करोडपतिको बाटोमा
हरेक बिमा कम्पनीले केही वर्षको अन्तरालमा विदेशी विज्ञहरू झिकाएर कुन कुन व्यवसायबाट कति कति मानिस करोडपति हुने क्रममा छन् भन्ने अध्ययन गर्छन्।

ती बिमा व्यवसायीको कुरा पत्याउने हो भने नेपालमा वाषिर्क डेढ अर्ब रुपियाँभन्दा बढीको पुस्तक कारोबार छ। त्यस हिसाबमा लोकपि्रय लेखकले पुस्तकको रोयल्टीबापत वर्षको ५०-६० लाख रुपियाँ खल्तीमा हाल्नु आश्चर्य नहुन सक्छ।
केही वर्षअघिसम्म वर्षमा हजार प्रति पुस्तक बिक्नु ठूलै उपलब्धि मानिन्थ्यो। तर, अहिले निजी क्षेत्रका प्रकाशकहरूको आगमनसँगै पुस्तकको बजारमा एक खालको लहर छ। पछिल्लो समय अभिनेता हरविंश आचार्यको आत्मसंस्मरण चिना हराएको मान्छेले एक वर्षमा ५० हजार प्रतिको नेटो काट्यो। महँगोको आरोप खेप्दाखेप्दै पनि उद्यमी विनोद चौधरीको आत्मकथा र सुधीर शर्माको प्रयोगशाला पनि छोटो समयमा उल्लेख्य प्रति बिक्री हुने पुस्तक बन्न सफल भएका छन्। "पाठकले पुस्तकको मूल्य होइन, पुस्तकले उठाएका विषय र गुणस्तर हेर्न थालेका छन्," एजुकेसन बुक्स, जमलका रमण राउत भन्छन्, "नेपाली लेखकले अपेक्षा अनुसारका कृति नलेखेकै कारण नयाँ पुस्ताका पाठक विदेशी पुस्तकमा आकषिर्त भइरहेका छन्।" उनका अनुसार वाषिर्क एक करोड रुपियाँभन्दा बढीको विदेशी पुस्तक आयात भइरहेको छ।
लेखक करोडपति होलान्-नहोलान् तर स्कुल-कलेजका पुस्तक बेचेर वाषिर्क १० जना प्रकाशक भने करोडपति भइरहेका देखिन्छन्। करोडपतिहरू अर्बपतिमा उक्लिरहेका छन्। एकता बुक्स, विद्यार्थी, मकालु, भुँडीपुराण, नीमा, न्यु मिलेनियम, तलेजु, सत्याल, कोसेली, भृकुटी, निरन्तर आदि प्रकाशनगृहका आफ्नै आलिसान भवन र तिनले बर्सेनि तिररिहेको कर त्यसका प्रमाण हुन्।
क्षेत्रीय स्तरका पुस्तक व्यवसायीको आर्थिक स्थितिमा पनि केही वर्षमै ठूलो अन्तर आएको छ। धनगढीका चुहा, चौलानी, नेपालगन्जको माउन्ट एभरेस्ट, नारायणगढको मास्के, विराटनगरको मैनाली, दमकको श्रेष्ठ न्युज एन्ड बुक्स स्टेसनरी आदि यसका ज्वलन्त उदाहरण हुन्। पाठ्यक्रमइतरका प्रकाशकहरू भने लेखकहरूमाथि आर्थिक शोषण गरेको आक्षेप र कर कार्यालयले पछ्याउने डरका कारण बिक्रीको वास्तविक आँकडा खोल्न चाहँदैनन्। एक प्रकाशक भन्छन्, "आठ-दस वर्षअघि मोटरसाइकलमा तेल हाल्न हम्मेहम्मे पर्ने प्रकाशकले कार चढेर हिँडेको पनि देखियो।"
उसो त पाठ्यक्रमइतरका प्रकाशकहरूको संख्या ५० हाराहारी पुग्नु र प्रतिसाता देशभरबाट सरदर दसवटा त्यस्ता पुस्तक प्रकाशित हुनुले पनि पुस्तकको बजार फस्टाउँदै गएका शब्दहार क्रियसन्सका रमेश कँडेल सुनाउँछन्। भन्छन्, "बजार पक्कै बढेको छ। तर, हामीले पाठकको रुचि अनुसारका पुस्तक बजारमा ल्याउनै सकेका छैनौँ।"
