रत ज्ञान-विज्ञानमा आधारित विश्वविद्यालय पद्धतिले विस्थापित गरेको सत्य हो । आधुनिक विश्वविद्यालय ज्ञान निर्माणको थलो हो तर ज्ञान निर्माणको आधार भनेको निरन्तरको वैज्ञानिक अनुसन्धान हो । आजको विश्वविद्यालयको स्तरोन्नति आधार अध्यापन मात्र हुँदै होइन, कुन विश्वविद्यालयले अनुसन्धानमा कति बजेट लगानी वा व्यवस्था गर्न सक्छ भन्ने हो । त्रिभुवन विश्वविद्यालय केन्द्रले अनुसन्धानका निम्ति मातहत विषय र विभागहरूलाई बजेट खोज्नु त टाढाको कुरा, अमूक विषयले आफ्नै प्रयासमा अनुसन्धान परियोजना पाए भने पनि त्यसलाई सहयोग गर्नुको सट्टा तिनको हुर्मत लिने प्रवृत्ति पनि देखियो ।

बेलायती उपनिवेशवादी सत्ताले कलकत्तामा सन् अठारौँ शताब्दीको अन्त्यतिर फोर्ट विलियम कलेजको स्थापना गरेसँगै भारतमा आधुनिक विश्वविद्यालयको स्थापना भयो भन्दा अत्युक्ति नहोला । बेलायतका विद्यालय र कलेज स्तरको पढाइमा अब्बल दर्जाका विद्यार्थीलाई छानेर भारत पठाइन्थ्यो । फोर्ट विलियम कलेजमा थप केही वर्षको पढाइ सम्पन्न गरेर मात्र बि्रटिस-इन्डिया कोलोनिअल सरकारको अधिकृतमा नियुक्त गर्ने चलन थियो । यसरी भारतमा आधुनिक विश्वविद्यालयको सुरुआतको कारण बेलायती उपनिवेश हो भन्नमा अप्ठेरो मान्नुपर्दैन । बेलायती पद्धतिलाई फलाउन-फुलाउन भारतमा विश्वविद्यालय खोलिए । भारतको सिको गरेर करिब त्यस्तै शैलीमा नेपालमा विश्वविद्यालय स्थापना भयो । मतलब बेलायतबाट विश्वविद्यालय भारत आए र भारतबाट मूलतः संरचनाप्रधान विश्वविद्यालय पद्धति नेपालमा पनि ल्याइयो ।

संरचना-प्रधान पद्धतिमा व्यक्ति क्षमताको तात्त्विक अर्थ र सन्दर्भ हुँदैन । त्रिवि अतिशय केन्द्रीकृत र संरचना-प्रधान विश्वविद्यालय हो । त्रिविमा बेलायतबाट भारत हुँदै नेपाल प्रवेश गराइएको संरचनामा प्राध्यापकहरूको व्यक्तिगत प्राज्ञिक क्षमता, बौद्धिक सामथ्र्य र हैसियतले तात्त्विक अर्थ राख्दैन । संरचना-प्रधान र केन्द्रीकृत पद्धति हाबी भएसम्म व्यक्ति क्षमताले अर्थ राखे पनि नकारात्मक किसिमले व्यक्तिको अयोग्यतालाई योग्य साबित गर्ने खाले नियम र कानुन निर्माण गर्नमा मात्र व्यक्ति क्षमता अर्थपूर्ण हुँदै आएजस्तो लाग्छ । त्रिवि पद्धतिभित्र अमूक भावी उम्मेदवारलाई लक्षित गरेर उनीहरू सुहाउँदा नियम बनाएर प्राध्यापक बनाउने, बढुवा गर्नेजस्ता जालझेल गर्नेको पनि कमी छैन । अमेरिकी विश्वविद्यालय पद्धतिमा प्राध्यापकको क्षमताको मूल्यांकन प्रथमतः विद्यार्थीले गर्ने, प्राध्यापक आफैँले समेत दाबी गर्ने र सम्बन्धित विषय विभागले समेत मूल्यांकन गर्दै प्रक्रिया अघि बढाएर सम्बन्धित विषयको डीनबाट अनुमोदन हुँदै जाने चलन छ । त्रिविको प्राध्यापक भर्ना र बढुवा प्रक्रिया अति कर्मचारीतन्त्रीय र केन्द्रीकृत देखिन्छ । प्राज्ञिक क्षमताको खुला प्रदर्शन र प्रतिस्पर्धा गरेर कार्यकाल सुरक्षित गर्नुपर्ने विश्वविद्यालयजस्तो प्राज्ञिक संस्थामा ०४७ सालमा बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि 'पञ्चायती शासनले दमन र शोषण गरेको' भन्ने निहुँमा सयौँको संख्यामा प्राध्यापकलाई त्रिवि सेवामा बिना कुनै वैज्ञानिक प्रक्रिया स्वतः स्थायी नियुक्ति दिइयो ।