नेपालय, फाइनपि्रन्ट, सांगि्रलाजस्ता प्रकाशन गृहले आफ्ना प्रायः कृतिको प्रथम संस्करण नै पाँच हजार थान छाप्ने गरेका छन्। कतिसम्म भने कम बिक्री हुने ठानिएका कविता-कृतिसमेत वर्षका दुई-तीनवटा औसत दुई हजार थानका दरले निकाल्न थालेका छन्।
केही वर्षयता वर्षमा दुईपटक पुस्तक मेला आयोजना गरिन्छन्, साझा र पुस्तक व्यवसायीबाट। गएको वर्ष त तीनवटा मेला आयोजना भयो। एकहप्ते ती मेलामा मात्रै करोडौँको कारोबार भयो। मोफसलमा आयोजित मेलाको हिसाब छुट्टै छ।
बर्सेनि एसएलसीपछि चार लाखको हाराहारीमा नयाँ पुस्ता तयार हुन्छ। त्यसमध्ये एक लाखचाहिँ नेपाली पुस्तकका पक्का पाठक हुन सक्छन्। ती पाठकलाई कुन दिशातर्फ डोर्याउने भन्नेमा लेखकहरू नै चुकिरहेको विज्ञहरू औँल्याउँछन्।
"कुनै पनि कृति होस् या सिनेमा, पाठक वा दर्शकले त्यसभित्र आफूलाई खोज्दा रहेछन्। यही कारण पाठक आत्मपरक लेखनीलाई रुचाउँदा रहेछन्," युवा लेखक किरण रिमाल भन्छन्, "दुःखको कुरा, लेखकहरूचाहिँ आफू र आफ्ना मित्रमण्डलीलाई ठीक लागेको विषय र प्रस्तुतिलाई मात्र राम्रो ठान्छन्।"
धेरैजसोका लागि लेखन आयआर्जनको पेसा नभएर समय कटाउने माध्यम मात्र बन्दै छ। अझ कतिपयका लागि त अवकाशप्राप्त जीवनको व्यसन। "हाम्रा अधिकांश लेखकले कुण्ठा, असन्तुष्टि र आक्रोश मात्रै लेखिरहेका छन्," एसओएस बालग्राम इटहरीका शिक्षक दिनेश पौडेल प्रश्न गर्छन्, "लेखकको कुण्ठा, आक्रोश र आत्मरति पाठकले किन पढ्ने ?"
विगतका एक्ला लेखनजीवी डायमनशमशेरको पथ पछ्याउँदै कृष्ण धरावासी, नयनराज पाण्डे, शारदा शर्मा, बुद्धिसागर, अमर न्यौपानेजस्ता पूर्णकालीन लेखक वर्षैपिच्छे बढिरहेका छन्। कोठामा बसेर मनोगत कुरा लेखिएकाभन्दा स्थलगत अनुसन्धान गरी पाठकको रुचिबमोजिम लेखिएका पुस्तकले निकै माया पाइरहेका छन्।
सुधीर शर्माको प्रयोगशाला, कर्ण शाक्यको सोच, नारायण वाग्लेको पल्पसा क्याफे, जगदीश घिमिरेको अन्तर्मनको यात्रा, विवेकविक्रम शाहको मैले देखेको दरबार आदि ४० हजारको हाराहारी बिक्री भएका पुस्तक हुन्। बुद्धिसागरको उपन्यास कर्नाली ब्लुज, सुबिन भट्टराईको समर लभ, नयनराज पाण्डेको लू, सरोजराज अधिकारीको चक्रव्यूहमा चन्द्रसूर्य, तारा राईको छापामार युवतीको डायरी, राजेन्द्र थापाको खेलौना आदि पनि २० हजार बिक्रीको नेटो नाघ्ने क्रममा छन्।
सामाजिक मूल्य र मान्यतालाई ख्याल गर्दै पाठक विस्तार गर्ने समय आएको भाटभटेनी सुपरमार्केट, महाराजगन्ज अगाडिका पुस्तक व्यवसायी रोहित दाहालको भनाइ छ। "लेखकले पाठकलाई नेपाली पुस्तक पनि रुचिकर हुन्छन् है भनेर विश्वास दिलाउन जरुरी छ," दाहाल भन्छन्, "पाठक आकषिर्त हुँदै गएको खण्डमा बाबुआमाले छोराछोरीलाई डाक्टर, पाइलट होइन, लेखक बनाउने सपना देख्न सक्छन्।"