परीक्षा 'गोप्य' र 'अति गोप्य' गर्नुपर्ने हुनाले त्रिविले ताप्लेजुङदेखि दार्चुलासम्मका उत्तरपुस्तिका बोकेर ल्याएर परीक्षा नियन्त्रण कार्यालय बल्खुले जँचाएर नतिजा निकाल्ने अतिशय केन्द्रीकृत पद्धति त्रिविमै छ । त्रिविमा मूलतः पाठ्यक्रम बनाउनेले नपढाउने, पढाउनेले परीक्षामा प्रश्नपत्र नबनाउने, प्रश्नपत्र बनाउनेले उत्तरपुस्तिका नजाँच्ने चलन हाबी थियो/छ । दुनियाँमा त्रिवि मात्र यस्तो विश्वविद्यालय होला, जहाँ प्राध्यापक र कर्मचारीको तलबलगायत सबैखाले सुविधा बराबर छ । त्रिविमा कर्मचारीसमेत बढुवा भएर प्राध्यापक तहका हुन्छन् । त्रिविमा लेक्चरर भनेको उपसचिवसरह, रिडर भनेको सहसचिवसरह, प्रोफेसर भनेको सचिवसरह भन्ने मान्यता छ । प्राध्यापकलाई रेगुलर टेन्युरमा लैजाने पद्धतिसमेत निजामती सेवामा प्रवेश गराउने चलनजस्तै भएपछि हामीले त्रिविमा शिक्षक र कर्मचारीलाई फरक रूपमा हेर्न नमिल्नु स्वाभाविकै होला । तर कर्मचारी भन्नु र शिक्षक भन्नुमा धेरै फरक छ । कर्मचारी सेवामूलक पेसा हो तर शिक्षक वा प्राध्यापन पेसा भनेको प्राज्ञिक हो । यो पेसा ज्ञान निर्माण, प्रसार र अनुसन्धानसँग सम्बन्धित हो । प्राध्यापन पेसा सेवामूलक होइन, ज्ञान निर्माण र ज्ञानवर्द्धक हो । तर त्रिविले यति ठूलो फरकसमेत आजसम्म छुट्याउन सकेको छैन । सबै विषयका प्रोफेसर : फिजिक्स, म्याथम्याटिक्स, केमिस्ट्री, मूर्तिकला, संगीत, नेवारी, हिन्दी, संस्कृत, बुद्धिस्ट स्टडिज आदिका प्रोफेसरको तलबमान एकै छ त्रिविमा, सबै मालसामानको एक मोल भनेझैँ ।

आफ्नो कार्यक्षमताको तुलनामा त्रिवि भयंकर केन्द्रीकृत छ । कञ्चनपुरको क्याम्पसमा कुचीकार चाहियो भने कीर्तिपुरस्थित केन्द्रीय कार्यालयको कुल-सचिव (रजिस्ट्रार) समक्ष निवेदन टक्रयाउनुपर्छ । नेपालका अन्य प्रायः क्षेत्र संघीय प्रणालीमा गइरहेको अवस्थामा एकातिर त्रिवि झनै केन्द्रीकृत भइरहेको भान हुन्छ भने अर्कातिर अतिशय विशद् आकारको हुनाले त्रिवि प्राज्ञिक रूपमा क्रमशः अकर्मण्य बन्दै गएको देखिन्छ । स्रोत, साधन र व्यवस्थापकीय हिसाबले समेत त्रिवि आफ्नो क्षमताको तुलनामा साह्रै ठूलो भयो । यस्तो लाग्छ, त्रिविलाई सात प्रदेशमा सात वटा प्रदेश विश्वविद्यालयका रूपमा विभक्त गरिदिए हुन्छ ।

नेपालमा विश्वविद्यालय राम्रो र क्षमतावान बनाउने हो भने भारतको अनुभवबाट सिक्ने होइन, अमेरिकाका विश्वविद्यालयबाट सिक्नुपर्छ । त्यहाँका विश्वविद्यालय विश्वभरका विद्यार्थीका निम्ति सबैभन्दा आकर्षणका केन्द्र हुन् । नेपालमा शिवालयका लागि मुठीदानदेखि गुठीदान गर्ने चलन छ । अमेरिकामा शिक्षालय, विश्वविद्यालयका लागि गुठीदान गर्ने चलन व्यापक छ । दुनियाँको सबैभन्दा ठूलो गुठी भएको धनधान्य हार्वर्ड विश्वविद्यालयको सम्पत्ति अमेरिका र दुनियाँभरका धनीहरूले समेत गुठीदान गरेर जम्मा भएको हो । छिमेकी भारतको टाटा कङ्लोमरेटका अध्यक्ष रतन टाटाले कोर्नेल विश्वविद्यालयमा बीए र हार्वर्डमा एमए पढेका हुन् । रतन टाटा कोर्नेल र हार्वर्ड दुवैको बोर्ड अफ ट्रस्टिज (सञ्चालक समिति) मा थिए । रतन टाटाले सन् २००८ मा आफू पढेको दुवै विश्वविद्यालयलाई पाँच/पाँच करोड डलर एकै वर्षमा सर्तसहितको गुठीदान गरे ।

कोर्नेललाई गुठीदान गरेको पाँच करोड डलर गुठीको सर्तमध्ये दुई करोड पचास लाखको आम्दानीबाट भारतकै २५ विद्यार्थीले कोर्नेलको बिजिनेस स्कुलमा पढ्ने छात्रवृत्ति पाउनुपर्ने र बाँकी दुई करोड पचास लाखको आम्दानीबाट भारतकै अनिकालग्रस्त क्षेत्रमा उच्च पोषणयुक्त कृषिबाली लगाउनेबारे अनुसन्धान गर्न भनेर सर्त राखिएको छ । नेपालमा हिजो शिवालय गुठी स्थापना गर्ने मनकारी, परोपकारीले आज शिक्षालय वा विश्वविद्यालय सञ्चालनमा गुठीदान सुरु गरे कति राम्रो हुन्थ्यो । नेपालमा परोपकारी मनको कमी छैन । कमी छ त, आपसी विश्वास र भरोसाको । अमेरिकी विश्वविद्यालयहरूमा छात्रवृत्ति शून्यबाट उपलब्ध हुँदैन, कोही न कोही परोपकारीले 'यस्तोहरूले पढ्नका लागि' भनेर सर्त राखेर स्थापना गरिदिएको गुठीको रकमबाट आएको आम्दानीबाट छात्रवृत्ति र निःशुल्क वृत्ति प्राप्त हुने हो । यस सन्दर्भमा त्रिविमा हाल प्रचलित 'जनयुद्धका घाइते' ले पाउने निःशुल्क वृत्तिको स्मरण गर्न उपयुक्त हुन्छ । नेपाल सरकारले वा कुनै परोपकारीले कोष खडा गरेर त्रिवि पढ्न आउने 'जनयुद्धका घाइते' ले निःशुल्क वृत्ति पाए बराबरको रकम भने त्यस्ता विद्यार्थी पढ्ने विभागले निकासा पाउनैपर्ने हुन्छ । मलाई लाग्छ, त्रिविका विद्यार्थीले पाउने निःशुल्क वृत्ति फुइयामा प्राप्त हुने हो । यो कुनै गुनासो वा विरोध गर्न खोजिएको होइन, बरु बिनास्रोत र गुठी कुनै पनि निःशुल्क वृत्ति वा छात्रवृत्ति पश्चिमा विश्वविद्यालयमा छैनन् भन्न खोजेको मात्र हो ।

हाल त्रिविको मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गतका विषयमा डीनको कार्यालयले दुई सेमेस्टर नियमित कक्षा लिनैपर्ने र त्यसपछि मात्र शोधप्रस्ताव लेखन गर्ने विद्यावारिधि तहको पठनपाठन सुरु गरेको छ । विद्यावारिधि तहका विद्यार्थीको सुपरभाइजर हुनका लागि कम्तीमा सह-प्राध्यापक हुनैपर्ने नियम त्रिविमा लागू छ । विश्वकै ए क्लासका विश्वविद्यालयबाट विद्यावारिधि गरेको भए पनि त्रिविका उप-प्राध्यापकले विद्यावारिधिका विद्यार्थी लिन नपाउने नियम छ । कहीँ नभएको जात्रा त्रिविमा देख्न पाइन्छ यसरी । त्रिवि पद्धतिमा सामन्तवाद छ भन्ने थप उदाहरण हो, यो । कुनै पनि तहको पढाइमा विद्यार्थीको सुपरभाइजर हुने भनेको विषयविज्ञतामा भर पर्छ । विद्यार्थीले काम गर्ने विषयमा विज्ञ भए र तिनीहरूले रुचाएर छनोट गरे नियमित प्राध्यापन गरिरहेका उप-प्राध्यापक वा सहायक प्राध्यापकलाई विद्यावारिधिका विद्यार्थी आफैँले सुपरभाइजर छान्ने चलन विश्वकै नामी-दामी हार्वर्ड, येल, पि्रन्सटन, कोर्नेल, कोलम्बिया, अक्सफोर्ड, क्याम्बि्रज विश्वविद्यालयमा छ । त्रिविमा भने बरु अनिवार्य अवकाश पाइसकेका प्राध्यापकलाई सुपरभाइजर बनाइने नियम छ । अनिवार्य अवकाश भनेको के हो ?