पाठकको रुचि भने धार्मिक र गैरसाहित्यिकपछि मात्र साहित्यिक पुस्तकमा देखिएको छ। केही वर्षअघि सशस्त्र द्वन्द्वका पृष्ठभूमिमा निस्केका नन्दकिशोर पुन पासाङको इतिहासका रक्तिम पाइला, तारा राईको छापामार युवतीको डायरी, गोविन्द वर्तमानको सोह्र साँझहरू, उमा भुजेलको बन्द आकाशदेखि खुला पर्खालसम्म आदि पुस्तक आएका थिए। तर, युग पाठकको उर्गेनको घोडाबाहेक अन्य पुस्तक पाठकको छनोटमा खासै पर्न सकेनन्।
प्रविधिले यौनजन्य दृश्य भएका सामग्रीमा सहज पहँुच बनाइदिएपछि नीलो चोलीजस्ता उपन्यास असान्दर्भिक भइसकेका छन्। यस विषयमा नौलो कथानक र पृथक् प्रस्तुति दिने लेखकहरूको खडेरी नै छ। यथार्थको नजिक भएका जासुसी र अतिस्वैरकाल्पनिक उपन्यासको बजारमा कोही देखापरेका छैनन्। हास्यव्यंग्य विधाको त मैदान नै खाली छ।
अरूका भित्री कुरा जान्न चाहने कुरौटे संस्कार भएकाले पनि होला, नेपाली पाठक आत्मकथा रुचाउँछन्। यस आधारमा मुलुक र मुलुकबाहिर आत्मकथा बेच्न सकिने व्यक्तित्व एक दर्जनभन्दा बढी छन्। हिमानी शाह, उदितनारायण झा, मनीषा कोइराला, डा भगवान् कोइराला, डा सन्दुक रुइत, बार्बरा एडम्स, गोरखशमशेर, अनिल शाह, उपेन्द्र महतो, रुक्मांगद कटवाल आदि यसका उदाहरण हुन्।
अधिकांश प्रकाशक बजारमा धमाका मच्चाउने पुस्तक छाप्न चाहन्छन्। तर, छाप्नुअघि त्यस पुस्तकको लक्षित वर्ग कुन हो ? बिक्री संख्या कति हुन सक्छ भन्नेबारे आवश्यक तयारी गर्दैनन्। त्यसको मारमा महेशविक्रम शाहको कथासंग्रह ज्याक्सन हाइट र अजित बराल सम्पादित फस्ट लभ, डा विश्वबन्धु शर्माको मानसिक स्वास्थ्यका विविध आयाम, ददि सापकोटाको त्यो नेपाल, नवराज सुवेदीको इतिहासको एक कालखण्ड, मोहन मैनालीको उपल्लो थलो, नीलम कार्की निहारकिाको उपन्यास अर्की आइमाई र हृषीकेश शाहको प्रारब्ध र पुरुषार्थजस्ता पुस्तक परेको लेखकहरूको धारणा छ।
प्रकाशकहरू भरपर्दो र विश्वसनीय वितरण सञ्जाल नहुुनुलाई कमजोरी ठान्छन्। खोटाङ, दैलेख, डडेलधुरा, ताप्लेजुङजस्ता जिल्लामा निस्केको महिनौँसम्म पुस्तक पुग्दैनन्। पुगेका सुगम ठाउँमा पनि बजार सन्तोषजनक छैन। "ती ठाउँमा ५० प्रतिशत रकम उठाउन पनि असाध्यै ताकेता गर्नुपर्छ," फाइनपि्रन्ट, सांगि्रला आदि प्रकाशनगृहको वितरणको जिम्मा लिएका ब्रदर बुक्सका यज्ञ न्यौपाने भन्छन्, "बजारमा करोडभन्दा कम फसेका प्रकाशक/वितरक विरलै छन्।"
पुस्तक व्यवसायीले अहिलेसम्म ध्यान दिन नसकेको बजार विदेश पनि हो। रोजगारका सिलसिलामा खाडी मुलुक पुगेका युवामाझ पुस्तकको पहुँच पुर्याउने छिटपुट प्रयास हुँदै आए पनि त्यो प्रभावकारी हुन सकेको छैन। तेस्रो मुलुक लगिएका नेपालीभाषी भुटानीहरू र भारतका नेपालीभाषी बाहुल्य क्षेत्रमा बजार विस्तार त झन् भएकै छैन। नेपालीभाषी भारतीय मात्र डेढ करोडभन्दा बढी छन्। त्यहाँ पुस्तक पठाउनका लागि सरकारमार्फत कूटनीतिक र संगठित पहल हुने हो भने २०-४० जना नेपाली लेखकका लागि वर्षमा ५० लाख रुपियाँ खल्तीमा हाल्नु ठूलो कुरा नहुन सक्छ।