त्रिविको नियमित जिम्मेवारी बहन गर्न, पढाउन, अनुसन्धान गर्न, विद्यार्थीको सुपरभाइजर हुन अबउप्रान्त सक्दैन भनेरै त अनिवार्य अवकाश भएको होला । अवकाशप्राप्त शिक्षकलाई विद्यार्थी सम्परीक्ष्ण गर्ने र नियमित पढाउने जिम्मेवारीमा त्रिविले नै पुनः फर्काउने हो भने अनिवार्य अवकाश दिनुपर्ने कारण युक्तिसंगत लाग्दैन ।

केही अपवाद छाडेर अमेरिका, युरोप, पूर्वी एसियामा विश्व विद्यालय र महाविद्यालय तहमा पढाउन योग्य हुनका लागि शैक्षिक योग्यता विद्यावारिधि अनिवार्य हुनुपर्छ । तर नेपालमा त्रिविलगायत अन्य विश्वविद्यालयले समेत आजसम्म पनि एमएलाई नै विश्वविद्यालय शिक्षणमा प्रवेश गर्न पाउने योग्यताको मान्यता दिइरहेकै छन् । त्रिविमा एमए उत्तीर्ण गरेर अध्यापन सुरु गर्ने र विद्यावारिधि गरेर सुरु गर्नेका बीचमा तलबमान सुविधा समान छ । अर्को अर्थमा भन्दा एमए डिग्री र विद्यावारिधि डिग्री त्रिविका लागि समान स्तरका हुन् । तर अचेल त्रिवि केन्द्रीय विभागमा एमएका भन्दा पीएचडीका विद्यार्थीको संख्या बढी झैँ देखिन्छ । लाग्छ, पीएचडी भनेको एउटा अलंकार मात्र हो, आफ्नो नाममा सिउरिने फूल । केही नभए पनि त्यो फूलले शोभा त दिन्छ, डाक्टर जिमेलडटकम प्रसादझैँ ।

विश्वविद्यालय भनेको के हो र यो कसरी सञ्चालन हुन्छ भन्ने प्राज्ञिक र व्यवस्थापकीय ज्ञानविहीन त्रिविको प्रायः प्रमुख जिम्मेवारी सम्हाल्न पुगेको देखिइरहेको छ । त्रिविमा कुनै किसिमको जिम्मेवारी वहन गर्ने पदमा नियुक्ति गर्ने प्रक्रियामा पदीय वरिष्ठतालाई योग्यता मान्ने नियम नै छ । तर 'वरिष्ठतावाद' भनेको सामन्ती प्रचलनको निरन्तरता हो । लोकतन्त्र र खुला प्रतिस्पर्धात्मक व्यवस्थामा क्षमता, कार्य सम्पादन गर्ने कुशलता नै कुनै पनि नियुक्तिको मापदण्ड हुनुपर्ने हो ।

कुनै पनि संगठन हाँक्ने जिम्मेवारी वहन गर्ने भनेको सामथ्र्यले हो, न कि वरिष्ठता-कनिष्ठताको विभाजनले । सुरुमै उल्लेख गरिएअनुसार त्रिवि आधुनिक विश्वविद्यालयमा रूपान्तरण हुने कहिले होला ? चिनियाँ उखान भन्छ- मुसा मार्नका लागि बिरालो रोज्दा बिरालोको रंग नहेर्नू, क्षमता हेर्नू । त्रिविको अवस्था भने नेपाली उखानले भनेझैँ छ- रंगीबिरंगी बिराली मुसा नमारी ।  

साथमा यो पनि पढ्नुस् : [विशेष] प्राज्ञिक अवसानतिर विश्वविद्यालय

प्रकाशित: आश्विन ६, २०७६